रुकुमपूर्व: जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुल्न आएको प्रहरीले जनाएको छ । यही चैत २१ गते मङ्गलबार दिउँसो सिस्नो टिप्न भनी घरबाट निस्किएका दिदीबहिनी १० वर्षीया रिना र ८ वर्षीय कालीमाया बुढा भोलिपल्ट बिहान सोही स्थानको घ्याङरजुङ जङ्गलको भीरमा मृत भेटिएका थिए । त्यसपछि प्रहरीले थालेको अनुसन्धानबाट घटनामा संलग्न देखिएको आरोपमा दुई बालिकालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको दुई बालिकालाई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताउनुभयो । अहिलेसम्मको अनुसन्धानबाट मृतक दुई बालिकासँग रहेको सुनका गहना लिनका लागि दुई बालिकाले उनीहरूमाथि आक्रमण गरेको र त्यसपछि हत्या गरेर भीरबाट लडाइदिएको हुन सक्ने प्रहरीको अनुमान छ । दुई बालिकालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा सुन लुकाएको बताएका थिए । “दुई बालिकाले सुन लुकाएको ठाउँमा खोजतलास गर्दा सोही ठाउँमै सुन भेटियो” डिएसपी श्रेष्ठले भन्नुभयो–“उक्त ठाउँबाट अनुमानित एक ताेला सुन बरामद गरिएको हो ।” अहिले दुई बालिकालाई अदालतमा पेस गरी घटनाको अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । “यस घटनामा अरूको पनि संलग्नता हुन सक्छ” श्रेष्ठले भन्नुभयो –“हामी विभिन्न पाटोबाट घटनाको अनुसन्धान गरिरहेका छौँ ।”
कैलाली: कैलालीमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्ना रहेका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। दुर्घटनामा परी १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। उनीहरुको उपचार भइरहेको डिएसपी चन्दले जानकारी दिए। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो १८ पैसा घटेको हो। त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६२ रुपैयाँ २९ पैसा र बिक्रीमा १६३ रुपैयाँ ३ पैसा पाइन्छ। आइतबार पाउण्ड एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको थियो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।
सप्तरी : सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को १५ प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो। मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन्। घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। घाइते ध्रुवको उपचार भइरहेको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं: कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका हुन्। बदलिएको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीलाई काम गर्न सहजताका लागि आफूहरूले राजीनामा दिएको उनीहरूको भनाइ छ। यसअघि चैत १७ मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदा एमालेले उनलाई विश्वासको मत दिएको थियो।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक कोटामा सांसद बनेका ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति ध्यानाकर्षण भएको जनाएको हो। रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ। केन्द्रीय अनुशासन तथा आचारण समितिले सो अडियो प्रकरणबारे २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिएको छ। रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको हो । सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्र बन्न व्यापारी प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।
म्याग्दी: म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् । महिलाका लागि अन्य सरकारी सेवाभन्दा शिक्षा सेवा सहज र सुरक्षित भएकाले यो पेसा रोजाइमा परेको हो । पुरुषहरूको पहिलो रोजाइ वैदेशिक रोजगारी र निजामती सेवातर्फ भएकाले महिलाहरूलाई शिक्षा सेवामा प्रवेश गर्न सहज भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो । धेरै जसो घरपायक पर्ने भएकाले पनि महिलाहरूलाई सहज हुने उहाँको भनाइ छ । "शिक्षक सेवाको परीक्षामा ४८ प्रतिशत महिला उत्तीर्ण हुन सफल हुनुभएको छ यो सकारात्मक पक्ष हो," हिकाई प्रमुख थापाले भन्नुभयो, "पछिल्लो समय स्थानीय स्तरमा करार र राहत कोटामा शिक्षक भर्ना हुँदा पनि महिला नै छनौटै हुने गरेका छन् । शिक्षक सेवाको परीक्षामा पनि महिला र पुरुष करिब बराबरी सङ्ख्यामा उत्तीर्ण हुनुले शिक्षा सेवामा महिलाको आकर्षण बढेको देखाउँछ ।" यसले शिक्षा सेवालाई समावेशी बनाउँदै शैक्षिक गुणस्तरमा पनि वृद्धि हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । म्याग्दीमा युवाहरू प्रायजसो वैदेशिक रोजगारीमा जाने भएकाले पनि शिक्षा सेवामा महिलाहरूको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । अन्य सरकारी सेवाभन्दा शिक्षक सेवा आफ्नो पहिलो रोजाइ भएको नियुक्ति पत्र बुझ्न आउनुभएकी रघुगंगा गाउँपालिका ३ मौवाफाँटकी उर्मिला रेग्मी खत्रीले बताउनुभयो । महिलाका लागि शिक्षक पेसा सुरक्षित र सहज भएको अनुभव गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, "मैले विगत ४ वर्षदेखि करार शिक्षकका रूपमा विद्यालयमा अध्ययन गराइराखेकी छु । शिक्षक पेसा अन्य सरकारी सेवा भन्दा सहज भएको अनुभूति गरेको छु।" शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका एक सय जनालाई शनिवार एक कार्यक्रमकाबीच नियुक्ति पत्र प्रदानसँगै शपथ ग्रहण गराइएको थियो । शिक्षा विकास तथा समन्वय हिकाई म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरूलाई एक समारोहकाबीच नियुक्ति पत्र प्रदान गरेको हो । यस वर्ष शिक्षक सेवा आयोगले लिएको तीन चरणकै परीक्षामा उत्तीर्ण भएर म्याग्दीमा प्राथमिक तहमा एक सय जना, निमाविमा ३२ र मावि तहमा १३ जना शिक्षक स्थायी हुन सफल भएका छन् । म्याग्दीमा प्रावि तहमा एक सय २६, निमाविमा ५९ र माविमा २६ जनाको कोटा निर्धारण गरिएको थियो । तीन वटै तहमा माग भएको कोटाभन्दा कम सङ्ख्यामा सिफारिस भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले बताउनुभयो ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न नसकिने बताएका छन्। रायले वर्षेनी साधरण खर्च बढ्दा धान्न नसक्ने अवस्थामा पुगेका कारण भत्ता बाँढ्न नसक्ने बताएका हुन्। उनले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताए। आर्थिक पत्रकार संघसँगको भेटमा उनले योगदानविना सामाजिक सुरक्षा भत्ताको रुपमा अर्बौं रुपैयाँ लामो समयसम्म दिन सक्ने अवस्थामा सरकार नभएको बताएका हुन्। 'यसरी अर्बौं रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ। त्यसैले जनगणना २०६८ मा जति नागरिक पुगेका छन् सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा बाँध्नुपर्छ,' उनले भने। उनले सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए। अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको बताए। यसो गर्दा सरकारको सामाजिक सुरक्षाको दायित्व घट्ने बताए। उनले वर्षेनी अर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाममा खर्च गर्दा सरकारले विनियोजन गरेको बजेटले धान्न नसक्ने बताए।
म्याग्दी: बेनी नगरपालिका–२, लभ्लीडाँडाकी ६० वर्षीया पवित्रा कार्कीले ४० वर्षदेखि निरन्तर ताजा तरकारी र सागसब्जी बिक्री गर्दै आउनुभएको छ । बेनीमा कार्कीलाई तरकारी आमा भनेर चिन्छन् । एकाबिहानै कार्की तरकारी र सागसब्जीले भरिएको डोको बोकेर बेनी बजार झर्नुहुन्छ । एक घण्टाजति घरघरमा तरकारी सागसब्जी पु-याएर उहाँ फेरि उकालो लाग्नुहुन्छ । पवित्राको यस्तै दैनिकी विगत ४० वर्षयता निरन्तर छ । झरीबादल, चर्को घाम उहाँका लागि सामान्य छ । तरकारी र सागसब्जी बिक्री गरेर उहाँले वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । तरकारी खरिद गर्ने बजारमा उहाँका नियमित ग्राहक छन् । डोको बोकेर पवित्रा होटलदेखि सर्वसाधारणको घरघर पुग्नुहुन्छ । सबै किसिमका तरकारी पवित्राको डोकामा पाइन्छन् । उहाँले चाइनिज तोरी, लसुन, प्याज, पालुङ्गो, रायो, मुला र ताजा तरकारीमा काउली, बन्दा, गोलभेँडा दैनिक बेनी ल्याएर बिक्री गर्नुहुन्छ । “पहिला एक मुठाको एक रुपियाँमा पनि साग बिक्री गरेँ, धेरै वर्षपछि दुई रुपियाँ भयो । अहिले २० रुपियाँ र बेमौसममा उत्पादन गरेको साग मुठाको ५० रुपियाँसम्म बिक्री गर्ने गरेको छु,” पवित्राले भन्नुभयो, “एक डोका सागसब्जी बिक्री गर्दा अहिले एक हजार रुपियाँ आउँछ । तरकारी ल्याउँदा तीन हजारसम्म पार्ने गरेकी छु, मलाई आजकल त बजारमा तरकारी आमा बनेर बोलाउने गर्नुहुन्छ ।” दुई/तीन रोपनीमा सागसब्जी र तीन/चार रोपनीमा अन्य तरकारी खेती गर्ने गरेको पवित्राले सुनाउनुभयो । उहाँका श्रीमान् चन्द्रबहादुर कार्कीले जिल्लाकै नमुना कृषकको पहिचान बनाउनुभएको छ । पवित्राको परिवारमा श्रीमान्, छोरा र बुहारी छन् । सबै जना तरकारी खेतीमा आबद्ध छन् । कार्कीको खेतबारीमा बाह्रै महिना आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल हुन्छन् । तरकारीका साथै गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्की परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

