र्‍यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’

पाेखरा | जेठ २७, २०८१

र्‍यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’

पोखरा:   र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ ।

 

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको

 

भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।”
 

सुमिनाले उठाएको आवाज समकालीन साहित्य जगत्मा नयाँ पुस्ताको बलियो हस्तक्षेप भएको तानीको भनाइ थियो । भनिन्, “एक महिला कवि जसले आफ्नो स्वतन्त्रताको फिराद मात्र गरेकी छैनन्, समाजका हरेक उत्पीडित वर्गका विषयमा खरो उत्रिएकी छन् ।” सुमिनाको कलमले केवल कविता होइन, नारी मुक्तिको यात्रा लेखेको विचार तानीले राखिन् ।

 

कवि सुमिनाले एउटै सङग्रहमा जीवन र जगत्का सबै पक्षलाई अटाउन नसकिने भएकाले आफूले केही वैचारिक कविता मात्र लेख्न सकेको बताइन् ।

 

आफ्नो कृति बजारमा आएपछि आएका विभिन्न प्रश्नहरूको जबाफ कवितले नै दिने बताउँदै सुमिनाले वैचारिक धरातल र बुझाइको तहअनुसार कवितालाई बुझ्ने भएकाले पाठकको विचारलाई सम्मान गर्नुपर्ने विचार सुनाइन् ।

 

प्रगतिशील कविता लेख्ने भन्दैमा प्रेमलाई अस्वीकार गर्न नहुने उनको भनाइ थियो । कृतिभित्रका प्रेमकविताका सन्दर्भमा पाठकले उठाएका प्रश्नको जबाफ दिँदै उनले प्रेमको होइन, प्रेमका नाममा हुने दासत्वको विरोध गर्नुपर्नेमा जोड दिइन् ।

 

कवि रमेश श्रेष्ठले विषय जे भए पनि कविता मान्छेकै लागि लेखिनुपर्ने विचार राखे । मान्छेपिच्छेका सोचाइ आआफ्ना हुन सक्ने भएकाले फरक विचारको पनि सम्मान गर्नुपर्ने श्रेष्ठको भनाइ थियो ।

 

विश्व कविताका क्षेत्रमा नेपाली कविता कमजोर नभएको तर अनुवादको अभावमा पछि परेको अनुभव श्रेष्ठले सुनाए ।

 

कार्यक्रममा सरिता तिवारी, नेपालप्रकाश अधिकारी, विष्णु बाँस्तोला, त्रिवेणी, विमल दाहाल, हसिना बस्नेतलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए ।

 

‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित पठन संस्कृतिको विकासमा २०६७ देखि क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्