फरक, अब्बल
पाेखरा | पुस ९, २०७९
पोखराः २०६४ सालमा दुर्घटना एउटा खुट्टा गुमाएपछि नीलम ढुंगानाको आत्मविश्वास पनि भाँच्चिसकेको थियो । दुर्घटना हुनुअगाडि शौखले नृत्य गर्दै आएकी उनलाई उभिने खुट्टा नै गुमाए पछि धेरै थोक गुमाएझैं लाग्यो ।
तर, उनको जीवनमा यस्तो पनि मोड आयो, जुन मोडबाट उभिन मात्रै सिकिनन्, एउटै खुट्टाको बलमा उभिएर फनफनी नृत्य गर्न सकिन् । आज देशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरका मञ्चमा पनि उनको माग बढ्दो छ । आज देशकै सफल नृत्यंगनामा उनी दरिन्छिन् ।
त्यो नीलमले देखाएको आँत थियो, र हजारौं अपांगता भएका व्यक्तिका लागि अजरअमर हिम्मत । ‘म अरुभन्दा फरक देखिन्छु भनेर नृत्य गरेको पनि होइन । दुर्घटनापछि मलाई आत्मविश्वास पनि थिएन । यसरी बोल्न पनि सक्दिनँ थिएँ । कहीं कन्फिडेन्स थिएन, सेल्फडाउट थियो,’ ढुंगाना सुनाउँछिन्, ‘तर, जुन चिजसँग प्यासिनेट भइन्छ, कहीं न कहींबाट डो¥याएर ल्याउने रहेछ ।’
पोखरामा जारी नवौं नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन भएको ‘फरक, अब्बल’ सत्रमा ढुंगानाले कलाकार सुजल बम र अमीर बोम्जनसँग आफ्नो भोगाइहरु साझा गरेकी हुन् । सत्रको सहजीकरण पत्रकार गजेन्द्र बुढाथोकीले गरेका थिए ।
नीलमले एउटै खुट्टाको बलमा नाच्न थालेको २०१३ देखि हो । त्यतिबेला पनि आफ्नो कमजोरी लुकाउन ‘आफ्नै बिजोग देखाएर किन नाच्ने ?’ भन्ने लाग्ने गरेको उनको अनुभव छ । ‘सायद ममा पनि चेतना थिए । डर, लाज मलाई पनि लाग्थ्यो,’ उनले भनिन्, ‘कसैले केही भन्ने हुन् कि मन नपराइदिने हुन् कि भन्ने लाग्थ्यो ।’
तर, अहिले आफ्नै प्रस्तुतिले दर्शकको सोच बदल्न सकेकोमा भने उनी खुसी छिन् । पहिले अपांगता भएका व्यक्तिहरुको कुरा काट्नेहरु पनि आफूहरुको सफलतामा खुसी हुन थालेको उनको अनुभव छ । ‘पर्फमेन्स अघि र पछि व्यवहार फरक हुन्छ । काहीं न काहीं उहाँहरुको सोच बदल्न सकेको रैछु नि भन्ने हुन्छ,’ उनले भनिन् ।
उस्तै कथा छ, कलाकार सुजल बमको पनि । पछिल्लो समय चर्चामा आएको सामाजिक सञ्जाल ‘टिकटक’लाई प्रयोग गर्दै बम कलाकारितामा प्रवेश गरेकी हुन् । सत्रमा बमलाई अनुवादक रश्मि निरौलाले सहयोग गरेकी थिइन् । उनले अहिले ‘लिपसिङ’कै आधारमा थुप्रै म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकेकी छन् ।
सुदूरपश्चिमको डोटीबाट काठमाडौं आएर संघर्ष गरेकी बमले आफू बहिरा भएकै कारण थुप्रै ठाउँमा समस्या भोग्नु परेको सुनाइन् । मिस एसईई २०१९ मा भाग लिएर चौथो स्थान ल्याएकी उनी त्यतिबेला दोभाषे नहुँदा पनि आफू हिम्मत गरेर उक्त प्रतियोगितामा भाग लिएको बताइन् ।
‘१० कक्षापछि मिस एसईईमा भाग लिएकी थिएँ । त्यसमा पनि दोभाषेको व्यवस्था थिएन । दोभाषे नहुँदा धेरै समस्या भोग्नुप¥यो,’ बम सुनाउँछिन्, ‘तर, जे गरें आफ्नै बलबुत्ताले गरें । साथ बाबाको पनि रह्यो ।’
डोटीबाट सुरुमा धनगढी आएको तर, बहिरालाई पढ्ने व्यवस्था नभएकै कारण पछि सिन्धुपाल्चोक गएको बमले सुनाइन् । त्यसपछि उनी काठमाडौं आए । काठमाडौं नक्सालमा बहिरा स्कुलबाट उनले २ कक्षादेखि एसईईसम्मको पढाइ पूरा गरेकी थिइन् ।
‘होस्टल बसेर पढेको हुँ । होस्टेल कति फोहोर थियो, कुनै व्यवस्थित नै थिएन । खेल्ने साथी पनि थिएन, खाली त्यो सांकेतिक भाषा सिक्नका लागिमात्रै थियो,’ सुजलले भनिन् । तर, त्यहाँ उनले आफूले केटा साथीहरु नाचेको देखेरै नाच्न सिकेको खुसी हुँदै सुनाइन् ।
साथीहरुको सिको गर्दै नाच्न सिक्दासिक्दै कोरोना महामारीले कक्षा रोकियो । त्यसपछि उनले आफूलाई भुलाउन टिकटकमा नाचेको भिडियो पोस्ट््याउन थालिन् । गीत नसुने पनि ओंठको चालका आधारमा आफ्नो नृत्य चाल पहिल्याउन थालिन् । ‘सुरुमा नाच सिक्छु भन्दा पनि बहिरा भनेर कसैले सहयोग गरेन । तर, कोरोनाका बेला टिकटकमा नृत्य गर्दै भिडियो हाल्न थालें । धेरैले मन पराइदिनुभयो,’ उनले भनिन् ।
कलाकार सुजल बम आफूहरुलाई बहिराको साटो लाटा भनिदिँदा दुख लाग्ने गरेको दुखेसो पोखिन् । आफूहरुको पनि भावना हुने भएकाले त्यसलाई सम्मान गरिदिन उनले आग्रह गरिन् ।
कलाकार ढुंगानाले अपांगता भएका व्यक्तिहरुलाई अवसर सपांग व्यक्तिले नै दिनुपर्ने धारणा राखिन् । अपांगता भएका व्यक्तिहरु पनि अवसरकै खोजीमा हुने भएकाले त्यसमा व्यक्ति, समाज र राज्य सबै उत्तिकै जिम्मेवार हुनुपर्ने सुझाइन् ।
‘अवसर दिने अपांगता नभएकाले नै दिने रहेछ । जिम्मेवारीचाहिँ व्यक्ति, समाज र राज्य सबैको हुँदो रहेछ,’ उनले भनिन्, ‘जब हाम्रा मुद्दाहरु स्वीकारिन्छन्, तबमात्रै हाम्रो सम्मान हुन्छ । नत्र त विभेद कहाँ हुँदैन ? त्यसको पनि आफैं विरोध गर्न सक्नुपर्छ ।’
संसार चियाउने हुट्हुटीले कलाकार !
घरअगाडि गुम्बा भए पनि अमीर बोम्जन कहिल्यै त्यहाँ पुग्न पाएनन् । नजिकै हरियो फैलिएको पहाड थियो, उक्लिन पाएनन् । पाठशाला थियो, अक्षरसँगै यात्रा गर्न पाएनन् ।
कारण थियो, बोम्जनको जन्मजात घाँटीभन्दामुनिको भाग नचल्नु । जहाँ देख्थे अँध्यारोमात्रै देख्थे, जे सोच्थे एक्लोपनबाहेक केही पनि अनुभव गर्दैन थिए ।
तर, अमीर त्यही एक्लोपनको बलमा उभिएर आज अन्तर्राष्ट्रियस्तरको कलाकार बनाएका छन् । गीतकार, गायक बनाएका छन् ।
‘जब एक्लो थियो, एकान्त थियो । साथी खोज्दा साथी भेटिँदैन थियो । केवल सुनसानमात्रै थियो । र, त्यो सुनसानभित्र पनि कतै आवाज आएकोजस्तो । बतासले बालोएजस्तो, रुखका पातले बोलाएजस्तो महसुस हुन्थ्यो,’ अमीर सुनिए, ‘चाहना थियो या थिएन, आफ्नो एक्लोपन भुलाउन कोशिष गरिरहें । प्रकृतिलाई साथी बनाएर गीत गाउने लय हाल्ने भएर गीत गाउने भएको हुँ, चित्र बनाउने भएको हुँ ।’
पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा अमीरको चित्रकला पनि प्रदर्शनमा छ ।
आफूले सधैं देख्ने गरेको तर, कहिल्यै टेक्न नपाएको घर नजिकैको गुम्बाबाट आफूले कलायात्रा सुरु गरेको बोम्जन सुनाउँछन् । ‘मेरै घरबाट हेरिराखेको गुम्बा थियो । त्यो गुम्बामा पुग्न मन लाग्थ्यो, आफ्नो कुरा सुनाउन मन लाग्थ्यो,’ उनले भने, ‘टाढाबाट भगवानले मेरो कुरा सुनेन भन्ने लाग्यो । अचानक गुम्बाकै स्केच बनाइसकेको रैछु ।’
बोम्जनले घर नजिकै माथिको अनिता लामा ‘दिदी’बाट अक्षर सिक्ने मौका पाएको सुनाए । त्यहीबेल सिकको अक्षरले नै आज आफूलाई यो स्थानसम्म उभ्याउन पाएको बताए ।
‘चित्र गर्दा कति रमाइलो लाग्थ्यो, मनको पीडा चोट, भोगाइ आउँथ्यो । पीर आउँथ्यो । तर, बाहिर ल्याउन सकेको थिएन । तर, पछि भूकम्प (२०७२) आयो । त्यतिबेला मैले आफूमा पनि केही कला छ है भन्ने जान्ने मौका पाएँ,’ उनले भने, ‘गिलासमा पानी भएर पनि फैलिन पाएको छैन भन्ने लाग्यो । भूकम्प आएर गिलासलाई लडाइदियो र पानी जताततै फैलियो ।’
बोम्जनले आफ्नो कलामा भावना र प्रकृतिको संयोजन नै धेरै प्रयोग हुने बताए । सानैदेखि सधैं आफू एक्लै बस्नुपर्दा आफ्नो पेन्टिङमा पनि त्यही भाव भल्कने उनको भनाइ थियो ।
‘आमा काममै, बुवा बाहिर । भाइ पढ्न जान्थ्यो । मसँग हुन्थ्यो त केवल भित्ता, यही वरिपरिको प्रकृति हो,’ उनले भने, ‘त्यसैलाई मैले साथी बनाए, मित्रता गाँसे । यही प्रकृतिलाई प्रेम गरेरै पेन्टिङमा यही देख्न पाएको हो ।’
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

