चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ।    तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा आगामी चैत ३० गतेदेखि सुरू हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने छ।   बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले 'सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरौँ' भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए।    'बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिने सडक खाना महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ', उनले भने।   सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन्। 'साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ,' अध्यक्ष प्रधानले भने।   नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।    बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन्। विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिए।   सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ।    जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरीलगायतका हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्छ।   बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छन्।

काठमाडौं:  सन् २०२३ को मार्च महिनामा नेपालमा झन्डै एक लाख पर्यटक भित्रिएका छन्।    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा कुल ९९ हजार चार सय २६ जना पर्यटक भित्रिएका हुन्।   यो संख्या अघिल्लो महिनाको तुलनामा २६ हजार एक सय ७१ जनाले बढी हो। गत फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक भित्रिएका थिए।    सन् २०२३ को मार्च महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन्। मार्चमा २५ हजार नौ सय ११ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्।    त्यस्तै, अमेरिकाबाट ९ हजार पाँच सय ५७, बेलायतबाट ६ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९ र श्रीलंकाबाट तीन हजार आठ सय ९८ जना पर्यटक भित्रिएका छन्।    नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली राष्ट्रहरूबाट २३.४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन्।    सन् २०२३ को सुरुआतिदेखिको तथ्यांक हेर्दा पर्यटक भित्रने संख्या मासिक रूपमा बढ्दै छ।    फेब्रुअरीको तुलनामा जनवरीमा नेपाल भित्रने पर्यटक संख्या कम थियो। जनवरीमा जम्मा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। यस हिसाबमा पछिल्लो समय पर्यटक आगमको संख्यामा सुधार हुँदै गएको देखिन्छ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचनका लागि तीनवटै क्षेत्रका लागि उम्मेदवारको टु्ंगो  लगाएको छ।   राप्रपाको आज बसेको संसदीय समितिको बैठकले तनहुँमा शोभा गुरू,बारामा सोनेलाल शाह र चितवनमा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।   आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपाले उपेन्द्र यादव,रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

काठमाडौंः सांसद् प्रदिप पौडेलले हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।   संसद्को शून्य समयमा बोल्दै सांसद् पौडेलले हवाई सुरक्षाको विषयलाई प्रत्येक देशले उच्च प्राथमिकताका साथ लिएपनि नेपालले गम्भिरतापूर्वक नलिएको बताए।   पौडेलले भने, ‘पछिल्ला रिपोर्टले प्रष्ट भन्छन्, नेपालमा हवाई दुर्घटनाको पछाडि इन्जीनले काम नगरेका जस्ता यान्त्रीक कारण भन्दापनि व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरू हुन्छन् । तर, सम्बन्धीत निकाय यो विषयमा बेखबर जस्तै छ । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकताका साथ लिन्छन् । तर, हाम्रो मुलुकले गम्भिरतापूर्वक लिदैन ।’   पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटि देखिइरहेको उनको भनाइ छ। पौडेलले भने,‘यसै त नेपालको हवाई क्षेत्र गम्भीर सुरक्षा चासोको सूचीबाट हटेको छैन । त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ । त्यसैले हवाई क्षेत्रमा देखिएका समस्या सम्बोधनमा सरकार गम्भीर बनोस् । उचित व्यवस्थापनका लागि समाधान खोजियोस् । ’   पौडेलले कुनै जहाजको पांग्रा खुस्किनु पर्ने अवस्था रहेको र  उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्नुपर्ने स्थिती रहेको बताए । पौडेलले भने,‘ हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवईबाट काठमाडौं उड्नै लाग्दा कोपाइलटलाई पखाला चलेपछि १४३ यात्रु अलपत्र परे ।’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।   अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'स्वास्थ्य  अवस्था असहजता भइ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।'   स्वास्थ्यमा असहजता भएपछि राष्ट्रपति शनिबार अस्पताल भर्ना भएका थिए।   राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुगेका छन्। 

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासन दिएका  छन्।   आइतबार बिहान  अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा आन्दोलनरत उनीहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले सहमति जनाइसकेकाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे।   गृहमन्त्रीले भने,'तपाईंहरूका मागमा सरकार सहमति जनाइसकेको अवस्‍था छ। तपाईंहरू ढुक्क भएर घर फर्किनुहोस्।' माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।'   उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको हो ।    यसअघि मिटरब्याज पीडित र सरकारबीच शनिबार बेलुका पाँच बुँदे सहमति भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान बालुवाटारमा पीडितसँग छलफल गरेपछि साँझ सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। मन्त्रिपरिषद्बाट छानबिन आयोग गठन भएपछि मात्रै मिटरब्याजविरुद्धको आन्दोलन फिर्ता लिने सहमति भएको छ।    मिटरब्याज पीडितका नियमित रूपमा आउने उजुरी/गुनासोलाई सम्बोधनका लागि जिल्ला जिल्लामा समन्वय तथा सहजीकरण समिति गठन गर्ने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधिसमेत रहने गरी जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्न सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ।   यो समितिले गठन हुने आयोगका कामलाई सहयोग र सहजीकरण गर्नेछ। 

पोखरा । भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि  ५/३ जिआरले उचालेको छ । भारतिय पेन्सन क्याम्पमा आयोजित उपाधि भिडन्तमा ३/९ जिआरलाई ३–१ सेटले पराजितगर्दै उपाधि उचालेको हो । उपाधि संगै ५/३ जिआरले नगद ४० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको  ३/९ जिआरले नगद २५ हजार, शिल्ड, मेलड र प्रमाणपत्र प्राप्त गरेको छ । सम्पन्न फाइनल खेलमा पहिलो सेट २५–२३ ले जितेको भएपनि दोश्रो सेटमा ३÷९ जिआरले २३–२५ ले जित्दै खेलमा फर्कियो । तेश्रो र चौथो सेट २५–१८ र २५–ले जित्दै उपाधि जितेको छ । विजेता टिम तथा खेलाडीहरुलाई भारतिय पेन्सन क्याम्पका प्रमुख ले.कर्नल प्रशान्त सिंह बघेलले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजकको रुपमा नेपाल एसबिआई बैंक तथा दोस्रो पुरस्कारको प्रायोजनको रुपमा ऐभरेष्ट बैंक रहेको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । 

पोखरा: “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूलमन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गजलसन्ध्या र नवनीत साहित्य सागरले संचालन गर्दै आइरहेको यात्रा साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९७ औं श्रृङ्खला स्रष्ठा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा सम्पन्न भयो । उक्त कार्यक्रम पुम्दीभुम्दी क्षेत्रमा बस्ने साहित्यप्रेमीहरुलाई समेटेर स्थापना गरिएको साहित्यिक संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले स्वागत गर्दै आँफुहरु साहित्यप्रति सानैदेखि अनुरक्त रहेको, तर पेशागत कारणले समयमा साहित्य सिर्जनामा समाहित हुन नसकेतापनि अवकाशपछि संस्था गठन गरेर भाषा तथा साहित्यको सेवामा लागेको र दुई दशकदेखि तत्स्थानमा साहित्य सिर्जना गरी वाचन गर्ने पाको कार्यक्रम अक्षरयात्रामा सहभागी भै स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै काव्य वाचन गरी कार्यक्रम सुरु गर्नुभयो । सो अवसरमा अक्षरयात्राका परिकल्पनाकार मध्येका एक परिकल्पनाकार लक्ष्मण थापाले दुईहजार बैसठ्ठी सालदेखि सन्चालित यो कार्यक्रमले पोखरा ओरिपरी मात्र नभै लम्जुँग, तनहुँ, पाल्पा, स्याँग्जा र पर्वतका बिभिन्न प्रशिद्ध पर्यटकीय ठाउँहरुमा आवश्यकता अनुसार एक दिवसीय र दुई दिवसीय यात्रा गरेको छ । कार्यक्रमसंग नेपालका प्रायः सबै साहित्यकारहरु कुनै न कुनै कालखण्डमा जोडिएका जानकारी दिंदै पोखराकै सेरोफेरोमा रहेको साहित्यिक संस्थासंग सहकार्य गर्न पाएकोमा सन्तोष लागेको कुरा बताउँनु भयो । कार्यक्रममा प्रसिद्ध साहित्यकार, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नन्दप्रसाद सुवेदी, ध्रुव विपश्वी, गुरुप्रसाद बराल, लाल कार्की अन्जान, गुरुप्रसाद बराल, संदीप अधिकारी, हरीप्रसाद बराल,  माधव खतिवडा र वसन्त विनोद लगाएत साहित्यकारहरुले तत्स्थानीय सिर्जना वाचन गरेका थिए । कार्यक्रमको परम्परा अनुसार स्थानीय व्यवस्थापन गर्ने संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बराल र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा संचालित भएको थियो भनें कार्यक्रमको संचालन गजलसन्ध्याका सहसचिव माधव खतिवडाले गर्नुभएको थियो ।

पोखरा:  ११ औं  संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव नजिकै  आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेम्जा​मा सरसफाई गरिएको छ । ११ औं  संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेम्जाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै  चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको हो । उक्त अवसरमा बिष्णु पादुका क्लबका पदाधिकारीहरु तथा हेम्जामा रहेका विभिन्न संघ सस्था, आमा समुह, युवा क्लब तथा स्थानियहरुले सहभागीता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा संकलन फोहोरलाई बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ब्यवस्थापन गरिएको महासचिव श्रेष्ठले बताउनुभयो । विगतका वर्षहरुमा पनि हेम्जा आलु महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने हेम्जा आलु महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा बिष्णु पादुका क्लवका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो । बिष्णु पादुका क्लब पोखरा २५ हेम्जाको आयोजनामा यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म बिष्णु पादुका खेल मैदानमा ११ औं राष्ट्रिय हेम्जा आलु महोत्सव हुदैछ ।