पोखरामा चन्दा उठाउँदै विप्लव माओवादी, सेक्रेटरी भन्छन् – ‘सहयोग मागेको हो’
पाेखरा | भदौ ३०, २०७९

पोखराः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी यतिबेला पोखरामा आर्थिक सहयोग जुटाउन व्यस्त छ ।
पार्टीको जिल्ला कमिटी कास्कीले नवौं महाधिवेशन आयोजनार्थ सहयोगको नाममा पोखराका व्यापारी, व्यवसायीलाई पत्र काटेर चन्दा संकलन सुरु गरेको हो । पार्टीका कास्की सेक्रेटरीको हस्ताक्षर रहेको पत्रमा व्यवसायीसमक्ष अपील गरिएको छ ।
सुरुमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको पत्र थमाउने र पछि संकलनार्थ टोली परिचालन गरिएको छ । अनुरोधपत्रमा रकम खुलाइएको छैन तर लिने र दिनेबीच बार्गेनिङ् भने गरिएको छ ।
पत्र थमाएर गएको केही दिनमा ३–४ जनाको समूह रकम माग गर्न आउने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले जानकारी दिएका छन् । ‘यति नै भनेर पत्रमा उल्लेख गरिएको छैन’ उनले भने ‘तर उहाँहरुको माग व्यापारको हिसाबले बढी नै छ ।’
‘तपाइले कति दिनुभयो ?’ भन्ने प्रश्नमा उनले यति नै भनेर नखुलाए पनि कडै बार्गेनिङ् भएको बताए । उनी भन्छन् ‘ठूला साहू महाजनलाई त चन्दा दिनुमा पनि केही स्वार्थ लुकेको हुनसक्ला तर हामी मर्कामा छौं ।’
पोखरामा नाम, दाम कमाएका एक चर्चित व्यापारीले भने विप्लव टोलीलाई चन्दा र कुनैपनि सहयोग नगरेको बताएका छन् । यद्यपि, सहयोग रकमको माग गरिएको चिट्ठी आएको भने उनले स्वीकार गरे ।
‘चिट्ठी आएको छ, र कुराकानी पनि भएको छ तर मैले दिइहालेको भने छैन’ उनले भने ‘अरु सबै राजनीतिक दलले चन्दा उठाउँदा उनीहरुलाई पनि धेरथोर सहयोग त गर्नु नै पर्ला ।’
चन्दा उठाएको विषयमा प्रतिक्रिया लिँदा कास्की सेक्रेटरीले चन्दा उठाउने पार्टीको नीति नभएको भन्दै सहयोगकालागि अनुरोध गरेको प्रष्ट्याए ।
‘हामीले असोज १ गतेदेखि काठमाण्डौंमा पार्टीको महाधिवेशन गर्दैछौं, त्यसैकालागि धेरथोर सहयोग मागेको सत्य हो’ सेक्रेटरीले भने ‘कसैलाई पनि जबर्जस्ती गरेका छैनौं तर थोरै भएपनि सहयोगको अपेक्षा गरेका छौं ।
पार्टीलाई प्राप्त हुने कुनैपनि सहयोगको दुरुस्त हिसाब किताब राखेको उनले दाबी गरे । ‘आउनुहोस्, हामी तपाइलाई आर्थिक वा अन्य सहयोगको पुरै विवरण देखाउँछौं’ सेक्रेटरीले भनेका छन् ‘हाम्रो पार्टी पारदर्शितामा विश्वास गर्छ ।’
सोहीक्रममा उनले पैसामात्रै माग्दै नहिँडेको उल्लेख गर्दै जनस्तरबाट नैतिक, भौतिक सहयोग र सल्लाह–सुझावकोसमेत अपेक्षा गरेको जनाए ।
‘सबैलाई एउटै घानमा हाल्नु भएन’ भन्दै कास्की सेक्रेटरीले नेकपा माओवादी कम्युनिष्टमात्र नभएर देशभक्त पार्टी पनि भएको उल्लेख गरे ।
सुर्खेत: सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...