पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौं:  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।   मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए।    बारा २ मा हुने उपनिर्वाचनमा के गर्ने भन्नेबारे छलफल गरी निर्णय गर्ने कांग्रेसको तयारी छ।    कांग्रेसले बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने तयारी गरेकोमा यसअघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केही नेताहरूले असन्तुष्टि जनाएका थिए।    यस्तै सरकारमा थप मन्त्री पठाउनेबारे पनि छलफल हुनेछ। कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो। अब ४ मन्त्री छान्न बाँकी छ।    नेता शेखर कोइराला पक्षले कम्तीमा ३ मन्त्रालय आफूहरुले छान्न पाउनुपर्ने अडान राखिरहेका छन्।  

ढोरपाटन:  ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् ।   गाउँपालिकाले अधिकांश बस्तीमा सडक पुर्याएको छ । मदमडाँडाका ४३ वर्षीय अम्मर घर्तीले गाउँमा सडक आएपछि गाउँलेको जीवनशैली बदलिएको बताउनुभयो । बजारभन्दा गाउँ निकै टाढा हुँदा यहाँका नागरिकले घण्टौँ लगाएर नुन तेल जोहो गर्नुपरेको घर्तीले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “फेदीसम्म १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेदी पुगेर सामान ल्याउने गथ्यौँ, पहिला बागलुङ बजार हटिया बजार जानु पर्थ्याे, त्यहाँ जान एक दिन लाग्थ्यो, अहिले सामान घरमै आउँछ, उतिबेला महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपर्थ्याे ।”   गाउँपालिकाले पाँचवटै वडाका बस्तीमा सडक पुर्याएको छ । गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ । अहिले यहाँका कृषिउपज वस्तु बजारीकरणमा सहज भएको स्थानीय विनोद घर्तीमगरले बताउनुभयो । विगतमा कृषकले उत्पादन गरेका आलु, सिमी र भाँगो खेर जाने गरेको भन्दै अहिले सहजरुपमा बजार पाउने गरेको बताउनभुयो ।   उहाँ भन्नुहुन्छ, “सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको छ, गाडी आएर कृषकले बेच्न चाहेका सामान लिएर जान्छ, धेरैको जीवनस्तर उकासिने क्रममा छ ।” गाउँपालिकाले गाउँगाउँमा सडक विस्तार गर्न हालसम्म करिब करिब रु. २० करोड बढी लगानी गरिसकेको छ ।    स्थानीय ७० वर्षीया रुपकला घर्तीमगरले पछिल्लो एक दशकयता ताराखोलामा ठूलो परिवर्तन आएको बताउनुहुन्छ । उहाँले गाउँमा कोही सामान्य बिरामी परे डोलामा बोकेर अस्पताल पु¥याउने गरेको स्मरण गर्दै अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार समयमै गराउन पाएको बताउनुभयो । आफूहरुले २० वर्ष अगाडि बागलुङ, बुटवललगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गरेको सम्झनुभयो ।   “विकास भनेको नै यही हो, हाम्रो पालामा अहिलेको जस्तो मोटर गाडी हिँड्ने सडक थिएन, हामीहरु साँघुरो गोरेटोमा हिँड्थ्यौँ, बिजुली थिएन, टुकीको भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन तेल ल्याउन हप्तौ लगाएर बटौली (बुटवल) जान्थ्यौँ”, घर्तीले आफ्नो विगत स्मरण गर्दै भन्नुभयो, “अहिले केही कमी छैन, सबै थोक गाउँमै छ, पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराईतिर गए, अहिले यही तराई भयो ।”   गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले गाउँ बस्ती छरिएकाले एकै पटक विकास हुन नसकेको भन्दै अहिले ८५ प्रतिशत बस्तीमा सडक पुगेको बताउनुभयो । भौगोलिक कठिनाइका बाबजुद ताराखोलामा विकासका ढोका खुलेको उहाँको भनाइ । उहाँले सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिएको भन्दै अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना यातायात सञ्चालन हुने गरी काम गरेको बताउनुभयो । सडक विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखेर विस्तार गरिएको उहाँको भनाइ छ ।      उहाँ भन्नुहुन्छ, “एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ, अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेकाले नागरिकको दैनिकीमा सहज भएको, गाउँपालिकासँगै प्रदेश सरकारको लगानीमा सडक निर्माण भएका हुन्, अझै केही बस्तीमा पुर्याउनुपर्नेछ, कच्ची सडक व्यवस्थित बनाउने योजना छ ।” गलकोट नगरपालिकाको हटिया बजारदेखि हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रेको चरणमा छ । यो सडक ताराखोलावासीलाई ‘लाइफ लाइन’ बन्नेछ ।

स्याङ्जा: कालीगण्डकी कोरिडोरअन्तर्गत स्याङ्जा–पर्वत खण्डमा दुईवटा मोटरेबल पुल निर्माण भएका छन् । योसँगै कोरिडोर निर्माणले तीव्रता पाएको छ ।    कोरिडोरभित्र पर्ने स्याङ्जा खण्डको १० किलोमिटरमा कालीगडण्डी गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने गरी आँधीखोलामा एउटा तथा गल्याङ नगरपालिका–५ र पर्वतको बिहादी जोड्ने गरी सेतीखोलामा अर्को पुल निर्माण गरिएको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।    आँधीखोला पुल रायमाझी/राजेश्वरी/पीटीआर अधिकारी जेभीले साढे दुई वर्षमा सक्ने गरी २०७७ असार ३० गते सम्झौता गरेको थियो । ५० मिटर लम्बाइको यो पुल नौ करोड ६२ लाख ७९ हजार ९३ रुपियाँ २९ पैसामा निर्माण भएको हो । यस्तै सेतीबेनीखोला ट्रस्ट ब्रिज  मुक्तिनाथ/सुयान जेभीले निर्माण थालेको पाँच वर्षमा सम्पन्न गरेको आचार्यले बताउनुभयो । निर्माण कम्पनीले पाँच करोड ८६ लाख ८२ हजार ९८ रुपियाँ १६ पैसामा पुल निर्माण गरेको हो ।    यस्तै कोरिडोर पाल्पा–गुल्मी–बागलुङ खण्डले कालोपत्रे गरिरहँदा स्याङ्जा–पर्वत खण्डमा निर्माणले तीव्रता पाएको छ । स्याङ्जा–पर्वतको ५३ किमिमा स्याङ्जा खण्डमध्ये मिर्मी–सेतीबेनी सडकको सात किमि महादेव खिम्ती/आन्जना/पराजुली जेभी लमजुङले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।    निर्माण कम्पनीले सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी २०७७ भदौ १२ गते सझौता गरेको थियो । २१ करोड ९८ लाख छ हजार १९० रुपियाँ १९ पैसामा साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा ५० प्रतिशत मात्र काम भएको आचार्यले बताउनुभयो ।   विस्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएकाले एक वर्ष समय थपेर काम अगाडि बढाइएको आचार्यले बताउनुभयो । यस्तै मिर्मी–सेतीबेनी सडककै तीन किमि काष्ठमण्डप/कली/मनकामना जेभीले आठ करोड ८६ लाख ८७ हजार ७७१ रुपियाँ ६० पैसामा सम्झौता गरेको छ । २०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गरी ३० महिनामा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकोमा ६५ प्रतिशत काम सकेको छ ।    कोरिडोरले पर्वत खण्डको ४३ किमिमध्ये छ किमि कालोपत्रे हुँदा १७ किमि कालोपत्रेको अन्तिम तयारीमा रहेको छ । थप २० किमिको ठेक्का निकाल्ने तयारीमा रहेको आचार्यले बताउनुभयो । कोरिडोरको स्याङ्जा–पर्वत खण्डको मिर्मी, सेतीबेनी, रानीपानी, कुर्खा, फलेबास, अर्मादी खण्डको सडक निर्माणले यहाँका लाखौँ नागरिक लाभान्वित हुनेछन् । यसबाट बुटवल, पाल्पा, नारायणगढ जाने यात्रुलाई समेत सहज हुनेछ ।  

काठमाडौं :  बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदलै आएका मिटरब्याज पीडित बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न मिटरब्याज पीडित बालुवाटार पुगेका हुन्।   गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच भएको ५ बुँदे सहमति कार्यान्वयन भएको छैन। ३५ जिल्लाबाट परेका ३ हजार ३ सय ५१ उजुरीमध्ये छिनोफानो हुन केही बाँकी नै रहेका छन्। कतिले उजुरी दिनै हैसियत पनि राखेका छैनन्। उजुरी दिने हिम्मत र हैसियतै नभएकाहरूकै घाँटी  सुदखोरहरूले ऋणको माखे साङ्लोले अँठ्याएका हुन्।   सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाका करिब सयजना निमुखा नागरिक ऋणको गलपासो तोडीमाग्न अहिले काठमाडौं आएका छन्।   पीडितहरूले समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोगको गठन गर्न सरकारसँग माग राखेका छन्। तमसुक व्यवस्था खारिज गर्नुपर्ने, मिटरब्याज पीडतहरूको पक्षमा कानुन निर्माण गर्नुपर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पीडितहरूले सरकार समक्ष राखेका छन्।   साहुहरूले हडपेको जग्गा पीडितलाई फिर्ता गर्नुपर्ने, पीडक साहुकारमाथि सहज ढंगले मुद्दा दर्ता गर्न पाउनुपर्नेलगायत अदालतले पीडितहरूलाई जारी गरेको पक्राउ पूर्जी सरकारले समस्याको छानबिन नगरेसम्म कार्यान्वयन रोक्नुपर्ने माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ।    त्यसैगरी, नक्कली तमसुकको आधारमा जेल चलाउन भएका पीडितहरूलाई क्षतिपूर्तिसहित ससम्मान रिहा गर्नुपर्ने, बैंकबाट ऋण सहज र सरल व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जान चाहने युवाका लागि सरकारको ग्यारेन्टीमा बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।    कानुन निर्माण गरी राजपत्रमा प्रकाशित नगरेसम्म र अधिकार सम्पन्न आयोग गठन नगरेसम्म आन्दोलन जारी रहने मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोजकुमार पासमानले बताएका छन्। न्याय प्राप्तिका लागि मिटरब्याज पीडितहरू चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आएर निरन्तर आन्दोलन गरिरहेका छन्।

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री नियुक्त भएका छन्। नवनियुक्त अर्थमन्त्री डा. महतले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार पनि ग्रहण गरे।   देशले २०७७ भदौपछि अर्थतन्त्रबारे जानकार पहिलो अर्थमन्त्री पाएको हो। उनी २०७४ फागुन ३ गतेपछि अर्थ मन्त्रालयबाट ज्ञानेन्द्रबहादुर कार्की बिदा भएपछि नेपाली कांग्रेसका तर्फबाट पहिलो अर्थमन्त्री हुन्।   महत यसअघि परराष्ट्र र ऊर्जामन्त्री रहिसकेका छन्। डा. महतले अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। महत नीति अर्थशास्त्रको स्नातकोत्तर हुन्। उनले नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका थिए। कार्यभार सम्हाल्दै महतले अर्थतन्त्रलाई थप मन्दीमा जान नदिन सक्दो पहल गर्ने बताए। अर्थतन्त्रमा मन्दी लागेको, राजस्व परिचालन सन्तोषजनक नरहेको, राजस्वभन्दा धेरै खर्च भएको, पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा समग्र परिस्थितिको सामना गर्दै खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्नशील रहने उनको प्रतिबद्धता छ।   ‘पहिले अर्थतन्त्रलाई कसरी सकारात्मक दिशामा डोर्‍याउने तथा कस्तो बजेट ल्याउने भन्ने टुंगो लगाउँछु,’ उनको भनाइ छ, ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोच लिएर अर्थतन्त्रलाई सुधारको बाटोमा लैजानेछु।’ अर्थमन्त्रीको हैसियतले अर्थतन्त्रमा देखिएको संकट परास्त गर्न भरपूर कोसिस गर्ने भन्दै उनले आग्रह पूर्वाग्रह नराखी काम गर्न आफू मातहतका कर्मचारी तथा निकायलाई निर्देशन दिए।  ‘को कुन पक्ष भने हेर्दिनँ, मलाई नतिजा चाहिन्छ। त्यसमा सघाउनुहोस्,’ कार्यभार सम्हालेपछि मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने।   महतले वित्तीय तथा मौद्रिक नीति तर्जुमा गर्ने निकायहरू अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच तालमेलको आवश्यकता औंल्याउँदै राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने जिकिर गरे। ‘विशेषगरी बैंकको ब्याजदर, सेयरबजार, लघुवित्त, सहकारी र मिटर ब्याजको विषय अर्थतन्त्रको समस्याका रूपमा देखिएका छन्,’ मन्त्री महतको भनाइ छ, ‘सर्वसाधारणको चासोको रूपमा देखिएका यी समस्या सम्बोधन गर्दै सरकार भएको आभास दिलाउनु पनि छ। सरकार जनताका लागि काम गर्दैछ भन्ने सन्देश दिनुपर्ने बेला छ।’    अहिले सरकार ‘लिने’ भन्दा पनि ‘दिने’ पोजिसनमा रहेको भन्दै उनले सबै कुरा गर्छु भन्नुभन्दा जुन कुरा गर्नै पर्नेछ त्यो गरिहाल्ने बताए। ‘यो काम म एक्लैले गर्न सक्दिनँ। सबैको साथ चाहिन्छ,’ उनले थपे, ‘अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग सहकार्य गरी समन्वयात्मक रूपमा काम गर्नु जरुरी छ। पार्टी र व्यक्तिको कुरो छैन। सरकारलाई राहत दिने कुरो छ। अर्थतन्त्रमा ‘सकारात्मक भाइब्स’ दिन आवश्यक छ।’   उनले प्रतिफल कम रहेको तथा ब्याजदर बढी भएको बताउँदै सेयरबजारलगायत साना लगानीकर्ता र व्यवसायीको मनोबल घटेको जिकिर गरे। उनले भने, ‘लगानीको नकारात्मक वातावरण सकारात्मक बनाऔं, यो काममा राष्ट्र बैंकको ठूलो भूमिका छ। हामी मिलेर काम गर्ने हो। यो त्यो भनेर  काम छैन। जुनजुन राज्यसंरचनाको जे जे जिम्मेवारी छ। यो पक्ष त्यो पक्ष नभनीकन अर्थतन्त्रलाई उचाल्न सक्रिय रहौं।’ यी सबै विषय र जनतालाई केन्द्रबिन्दुमा राखेर बजेट बनाउने उनले बताए।   अर्थमन्त्रीको पहिलो निर्णय   अर्थ मन्त्रालयले नगद प्रवाह योजना तर्जुमा समिति बनाउने भएको छ। नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पहिलो निर्णयमार्फत यस्तो काम गरेका हुन्।   आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को व्यवस्थाअनुसार सरकारको आवधिक नगद योजना तर्जुमा गर्नुपर्ने हुन्छ। सरकारको हरेक महिना कति आम्दानी र खर्च हुने भन्ने विवरण तयार गर्नुपर्ने हुन्छ। अर्थ मन्त्रालयले सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनको लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको समन्वयमा समिति बनाउने गर्छ।    मन्त्री महतले यही समिति बनाउने निर्णय गरेका हुन्। समितिको बैठक हरेक महिनाको अन्त्यमा बस्ने अर्थसचिव तोयम रायले जानकारी दिए। मन्त्री महतले सचिवले दिएको फाइल विस्तृतमा अध्ययन गरी पहिलो निर्णय गरेका हुन्।

जोमसोम : मु्स्ताङमा भारतीय महिला पर्यटकको लेंक लागेर मृत्यु भएको छ।   भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्लाको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।   मुक्तिनाथ दर्शनका लागि बिहीबार बेनी–जोमसोम सडकमार्ग हुँदै २२ जनाको भारतीय टोलीमा उनी जोमसोम आएकी थिइन्।    शुक्रबार बिहान जोमसोमबाट मुक्तिनाथ जाने क्रममा रानीपौवा बसपार्कमा लेंक लागेर बेहोस भएकी ढलेकी थिइन्।    उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।    महिलाको शव प्रहरीले आफन्तको जिम्मा लगाइसकेको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। सँगै आएका उनका श्रीमानलाई पनि लेक लागेपछि  तत्काल हवाई सेवामार्फत पोखरा लगिएको थियो।

काठमाडौं: नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो ।    नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गर्नुभयो। खेलको १७ औं मिनेटमा लाओसका लागि फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो ।    खेलको २४ औं मिनेटमा नेपालका आयुष घलानले बराबरी गोल फर्काउनु भएको  थियो। एरिक विष्टको पासमा आयुषले गोल गर्नुभएको हो । उपाधि रक्षाका लागि लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गर्नुभएको हो ।    फाइनल खेलमा म्यान अफ द म्याच नेपालका २१ नम्बर जर्सीका मनिष डाँगी बन्नुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै जर्सी नम्बर १९ का आयुष घलानले पाउनुभएको छ।    प्रतियोगिताको विजेता नेपालले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने लाओसले तीन हजार डलर पुरस्कार पाएका छन्। विजेता र उपविजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको छ ।   नेपालले उद्घाटन खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो । लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै  प्रतियोगिताबाट बाहिरिएको थियो।  

काठमाडौं : विमानस्थलमा यात्रुलाई यथार्थ सूचना दिन र उडानमा ढिलाई नगर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ।    विमानस्थलमा यात्रुले उडानबारे यथार्थ सूचना नदिने र विभिन्न कारणमा उडानमा ढिलाई हुने गरेको भन्दै कार्यालयले उक्त निर्देशन दिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको निर्देशनपछि कार्यालयले विमानस्थल सुधारको काम थालेको हो।     कोभिड पछिको अवस्थामा सम्भव भएसम्म उडानमा स्न्याक्स को प्रबन्ध पुनः सुरु गर्न पनि वायुसेवा सञ्चालकलाई अनुरोध गरिएको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।    यसैगरी विमानस्थलबाटै ब्यागेज तोडफोड, चोरीका गुनासो आउन नदिन सुपरभाइजरको कार्य प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुशन गोप्रो क्यामेराको व्यवस्था गर्ने निर्णय गरेको छ।    यसैगरी खल्ती रहित पोशाकको व्यवस्था लागु गरी थप प्रभावकारी र गुनासो रहित सेवाका लागि निगमले प्रबन्ध मिलाउने निर्णय भएको कार्यालयले जनाएको छ। आगमन क्षेत्रमा ट्राभलेटरमा यात्रु जान मिल्ने तर ट्रली साथमा भएमा लिफ्टबाट मात्र लैजाने गरी व्यवस्था मिलाइएको छ।    विमानस्थल आगमनबाट बाहिर निस्कने स्थानमा आइएम्एस् प्रालिले थप्नु पर्ने लिफ्टको कार्यका सन्दर्भमा सिभिल निर्माण कार्य सुरु भइसकेको र १२ ट्रली अट्ने मोडलको लिफ्ट खरिदका लागि एलसी खोली सकेकाले ३ महिना भित्र विदेशबाट उपकरण डेलिभरी भई जडान कार्य समेत सम्पन्न हुने छ।    यसका साथै पार्किङ गर्न नपर्ने तथा आफन्त पिकअपका लागि मात्र आउने यात्रुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाउन विमानस्थल कार्यलयबाट सञ्चालकलाई निर्देशन दिइएको छ।

पोखरा:  पोखरामा लागू  औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।    पोखरा ८ बुद्व मार्गबाट रोशन अधिकारीलाई ११४ एम्पुल लागू औषध सहित प्रकाउ गरेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।    उनको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ३५ एम्पुल र नुफिन ३९ एम्पुल लागू औषध बरामद गरेको हो ।    उनलाई लागू औषध सम्बन्धि मुद्वामा पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।