काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारको १०० दिनको उपलक्ष्यमा पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो। निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ घटाउने सोमबार निर्णय गरेको थियो। उक्त निर्णयपछि पेट्रोल प्रति लिटर मूल्य १७५, डिजेल र मट्टिटेल प्रति लिटर १६५ कायम भएको छ। हवाइ इन्धनमा पनि १० रुपैयाँ घटाइएको छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए। उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो। 'उहाँहरूले आ-आफ्नो ठाउँमा के/कस्ता कामहरू भइरहेका छन्, सोही विषयमा केन्द्रित भई कुराकानी भएको हो,' उनले भने। भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए। उनीहरूले एकअर्कालाई 'सिलाम साक्मा' लगाइदिएका थिए। सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ।
ढोरपाटन: बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरूले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै आएको भेडापालन अहिले केही सुस्ताएको छ । माथिल्लो खर्कमा पुग्दा सेताम्मे भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बुढापाका छन् । कृषकले मासुका लागि भेडा मात्रै बेच्दैनन् भेडाको रौँबाट बनेका कपडा पनि बेच्छन् । भेडाको रौँबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडा पानी तार्ने, हिउँमा जाडो छेक्ने तथा गर्मीमा घाम छेक्न उपयोगी मान्छिन् । आधुनिक प्रविधिसँगै विभिन्न प्रकारका कपडा भित्रिन थालेपछि स्थानीय उत्पादनले बजार पाउन छोडेको छ । कुनैबेला भेडा र रौँका कपडा बेचेर राम्रो आम्दानी गर्ने भेडापालक अहिले मासुका लागि मात्रै भेडा पाल्नुपर्ने स्थितिमा छन् । मासु गाउँमै बिक्री भए पनि ऊनका कपडा देशमा मात्रै नभएर विदेश पनि निर्यात हुने गर्दथ्यो । ऊनको कपडा बनाउन धेरै झन्झटिलो र समय पनि धेरै लाग्ने हुँदा पछिल्लो समय उत्पादनमा कमी हुन थालेको निसीखोलाका पुनराम बुढामगरले बताउनुभयो । यस्ता कपडाको मूल्य अन्य कपडाभन्दा महँगो पर्ने भएकाले स्थानीयको रोजाइमा कम पर्ने गर्छ । बुढामगरले भन्नुभयो, “पहिले भेडा पालेर राम्रो कमाई हुन्थ्यो, वर्षमा एक डेढ लाखको त घुम, काम्लो नै बिक्री हुन्थ्यो । भेडा पूजाआजा र चाडपर्वमा धेरै बेच्थे, अहिले त उही भेडा मात्रै हो, त्यही पनि बुढो भइयो पहिलेको जस्तो पाँच सय÷एक हजार पाल्न सकिन्न । माथि लेकलेकमा पुग्नुपर्छ, भेडाको ऊन निकाल्नु पर्छ, कपडा बुन्न धेरै समय लाग्छ ।” स्थानीय ७३ वर्षीय तिलु घर्तीले सानैदेखि भेडापालनमा लागेको र कपडा बनाउने गरेको सुनाउनुभयो । उतिबेला अहिलेको जस्तो ओढ्ने, बिछ्याउने सिरक, डसना नहुने भन्दै भेडाको ऊनबाट बनेको कपडा प्रयोग गरेको उहाँले सम्झनुभयो । कपडा लिन बुटवल, तानसेन पुग्न समस्या हुने गर्थ्यो । “अहिले लेकमा पनि बाहिरबाट आएका कपडा छन्, पहिलेको जस्तो दुःख छैन, जमाना फेरियो, ऊनको कपडाले घोच्छ रे, लगाउँदैनन्, हामीहरू त्यही लगाएर हुर्कियौँ”, उहाँले भन्नुभयो, “चप्पल सानोमा लगाएनौँ, हामी ठूलै भएपछि मात्रै लगाएका हौँ, अहिले घुम, काम्लो बुन्ने मान्छे भए, बुनेकाले बिक्री नभएको गुनासो गर्छन्, मैले सानै हुँदा बुन्न सिकेको थिए, अहिले अलिअलि त बुन्छु, पहिलेको जस्तो सकिँदैन ।” स्थानीय पविन्द्र घर्तीमगरले नयाँपुस्ताले सीप नसिक्दा परम्परागत कपडा हराउन थालेको बताउनुभयो । उहाँले केही वर्ष अगाडिसम्म विदेशबाट पनि बढी माग हुने गरेको सुनाउँदै अहिले घटेको बताउनुभयो । “पहिले एक परिवारले कम्तीमा एक हजार भेडा पाल्थे । तर अहिले निकै कम भयो”, उहाँले भन्नुभयो । घर्तीले भेडापालनलाई स्थानीय सरकारले प्रवर्धन गर्नसके राम्रो आम्दानीको स्रोत बन्ने बताउनुभयो । ऊनका कपडाले युवापुस्ताले मन नपराउँदा बजार पाउन मुस्किल परेको उनीहरूको गुनासो छ ।
मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ। एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्। संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो। गएराति मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। संघमा बनेको गठबन्धनअनुसार प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी छ।
काठमाडौं: साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि नेप्से परिसूचक घटेको छ। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तरता पाएको छ। यस दिन नेप्से ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँमा सीमित भएको छ। यस दिन २६४ वटा धितोपत्रको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको हो। मंगलबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। यसदिन उक्त कम्पनीको सेयरमूल्य २५७ रुपैयाँ ८० पैसा पुगेको छ। यस्तै, सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८.९३ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ५ पैसा पुगेको छ। यसैगरी, यसदिन ८.५ प्रभु बैंक डिवेञ्चर २०८७ को मूल्य सर्वाधिक ९.२९ प्रतिशतले घटेको छ। उक्त डिवेञ्चरको मूल्य ७३८ रुपैयाँ पुगेको छ। यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ८.३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५७३ रुपैयाँ ९० पैसामा झरेको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ। मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४१० रुपैयाँमा ३ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६९६ रुपैयाँ ६० पैसामा ३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ । झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ । थकान मेटाइदिन्छ, दुःख बिर्साइदिन्छ । अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र वराहशिखर हिमालबाट हिउँ पग्लिएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गलाई सुन्दरता दिएको छ । हुमखोलाबाट एक घण्टाको पैदल यात्रापछि झरनामा पुग्न सकिन्छ । माथिबाट खसेको झरना र पानीको नीलो तालको अवलोकन गर्दै रमाउने गरेका छन् । झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटक लोभिन्छन् । झरनाको सुन्दरताले पर्यटकको थकान मेटाइदिन्छ । झरनाको अवलोकन गर्दा निकै आनन्द अनुभूति हुने पदयात्रामा जानुभएका अन्नपूर्ण गाउँपालिका–५, शिखका सुरेन गुरुङले बताउनुभयो । स्थानीयहरू आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई तीन वर्षअघि ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरी पूर्वाधार निर्माणमा जुटेका छन् । १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो । त्यसैले पालिकाले मौरिसको नामबाट पदमार्गको नामकरण गरेको हो । यो पदमार्ग मिस्त्री खोलाको किनारै किनार भएर अन्नपूर्ण आधार शिविर पुग्छ । पछिल्ला पाँच वर्षयता पर्यटन मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मार्फत पदमार्गलाई व्यवस्थित बनाउन करिब साढे तीन करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार पदमार्ग, झोलुङ्गे पुल, फड्के पुल र सिँढी निर्माण गरिएको छ । छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी छवटा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ भने छ स्थानमा आश्रयस्थल निर्माण गरिएको छ । समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य मनमोहक छ । शिविरमा नीलो रङ र गोलो आकारका पाँचवटा ताल छन् । नारच्याङवासीले उक्त ताललाई पञ्चकुण्ड भनेर नामकरण गरेका छन् । ती तालबाट हिमालको छायाँ हेर्न सकिन्छ । अन्नपूर्ण आधार शिविरमा अहिले आठवटा आरोही टोली पुगेको गुरुङले बताउनुभयो ।
काठमाडौं : नयाँ वर्षको अवसरमा आगामी बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा 'नेपाल टुरिजम फेस्टिभल' हुने भएको छ। नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोग र एनटिपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलो पटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्देश्यले खुल्ला रूपमा नेपाल टुरिजम फेस्टिभल हुन लागेको हो। आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो। यो फेस्टिभल अब हरेक वर्ष हुनेछ। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको आयोजक एनटिपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए। दुई दिने फेस्टिभलमा न्यूनतम १० देखि अधिकतम १५ वटा सेसनहरू सञ्चालन हुनेछन्। फेस्टिभलको उद्घाटन सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुनेछ। यस्तै अन्तिम सेसन 'पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल' पर्यटनमन्त्री सुदन किराँतीको हुने आयोजकले जनाएको छ। फेस्टिभलमा विभिन्न विधामा पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन्। यस्तै अन्य सेसनमा 'पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास', 'स्वास्थ्य पर्यटन, स्वास्थ्य सदृश्य र संसार', 'चलचित्र पर्यटन, सिन, सिनेमा र सेलिब्रेटी' हुनेछन्। यस्तै 'व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजार', 'पर्यटनमा जलवायू परिवर्तनको असर, हिउँ हिमाल र हिमालय' सेसन पनि सञ्चालन हुनेछ। नेपालमा रहेका विभिन्न विदेशी राजदूतको 'नेपाल अनुभव' सेसन पनि सञ्चालन हुने फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए। फेस्टिभलमा 'खेल पर्यटन, खेल, खेलाडी र गोर्खाली' तथा 'कला पर्यटन, संगीत, सौन्दर्य र सुनौलो नेपाल', कृषि पर्यटन सेसन पनि सञ्चालन गर्ने तयारी छ। यसबाहेक शिक्षा पर्यटन, युद्ध पर्यटन, साहित्य पर्यटन लगायतका विषयले पनि प्राथमिकता पाउने आयोजकको भनाइ छ । नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए । 'नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन केन्द्रित नीतिगत बहस गर्ने उद्धेश्यले नेपालमा पहिलोपटक नेपाल टुरिजम फेस्टिभल आयोजना गर्न लागेका हौँ' फेस्टिभल संयोजक विष्णु विवेकले भने, 'वैशाख १ र २ गते हुने कार्यक्रममा सरकार, निजी क्षेत्र, पर्यटन क्षेत्रका सरोकारवालाबीच गम्भीर छलफल, बहस तथा अन्तरक्रिया हुनेछ।' नेपाली तथा विदेशीलाई समेत नेपालका विभिन्न ठाउँमा घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन हुन लागेको फेस्टिभल पहिलोपटक आयोजना भएर वर्षेनी सञ्चालन हुने पनि उनले बताए। पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपाल फेस्टिभलले पर्यटन क्षेत्रका विविध विधालाई जोड्ने र पर्यटनका नीतिगत सवाललाई उजागर गर्ने बताए।
बैतडी : बैतडीका तीन युवती बेपत्ता भएका छन्। जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्। मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएकी उनका देवर निराजन पोखरेलले बताए। भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ। सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन्। उक्त दम्पतिका दुई छोरा छन्। यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएकी छतन्। यही चैत १६ गते घरबाट हिंडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ। पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन्। पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ। जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन्। यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए। चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन्। इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए।
सिड्नी : अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो। देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन्। यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन्। युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ। चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आवद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलव्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ। अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ। यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ। गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो। चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो। चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए। अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ। साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ।