स्याङ्जा: कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट नगरपालिका–५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिनुभएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भीरकोट नगरपालिका–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिनुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको प्याराग्लाइडिङ उडान रोकिरहँदा उच्चस्तरकी पाहुना अल्थानीले चैत ५ देखि ९ गतेसम्म भीरकोटमा प्याराग्लाइडिङ तालिम लिएर उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ भीरकोटले सार्वजनिक गरेसँगै सार्वजनिक भएको हो । हाई प्रोफाइल कतारी राजकुमारी अल्थानी स्याङ्जामा आउँदा यहाँको प्रशासनसमेत अनभिज्ञ रहेको छ । राजकुमारी अल्थानी आएको आफूहरूले थाहा नपाएको बताउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले राजकीय रूपमा नआई पर्यटकका रूपमा आएकाले थाहा नपाएको बताउनुभयो । विश्वकप प्याराग्लाइडिङ सफल भएको भीरकोट महापुरमा उच्च तहका पाहुना उडान र सिक्न आउनुले पोखरा पछाडिको प्याराग्लाइडिङ केन्द्र स्याङ्जा भएको उहाँले दाबी गर्नुभयो । राजकुमारी अल्थानीलाई ‘द बाबु एड्भेन्चर’ भीरकोटका सञ्चालक सानुबाबु सुनुवारले प्याराग्लाइडिङमा उडान गराउनुका साथै उड्न र अवतरण गराउने सिकाउनु भएको थियो । सञ्चालक सानुबाबु सुनुवारले पाँच दिन २० घण्टा उडान तथा अवतरणको तालिम दिएसँगै राजकुमारीले वालिङ नगरपालिका–१, दौवाफाँटमा अवतरण गर्नुभएको सुनुवारले बताउनुभयो । राजकुमारी अल्थानीकै आग्रहमा साहसिक कुरा भएकाले कसैलाई नभन्न आग्रह गरेसँगै गोप्य राखेर तालिम दिएको सञ्चालक सुनुवारले बताउनुभयो। राजकुमारी अल्थानीले डाँडाबाट ‘टेकअफ’ र मैदानमा सुरक्षित तवरले अवतरण बारेमा सिकेर पाँच मिनेटबाट २५ मिनेटसम्मको चारवटा उडान आफैँ गरेको र अन्तिम उडान दौवाफाँटसम्मको गर्नु भएको हो। प्याराग्लाइडिङ तालिम सिकेर एक्लै उडान र अवतरण गर्न सक्ने बनेर अल्थानी फेरि अन्नपूर्ण प्रथम आरोहणमा निस्के पनि मौसमका कारण पोखरामा रहनुभएको छ। आधारभूत पाइलट प्रशिक्षण एक साताको हुने भए पनि अल्थानीले प्याराग्लाइडिङ उडानको २० घण्टामै आधारभूत पाइलट प्रशिक्षण पूरा गरेको सुनुवारले बताउनुभयो। धेरै पहिलादेखि भीरकोटमा प्याराग्लाइडिङ उडान गर्न र सिक्न आउने अल्थानीको चाहना आफ्नो स्कुलले पूरा गरेको सुनुवारले बताउनुभयो। उच्च तहका पाहुना भीरकोटमा आउने अल्थानी पहिलो भएको बताउँदै सुनुवारले राजकुमारीका लागि उपकरण स्कुलले उपलब्ध गराएको बताउनुभयो।
खोटाङ : खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् । मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेका छन् । काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ । दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिएका छन्। 'यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो । कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्', उनले भने, 'नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन् । हामीलाई बन्दी बनाएर राखिएको छ ।'
पोखरा: पोखरा महानगरपालिका वडा नं.१२ मा प्लाष्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता गरिएको हो । वडा स्तरमा प्लाष्टिक जन्य फोहर न्यूनीकरणको मोडेल विकासका लागि ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) मार्फत युएनडिपी नेपालको आर्थिक सहयोग तथा कार्यान्वयनको रूपमा सीईईएनले यस परियोजनाको नेतृत्व गर्नेछ । ब्लु वेस्ट टु भ्यालु प्रा.लि (बीडब्लुटुभी) र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रा.लि ९((जीआरडब्लुएम) ले यस परियोजनाका लागि सीईईएनको प्राविधिक साझेदारका रूपमा काम गर्नेछन् । परियोजना अन्तरगत ठोस फोहर मैला व्यवस्थापनको वर्तमान परिदृश्य, प्लाष्टिकको प्रयोग र प्रयोग हुने प्लाष्टिकका वस्तु लगायत प्लाष्टिक प्रति मानिसको धारणा सम्बन्धमा प्रारम्भिक तथ्याङ्क सङ्कलन, समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन, प्लाष्टिक प्रयोग न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन तथा अन्य वातावरण अनुकूल स्थानीय सामग्रीहरूको प्रवर्द्धन सहित प्लाष्टिकजन्य सामग्रीहरू प्रतिस्थापन गरिनेछ । यस्तै समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन कार्यान्वयन गर्न तुलनात्मक डेटाको लागि वडा नं.१२ का किराना पसलहरूमा पर्यावरण–अनुकूल कपास झोला र बायोडिग्रेडेबल ब्यागहरूमा अनुदानको व्यवस्था र पीईटी बोतलको खपत कम गर्न वडामा पानीका बोतल रिफिल गर्न मोबाइल पिउने पानीको व्यवस्था पनि मिलाइनेछ । प्लाष्टिक रोकथामका लागि कार्य योजना बनाउने, प्रयोगबाट प्राप्त निष्कर्षका आधारमा विभिन्न प्रकारका प्लाष्टिकजन्य फोहरको न्यूनीकरण, पुनः प्रयोग, पुनः प्रयोग र विसर्जन तथा सरोकारवाला निकायहरू नगरपालिका, वडा र सम्बन्धित संस्थासँग सहकार्य गरी वडाद्वारा उत्पादित प्लाष्टिकजन्य फोहरको उचित व्यवस्थापन गर्ने नीति समेत अवलम्बन गरिने सम्झौतामा उल्लेख छ । यसमा प्लाष्टिकजन्य फोहर न्यूनीकरण सम्बन्धी पुस्तिका तथा अन्य सम्बन्धित सचेतनामूलक सामग्री वितरण पनि गरिनेछ । सम्झौता अनुसार बहुउद्देश्यीय स्रोत पुनप्र्राप्ति केन्द्रको स्थापना, फोहर मैला व्यवस्थापन मोडेलको प्रदर्शन, सानो सभा हल र नमुना ड्रप–अफ केन्द्र पनि सञ्चालन गरिनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनाले प्लाष्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै वडाको शून्य प्लाष्टिक फोहोर व्यवस्थापनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “सहरको स्वच्छता प्रवर्द्धनका लागि प्लाष्टिक प्रयोग गर्ने बानीलाई त्याग्नु पर्दछ, प्रमुख आचार्यले भन्नुभयो, अहिले वास्तव मै प्लाष्टिक नै वातावरणीय प्रदुषणको मुख्य कारक बनेको छ ।” प्लाष्टिकको प्रयोगलाई अन्त्य गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धनको अभियानमा सामेल हुन उहाँले आग्रह समेत गर्नुभयो । स्रोत मै फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा बेलाबखतमा सहरका सडकहरू दुर्गन्धित हुने गरेको बताउँदै उहाँले सकेसम्म फोहोरको उत्पादन कम गर्न र उत्पादित फोहोरको उचित व्यवस्थापन गर्न सुझाव समेत दिनुभयो । महानगरपालिकालाई सुन्दर बनाउने आम नगरवासीको समेत दायित्व हुने भन्दै प्रमुख आचार्यले पर्यटकीय नगरीमा मानवीय सभ्यताको प्रतिकुल हुने गरि वातावरण प्रतिको निर्ममता स्वभनिय नहुने स्मरण गराउनुभयो । पोखरा महानगरपालिका वडा नं.१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले वडाको विकास, स्वच्छता र नागरिक सेवाको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दातृसंस्थाहरूको सहयोगमा वडामा सञ्चालन गर्न लागिएको यस परियोजनालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो ।
हेटौंडा : बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको १३ जिल्लाका पत्रकारको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको हो । मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले दिएको जानकारी अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । चैत्र ५ बाट लागू हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कूल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा १ लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रदेश सरकारले यस्तो योजना ल्याएको बताए। उनले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थालाई समेत पत्रकारको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको जानकारी दिए ।
काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसले गर्दा देशको पहाडी भू-भागहरूमा आंशिक बदली भइ बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । आज मंगलबार राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षा हुने महशाखाको बुलेटिनमा उल्लेख छ। त्यस्तै बिहीबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार राती पहाडी भू-भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा हल्का पानी पर्ने छ। शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही ठाउँमा मेघ गर्जन / चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौं : मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब सात अर्ब ५० करोड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्वाचनका लागि विनियोजन गरेको मध्ये करिब तीन अर्ब ५० करोड फिर्ता हुने देखिएको छ। आगामी वैशाख १० गते हुने उपनिर्वाचनसमेतको खर्च विवरण समावेश भई महालेखा परीक्षकले लेखा परीक्षण गरेपछि वास्तविक खर्च थाहा हुनेछ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको खर्च विवरण भने यकिन भइसकेको छ। यस वर्षको स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता, २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेकामा कूल पाँच अर्ब चार करोड तीन लाख ९२ हजार खर्च भएको छ। यसअनुसार यो निर्वाचनमा प्रतिमतदाता खर्च दुई सय ८४ भएको देखिएको छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा मात्रै प्रतिमतदाता खर्च पाँच सय नौ भएको थियो। अनावश्यक खर्चका शीर्षक कटौती गरी मितव्ययी तुल्याइएको प्रवक्ता पौड्यालको भनाइ छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ७२ हजार चार सय २४ मतदाता, १८ हजार पाँच सय ७३ मतदान केन्द्र र सात अर्ब १५ करोड ७७ लाख १९ हजार खर्च भएको थियो। त्यसबेला दुई चरणमा निर्वाचन भएको थियो। यस्तै, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एक करोड ५४ लाख २७ हजार नौ सय ३८ मतदाता, १९ हजार आठ सय नौ मतदाता र सात अर्ब ८० करोड १४ लाख ४९ हजार खर्च भई प्रतिमतदाता लागत पाँच सय छ भएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले निर्वाचन खर्चमा यस वर्ष भएको मितव्ययिताबारे पुष्ट्याइँ माग गरेकामा आयोगले पछिल्ला पाँच निर्वाचनका कूल मतदाता, मतदान केन्द्र, कूल खर्च र प्रतिमतदाता खर्चको हिसाबसहित विवरण उपलब्ध गराएको छ। नेपाल सरकारबाट २०७९ साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति २०७९ साल मङ्सिर ४ गते आइतबार देशैभर एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा भएको थियो। र्वाचन सम्पन्न गर्न सामान्यतः एक सय २० दिनको अवधि आवश्यक हुनेमा उपलब्ध एक सय सात दिनको समयसीमाभित्रै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। यस निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय १० सदस्य गरी कूल दुई सय ७५ सदस्य निर्वाचित भएका छन्। प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत तीन सय ३० सदस्य निर्वाचित भएका छन् भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दुई सय २० सदस्य गरी कूल पाँच सय ५० सदस्य निर्वाचित भएका छन्। यो निर्वाचनमा आयोगले विद्युतीय माध्यमबाट खुला प्रतिस्पर्धामार्फत सामग्री खरिद गरेको छ भने ढुवानी योजना बनाई सुरक्षा निकायसँगको समन्वयमा समयमै ढुवानी गरेको थियो। निर्वाचनमा कूल ७२ निर्वाचन सामग्री प्रयोग भएकामा आयोगबाट ५७ प्रकारका सामग्री खरिद गरी १५ प्रकारका सामग्री जिल्ला र स्थानीयस्तरबाटै खरिद गराएको थियो। आयोगले यस वर्षका निर्वाचनमा मतदाता शिक्षा (घरदैलो कार्यक्रम) मा स्थानीय तहलाई जिम्मेवार बनाएको थियो भने मतदाता शिक्षा कार्यक्रममा विविधीकरण गरिएको (रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, कन्सर्ट, सामाजिक सञ्जाल, कल सेन्टर आदि) बाट दिएको थियो। यस्तै सरोकारवाला (कलाकार, निजी क्षेत्र, गैसस, युवा, सञ्चारमाध्यम) सँग सहकार्य गरेको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको निर्वाचन चिह्न समावेश गरी मतपत्र छपाइ गरेको थियो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरेपश्चात् मतपत्र छपाइ कार्य गरिएको थियो। स्थानीय तह निर्वाचनमा भएका खर्च र प्रतिमतदाता लागतको विवरण प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दलले भाग लिएका थिए भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ दलले बन्दसूची पेस गरेका थिए। निर्वाचन सम्पन्न भएपश्चात् १२ राजनीतिक दलले प्रतिनिधिसभामा विजय हासिल गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ नियमावलीअनुरुप निर्वाचन व्यवस्थापनको सिलसिलामा सम्पन्न गर्नुपर्ने विभिन्न कार्य प्रक्रियालाई निर्देश गर्न आयोगबाट विभिन्न मितिमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, मतदान तथा मतगणना निर्देशिका, आर्थिक, अनुगमन निर्देशिका, निर्वाचन आचारसंहिता लगायतका आवश्यक निर्देशिका तथा कार्यविधि जारी गरेको थियो।
बागलुङ: दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन्। चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ। तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा बढी देखिन्छ। त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन्। उनी हुन्, जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक। पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन्। एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गथ्र्यो तर विगत केही वर्षयता यसले बजार पाएको छैन। मेला छेउकै बाँझो जमिनमा निकै अकर्षकरुपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् तर किन्दैनन्। डाला र नाङ्लासँगै छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ। झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ। दिनभरिमा दुई/चार वटा डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ। मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन्। उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ। चार दिनमा आठ/दशवटा डालो मात्रै बिक्री भएको विक बताउँछन्। उनी कमाईका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र मेला सकिँदासम्म बिक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्छन्। विक भन्छन्,‘चैते दसैँ बागलुङको मेलाभन्ने बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रु एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, समस्या होला जस्तो छ।’ उनीहरुको समूहले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन्। सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्छन्। बडिगाडबाट चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको उनी बताउँछन्। चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको हेमबहादुर उल्लेख गर्छन्। उनी भन्छन्,‘यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरिरहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ती सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादनभन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादन नै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि बिक्री कम–कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा?, अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै बिक्री हुन्छ भने भन्दिनून।’ केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले सानाठूला कुनैले पनि बजार पाएको छैन। आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ। बजारमा नयाँ–नयाँ प्रविधिका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का विक्रेता गुमानसिंह थापा बताउँछन्। परम्परागत नापतौल गर्ने बस्तुका रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु बिक्री नै नहुने उनको भनाइ छ। डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ। विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ। अचेल ठेकी पनि बिक्दैनन् त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी बिक्रीका लागि राखेका छन्। दुई दिनअगाडि ठेकीहरु लिएर यहाँ आउनुभएका उनी आफूले सोचेअनुसार बिक्री हुन नसकेको सुनाउँछन्। उनले टेउवादेखि पाँच पाथीसम्मका टेकी बिक्रीका लागि राखेका छन्। ठेकीसँगै मदानी पनि छन्। सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख) को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरुको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बनाउनुहुन्छ। पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले बिक्री नै हुन छोडेको छ। अशोक भन्छन्, ‘अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चीजहरु यतिकै खेर गएका छन्, गाउँलेहरु बजारबाट आयातीत सामान ल्याएर प्रयोग गर्छन्, यसले त सीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौँ।’ उनले दुई सय ५० देखि २० हजारसम्मका ठेकीहरु बिक्रीमा राखेका छन्। पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तनहरु प्रयोगमा आउन छोडेका छन्।
काठमाडौं: घरेलु टोली नेपाल र भुटान प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भिड्दैछन् । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । दुवै नेपाल र भुटानले समूह चरणमा लाअोसको सामना गरिसकेका छन् । नेपालले पहिलो खेलमा लाअोसलाई २-० ले पराजित गर्दा भुटान २-१ ले पराजित भएको थियो । नेपालले फितलो प्रदर्शन गरेपनि जित हासिल गरेको थियो । भुटान र लाअोसको खेल निकै प्रतिस्पर्धात्मक चलेको थियो । आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ । यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ । भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने समिकरण रहेको छ । लाअोसको फाइनल पुग्ने भविष्य पनि यसै खेलले निर्धारण गर्नेछ । नेपालको बराबरी वा जितले लाअोस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने समिकरण रहनेछ । नेपालका लागि स्टार फरवार्ड अन्जन विष्ट प्रशिक्षणमा सुरक्षा मास्क लगाएर उपस्थित रहेका थिए । उनले आजको खेलमा पनि उक्त मास्कको प्रयोग गर्दै खेल्ने सम्भावना छ । अन्जन खेल्ने राइट विंगमा पहिलो खेल भरत खवास र मनिष डाँगी दुवैको प्रदर्शन राम्रो रहेको थिएन । यता भुटानले हार बेहोरेपनि कप्तान चेन्चो ग्याल्सेनले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए । उनी नेपालकै लिग च्याम्पियन मच्छिन्द्रमा अनुबन्धित हुने चर्चा पनि छ । नेपाल बसाइँ लम्ब्याउन उनीमाथि भुटान निर्भर हुनेछ ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकबाट विविध निर्णय सहित कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बैठकमा बोल्दै प्रदेश तथा संघको निर्वाचनमा आम जनताको विश्वास गरी पहिलो दल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै जनताका विचमा गरेका प्रतिवद्धतालाई सत्तामा रहेका जनप्रतिनिधिहरुले विर्सन नहुने जानकारी गराए । “हामीले जनतासँग एउटा संकल्प गरेका छौं, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ । हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ । उनले भने, अब ५ वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्नेगरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउछ ।” त्यसैगरी सभापति शर्माले नेपाली कांग्रेस पार्टी र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरु साझा रहेको र एउटै डुंगामा बसेको बताउदै पार्टीका कार्यकर्ता र सत्तामा रहेका जनप्रतिनिधिबाट एउटा संरचना बनेको छ । डुङ्गा पल्टेर डुब्दा डुङ्गामा रहेका सबै डुवेझैं कुनैपनि एउटा संरचनाले गलत गरेमा पार्टी र जनप्रतिनिधिलाई प्रत्यक्ष असर पार्ने भनाई रहेको थियो । उक्त वैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने विश्वास दिलाएका थिए । उनले भने, “नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण बनेको छ, हाम्रै नेतृत्वमा सरकार बन्छ, सरकार बनेपनि मन्त्रालयको संख्या बढ्नेछैन । बरु जनताबाट जस पाउने गरी काम गर्नुका साथै जनतालाई डेलिभरी दिनेगरी काममा प्रदेश सरकार लाग्ने छ ।” पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रमहरु गर्दा नजुध्ने गरी काम गर्नुपर्छ । जसले पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने उनले वैठकमा जानकारी गराएका थिए । त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जिल्ला कार्यसमितिलाई चलायमान, गतिशिल व्यवस्थित बनाउनका लागि गण्डकी प्रदेश भित्र रहेका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने वैठकबाट निर्णय भएको जानकारी गराएका थिए । साथै पार्टी संगठन मजबुद बनाउनको लागि प्रदेशका ११ वटै जिल्लामा एकैचोटी पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत उनले बताएका थिए । वैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय किरण बावु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले कार्यक्रमको विषयवस्तु प्रस्तुत गर्नुका साथै कार्यसम्पादन समितिले प्रस्तावहरुलाई सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता बास्तोलाको भनाई रहेको थियो । उक्त वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभाग संयोजक कल्पना तिवारी, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, सहमहामन्त्री रमेश कुमार पाण्डे, कोपिला रानाभाट जिल्ला सभापतिहरु डा.टकराज गुरुङ, जित शेरचन र नन्द न्यौपाने लगायतले आफ्नो भनाई राखेका थिए।