पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

नेपालगञ्ज:  नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ ।   बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो ।    तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका भएपनि करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको उहाँको भनाइ छ ।   अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकमा पुरुष कैदीबन्दी मात्रैलाई राखिएकोमा ब्लक ए मा छ सय १७ जना र ब्लक बि मा दुई सय ३२ कैदीबन्दी राखिएको छ ।    मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरीले नेपालगञ्जको गर्मीमा कैदीबन्दीलाई कोचाकोच बस्न बाध्य पारिनु उनीहरूको आधारभूत मानव अधिकार विरुद्धको कार्य भएको बताउनुभयो ।    अधिकारकर्मीले कारागारका जेलर अर्जुनजंग शाह र कैदीबन्दीका नाइके, चौकीदार तथा कैदीबन्दीसग कारागार व्यवस्थापन र कैदीबन्दीको अवस्थाका बारेमा छलफल गरेका थिए ।   अधिकारकर्मीसमक्ष कैदीबन्दीले क्षमताभन्दा धेरै बढी बस्नुपर्दा कोचाकोचको स्थितिमा कष्टकर दैनिकी व्यतीत गर्नुपरेको, सोही कारणले कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको र बिजुलीको कम भोल्टेजको समस्या हुनेलगायतका गुनासो गरेको मानवअधिकार एलाइन्सका ठकुरीले बताउनुभयो ।    एकातिर सो कारागारमा ठाउँ अभावले कोचाकोचको समस्या छ भने अर्कोतिर तीन हजार कैदीबन्दी राख्ने क्षमतासहितको सुविधासम्पन्न क्षेत्रीय कारागार बाँकेको नौबस्तामा ९ बिगाहाको क्षेत्रफलमा निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन ।    कारागारका जेलर अर्जुनजंग शाहले अर्थ मन्त्रालयले बजेट रोकी दिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा तीन हजार क्षमताको क्षेत्रीय कारागार सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले सो क्षेत्रीय कारागार सञ्चालनमा आएपछि ठाउँ अभावको समस्या आफै समाधान हुने पनि बताउनुभयो । 

काठमाडौं:  अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या सम्बोधन हुने बताएका छन्।   नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा अर्थमन्त्री महतले सरकारले सकरात्मक मनोबल बढ्ने गरी कदम चालेको बताएका हुन्।   साधरण सभामा बोल्दै उनले ऋणको पुनर्तालिकीकरण गर्न थालिएको संकेत गरे।   अर्थमन्त्री महतले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता जनाउँदै अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने बताए।   अर्थक्षेत्रमा दबाब रहेकोले यसलाई ध्यानमा राखेको उनको भनाइ छ।    'अर्थतन्त्रका सूचकहरू नकारात्मक मात्रै छैन, सञ्चिती राम्रो छ' उनले भने '४ प्रतिशत माथिको आर्थिक वृद्धि यो परिस्थितिमा सन्तोषजनक हो।'    अर्थमन्त्री महतले लगानीको वातावरण सहज गराउने र ढिलासुस्ती गर्ने प्रवृत्ति हटाउन आवश्यक रहेको बताए।   सरकारमा पनि निजी क्षेत्रमा पनि समस्या रहेकाले लगानीको वातवरण सहज बनाउन अल्पकालिन र मध्यमकालिन योजनाका साथ काम गरिने अर्थमन्त्री महतको भनाइ छ।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालको बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको बताएका छन्।    नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्‍य दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले   सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएको भन्दै बुहआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको बताएका हुन्।   उनले भने,'सरकारको प्रयासबाट सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएका छन्। बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ।'   प्रधानमन्त्री प्रचण्डले नेपाल सन् २०३० सम्म दिगोविकास लक्ष्य हासिल गर्ने र २०२६ मा अल्पविकसित देशबाट स्तरोन्नति हुने दिशातर्फ गइरहेको बताए।   यसका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी वृद्धि गर्नुपर्ने र लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यक रहेको उनले बताए।   प्रधानमन्त्रीले शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको बताए। आधारभूत तहमा भर्नादर ९५ प्रतिशत पुगेको उनको भनाइ छ।   आधारभूत खानेपानी सुविधा  ९५ प्रतिशत जनासंख्याको पहुँचमा पुगेको भन्दै प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै सतप्रतिशत जनताको घरमा विद्युत पुर्‍याउने रणनीति तयार भएको बताए।

दमौली : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन्।   नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा मंगलबार आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरे।    पार्टीमा हुनसक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको महामन्त्री शर्माको भनाइ थियो । महामन्त्री शर्माले आर्थिक विषयमा समेत ज्ञान भएको नेतृत्व संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको दाबी गरे।    पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धनका दल एकजुट रहेको बताए । उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकाले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नुपर्ने भण्डारीले बताए। सो अवसरमा केन्द्रीय सदस्य ध्रुव वाग्ले, पार्टी सभापति जीतप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल लगायतले गत निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा कांग्रेसले विजय हासिल गरेकाले उक्त विजयलाई कायम राख्नुपर्नेमा जोड दिए। 

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको चुनौतीलाई अवसरमा बदल्ने बताएका छन्।   नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।   दोस्रो पटक प्रधानमन्त्री हुँदा राजनीतिक चुनौती रहेकोले राष्ट्रिय एकता कायम गर्नुपर्ने उनले बताए।    त्यतिबेला, आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म भए पनि अहिले धेरै चुनौती रहेको उल्लेख गरे।     'अहिले परिस्थिति जटिल छ, भूकम्प, कोभिड, रुस–युक्रेन युद्धको कारण अर्थतन्त्र निकै समस्यामा छ' उनले भने 'यो चुनौतीको सामान गर्ने बेला हो।'    निजी क्षेत्रको साथ बिना यो चुनौती सामाना गर्न सकिँदैन भन्ने लागेर त्यही अनुसार काम भएको उनको भनाइ छ।   प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र राष्ट्र बैंक बीच अर्थतन्त्रलाई गति दिने गरी निजी क्षेत्रका समस्या समधान गर्न समन्वयन भएको  प्रधानमन्त्रीले धारणा राखे।   'तीन खम्बे अर्थतन्त्र कार्यान्वयनमा चुनौती देखिएको छ' उनले भने 'व्यवसाय सञ्चालनमा आउने वाधा व्यवधानमा सरकारले सहजीकरण गर्नेछ।'    कृषि क्षेत्रलाई प्रोत्साहन गर्दा अहिले देखिएको समस्या समधान हुने समेत उनले तर्क गरे।   यो वर्षको नीति तथा कार्यक्रममा केही ठूला र गुणात्मक परिवर्तन दिने कार्यक्रम ल्याउने उनले बताए।

काठमाडौँ:  भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ ।   भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने कार्य योजना अघि बढाइएको बताउनुभयो ।   नापी विभागका कर्मचारीलाई आज सम्बोधन गर्दै उहाँले नापी प्रशासक विषयगत विज्ञ र दक्ष भएकाले यो दक्षताको प्रयोग जनताले सरल र झन्झटरहित हिसाबले सेवा पाउनुपर्ने उहाँको भनाइ थियो । ती दुई कार्यालयलाई एकीकृत गरिएमा सरकारी खर्चमा केही हदसम्म मितव्ययितासमेत कायम गर्न योगदान पुग्नेछ । सचिव डा रेग्मीले भन्नुभयो, “देशमा भूमि हुने र नहुने दुवैमा भूस्वामित्व हुनु आवश्यक हुन्छ, नापीले सबै जग्गाको विवरण तयार गरी भूमिहीनलाई समेत भूस्वामित्व दिने वातावरण निर्माण गर्न सहयोग गर्नुपर्दछ ।”    नापी विभागका महानिर्देशक जनकराज जोशीले अब जिल्लामा मालपोत र नापी दुई  बेग्लाबेग्लै कार्यालय रहन आवश्यक नरहेकाले कार्यालय एकीकरण गरी एकै थलोबाट सेवा प्रवाह गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भूमि प्रशासनसम्बन्धी सेवा एकै स्थानबाट हुनुपर्छ भन्ने जनताको माग  हो ।”

कावासोती: पूर्वी नवलपरासीको मध्यबिन्दु–३, ब्रह्मस्थानका पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ। उहाँलाई यतिखेर कुरिलो मुठा पारेर बेच्न भ्याइनभ्याइ छ।  पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान लागिपर्नुभएको छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रतिको आकर्षण बढेको हो।    आम्दानीको हिसाबले राम्रो हुने कुरिलो खेतीका लागि मेहनत पनि उत्तिकै गर्नुपर्छ। कम लगानीमा बढी फाइदा लिन सकिने कुरिलो प्रतिकेजी पाँचदेखि छ सय रुपियाँसम्ममा बिक्री हुने गर्छ।  उहाँले भने चार सय रुपियाँमा बिक्री गर्दै आउनुभएको छ। कुरिलो खेतीको महत्त्व र फाइदा बुझेपछि नवलपुर जिल्लाको स्थानीय बजारमा मात्र नभएर कुरिलोको माग काठमाडौँ तथा बुटवल सहरी क्षेत्रमा बढी रहेको उहाँ बताउनुहुन्छ।    “स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ,” उहाँले भन्नुभयो, “माग धेरै आउन थालेको छ। धान्नै गाह्रो भइसकेको छ,” नवलपुरको मध्यबिन्दु–३, ब्रह्मस्थानमा करिब डेढ बिघा जमिनमा दुई वर्षयता कुरिलो खेती गरिँदै आएको छ।  सुरुमा थोरै जमिनमा कुरिलो खेती गर्नुभएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागिपरेको बताउनुभयो। बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषक मोक्तानको भनाइ छ।    लोटस कृषि तथा पशु फार्म सञ्चालन गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले कुरिलो खेतीबाट आयुर्वेदिक फाइदा र महत्त्व बुझाउँदै दैनिक नौ जनालाई रोजगारी दिन सफल हुनुभएको छ। यसरी आफ्नै गाउँठाउँमा रोजगार पाउँदा यहाँका स्थानीयवासी पनि खुसी देखिन्छन्। आफ्नो जीविकोपार्जनको बाटो खुलेको उनीहरू बताउँछन्। कुरिलो खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ। यसको फाइदा र बजार पनि राम्रो भएकाले कुरिलो खेतीलाई प्रोत्साहन गर्ने गरी कुरिलो खेती विस्तारमा लागेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकृत शङ्कर पौडेलले बताउनुभयो।    

काठमाडौँ:  आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन गरेको छ ।   बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयंसेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं. २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं. २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गर्नुभएको थियो ।   निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म ती मतदाता शिक्षा स्वयंसेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् । उनीहरूलाई सम्बन्धित पालिकाले दैनिक रु एक हजार भत्ता दिनेछन् । 

काठमाडौं:   नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।    चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको भिडिओ बाहिरिएको थियो।    तीमध्ये बोगटीले बन्दुक बोकेका थिए। त्यसरी बन्दुक बोकेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।    एसपी राठौरका अनुसार उक्त बन्दुक बोगटीकै नाममा लाइसेन्स छ। तर त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने पनि उनले बताए।    ‘प्रारम्भिक रूपमा हेर्दा लाइसेन्स लिएको देखिन्‍छ। तैपनि त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न मिल्दैन। उक्त खबर पाएपछि टोली पठाएर पक्राउ गरी ल्याएका हौं,’ उनले भने।    उनका अनुसार भिडिओ आइतबारको थियो।    बोगटीमाथि कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको एसपी राठौरले बताए।    बोगटीमाथि हातहतियार तथा खरखजना मुद्दामा वा अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको उनले बताए।