काठमाडौं: मिडफिल्डर सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यासको घोषणा गरेका छन्। श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत् संन्यास लिने घोषणा गरेका छन्। उनी संन्यासको घोषणा गरेर अस्ट्रेलिया प्रस्थान गर्दैछन्। उनीसँगै डिफेन्डर रजिन धिमाल पनि अस्ट्रेलिया जाँदैछन्। पछिल्लो समय नेपाली राष्ट्रिय टिमका दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया गइसकेका छन्। त्यहाँको स्थानीय टिमबाट खेल्नका लागि राष्ट्रिय टिम छाडेर खेलाडीहरु पलायन भइरहेका हुन्। बिहीबार संन्यास घोषणासँगै सुजलले आफूले सम्मान महसुस गरेको बताए। नेपालका लागि ११ वर्षमा ५१ खेल खेलेका सुजलको कप्तानीमा नेपालले सन् २०१९ मा दक्षिण एसियाली खेलुकद (साग) मा स्वर्ण जितेको थियो। ‘११ वर्ष, ५१ खेलमा आफ्नो देशको झन्डा छातिमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छ। केहि खुसीका पल त केहि दु:खका, कतै उपाधि त कतै निराश क्षणलगायत य सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो संन्यास घोषणा गर्दछु,’ सुजलको भनाइ छ। उनले अघि लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो। मैले यो गर्व र जोशका साथ निर्वाह गरें। हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरु धेरै क्षमतावान छन्। र म विश्वस्त छु कि भाइहरुले देशको झन्डा झुक्न दिनेछैनन्। अब पालो नयाँ पुस्ताको हो।’ उनले सबै प्रशंसक र प्रशिक्षकलाई धन्यवाद समेत दिएका छन्। ‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद, जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए। साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म पुर्याउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो मेरोलागि उपयुक्त समय हो। जय नेपाली फुटबल,’ उनको भनाइ छ।
जोमसोम : जापानमा मुस्ताङका एक युवाले एकल चित्रकला प्रदर्शनी गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसेर निवासी चित्रकार छिरिङ फेन्जो गुरुङले मार्च १८ तारिखमा जापानको तोयोकावा सहरमा चौथो एकल चित्रकला प्रदर्शनी गरेका हुन् । इन्टनेशनल वाटर कलर सोसाइटी अफ नेपालका अध्यक्ष एनबी गुरुङको पहलमा गुरुङ एकल चित्रकला प्रदर्शनी गर्न जापान पुगेका थिए । जापानस्थित उपल्लो मुस्ताङीहरूको सामाजिक संस्था मुक्ति समाज समिति जापानको वार्षिकोत्सव समारोहमा चित्रकार फेन्जोको चौथो एकल चित्रकला प्रदर्शनी गरिएको हो। चित्रकार छिरिङ फेन्जोले जापानको तोयाकावा सहरमा चौथौ एकल चित्रकला प्रदर्शन सम्पन्न गरी बुधबार नेपाल फर्किएका छन् । मुस्ताङको जिवन्त धार्मिक, मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म पुर्याउ इन्टनेशनल वाटर कलर सोसाइटी अफ नेपाल नामक संस्थाले चित्रकार फेन्जोलाई जापानमा आमन्त्रण गरेको थियो । चित्रकार गुरुङले त्यहाँ आफूले सृजना गरेका धार्मिक,कलासंस्कृति र मौलिकतालाई चित्रकारिताका माध्यमबाट प्रस्तुत गरे । चित्रकला प्रर्दशनीमा मुक्ति समाजका जापानका अध्यक्ष नाक्टी गुरुङ,सोनाम ढुके र नोचुङ लगायतका एक दर्जन पदाधिकारी उपस्थित थिए । चित्रकला प्रर्दशनको गैर आवासीय नेपाली संघ (जापान)का अध्यक्ष दिपक केशीले उद्घाटन गरेका थिए । उनले मुस्ताङको ऐतिहाँसिक,धार्मिक,मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म उजागर गरिनु सह्रानीय पक्ष भएको बताए । प्रर्दशनीमा चित्रकार फेन्जोले दुरदराजको हिमाली जिल्लाको कलासंस्कृतिलाई जापानमा आएर पस्कन पाउँदा आफू निकै गौरान्वित भएको उल्लेख गरे । उनले यसप्रकारको अवसर अन्य देशहरूमा पाउने विश्वाश व्यक्त गरे । चित्रकला प्रर्दशनी अवलोकन गर्न पाउँदा जापानीज नागरिक पनि उत्साहित र खुसी भएका थिए । चित्रकार गुरुङले यसअघि गृह जिल्ला मुस्ताङसहित नेपालमा ३ वटा एकल चित्रकला प्रदर्शन सम्पन्न गरिसकेका छन् । उनले ३ वर्षअघि गण्डकी प्रदेशस्तरीय एकल चित्रकला प्रदर्शनी पोखरामा गरेका थिए । चित्रकार गुरुङ १६ वर्षको उमेरदेखि नै चित्रकारिता क्षेत्रमा लागेका हुन्। चित्रकारिता र भित्ते लेखनको अभ्यास उनले गाउँमै सुरु गरेका थिए । तिब्बती कलासंस्कृतिको प्रभाव रहेको मुस्ताङमा उनले गुम्बा,छोर्तेन,माने,मठमन्दिर र जैविकलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट दृष्यमा उतार्न पोख्त छन् । गुरुङ गुम्बा,मठमन्दिर र देवीदेवताहरुको मूर्ति सजावट र पेन्टिङ भर्न सिपालु छन् । उनी थान्का पेन्टिङमा पनि उत्तिकै दखल छन् । बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो ‘थान्का’ । तिब्बती शब्दमा थान्काको शाब्दिक अर्थ हो अभिलेखिकरण गरिएको शब्द भन्ने बुझिन्छ । गुम्बाहरूमा यो अभिलेखिकरण गरिएको थान्का झुन्ड्याएर सजाउने गरिन्छ ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल, सुनिता ढकाल,भीमा पौडेल, नारायणप्रसाद अधिकारी, विष्णुप्रसाद सुवेदी, टुका रिमाल रहनु भएको छ । आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न वनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी सहज बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो । गाउँपालिकाले स्थानीय वन ऐन निर्माण गरि सकेको छ कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले आवश्यकता अनुसार परिमार्जन गर्दै उपभोक्ता समुहसंगको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विभिन्न संघसंस्थालाई मानविय, सामाजिक र आर्थिक विकासमा उपयोग गर्दै पालिकाको समग्र विकासमा सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्दै पौडेलले भन्नुभयो कृषि र उद्यमसंग वनलाई जोड्र्ने आवश्यकता छ । गाउँपालिकाका उपाध्यक्ष एवम् सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सदस्य सिता थापाले नेतृत्व विकाससंगै आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यव्दय तारा शर्मा र हरि बाँस्तोलाले उपभोक्ताले संरक्षण, प्रवद्र्धन र विकासमा अमूल्य योगदान पु¥याउदै वनलाई आम्दानी श्रोतका रुपमा विकास गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ स्याङजाका अध्यक्ष दोवबहादुर कार्कीले सामुदायिक वनको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै वन तथा वातावरण संरक्षणमा स्थानीय तह जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउनुभयो । स्थानीय महासंघका अध्यक्ष देवबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश महासंघ सचिवालय सदस्य उमाकान्त शर्मा, सदस्य आँशु विश्वकर्मा, पुतलीबजार महासंघका उपाध्यक्ष तिलकुमारी रेग्मी, स्थानीय महासंघ उपाध्यक्ष भक्तबहादुर केसी, सचिव सिता नेपाली लगायतले सामुदायिक वनको महत्व माथि चर्चा गर्नुभएको थियो ।
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बिहीबार उपसभापति खड्का निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोको विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ। राजदूत सोङ बुधबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ । यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा ७.४६ प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौं : सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्या चार लाख नाघेको छ। सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्। कोषले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो। कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन्। कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन्। कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ। कोषमा १७ हजार सात सय ३९ रोजगारदाता आबद्ध भएका छन्। कोषले हालसम्म ३० अर्ब ११ करोड रुपैयाँ योगदान संकलन गरेको छ। कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ। पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ। औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजित एक कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गरेका थिए।। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सूचीकृत गराउन सुरु भएसँगै विदेशमा रोजगारी र स्वरोजगारमा रहेका लाखौँ श्रमिक योजनामा समावेश हुने अनुमान गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन)ले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गर्दै आएको थियो। कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्। उनले सञ्चारमाध्यम सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताए। आज सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताए। ‘सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ,’ उनले भने। उनले अहिलेको सरकार संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढतापूर्वक अगाडि बढिरहेको बताए। ‘सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा छ,’ उनले भने, ‘मैले दृढताका साथ संकल्प गरेको छु, सम्पूर्ण तागतका साथ निरासा र आशंका चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोटमा दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको छु।’
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् । उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए । उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ ।’ महामन्त्री थापाले प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने सुझाव पनि दिए । उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।’ महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए । उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए । उनले अहिलेसम्म यति धेरै मानिस निराश भएको नदेखेको बताउँदै भने, ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन । यतिधेरै मानिस निरास भएको देखेको थिएन ।’ महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाए । भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे ।
झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। जिल्लामा तीन दर्जन बढि आवास भवनको उद्घाटन गर्न अध्यक्ष ओली झापा आउन लागेका हुन्। उनी दिउँसो १ बजे झापा आउने कार्यक्रम तय भएको छ। उनले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।