पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडाैँ:  भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ ।   एक हप्ते लामो विशेष उद्धार अभियानबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको हो ।   बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै चार सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।   नयाँ दिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् ।   समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म २४ घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताउनुभयो ।   उहाँले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रूपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताउनुभयो ।   उहाँले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका धेरै बालबालिकाहरू दिल्ली पुग्ने गरेको बताउनुभयो ।    बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरूले बताएका छन् ।

पोखरा:  पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आईतवार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।   इन्द्रेणी थिएटरको स्थापना बि.सं.२०७६ मा भएको हो । स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ भने यहाँका स्थानीय सरकारी निकायहरू, बाङ्मय संस्थाहरू तथा अन्य समान उद्देश्य भएका विभिन्न संस्थाहरूसंग समन्वय गर्दै काम गरिरहेको पौडेलको भनाई छ । मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकठ्ठामा व्यस्त छन । उनीहरु आफ्नै शरीरका हरेक अङ्गसँग बेखबर छन् । आफ्नै मुटु सँग बेखबर छन जो मानिस भ्रूण देखी मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने छ । कसरी प्रकृति चलिरहेको छ । यदी मानिस फुल भए के हुन्थ्यो ? मानिस खोला भए के हुन्थ्यो ? मानिस बादल भए के हुन्थ्यो ? मानिस बिउ भए के हुन्थ्यो ? यस्ता अनेक प्रश्नहरू मानिसको दिमागमा उब्जिन्छन् यो   जीवन बाँच्ने फरक विल्कुल फरक तरिका तरिका रहेको नाटका निर्देशक र अभिनेता समेत रहेका पौडेलले दावी गरे । यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षगाथा बताइरहेको छ । मञ्चमा पौडेल सँगै, कपिल शर्मा र दिपेन्द्र पौडेलको पनि अभियन हेर्न पाईनेछ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङ्ले संगीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ । २०२२ मार्च महिनामा इटालीस्थित पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, संगीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदार नाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य रहेको थियो । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति इम्ब्रिओनिक तयार भएको थिएटरले जनाएको छ । यसलाइ २०७९ श्रावण ६ गते ढिकीडाँडा रिसोर्ट, घार्मीमा प्रदर्शन गरिएको थियो । २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेष्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो । पोखराका साथै काठमाडौंको मण्डला थिएटरमा भएको नेपाल इण्टरनेशनल थिएटर फेष्टिभलमा पनि यो नाटक भव्य प्रर्दशन भयो । त्यसपछि फरक फरक समयमा गरिएका कार्यशालाहरुले नाटकलाई परिस्कृत गर्दै यसपाली जापान यात्रामा लैजान लागिएको पौडेलले जानकारी दिए ।

मध्यविन्दु: नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ ।    उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु. दुई लाखको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उहाँले बताउनुभयो । “प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।”   हालसम्म तीन क्विन्टलभन्दा धेरै स्ट्रबेरी स्थानीय बजारमा बिक्री भइसकेको किसान पराजुलीले बताउनुभयो । प्रतिकिलो रु. छ सयका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको छ । “स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ”, उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको स्ट्रबेरी माघबाट उत्पादन भएको र बिक्री गर्न सुरु भएको छ, सुरुमा आठ सय प्रतिकेजी बिक्री गरेको र अहिले छ सय प्रतिकेजी बिक्री भइरहेको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।”    दुई कट्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी हुन थलोको छ । अहिलेसम्म रु दुई लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ । “इन्टरनेटको माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा चितवनबाट गत वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ”, उहाँले भन्नुभयो, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका  बिरुवा  लगाएका छौ राम्रैसँग फल्न सुरु गरेको छ ।”    एउटै बोटमा एक केजीसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घर परिवारसगै एक जनालाई रोजगार दिएको पराजुली बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । आफ्नो जमिन नभए पनि दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरी, खरवुजा, ड्रागन खेती, कागती, बयर, शीतलचिनी खेती गरेको पराजुलीले बताउनुभयो ।   ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शङ्कर पौडलले बताउनुभयो । “फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र सातदेखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।”    पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइन्छ । स्ट्रबेरीलाई भुइँकाे फल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिने जनाइएको छ ।

स्याङ्जा: भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ।    सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो।    सबै वर्गका लागि सहज रहेको पार्क निर्माणको कल्पना तत्कालीन भीरकोट नगरप्रमुख छायाराम खनालले गर्नुभएको थियो। बालवाटिकाको सोचले निर्माण गरिएको पार्क अहिले नमुना र रमणीय बनेको बताउँदै नगर प्रवक्ता दीपेन्द्र केसीले अवलोकन, वनभोज र भेटघाटका लागि सार्वजनिक बिदाका दिन सर्वसाधारणको भीड लाग्ने गरेको बताउनुभयो।    नगरपालिकाले ४४ रोपनी क्षेत्रफलमा २०७६ सालमा पार्क निर्माण सुरु गरेर दुई करोड रुपियाँको लागतमा दुई वर्षमा निर्माण सकेको हो। पार्कको प्रवेशद्धार गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो।  सो पार्कमा फूलबारी, साना हरियाली रुखहरू, क्यारी, दुबोका बगैँचा, बस्न र खेल्नका लागि कुर्सी, ट्रस्ट, पोखरी, रमणीय र सुन्दर बगैँचा रहेको छ।    

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले चितवन- २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।   उपनिर्वाचनपश्चान रास्वपाले र्‍याली निकालेको छ।   मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म दलहरूलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। आगामी  वैशाख १० गते उपनिर्वाचन हुँदैछ।   गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो। 

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव महाराजगन्ज पुगेका छन्।   शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव गएको सचिवालयले जनाएको छ।   भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। यादवले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।   पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। 

काठमाडौं:  सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।   गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला छ सय रुपैयाँ घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।    आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।     त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।    आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।   आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:  नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।    नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताउनुभयो । “तपाईँहरूको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु”, उहाँले भन्नुभयो, “मैले अर्थतन्त्र सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईँहरूबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।”   सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ पनि गर्नुभएको थियो ।   भेटमा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटाउन सुझाव दिनुभयो । यसका लागि केन्द्रीय बैङ्क र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उहाँको भनाइ छ । सहकारी र लघुवित्तमा तरलता बढाउनेगरी काम अघि बढाउन महासङ्घले आग्रह गरेको छ ।    सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाको सुझाव छ । अहिले करिब २५ प्रतिशत मात्र रहेको पुँजीगत खर्चलाई विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भए पनि खर्च गर्नुपर्छ”, अध्यक्ष गोल्छाले भन्नुभयो ।   यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न तथा राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न उहाँले सुझाव दिनुभयो ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ।    तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा आगामी चैत ३० गतेदेखि सुरू हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने छ।   बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले 'सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरौँ' भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए।    'बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिने सडक खाना महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ', उनले भने।   सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन्। 'साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ,' अध्यक्ष प्रधानले भने।   नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।    बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन्। विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिए।   सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ।    जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरीलगायतका हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्छ।   बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छन्।