पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौं:  मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।   शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।    कुँवरसँगै श्यामलाल ज्ञवाली पनि आईजीपी बन्ने चर्चामा थिए ।

काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।    एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने धारणा राखे। अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ।   अहिले नेताहरू कुर्सीको व्यापारी बनेकाले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो ।   

काठमाण्डाै :  नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । प्रारम्भिक तथ्याङ्कभन्दा अन्तिम जनसङ्ख्या घटेको छ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको १२औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत महिला रहेका छन् ।   कुल जनसङ्ख्यामा अन्य लिङ्गी दुई हजार ९ सय २८ जना रहेका छन् । यसअघि २०७८ माघ १२ मा तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले (अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालय) ले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको थियो ।   विस्तृत र अन्तिम प्रतिवेदनमा २७ हजार ९ सय २ कम जनसङ्ख्या देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई मानिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाण्डौ रहेको छ । काठमाण्डौमा २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या छ भने सबैभन्दा कम मनाङमा पाँच हजार ६ सय ८५ जना रहेका छन् ।   भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसङ्ख्याको ५३ दशमलव ६१ प्रतिशत अर्थात् १ करोड ५६ लाख ३४ हजार ६ जना, पहाडमा ४० दशमलव १ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार ६ सय २४ जना र हिमाली क्षेत्रमा ६ दशमलव ०८ प्रतिशत अर्थात् १७ लाख ७२ हजार ९ सय ४८ जनसङ्ख्या रहेको छ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै सार्वजनिक गरिएको थियो ।   नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । जनगणनाबाट मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थासहित सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय समेटिने गरेको छ ।   बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसङ्ख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ । जनगणनाको अद्यावधिक नतिजाले तीनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तयार गर्न सघाउ पुग्छ । सरकारले उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छ ।   त्यस्तै सङ्घ, प्रदेश र पालिकामा हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा राष्ट्रिय बजेट निर्माणमा जनसङ्ख्याको उल्लेखनीय भूमिका रहन्छ । १२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए ।

काठमाडौँ:  प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित ९ जना उच्च प्रहरी अधिकृत शनिवारबाट अवकाशमा जाँदैछन् ।   अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा बिदाइ गरिँदै छ । मध्यान्ह ४ बजे आईजीपी सिंह र अरू अवकाशमा जान लागेका उच्च अधिकारीहरूलाई बिदाइ कार्यक्रम राखिएको छ ।    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह उनको ब्याचका ९ जना अवकाश हुँदैछन् । अवकाश हुनेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डिआइजी र दुईजना एसएसपी छन् । अवकाश हुनेमा एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी छन् । डिआइजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदै छन् ।   २०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि सेवा निवृत्त भएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनीहरू अवकाशमा गएका हुन् । 

विराटनगर:  कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।   यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका  ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् ।   कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो ।   पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन गरेको थियो । प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले चार राउण्ड हवाई फायर र दुई दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो ।   प्रहरीले बल प्रयोग गर्दा लिम्बुको टाउकोमा चोट लागेको थियो । चोट लागेका उनी घरमै उपचाररत थिए । तर चैत ८ गते बेलुका अचानक बेहोस भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।   प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ।   सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।   राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।  

काठमाडौं  : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले चिन्तित बनाएको बताएका छन्।    नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ।    राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाएलगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्या​नाकर्षण गराउँछु।’ वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए। मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो।    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथ प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए। अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ।’    पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए। आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने अध्यक्ष मल्लले बताए। बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा उनको जोड थियो।    कर्जा प्रवाह गरिँदा ब्याजदरमा लकअप प्रणाली लागू गरिनुपर्ने उनले बताए। लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरू मर्कामा नपर्ने चेम्बरको ठहर छ।    बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने मल्लले बताए। कृषि कर्जा प्रवाह गर्दा खेत किन्नेलाई नभई खेती गर्नेले पाउने व्यवस्थाका लागि पनि अध्यक्ष मल्लले राष्ट्रपति पौडेलको ध्यानकर्षण गराए।  

काठमाडौं : मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ।    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।   उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ। 

काठमाडौं : संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो।   नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए। उनले भने, 'विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्‍यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ। पुर्खाको इतिहास मास्न हुँदैन। भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ।' निर्माणाधीन संघीय संसद्मा संघीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढंगको हुनुपर्ने सभापति शर्माले बताए।   बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको मौलिकता, संस्कृतिलाई संरक्षण गर्न समितिको मार्गदर्शनलाई मन्त्रालयले स्वीकार गर्ने बताए। पुराना भवनको प्राविधिक अध्ययनअनुरुप कलाकृति संरक्षण गर्दै नयाँ भवन बनाउँदा पुराना आवरण र महत्व भल्किने हुनुपर्नेमा उनको भनाइ छ।    सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ भवन प्रविधिमैत्री र व्यवस्थित खालको हुने बताउँदै चैत मसान्तसम्म पुरानो संसद् भवनको संरक्षणका लागि बाक्लो प्लाष्टिकले छोप्ने र पिपलको रुख हटाउने प्रतिबद्धता व्यक्त गरे।   बैठकमा समितिका सदस्य मदनकुमारी शाहले आधुनिक प्रविधिका नाममा नेपालको कला, संस्कृति मास्न नहुने, राणाकालीन समयमा बनेको सिंहदरबार अहिले पनि अनुकूल रहेको तर निर्माणाधीन संघीय भवन साँघुरो रहेकाले समयमा सचेत रहन जरुर रहेको बताए।   समिति र मन्त्रालयले सहकार्य गरेर पुरानो भवनको संरक्षण गर्नुपर्ने समिति सदस्य तुलसा दाहालले बताइन्। उनले सहरी मन्त्रालयलाई तत्काल पुरानो भवनको संरक्षणका लागि काम अगाडि बढाउन आग्रह गरिन्।   त्यस्तै समितिका सदस्यहरूले पुरानो भवनले पञ्चायत, संसदीय व्यवस्था, गणतन्त्र झल्काउने रहेकाले तत्काल संरक्षण गर्न काम सुरु गर्नुपर्ने र नयाँ भवन समयसापेक्षअनुरुप इतिहास जोगाउने हुनुपर्ने, भवनको संरक्षणका लागि समितिले कानुनी सहजीकरण गर्ने विचार व्यक्त गरेका थिए। उहाँहरूले नयाँ भवन प्रविधिमैत्री व्यवस्थित ढंगको हुनुपर्ने, सिंहदरबारको आकर्षणका रूपमा हुनुपर्ने, कार्यान्वयनको गतिलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए।