पोखरा: गलपासो भयो आज गणतन्त्र भनीकन जनआवाज उठ्दैछ घनीभूत बनीकन स्वतन्त्रता छ है भन्छौ जनको मुख थुन्दछौ माछा नै छैन खोलामा के निम्ति जाल बुन्दछौं । यी कविताका हरफ हुन गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीका । आफ्नो कार्यव्यस्तताले वारेसमार्फत् पठाएका सिर्जनासँगै यस्तै–यस्तै रचनावाचनले शनिवार पृथ्वीचोक आसपासको सडक गुञ्जयमान भयो । कुलपति बिखर्ची मात्र होइन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ सरु र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका आजीवन सदस्य लक्ष्मण थापासमेतले व्यस्तताका बाबजुद यसरी नै सिर्जनाकामार्फत् सहभागिता जनाए । यी रचनासँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सुनाएः सत्ता र बेइमानी बीचको नाता चुट्याउन आउँदैन भने के हो सही के हो गलत खुट्याउन आउँदैन भने जनसेवक भन्दै छाती फुलाउँदै के हिँड्छौँ मुर्ख हो ! मुख र मलद्धारमा फरक छुट्याउन आउँदैन भने । वर्तमानमा देखिएका वेथितिका विरुद्धको खबरदारीसहितका सडक कवितावाचन गर्ने सबै कुराको चाँजोपाँजो जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मिलाएको हो । संविधान भन्दा माथि कोही नहुने भएकाले पछिल्लो समय देशमा विकसित भइरहेका विविध घटनाक्रमको सांकेतिक विरोधस्वरूप संस्थाले पृथ्वीचोकको गोलघर अगाडिको वातावरण मान्छेको मुख थुन्न हुँदैन सडक कवितावाचन कार्यक्रममार्फत् गुञ्जयमान बनाएको हो । कार्यक्रमको औचित्यमाथि जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका परिकल्पनाकार तथा संस्थाका महासचिव मदन भण्डारीले प्रकाश पारेका थिए । उनले राज्यले महत्वपूर्ण निर्णय रातको १२ बजे महंगा सोफामा बसेर गर्ने तर कवि र किसानहरू सडकमा पसिना बगाएर स्वस्थ हुने भएकाले मध्यान्हको १२ बजे सडकमा मञ्च खाली राखेर कार्यक्रम आयोजना गरिएको बताए । राज्यका कुर्चीहरूमा लायक पात्रहरु नभएकाले राज्यमा वेथिति बढेको ठहर गर्दै संस्थाले जनताका दुःख, दर्द जनताले लडेर ल्याएको आजको सरकारले नसुनेकाले सरकारलाई सुनाउन मञ्चमा आवाज राखेर सरकारको कानमा पु¥याउन खोजेको महासचिवको भनाइ थियो । संस्थाका उपाध्यक्ष प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले राज्य पक्ष सदा जनताका लागि भन्दा कुर्चीका लागि दौडधुपमा रहेकाले संस्थाले मञ्चका कुर्ची पात्रविहिन बनाएर कार्यक्रम आयोजना गरेको बताए । संस्थाले गण्डकी प्रदेश भित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित सडकमा आमन्त्रण गरेको थियो सडकमा वाचित २५ कविका रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अंकमा प्रकाशन गर्ने संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी गराए । लोकसंस्कृतिका अध्येता प्रा.डा. कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने बताए । राजनीतिक विश्लेषण महेन्द्रमान व्यथितले हाम्रा नेताहरूको दुषित विचारले नेपाल कहिल्यै नेपाल बन्न नसकेको टिप्पणी गरे । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि समयको कालक्रममा कवि कलाकारको ठूलो भूमिका रहेकाले वर्तमान वेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए । सञ्चारकर्मी शिवराज बस्ताकोटी शिवदाइ, अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश हुने धारणा राखे । कार्यक्रममा साहित्यकार डा. जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना तेजबहादुर गुरुङ अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचनावाचन गरेका थिए ।
झापा : नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ। पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो। यसैगरी चालु आव २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। उक्त आवको १२ महिनामा भने रु चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो। मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु एक अर्ब १० करोड ९१ लाख मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ। गत आव २०७८-७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो। उक्त आवको १२ महिनामा भने रु १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो। पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ। रासस
काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा खरिद–बिक्री भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अष्ट्रेलियन डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७८ पैसा तोकिएको छ। शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८७ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा घटेको हो। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६२ पैसा तोकिएको आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ। त्यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३५ पैसा तोकिएको छ।
महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री महेन्द्रनगर आउन लागेका हुन। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए। दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहने छ। विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको एकल इजसालमा मुद्दाको पेशी तोकिएको छ। यसअघि गत बुधबार लामिछाने विरुद्ध मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको थियो। सो दिन मुद्दाको पेशी काठमाडौं न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो। यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित भएको थियो। सन्दीपलाई थुनुमा पठाउने आदेश दिएका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।
पोखराको बीच भागमा बग्ने सेती नदी महानगरकै भरपर्दाे आयस्रोत भएपनि चालु आर्थिक वर्षमा यसबाट उठेको राजश्व ‘खुद्रा’मा सिमित छ । महानगरको ढुकुटीमा गिट्टी, बालुवालगायत नदीजन्य सामग्रीबाट वर्षेनी ७ देखि ८ करोड रुपैयाँ जम्मा हुने राजश्व यसपटक सेतीमा पानी बहे झैं बगिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा माघ अन्तिमदेखि महानगरका कर्मचारीले घाटबाट राजश्व उठाउन थालेका हुन् । माघको अन्तिम सातामा ३ घनमिटर बराबर एक मिनी ट्रकबाट २ हजार १३० रुपैयाँका दरले दैनिक ६ हजार रुपैयाँको हाराहारीमा उठाइएको राजश्व फागुन दोस्रो सातादेखि दैनिक ३० देखि ३५ ट्रकबाट राजश्व उठाइएको महानगरमा रेकर्ड छ । त्यस्तै, चैतको तेस्रो हप्तादेखि दैनिक ५० ट्रकबाट राजश्व उठाइएको छ । महानगरले उल्लेखित तथ्यांक दिएपनि घाटमा खटाइएका कर्मचारीले यस हप्ता शान्तीघाटतर्फ दैनिक २० ट्रकको हाराहारीमा राजश्व संकलन भएको जनाए । महानगरका राजश्व शाखा प्रमुख झंकनाथ पौडेलले हिसाबकिताब दुरुस्त भएको बताएपनि उक्त हिसाबकिताब राजश्व उठाउन खटाइएका कर्मचारीले दिएको विवरण हो । ‘यहाँ दैनिक चल्ने ट्रक, ट्रयाक्टर र कामदारको संख्यालाई आधार मान्ने हो भने हिसाबकिताब गडबढ छ’ घाट क्षेत्रमा पर्ने वडा कार्यालयका एक जनप्रतिनिधि भन्छन् ‘कुनै–कुनै दिन रामघाट र शान्तिघाटबाट ८० ट्रिपको हाराहारीमा गिट्टी, बालुवा र ढुंगा उठाइएको छ ।’ बाराम्बार बोलपत्र आव्हन गरेपनि कसैले टेण्डर नहालेपछि महानगरको कार्र्यपालिका बैठकले आफै राजश्व संकलन गर्ने निर्णय गरेको उनले सुनाए । ‘पहिले मौखिकरुपमै निर्णय गरी राजश्व उठाउन थालिएको हो’ उनले भने ‘करिब एक महिनापछि मात्रै अप्ठ्यारो पर्छ भन्ने ठानेर निर्णय गरिएको हो ।’ सूचना संकलनका दौरान प्राप्त जानकारी अनुसार महानगरले कर्मचारी खटाएर माघको अन्तिमदेखि नै राजश्व उठाउन थालेको हो । तर आधिकारिक निर्णय भने फागुन २५ गते अनुमोदन गरी यसको जिम्मा प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ । किन लाग्न सकेन ठेक्का ? महानगरले लिलाम बिक्रीका लागि हालसम्म ४ पटक टेण्डर खोलिसकेको छ । सुरुमा रामघाटको मात्रै ५ करोड ८७ लाखमा टेण्डर खुलाइएको थियो । पछिल्लो पटक चैत २० गते साढे ३ करोड ५२ लाखको टेण्डर खोलिएको छ । तर टेण्डरको सूचनामा तोकिएको समयावधि मात्र २ महिना रहेको छ । कुनैपनि कम्पनीले २ महिनाकालागि ठेक्का पाउन जोडबल नगर्ने सम्भावना यसअघि कै घटनाले प्रष्ट्याएको छ । स्रोतका अनुसार महानगरको कार्यपालिकाको बैठकमा यसअघि टेण्डर प्रक्रियालाई बिचैमा तुहाउन केही जनप्रतिनिधिले भूमिका खेलेका थिए । त्यस्तै, यसअघि अनलाइनमार्फत टेण्डर (इ–बिडिङ्) नखुलाउँदा पनि आवश्यक बोलकबोल हुन सकेन । स्मार्ट सिटीको नारा दिएर चुनाव जितेका धनराज आचार्यले अनलाइन सिष्टमलाई प्रयोग नगरेकोमा कर्मचारीमाथिकोे निर्भरता भएको स्रोत बताउँछ । ‘महानगरको राजश्व अधिकृत झंकनाथ पहिले वडा ९ का सचिव हुन्, उनलाई रामघाटको कमाई सबै थाहा छ’ महानगरका एक नगरसभा सदस्य भन्छन् ‘पौडेल एमालेका मान्छे हुन्, उनलाई मेयले समाजवाीमा भित्र्याएर महानगरपालिका लगेका हुन् ।’ को हुँदैछ मालामाल ? महानगरले जति राजश्व असुली गरिरहेको छ त्यो रकम खुद्रामात्र हो । कुनैपनि सामान्य मान्छे सेती खोंचमा झरेर नियाल्यो भनेपनि यसबारे प्रष्ट हुन्छ कि घाटबाट उठ्नुपर्ने जति रकम महानगरको खातामा पुगेको छैन । त्यसो त महानगरका कर्मचारी घाट आवतजावत गर्ने गौंडामा पालले बेरेर नगदी रसिदसहित बसेका छन् । बाहिरबाट झट्ट हेर्दा सबै ठिकै देखिन्छ । तर सुक्ष्म अध्ययन गर्दा हिसाबकिताब गडबढ भइरहेको शंका गर्ने आधार भेटिएको छ । ‘महानगरले टेण्डर जसरी खुलायो त्यसअनुसार इच्छुक कम्पनीहरुलाई थाहै दिन खोजिएन’ टेण्डर प्रक्रियामा जान चाहने एक कम्पनी सञ्चालक भन्छन् ‘नामै नसुनेको सन्ध्याकालिन पत्रिकामा सूचना निकालियो ।’ एक त राजधानीबाट प्रकाशित हुने नामै नसुनेको पत्रिका त्यसमाथि अनलाइनमार्फत प्रतिष्पर्धा गर्न दिइएन भन्दै उनले कर्मचारीकै मिलेमतोमा महानगर राजश्वबाट वञ्चित भएको सुनाए । ‘पहिले–पहिले ठेक्का लागिरहेको थियो, अहिले राजश्वकै कर्मचारीको डिजाइनमा चलखेल भएको छ’ उनको दाबी छ । ‘सय ट्रिप गिट्टी बालुवा जाँदा सोही अनुपातमा राजश्व लिइएको छैन’ उनी भन्छन् ‘हाम्रो टिमले एकसाता रेकी गर्दा कर्मचारीमात्र मोटाएको देखियो ।’ त्यस्तै, अहिले महानगरले धेरथोर राजश्व उठाएपनि रातको बेलामा हुने चोरी नियन्त्रण हुन नसकेको भेटिएको छ । घाटमा झिसमिसेदेखि राति अबेरसम्म बालुवा बोक्ने र ट्रकमा लोड हुने पाइएको छ । त्यसरी बालुवा बोक्ने ट्रकचालकले दिउँसै राजश्व तिरेको बताउने गरेका छन् । रिपोर्टिङका दौरान त्यस्ता ट्रकचालकलाई ‘कर तिरेको रसिद छ ?’ भन्ने प्रश्नमा उनीहरुले ‘सबैलाई बिल देखाउन आवश्यक नरहेको जवाफ फर्काए । यस विषयमा राजश्व शाखा प्रमुख पौडेलले त्यस्तो प्र्रमाण वा डिटेल भए ल्याउनुहोस्, भिडाएर हेरौं भन्ने प्रतिक्रिया दिएका छन् । घाटमा खटिएका कर्मचारी भने राजश्व खेर जान नदिन बिहानदेखि रातीसम्म खटेको भन्दै ड्युटी आवरपछि कहाँ–के हुन्छ जिम्मा लिन नसकिने बताउँछन् । महानगरले २ महिनाकालागि साढे ३ करोडको टेण्डर खुलाउनु नै घोटाला पुष्टी हुने एक स्थानीयको भनाई छ । ‘टेण्डर अनुसारमा महिनामा पौने २ करोड राजश्व उठ्ने घाटबाट महानगरले अहिले मुस्किलले महिनामा १० लाख रुपैयाँ पनि किन उठाउन सकेको छैन ?’ उनको प्रश्न छ । ‘फेरि पनि टेण्डर नपर्ने निश्चित छ । र, महनागरकै सिमित कर्मचारीको हालीमुहाली कायम रहनेछ’ उनले थपे ।
भौतिक पूर्वाधारको दीगो र गुणस्तरीय विकासका लागि भन्दै सरकारले पूर्वाधार आयोजना निर्माण सम्पन्न भएको पाँच वर्षसम्म बिग्रे भत्केमा सम्बन्धित ठेकेदारलाई जिम्मेवार बनाउने नीति लिने भएको छ । आज सार्वजनिक संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा पाँच वर्षसम्म बिग्रे भत्केको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ । पूर्वाधारसँग सम्बन्धित कामलाई एकीकृत विकास नीति बनाएर अघि बढ्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । “यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, हवाई, रेल, पानीजहाज र केबुल कार सेवाको एकीकृत योजना निर्माण गरी सार्वजनिक यातायात सेवालाई सुदृढ र व्यवस्थित गरिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ । पूर्वपश्चिम लोकमार्ग चार लेन र काठमाडौँ उपत्यकाको चक्रपथ आठ लेनमा विस्तार गर्ने कामलाई प्राथमिकतामा राखिने जनाइएको छ । मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गलगायत पूर्वपश्चिम लोकमार्ग र उत्तर दक्षिणका कोरिडर तथा व्यापारिक मार्ग प्राथमिकताका साथ निर्माण गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गरिने जनाइएको छ । “औद्योगीकरणलाई उच्च प्राथमिकता दिने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूलक उद्योगको विकासमा जोड दिने, पूँजी, श्रम र उद्यमशीलताको संयोजन गरी देशलाई औद्योगीकरण गर्ने, उत्पादनका लाभको समन्यायिक वितरण गर्नेलगायतका नीति सरकारले लिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ । रासस
काठमाडौं : चिनियाँ विदेशमन्त्री छिन काङ र परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ। बेइजिङस्थित विदश मन्त्रालयमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको नेपाली दूतावासले जनाएको छ। भेटमा नेपाल-चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। वार्तामा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ, नेपालका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा र दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो। नेपाल र चीनबीच भोलि (शुक्रबार) कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक बस्दैछ। बैठकमा सहभागी हुन परराष्ट्र सचिव पौड्यालको नेतृत्वको नेपाली टोली बेइजिङ पुगेको छ। बैठकअघि परराष्ट्र पौड्याल नेतृत्वको टोली विदेशमन्त्री काङसँग भेटवार्ता गरेको हो। शुक्रबार हुने संयन्त्रको बैठकमा चीनको तर्फबाट विदेश मन्त्रालयका उपमन्त्री सोन् वेतोङले नेतृत्व गर्नेछन्। बैठकमा नेपाल-चीन सम्बन्ध, बिआरआई परियोजनालगायत मुख्य एजण्डा रहेको बताइएको छ।

