पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकबाट विविध निर्णय सहित कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बैठकमा बोल्दै प्रदेश तथा संघको निर्वाचनमा आम जनताको विश्वास गरी पहिलो दल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै जनताका विचमा गरेका प्रतिवद्धतालाई सत्तामा रहेका जनप्रतिनिधिहरुले विर्सन नहुने जानकारी गराए । “हामीले जनतासँग एउटा संकल्प गरेका छौं, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ । हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ । उनले भने, अब ५ वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्नेगरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउछ ।” त्यसैगरी सभापति शर्माले नेपाली कांग्रेस पार्टी र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरु साझा रहेको र एउटै डुंगामा बसेको बताउदै पार्टीका कार्यकर्ता र सत्तामा रहेका जनप्रतिनिधिबाट एउटा संरचना बनेको छ । डुङ्गा पल्टेर डुब्दा डुङ्गामा रहेका सबै डुवेझैं कुनैपनि एउटा संरचनाले गलत गरेमा पार्टी र जनप्रतिनिधिलाई प्रत्यक्ष असर पार्ने भनाई रहेको थियो । उक्त वैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने विश्वास दिलाएका थिए । उनले भने, “नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण बनेको छ, हाम्रै नेतृत्वमा सरकार बन्छ, सरकार बनेपनि मन्त्रालयको संख्या बढ्नेछैन । बरु जनताबाट जस पाउने गरी काम गर्नुका साथै जनतालाई डेलिभरी दिनेगरी काममा प्रदेश सरकार लाग्ने छ ।” पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रमहरु गर्दा नजुध्ने गरी काम गर्नुपर्छ । जसले पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने उनले वैठकमा जानकारी गराएका थिए । त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जिल्ला कार्यसमितिलाई चलायमान, गतिशिल व्यवस्थित बनाउनका लागि गण्डकी प्रदेश भित्र रहेका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने वैठकबाट निर्णय भएको जानकारी गराएका थिए । साथै पार्टी संगठन मजबुद बनाउनको लागि प्रदेशका ११ वटै जिल्लामा एकैचोटी पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत उनले बताएका थिए । वैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय किरण बावु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले कार्यक्रमको विषयवस्तु प्रस्तुत गर्नुका साथै कार्यसम्पादन समितिले प्रस्तावहरुलाई सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता बास्तोलाको भनाई रहेको थियो । उक्त वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभाग संयोजक कल्पना तिवारी, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, सहमहामन्त्री रमेश कुमार पाण्डे, कोपिला रानाभाट जिल्ला सभापतिहरु डा.टकराज गुरुङ, जित शेरचन र नन्द न्यौपाने लगायतले आफ्नो भनाई राखेका थिए।
पोखरा: नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १८१ जना पत्रकारहरुले आँखा जाँच गराएका छन् र आँखा जाँचको क्रममा पत्रकारहरुमा दृष्टि दोषको समस्या सबैभन्दा बढिमा देखिएको छ । १८१ जनामा गरिएको परीक्षणमध्य १०५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएको छ । उनीहरुलाई औषधी दिइएको छ । वातावरणीय प्रदुषणका कारण आँखामा समस्या बढि देखिने र कम्प्युटर स्क्रिनमा बढी समय काम गर्दा त्यस्तो समस्या देखिने हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुभाष नेपालले बताए । यस्तै पढ्न लेख्न समस्या देखिएका कारण ३५ जनालाई नियर भिजन ग्लास भएको चश्मा उपलब्ध गराइएको छ भने नानी फुलाएर जाच्नु पर्ने (रेटिना फुलाउने) र आँखाका नानीहरुको नसा परीक्षण गर्नु पर्ने बिरामीलाई थप विस्तृत जाँचका लागि हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ । रिफर भएका पत्रकारहरुको थप स्वास्थ्य परीक्षण निःशुल्क हुने हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् । शिविरको उद्घाटन सत्रमा बोल्दै नेत्रज्योती संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङले समाजमा दिन रात खट्ने पत्रकारहरुको आँखा स्वास्थ्यलाई स्वस्थ्य राख्ने उद्देश्यले निःशुल्क सिविर आयोजना गरिएको बताए । हिमालय आँखा अस्पताल पोखराका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले हिमालय आँखा अस्पतालले आम नागरिकका आँखा उपचार सेवामा पु¥याएको योगदानको चर्चा गर्दै सञ्चारकर्मीहरुलाई सेवा दिन पाउदा गर्व लागेको बताइन् । शिविरको समन्वय संस्था पत्रकार महासंघ गण्डकी प्रदेश समितिका का.वा अध्यक्ष गोविन्द सुवेदीले पत्रकारहरुको छाता संस्थाको ६७ औं स्थापना दिवसको उपलक्ष्यमा नेत्रज्योती संघको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविरले पत्रकार महासंघ र नेत्रज्योती संघबीच थप सम्बन्ध प्रगाढ भएको बताउदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताएका छन् । पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारहरुको लागि बेला बेलामा आँखा परीक्षण गरिहनु पर्ने बताइन । निःशुल्क शिविर कार्यक्रम प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार नारायण कार्कीको आँखा परीक्षण गरि उद्घाटन गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव यदुनाथ बञ्जाराले गरेका थिए ।
म्याग्दी: मुस्ताङमा गुणस्तर परीक्षणका लागि पस्मिना को कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो । सङ्कलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो । “लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङ्ग्रा भुवाको आठ सयवटा नमुना सङ्कलन गर्दछौँ”, उहाँले भन्नुभयो, “चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच–पाँच वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुना भुवा निकालिने छ ।” चैत १३ देखि २२ गतेसम्म च्याङ्ग्राको शरीरबाट परीक्षण गर्नका लागि भुवा काट्न पस्मिना उद्योग सङ्घ, नार्क र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्रतिनिधिको उपस्थितिमा तालिमप्राप्त नौ जना प्रशिक्षक कृषक परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक नीना अमात्य (गोर्खाली), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोलीले चैतको ८ देखि १२ गतेसम्म स्थलगत तालिम दिनुभएको थियो । “पश्मिनाको गुणस्तरले यसको महत्त्व तथा बजार मूल्यमा असर गर्दछ”, अन्तर्राष्ट्रिय व्यापार केन्द्रका विशेषज्ञ सिचन श्रेष्ठले भन्नुभयो, “अन्य मुलुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पस्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्याङ्ग्राको नस्ल विकास, अनुसन्धान र भुवाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।” राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख अमात्य ९गोर्खाली०ले मुस्ताङमा पहिलोपटक गरिने नमुना सङ्कलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताउनुभयो । “च्याङ्ग्राको पस्मिना राम्रो छ भन्ने गरिन्छ । तर गुणस्तरका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो”, उहाँले भन्नुभयो, “यसैमा आधारित भएर नस्ल सुधारका लागि समेत थप कार्यक्रम बनाउन सहयोग पुग्दछ ।” प्राकृतिकरूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पस्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पस्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पस्मिना उद्योगी भीम शेरचनले बताउनुभयो । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङ्ग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङ्ग्रा पालिएको छ ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोश्रो अधिवेशनले धर्मराज ढुङ्गानाको अध्यक्षतामा दश सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । सो समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्षमा पार्वती अधिकारी सदस्यहरुमा यमुना भुजेल,गौरी पौडेल, उमानाथ अधिकारी निर्वाचित हुनु भएको छ । बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा सोमबहादुर भुजेल, मार्कण्य अधिकारी,बलराम ढुङ्गाना, गुरुदत्त अधिकारी, गिता अधिकारी, गिता बराल, गायत्री अधिकारी, बुद्धिमाया अधिकारी एवम् जिल्ला प्रतिनिधिमा चुडामणी अधिकारी, खिमलाल अधिकारी,दाताराम अधिकारी, रमा गौतम, अनिता नेपाली र लक्ष्मी ढुङ्गाना निर्वाचित हुनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेज गरि स्थानीय वासिन्दालाई संरक्षणको जिम्मा दिनु पर्नेमा जोड दिनुभयो । स्थानीय समुदाय प्राकृति श्रोतको उपयोगबाट बञ्चित हुन नहुने बताउँदै उहाँले वन क्षेत्रमा उपभोक्ताको अधिकार स्थापित गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले महासंघले उपभोक्ताको हक अधिकार स्थापित गर्न जिम्मेवार भएर अघि बढेको बताउँदै वन एने, विनियम र कार्ययोजना अनुरुप प्रकृया मिलायर वन पैदावार उपयोग गर्नुपर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ कास्की अध्यक्ष विश्वनाथ अधिकारीले जिल्लामा पाँच सय भन्दा बढी सामुदायिक वन समूह रहेको जानकारी दिंदै सम्भाव्यता अध्ययनका आधारमा वन क्षेत्रलाई आयआर्जनसंग जोडिन खालका उद्यम सञ्चालनतर्पm लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो । गाउँपालिका महासंँघ माछापुच्छ्रेका अध्यक्ष चुडामणी अधिकारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ६ का वडासदस्य गुरुदत्त अधिकारी, उमानाथ अधिकारी, मालती अधिकारी लगायतले सर्वसुलभ तरिकाले वन पैदावार उपयोग गर्ने खालको निती आवश्यक रहेको बताउनुभयो ।
काठमाडौं: सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारी गरेको छ । उहाँले उक्त विधेयकको विषय आज (मङ्गलबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जङ्गा बहादुर दंगाल हुनुहुन्छ ।” प्रेस संयोजक शर्माले उक्त वार्ता टोलीले मिटरब्याज पीडितसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारलाई पीडितसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको उहाँको भनाइ छ । वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्रीले आज नै पीडितसँग भेट एवम् छलफल गर्ने कार्यक्रम तय भएको शर्माले बताउनुभयो ।
पोखरा: महिला चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा सीमा कोइराला निर्वाचित भएकी छन् । संस्थाको दोस्रो अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा जमुना पौडेल आचार्य, सङ्गीता पाण्डे निर्वाचित भएका छन् । यस्तै, सचिवमा सरिता सुवेदी, कोषाध्यक्षमा ज्योती अधिकारी र सहसचिव सपना गिरी निर्वाचित भएका छन् ।
तनहुँ: ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि काम अघि बढेको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढेको हो । सांसद भण्डारीको पहलमा सो स्थानमा सञ्चालित पिपलटार खानेपानी आयोजनाका लागि तीन लाख ७० हजार बराबरको खानेपानीको पाइप उपलब्ध गराइएको छ । आइतबार खानेपानी आयोजनाको ट्याङ्कीमा महिलाको शव भेटिएपछि त्यो पानी उपभोक्ताले प्रयोग गरेका छैनन् । वैकल्पिक ढङ्गले खानेपानीको व्यवस्था गर्न उक्त खानेपानीको पाइप उपलब्ध गराइएको हो । सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा. सन्तोष कैनीलाई टेलिफोन गरी पाइपको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । खानेपानीको पाइप उपलब्ध भएसँगै १३८ घर परिवार लाभान्वित हुने भएका छन् । दूषित पानी पिउँदा सो गाउँका ३५० जना बिरामी भएको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । ट्याङ्कीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्की चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए । खानेपानी ट्याङ्की मृत भेटिएकी महिलाको पहिचान खुल्यो तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरस्थित खानेपानीको ट्याङ्कीमा आइतबार मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । सो शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । मृतक शान्तिको छोरा गणेश श्रेष्ठले शव बुझेको उहाँले जानकारी दिनुभयो । गत फागुन २३ गतेदेखि हराउनु भएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्नको लागि चैत ६ गते निवेदन दिएको शर्माले बताउनुभयो । ‘‘शव फेला परेपछि हराएको सूचना दिने परिवारलाई बोलायौँ, मृतकको पहिचान खुल्यो छोराले शव बुझ्नु भयो’’ प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।
काठमाडौं : सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजारले घटेको छ । सोमबार प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ। यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो। गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो। गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। 'पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हौं', उनले भने, 'स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन्।' स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार तीन हजार पाँच सय शुल्क लाग्ने छ। स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ। सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायका सामग्री वितरण थालेको अध्यक्ष चुमानले जानकारी दिए। यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क–बेन्च फेर्नेलगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम थालिएको छ। कक्षा नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टिभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घन्टौँ हिँड्नुपर्ने केही विद्यालयलाई स्कुलबस हस्तान्तरण गरी समस्या समाधान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। त्यसैगरी विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ। सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम रहेको उनले बताए।

