रामेछाप : खाँडादेवी गाउँपालिका राकाथुमको पिपलबोटमा बोलेरो दुर्घटना भएको छ। बा१६च ३८२५ नम्बरको बोलेरो गाडी करिब ३ सय मिटर भिरबाट खसेर दुर्घटना भएको पूर्व वडाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक बालकसहित दुई जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ। अन्य तीन जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नम्बर २ का उम्मेदवार रमेश खरेलले देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेको बताएका छन्। रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा खरेलले देशमा सिण्डिकेट र माफियातन्त्र बढ्दै गएकाले यसको अन्त्यका लागि आफूले रास्वपा रोजेको बताए। खरेलले भने, ‘सुशासन कायम गर्न सामान्य दाजु भाई बहिनीलाई हौसला प्रदान गर्नुपर्ने छ। नेपाल आमालाई माया गर्ने मानिसहरू एक ठाउँमा उभिन आवश्यक छ।’ उनले माफियातन्त्रको अन्त्य गरी कानुनी राज्य स्थापना अहिलेको आवश्यकता रहेको बताएका छन्। राष्ट्रमा भएको सिण्डिकेट तोड्न जरुरी रहेको उनको भनाइ छ। खरेलले भने, ‘नेपाल आमालाई जोगाउन आवश्यक छ। सिण्डिकेट, माफीयातन्त्रको अन्त्यमा लडौं। यो देशलाई विदेशीको क्रिडास्थल नबनाऔं।’
काठमाडौँ: नेपाली कांग्रेस परित्याग गरेका डा.स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई पार्टीको चिन्ह भएको ब्याज लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गरिएको छ । शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले ब्याज लगाइदिएर पार्टीमा स्वागत गरेका हुन् । वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
दोलखा : दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।
काठमाडौँ: मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ। जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गर्नुभयो। उहाँले सिंहदरबारका साथै सार्वजनिक स्थल, अस्पताल, बसपार्क, विमानस्थलमा समेत सार्वजनिक धारा सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको बताउनुभयो। सञ्चालनमा ल्याइएका दुईवटा धाराबाट आगन्तुक, सेवाग्राही र कर्मचारीले पानी खान सक्नेछन्। निवर्तमान खानेपानी मन्त्री खानले जार तथा बोतलको पानी विस्थापित गर्ने कार्यलाई मन्त्रालयले प्रमुखताका साथ अगाडि बढाएको बताउँदै अबको केही महिनाभित्र नै पानीको मूल्य घटाएरै छोड्ने प्रतिबद्वता व्यक्त गर्नुभयो। मन्त्रालयले बजारमा जार र बोतलको मूल्य घटाउने सम्बन्धमा समेत काम गरिरहेको उहाँको भनाइ छ। पानीमा धनी हुँदाहुँदै पनि किनेर खानु दुःखको विषय भएको बताउँदै उहाँले दुईदेखि साढे दुई वर्षभित्रमा तराई मधेशमा र पाँच वर्षभित्र मुलुकभरि नै पानीको समस्या समाधान गरी नेपालको पानी विदेश निर्यात गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो। ‘एक घर एक धारा’ अभियान सो अवसरमा निवर्तमान मन्त्री खानले मुलुकभरि नै ‘एक घर एक धारा’ अभियान सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले एक घर एक धारा अभियानका रूपमा काम अघि बढाइसहेका छौँ। हाम्रो मन्त्रालयको निम्ति मैले सोचेअनुसार ऐतिहासिक काम हो। यहीअनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन।’’ खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले सिंहदरबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रूपमा प्रतिस्थापन गर्ने योजनाअन्तर्गत नै मेलम्चीको पानी वितरण सुरु गरिएको बताउनुभयो। उहाँले मेलम्चीको पानी वितरण सुरु भएपछि अहिले पानी खरिदमा खर्च भइरहेको मासिक करोडौँ रुपियाँ बच्ने विश्वास व्यक्त गर्नुभयो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले सञ्चालनमा ल्याइएको धाराको पानी प्रत्यक्ष रूपमा खान हुनेगरी पूर्ण रूपमा शुद्ध रहेको बताउँदै सो धारा २४सै घण्टा सञ्चालनमा रहने जानकारी दिनुभयो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नयाँ बानेश्वर केन्द्रका प्रमुख विजय विश्वकर्माले सिंहदरबारभित्र तत्काल थप तीन ठाउँमा सार्वजनिक धारा सञ्चालनमा ल्याउने योजना रहेको र अबको १० दिनभित्र ती धारा सञ्चालनमा आइसक्ने जानकारी दिनुभयो। उहाँका अनुसार अब गृह मन्त्रालय, खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राङ्गणमा सार्वजनिक धारा जडान गरिने भएको छ।
काठमाडौँ: सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटर ब्याज पीडितहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो आश्वासन दिनुभएको हो । उहाँले मिटर ब्याज पीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताउनु भयो । उहाँले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्ने गरी ऐन तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले उच्चस्तरीय आयोग ‘ र्यापिड एक्सन पोस्ट’ सरह काम गर्ने गरी अघि बढाइने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था छैन । मिटर ब्याज पीडितहरूलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ । मैले यस पटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ । मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन । मिटरब्याजी समस्यालाई लिएर मन्त्री स्तरीय बैठकबाट नै एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्न सक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । त्यो प्रक्रिया अघि बढी सकेको छ । त्यसलाई र्यापिड एक्सन पोस्ट जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पुर्जी काट्ने र कारबाही गर्ने खालको होस् ।’ प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । शनिवार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्री दाहालसँग भक्कानिएर आफ्ना पीडाहरू राखेका थिए । उहाँहरूले आफ्ना ६ वटा मागहरू पूरा सम्बोधन भएपछि मात्रै काठमाडौँ छोड्ने प्रधानमन्त्रीसँग अडान लिएका छन् । प्रधानमन्त्री दाहालले भने अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग यसबारे सम्झौता गरेर मात्रै घर फर्किन आग्रह गर्नुभएको छ ।
काठमाडौं : नेपाल–चीन रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । आंशिक रुपमा मात्र सञ्चालन हुँदै आएको रसुवाको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी सञ्चालनमा आएको हो । कोभिड–१९ महामारीका कारण बन्द भएका अन्तर्राष्ट्रिय नाका खुल्ला गरेको लामो समय भएपनि चीनका सिमा नाका पूर्ण सञ्चालनमा आउन सकेका थिएनन्। तीन वर्षपछि चरसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। दूतावासले नाका सञ्चालन भएसँगै द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरेको छ। केही दिनअघि नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
त्रिशूली: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
काठमाडौं : हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर बदली रहनुका साथै पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रही अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । बितेको २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ६० मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २४, विराटनगरमा २१, ओखलुङ्गामा १८, घोराहीमा, वीरेन्द्रनगरमा २३, नेपालगञ्जमा २१ र काठमाडौँमा ८ मिलिमिटर वर्षा भएको छ ।