नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता गत आइतबार बियरको चुस्कीमा रमाइरहेकाबेला बुढानिलकण्ठको पासिकोट क्षेत्रबाट पक्राउ परेका हुन् । नेपाल प्रहरीको विशेष ब्यूरोबाट प्राप्त जानकारी अनुसार त्यस साँझ निकै ठूलो हावाहुरी चलिरहेको थियो । सोहीबेला ब्यूरोको टोलीले पाएको सूचनाको आधारमा रायामाझीलाई पक्राउ गर्न टोली खटिएको थियो । पौडेल थरका आफन्तको घरमा लुकिबसेका रायामाझी प्रहरी पुग्दा बियरको चुस्कीमा रमाइरहेका थिए । उनी बियरमा रमाउँदै नक्कली भुटानी शरणार्थीबारे समाचार र जानकारी लिइरहेको ब्यूरो स्रोतले जनाएको छ । शनिबार पोखराबाट काठमाण्डौं पुगेका रायामाझी २४ घण्टा नबित्दै पक्राउ परेका हुन् । उक्त क्षेत्रमा धेरै घर नरहेको र अर्काे एक २ तले घर रहेको बताइएको छ । उक्त २ मध्ये कुन घरमा लुकेको हुनसक्छन् भनेर प्रहरीले रेकी गरेको बताइएको छ । रेकी र अन्य सूचनाको आधारमा ३ तले घरमा रायामाझी रहेको कन्फर्म भएपछि प्रहरीले उक्त घर घेरेर साँझपख भित्र पसेको थियो । सामान्य बल प्रयोग गरी भित्र पस्दा रायामाझी अन्य चार जनासँग बियरको तालमा मस्त थिए । पक्राउपछि उनको स्वास्थ्य जाँच गर्न तिनकुनेस्थित कान्तिपुर अस्पताल पु¥याइएको थियो । बोली लर्बरिएको र धुत्त अवस्थामा समातिएका रायमाझीले अस्पतालमा बियर पिएको स्वीकारेका थिए । त्यसपश्चात् प्रहरीको टोलीले उनलाई महानगरीय प्रहरी परिसर टेकु लगेको थियो । त्यसयता त्यहीबाट उनको मुद्दा अघि बढेको छ भने सोमबार राती १० बजे उनको बयान सकिएको छ । प्रहरीसँग ‘आफै उपस्थित हुन्छु’ भनेर टाप कसेका रायामाझीले १० दिनसम्म झुक्याउन सफल भएपनि अन्ततः प्रहरीको विशेष ब्यूरोले पक्रन सफल भएको हो । यस प्रकरणमा पक्राउ परेका १४ जनामध्ये सापकोटा पदीय हिसाबले उच्च ओहदामा रहिसकेका छन् । रायमाझी नेकपा एमालेको सचिव र पूर्वउर्जामन्त्री हुन् ।
पोखरा: पञ्चायतकालमा जाली तमसुक बनाएर साहुमहाजनले गरिबको उठिवास लगाएको घटना प्रशस्तै देख्दै, सुन्दै आइएको हो । निरक्षरलाई तमसुकमा औंठाछाप लगाएर बसाइँ हिड्न बाध्य बनाएको समाजले व्यवस्था फेरेर लोकतन्त्रलाई अंगाल्दा पनि ‘जति तिरेपनि नसकिने’ रिनबाट कतिपय अहिलेपनि घर न घाटका भएका छन् । सुन्दा अचम्म लाग्ला तर तथ्य भयावह छ । महानगरमा स्थायी बसोवास भएकी सानु सुवेदी (नाम परिवर्तित) ६ वर्षमा घरबाट सडकमा आएकी छिन् । व्यापार गर्ने घरसल्लाहपछि आफन्तबाट ४० लाख रिन लिएर व्यापारी भएकी सानुको परिवार अहिले घरबारविहीन भएकी छिन् । ‘व्यापार गर्ने हो भने सहयोग गर्छु’ भन्ने आफन्तको ढाडसपछि उनले ४० लाख रुपैयँ रिन लिइन् । कागज गर्दा कहाँ के लेखियो त्यति ध्यान नपुगेको स्वीकार्दै उनले हस्ताक्षर गरिन् । त्यसयता उनले पैसा तिरेको तिरै छिन् तर सकिएको छैन । सानुले आफन्तलाई तिरेको कागजमा उनले पटपटक गरी ४१ लाख रुपैयाँ बुझाएको देखिन्छ । त्यसपछि ब्याजस्वरुप ३७ लाख रुपैयाँ पनि बुझाएकी छिन् । सानुको हिसाबमा ब्याजको स्याज जोड्दा पनि अब ३ लाख रुपैयाँ हाराहारीमा बाँकी होला । तर सानुको ग्यारजातीमा भएको ४ रोपनी जग्गाको लालपुर्जा आफन्त (साहु)सँग छ । उक्त जग्गाको बजारभाउ करिब ६ करोड रुपैयाँ रहेको उनको अनुमान छ । आफ्नो जग्गा उकास्न अब थप ३ करोड बुझाउनुपर्ने भएपछि सानु र परिवार दिउँसै अँध्यारो देख्न थालेका छन् । ४० लाख रिन तिर्न भएभरको जायजेथा नै सकिन लागेपछि उनी साहूलाई ‘पीडक’ करार गर्दै न्याय पाउन जिल्ला प्रशासन कार्यालय, कास्की पुगेकी छिन् । आखिर यति लामो समयपछि सबै गुमाएर किन पीडित भएर सानुले प्रशासन गुहारिन् ? जवाफमा प्रशासन कार्यालयअन्तरगत मिटरब्याज पीडितलाई सहायता गर्न छुट्टै कक्ष सञ्चालनमा रहेका कर्मचारी भन्छन् ‘तराईका मिटरब्याज पीडितहरु आन्दोलनमा निस्केपछि त्यसकै असर परेको हो ।’ उल्लेखित घटना पढ्दा/सुन्दा ‘अहो ! ढाडै भाँचेछ नी’ भन्नुहोला । सानुको पीडा त केवल उदाहरणमात्र हो । कास्कीको एक गाउँपालिकाका रोशन नेपाली (नाम परिवर्तित)को पीरको पारो यो भन्दा उच्च छ । छिमेकीसँग ५० हजार रिन लिन तमुसकमा रुपाकोटको ५ रोपनी जग्गा उल्लेख गरेपछि अहिले रोशन पनि ‘मिटरब्याज पीडित’मा दर्ज भएका छन् । रोशनले रिन लिएको र जग्गा धितो राखेको प्रमाण प्रशासनमा बुझाएका छन् । ‘रिन बढिरह्यो, गरिखाने जग्गा पनि गयो तर रिन सकिएन’ रोशनले सावाँभन्दा ब्याज र त्यसको पनि थप ब्याजको उल्लेख गरेर पेश गरेको निवेदनको भावले बोलेको छ । निवेदन बुझेपछि बढो मुस्किलकासाथ प्रशासनले दुबै पक्षलाई एकपटक भेट्न सफल भएका छन् । प्रशासनले जेठ ७ गते पुनः दुबै पक्षलाई बोलाएको छ । ‘यसबीच निवेदन र अन्य कागजातको मिहिन अध्ययन गर्छाै’ यसबीचमा २ वटा समस्या सल्टाएको फाँट केही उत्साहित छ । मिटरब्याजको समस्या सल्टाउन गृह मन्त्रालयबाटै परिपत्र भएपछि देशैभर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहायताकक्ष सञ्चालन भएको छ । सोही खबर सुनेपछि अहिले कास्कीमा पीडितहरु निवेदन लिएर पुग्ने गरेका छन् । समाचार संकलनकाक्रममा भेटिएका पीडितहरुको मुहार र शारीरिक अवस्थाले उनीहरुको पीडा बोल्ने गरेको कक्षकी कर्मचारी रुक्मिणी रेग्मी बताउँछिन् । ‘जालझेल र तिकडम कतिसम्म हुँदोरहेछ भन्ने थाहा पाउन यहाँ परेको निवेदनले प्रष्ट्याउँछ’ रेग्मी भन्छिन् ‘निवेदन झनै बढ्न थालेपछि जेठ २ गतेसम्म म्याद थपेका छौं ।’ यहीबीच प्रशासन परिसरमा निवेदनमा टाँस्न टिकट खोज्दै हिँडेकी एक महिलाले २३ लाख रुपैयाँ रिन लिएको र अहिलेसम्म ४० लाख रुपैयाँ बुझाइसकेको बताइन् । अझैपनि सावाँ रकम बाँकी नै रहेको भन्दै ताकेता गरेपछि श्रीमानसँग सम्बन्ध बिग्रेको उनले सुनाइन् । ‘मेरो र रिन दिनेको नाम नसोध्नुस् भाइ’ उनले भनिन् ‘मेरा बुढा (श्रीमान्)ले मलाई घरबाट निकालेको ४ महिना भयो, भाडामा बसेकी छु ।’ किन रिन लिएको भन्ने खुलाउन नचाहेकी उनले श्रीमान्ले विदेशाट पठाएको पैसासमेत उसैलाई बुझाएको तर रिन नसकिएको उनले सुनाइन् । स्थायी ठेगाना म्याग्दी भएकी उनी माइतिपक्षले ‘सिडिओकहाँ जा’ भनेपछि आजै निवदेन दर्ता गर्ने भनेर प्रशासन आएकी रहिछन् । प्रशासनमा वैशाख १७ गतेदेखि मसान्तसम्म मिटरब्याज सम्बन्धित २१ वटा उजुरी परेका छन् । त्यहाँ परेको एक उजुरीमा वडा कार्यालयले नै मिटरब्याजीलाई सहयोग पु¥याउने कागजसमेत बनाइदिएको पाइएको छ । प्रशासनका सहायक प्रजिअ भन्छन् ‘अवस्था विकराल रहेको पाएका छौं, हाल निवेदन संकलन भइरहेको छ, जेठ २ पछि हामी एक्सनमा जान्छौं ।’ (नोटः हामीसँग मिटरब्याजमा रिन लिने र दिने दुबैको नाम, ठेगाना सुरक्षित भएपनि निवेदकको आग्रहमा गोप्य राखिएको छ ।)
पोखराः पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटनसम्बद्ध संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकीलाई भारतमा पोखरा प्रवद्र्धनार्थ उपलब्ध गराउँछु भनेको रकम दिन नमिल्ने देखिएको छ । नाट्टाले वैशाखको पहिलो साता भारतको पटना, वाराणसी, अयोध्या र गोरखपुरमा पोखराको प्रचार गर्ने जानकारी दिन आयोजित प्रेसमिटमा मेयर आचार्यले उक्त टोलीलाई महानगरले २० लाख रुपैयाँ दिने बताएका थिए । त्यसपछि उक्त टुरलाई नाट्टा गण्डकीद्वारा आयोजित र पोखरा महानगरपालिकाको सहयोगमा भनिएको थियो । तर महानगरपालिकाको सहयोगमा भनिएपनि नाट्टालाई २० लाख रुपैयाँ दिनु पदीय आचरण विरुद्ध हुनजाने सरोकारवाला निकायले बताएको छ । यस विषयमा स्थानीयतहमार्फत नाफामूलक संस्थालाई अनुदान वा सहयोगको नाममा रकम दिन नमिल्ने भनिएको छ । महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक रविन्द्रप्रसाद देवकोटाले कुनैपनि स्थानीय निकायले व्यापारिक वर्गको हित र नाफा कमाउने उद्देश्यले स्थापना भएका कम्पनी वा संस्थालाई नगद अनुदान दिन नमिल्ने बताएका छन् । ‘पब्लिक फण्डमा रहेको रकम व्यापारीलाई दिन मिल्दैन’ देवकोटा भन्छन् ‘नाफामुखी व्यापार गर्नेको हितमा राज्यकोषबाट सहयोग गरियो भने त्यो दुरुपयोग हुनेछ ।’ उनले सरकारी कोषको रकम नागरिककै हित र लाभमा खर्चिनुपर्नेमा जोड दिए । देशैभर स्थानीय तहले रकम दुरुपयोग गरेको विषयलाई प्रतिवेदनमा निरन्तर उल्लेख गर्दै आएको र यही कारण बेरुजु बढी देखिएको जनाउँदै स्थानीय सरकारलाई नागरिकमुखी र जिम्मेवार हुने आग्रहसमेत गरे । ‘सररकाले दिन मिल्ने अनुदानमासमेत महालेखाले त्यसको प्रभावकारिता हेर्ने भएकाले व्यवसायमूलक संस्थालाई नै उपलब्ध गराउने आर्थिक सहयोग स्वतः औचित्यपूर्ण नहुने हाम्रो ठहर छ’ देवकोटाले भने । यता, महानगरका बित्त व्यवस्थापन प्रमुख जयराम पौडेलले पनि नाट्टलाई २० लाख रुपैयाँ दिन नमिल्ने बताएका छन् । ‘मेयर सा’ब कहाँ गएर के–के बोलिदिनुहुन्छ, नाट्टलाई पनि दिन्छु भनेर बोलिदिनु भयो तर दिन मिल्दैन’ पौडेलले भनेका छन् । महानगरले पहिल्यै बजेटमा उल्लेख गरेको वा त्यस्तो कुनै शीर्षकमा रकम छुट्याएको अवस्थामा दिने सम्भावना रहने भन्दै पौडेलले पनि व्यापारीक संस्थालाई सहयोगककानाममा पैसा दिन नमिल्ने प्रष्ट्याए । यता, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी भने भारत भ्रमणको प्रतिवेदन बनाउन व्यस्त छन् । उक्त प्रतिवेदन महानगरमा बुझाएर २० लाख रुपैयाँ प्राप्त हुने उनको बुझाई छ । अध्यक्ष अधिकारीका अनुसार नाट्टाले महानगरसँग सम्झौता (एमओयू) गरेरै सहयोग पाउने भएको हो । ‘हाम्रो र महानगरसँग भारतमा पोखराको प्रवद्र्धनार्थ सम्झौता नै भएको छ’ अधिकारी भन्छन् ‘महानगरले २० लाख रुपैयाँ सहयोग गर्ने भएकाले हामी भारत गएका हौं ।’ त्यसो त महानगरकै २० लाख लिएर नाट्टा भारत गएको होइन भन्दै नाट्टाले थप खर्च गरेको उनले उल्लेख गरे । महानगरका प्रतिनिधि, पत्रकारसमेत टोलीमा भएको र प्रचार कार्यक्रमबाट पर्यटक बढ्ने नाट्टाको अपेक्षा रहेको अधिकारी बताउँछन् । महानगरसँग भएको सम्झौता अनुसार भ्रमणमा भएका विविध कार्यक्रम र विषयवस्तु समेटेर प्रतिवेदन तयारी गरी बुझाइने उनले बताए । ‘केही दिनमा प्रतिवेदन तयार हुन्छ र महानगरमा पेश गरिनेछ र सोही अनुसार तोकिएको रकम उपलब्ध हुने छ’ अधिकारीले जनाए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार ‘स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, अनुदान एवं संस्थागत अनुदान वितरण गर्न नमिल्ने’ भनिएको छ । त्यस्तै, मलेपको हालै सार्वजनिक वार्षिक प्रतिवेदनमा १ सय ८२ स्थानीय तहले नाफामुखी संस्थालाई ४५ करोड ३३ लाख ५८ हजार रुपैयाँ अनुदान र सहयोगका नाममा वितरण गरेको उल्लेख गरेको छ । वैशाख ३ गते भारततर्फ निस्किएको नाट्टाको साताव्यापी अभियानमा २३ जना सहभागी थिए ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन भएका हुन् । बुटवलपछि रायमाझी कता लागे भन्ने थाहापत्तो नलागेकोबेला उनी पोखरा आसपास भएको झिनो सूचना कास्की प्रहरीे पाएको छ । सूचना पाएलगत्तै कास्की प्रहरीको टोली शुक्रबार रातभर सम्भावित स्थानमा रेकी र खोजबीनमा जुटेपनि सफल हुन सकेको छैन । ‘हामीले पनि रायमाझी पोखरामै भएको सूचना पाएको हौं’ जिप्रका कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसी भन्छन् ‘सोही अनुसार प्रहरी खटिरहेको छ ।’ केसीका अनुसार पोखरामै भएको सूचना सही वा गलत के हो भन्नेमा प्रहरी विश्वस्त हुन सकेको छैन । रायामाझी पोखरामै रहेको खण्डमा प्रक्राउ गरेरै छाड्ने प्रमुख केसीले बताए । ‘नागरिकलाई पनि सूचना दिएर सहयोग गर्न अपील गर्दछु’ केसीले भने । सुनगाभालाई प्राप्त सूचना अनुसार कास्की प्रहरीले रायामाझीको मोबाइल लोकेसनअनुसार पोखरामा रहेको आशंका गरेको हो । फरार रायामाझीको मोबाइल नम्बर हाल उनका स्वकीय सचिवले प्रयोग गरेका छन् । स्वकीय पोखराकै बुद्धचोक आसपासमा क्याटरिङ सञ्चालन गर्छन् । सोही आधारमा कास्की प्रहरी सक्रिय भएको हो । रायामाझी मन्त्री भएदेखि नै स्वकीयको जिम्मेवारी पाएका जिसी पनि पोखरामा नभएको पाइएको छ । जिसीको मोबाइल नम्बर उनकै क्याटरिङ्का स्टाफले रिसिभ गर्छन् । जिसीबारे सोध्दा आफुलाई केही थाहा नभएको र मोबाइल अफिसमै छाडेर काठमाण्डौं गएको स्टाफले बताए । उनका अनुसार तीन दिन अघिदेखि जिसी क्याटरिङ्मा गएका छैनन् । ‘मेरो बिजनेश कल आयो भने रिसिभ गर्नु भनेर यही मोबाइल छाडेर जानु भएको छ’ स्टाफले भने ‘अर्काे नम्बर पनि होला तर मलाई थाहा छैन । जिसी पोखराबाट सञ्चालित फेवा टेलिभिजनका प्रबन्ध निर्देशकसमेत रहेका छन् । नेकपा माओवादीमै रहँदा रायामाझीलाई नजिकबाट सहयोग गर्ने केही हितैषिले भने रायामाझी पोखरा आएर लुक्न सक्ने अवस्था नभएकाले यता नभएको दाबी गर्छन् । रायामाझीका ससुरा र आफन्तजनहरु पहिलैदेखि भारततिरै भएकाले बुटवलबाट उनी भारतै पसेको हुनसक्ने उनीहरुको अनुमान छ ।
काठमाडौँ: इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएका ज्ञान हुन् । सम्यक् संकल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । झण्डै ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे । विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको हो । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए)को अध्ययन अध्यापन गर्दै आएका छन् । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिएको जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले इ पू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ । तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा.फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो । सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो । बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन २०७० सालको अन्तिमतिर अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एसियाका भारत, बर्मा, श्रीलंका, थाइल्यान्ड, हङकङ, मंगोलिया, भुटान, सिंगापुरलगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरेका थिए । प्रस्तावलाई धेरै देशले समर्थन गरेका थिए । नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएका यी दुवै परिपथले पूर्णता भने पाउन सकेका छैनन् । बुद्ध जयन्ती वा यस्तै अन्य अवसरमा प्रस्ताव गर्ने तर त्यसको कार्यान्वयनका लागि काम हुन नसकेको टिप्पणी हुने गरेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए । दरबार त्यागेर निस्केपछि नै उनले बुद्धत्व प्राप्त गरेका हुन् । Source: Filed
काठमाडौँ: गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको छ । साे बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिँदैछ । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको रास्वमा सचिवालयले जनाएकाे छ । आज अपरान्ह बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिए ।
काठमाडौं: काठमाडौं महानगररपालिकाले कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने तयारी थालेकाे छ। बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तास खेलेका नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने महानगर स्रोतले जनाएको छ। निलम्बनमा पर्न लागेका हवल्दार प्रयास घिमिरे उपमेयर सुनिता डंगोलका पूर्व पिएसओ हुन्। बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा तस्बिर सार्वजनिक भएकाे थियाे ।
वैशाख १० गते तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ‘ठूला’ मानिएका नेपाली कांग्रेस र नेकपा एमालेलाई पछार्दै घण्टी बजाएपछि राजनीतिक दिग्गजहरुको हिसाबकिताब बिग्रिएको छ । मंसिरमा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जीत निकालेको यस क्षेत्रमा गोविन्द भट्टराइ ढुक्कको स्थितिमा थिए । माटोले चिनेको र कांग्रेसले न्याय गरेको आहानबीच मौन अवधिसम्म गरिएको प्रचारप्रसारले उनलाई संसदमा पु¥याउने पक्कापक्की थियो । जुन हिसाबले कांग्रेसको टोली प्रचारमा हिँडिरहेको थियो, यसको ठिक विपरित एमाले सुस्त देखिन्थ्यो । यतिसम्म की तनहुूँ एमालेले गतिलो कोणसभासमेत गर्न सकेको थिएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरिने आमसभा पनि यत्तिकै ढिसमिस भयो । एमालेको अल्छिलाग्दो चुनावी रणनीतिले कांग्रेसका ‘पानीमान्छे’ अर्थात् भट्टराई समूहको हौसला ह्वात्तै बढेको थियो । नगर क्षेत्रमा रास्वपाका वाग्लेले केही पुरातन भोट तितरवितर पारेपनि ‘हल्लाउन नसक्ने’ कांग्रेसको ठम्याई थियो । यता, घर र मामाघर तनहुँमै भएपनि एमालेका खनाललाई विपक्षीले ‘टुरिष्ट’को ट्याग लगाइदिएका थिए । तैपनि कम्युनिष्ट आदर्श अनुरुप खनाल प्रचारमा जुटिरहे । कांग्रेसका असन्तुष्टले घन्टी र जोशी पक्षधरको भोट एमालेमा आउने खनालको बुझाई थियो । अझ नाताले मामा–भाञ्जा पर्ने भएपछि भट्टराई खलकको भोट तान्न सक्ने कन्फिडेन्ट थियो खनालसँग । नातामा खनालका बुवा भट्टराईका मामा हुन् । साथै, एमालेले आफ्नो भोटमात्रै जोगाउन सके यसपटक जीत हान पार्न सकिन्छ भन्ने रिपोर्टिङ खनाललाई गरेका थिए । यद्यपि, जिल्लास्तरको आमसभा नहुनु र केन्द्रीय नेताहरु तनहुँ नझर्दा खनालको मनमा चिसो भने पसेको थियो । अन्ततः चुनावी प्रचारको समयले नेटो काटेर मौन अवधि सुरु भएपछि एकाएक राजनीतिको उल्टो हावा चल्यो । विश्वस्त सुत्रले बताए अनुसार एमाले अध्यक्ष ओलीले खनाललाई फरक ब्रिफिङ् गर्न काठमाण्डौ बोलाउन चाहिरहेका थिए । तर सम्भव नभएपछि ओलीले दूतकारुपमा राजन भट्टराइलाई ९ गते मुग्लिन पठाए । सोही रात राजनलगायतलाई भेट्न खनाल मुग्लिन हानिए । पारिवारिक स्रोतले पनि त्यस रात खनाल घरमा नभएको बताएका छन् भने खनाल साढे १२ बजे मुग्लिन पुल कटेको पाइएको छ । उक्त रात खनाललाई एमालेकै भोट नआउने र कांग्रेसले जित्नुभन्दा घण्टी बज्नु नै एमालेको हितमा रहने ब्रिफिङ गरियो । त्यसबेला आफु बलिको बोका बनाइएको र राजनीतिक करिअर ध्वस्त बनाइएको गुनासो खनालले गरेपछि उनलाई एमालेले राष्ट्रियसभामा लैजाने आश्वासन दिएको छ । राष्ट्रियसभामा लैजाने भन्ने विषयमा आवश्यक प्रतिक्रिया लिन खनाललाई बाराम्बार टेलिफोन सम्पर्क गर्दा पनि उनले रिसिभ गरेका छैनन् । खनाललाई ९ गते रातिमात्रै पार्टीको रणनीति थाहा भएपनि कांग्रेसलाई भने एक साताअघिदेखि नै यसको सुइँको मिलिसकेको थियो । जब मौन अवधिमा कांग्रेसको भित्री टिम रात परेपछि मतदाताको घरघरमा पुग्न थाल्योे, तब एमालेकै प्रचार कमिटीका केही सदस्यले घण्टीमा भोट जाने सूचना चुहाइदिएपछि भट्टराइको चुनावी ‘नाइट टिम’ अत्तालिएको थियो । जिल्ला स्रोतका अनुसार एमाले तनहुँ १ का नगर र पालिका कमिटीका करिब १५ सय संगठित सदस्यलाई ८ गते नै घण्टीमा भोट हाल्न र सोही अनुरुप प्रचार गर्न निर्देशन दिइसकिएको थियो । फलतः व्यास र भानु नगरपालिका एवं बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा एमालेको रणनीतिले काम गर्दा स्वर्णिमले ३४ हजार ९१९ मतले बाजी मरे । उक्त क्षेत्रको देवघाट गाउँपालिकामा भने एमालेको योजना आंशिकमात्र सफल भएको छ । स्वर्णिमले कांग्रेसका भट्टराई भन्दा २० हजार १२२ मत बढी ल्याएका हुन् । पार्टीकै योजनाबाट चुटिएर राष्ट्रियसभामा जाने सपना देखेका खनालले ८ हजार ४८८ मतमात्र प्राप्त गरे । जुन मत संख्या मंसिरको भन्दा ११ हजार ४८३ ले कम हो । मंसिरमा एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका थिए ।
पोखरा । नेपाली राजनीतिक इतिहासमा १८ सालको भरतपुर काण्डलाई त्यति याद गरिएको पाइदैन । राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गर्दै नेपाली कांग्रेसको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेपछि त्यसको विरोधमा भरतपुरमा सशक्त र सशस्त्र आन्दोलनको ज्वारभाटा फैलिएको थियो । कांग्रेसका प्रमुख नेतामध्ये केही जेलमा थिए भने केही निर्वासनमा भारत लागेका थिए । तिनै नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहालीकाखातिर भरतपुरमा विशाल प्रदर्शन भयो । प्रदर्शन दबाउन राजधानीबाट समेत सेना परिचालन गरिएको त्यस दमनमा कति मारिए लेखाजोखा नै छैन । सोही आन्दोलनको अग्रपंक्तिमा रहेर मृत्युवरण गर्नेमध्येका एक हुन्, हरिप्रसाद गुरुङ । उनै गुरुङको पूर्णकदको सालिक पोखराको सिम्पानीमा देख्न सकिन्छ । र, सालिक स्थापनापछि त्यस ठाउँले नयाँ नाम पायो, ‘हरिचोक ।’ नाम र चोक भएपनि को हुन् हरिप्रसाद गुरुङ ? उनकोबारेमा नयाँ त परै जाउन्, पुराना कांग्रेसलाई समेत उतिबिघ्न थाहा छैन । ……………………………………………………………………………………….. वि. सं. १९७३ वैसाख १२ गते कास्कीको ल्वाङघलेलमा जन्मिएका हुन् हरिप्रसाद गुरुङ । जिम्मुवाल परिवारका गुरुङलाई शिक्षा दिन घरमै मास्टरको व्यवस्था गरिएको थियो । शिक्षा र उमेर बढ्दै जाँदा उनको ठाटले पनि सोही रफ्तार लियो । तबेलामा बाँधिएको सेतो घोडा चढेर शानकासाथ गाउँ चाहार्नु र पोखरा झर्नु उनका लागि सामान्य थियो । मुलुकमा जहाँनिया राणा शासनका बेला उनमा भने विपरित सोंचले मनभित्र क्रान्ति गरिरहन्थ्यो । प्रजाप्ररिषदका गतिविधिलाई यदाकदा सुन्ने अवसर पाएका गुरुङ प्रजातान्त्रिक व्वस्थाको कल्पना गर्थे । जमिन्दार बाबुका छोरा भएपनि उनको शैली भिन्न थियो । उनी स्वतन्त्रताका पक्षपाती थिए । आफन्तका अनुसार उनी केही ‘रौसे’ र ‘टाठा’ थिए । त्यही टाठोपन, राजनीतिक प्रभाव र फरक जीवनशैलीबाट उनीप्रति परिवार केही सशंकित थिए । छोरा बिग्रेला भन्ने डरले बेचैन बाबु उनलाई कतै अल्झाउन चाहन्थे । यत्तिकैमा भारतीय सेनामा कार्यरत दाजु घर आएकाबेला हरिप्रसादलाई पनि भर्ती लगाउन भारत पुर्याइयो । यता, देसमा प्रजातन्त्र आइसकेको आफु भने भारतीय ब्यारेकमा बुट बजार्दै बस्नु परेको पीडाले उनलाई सताइरहन्थ्यो । भारतीय लाहुरे भएको ३ वर्षपछि छुट्टिमा आएका उनी पुनः ब्यारेक फर्केनन् । जमिन्दार परिवारका गुरुङलाई बुट बजारिहनु पर्ने समस्या पनि थिएन । त्यसपछि उनको पुरै परिवार भरतपुर बसाई सर्यो । यो समय थियो, ०१४ साल । प्रजातान्त्रिक व्यवस्था र आफुलाई मनपर्ने पार्टी नेपाली कांग्रेसको सरकार । गुरुङ पार्टीमा पूर्णरुपमा खटिने कार्यकर्ता पनि थिएनन् । उनको पुरै ध्यान भरतपुरलाई बस्ती हुँदै नगरमा परिणत गर्ने दैनिकीमै बित्थ्यो । जंगल फँडानी गरेर भरतपुरलाई नगरी बनाइरहँदा पार्टीभित्रको गुट उपगुटले कांग्रेस सरकारमा किचलो बढ्दै थियो । सम्भ्रान्त राणा र कोइराला खानदानको खिचातानीबीच राजा महेन्द्र सत्ताको च्याखे थापेर बसिरहेका थिए । दुई गुटको चेपुवामा उँभो लाग्न नसकिने सोंचमा थिए डा. तुलसी गिरी र विश्वबन्धु थापा । राजा महेन्द्रले दुबै असन्तुष्टलाई प्रभावमा पारी २०१७ पुस १ गतेविशेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा रहेको मन्त्रीमण्डल खारेज गरी पञ्चायतको प्रादुर्भाव गरे । ०१५ सालदेखि सुरु भएको कांग्रेसको सत्ता कलहले अन्ततः व्यवस्था नै सुम्पनु परेको तीतो सत्य हो यो । राजा महेन्द्रले ‘कू’ पश्चात् डा. गिरीलाई मन्त्रीपरिषद् उपाध्यक्ष र थापालाई गृहमन्त्रीमा नियुक्त गरे । निर्दलीय व्यवस्थापछि भूमिगत भएका प्रमुख नेता, कार्यकर्ताको थातथलो उनै गिरी र थापालाई कण्ठस्थ थियो । फलस्वरुप, उनीहरु पक्राउ परे । केही भाग्न सफल भई भारततर्फ लागे । प्रजातन्त्रको उपभोग गरिसकेको नेपाली समाज राजतन्त्रविरुद्ध संगठित हुन थालिसकेको थियो । ०१८ को माघदेखिदेसैभर भएको विद्रोहको केन्द्रमा थियो भरतपुर । राजाको आदेशमा गृहमन्त्री थापा व्यापक धरपकड र दमनमा उत्रेका थिए । आन्दोलकारीहरुको मूख्य माग थियो, विपिलगायत नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहाली । प्रायः नेताहरु भारतको चम्पारणलाई मुकाम बनाएर बसेका थिए । यसकारण पनि भरतपुर आन्दोलनको केन्द्र बन्यो । आन्दोलन असफल भए वा धरपकड भए सीमा पार गरी ज्यान जोगाउन चम्पारण जिल्लाको नर्कटिया क्याम्प पुग्न सकिने कारण कांग्रेसको रोजाई भरतपुर थियो । आन्दोलनलाई गन्तव्यमा पुर्याउन भूमिगत शैलीमा करिब ८ महिना तयारी गरियो । भरतपुर, चितवनमा आन्दोलनलाई उँचााईमा पुर्याउन कमलकुमार राईको अध्यक्षतामा समिति गठन भयो । समितिको सचिवमा बुद्धसिंह रानामगर थिए । प्रचार र संगठनमन्त्रीको जिम्मा महेश्वरलाल श्रेष्ठले लिए । सदस्यमा हरिप्रसाद गुरुङ, लालध्वज गुरुङ, इमानसिंह गुरुङ र पद्यबहादुर बस्नेत चयन भए । चितवनको सरकारी क्वार्टरमा कसरी र कहिले आक्रमण गर्ने भन्ने जिम्मा योगप्रसाद उपाध्यायलाई दिइयो । आन्दोलनकारीहरुको तयारी जति तीव्र र चुस्त थियो, सरकारी तयारी झनै दूगुना भयो । यसको अर्काे कारण थियो, गृहमन्त्री थापा । उनी पहिले कांग्रेसमात्रै हैन चितवनबाटै निर्वाचित कांग्रेसी सभासदसमेत थिए । आन्दोलनकारीहरुले संघर्ष समिति गठन गर्दा यता सरकारले आन्दोलन दबाउन बडाहाकिम रामनारायण श्रेष्ठको संयोजकत्वमा जिल्ला न्यायधीश जनकमान श्रेष्ठ, सेनाका कमाण्डर भक्तनरसिंह राणा, मेजर मुहानसिंह महत र नारायणी अञ्चल एसपी जगतबहादुर सुब्बा सम्मिलित फोर्स गठन गर्यो । फोर्सको एउटै लक्ष्य थियो, कुनैपनि हालतमा आन्दोलन दबाएर छाड्नु ।सोही कारण राजधानीबाट समेत भरतपुरमा सेना परिचालन गरियो । पूर्वनिर्धारित कार्यक्रम अनुसार माघ १८ गते कांग्रेसले शक्ति प्रदर्शन गर्यो । तर, सेना र प्रहरीको संयुक्त फौज अगाडी आन्दोलनकारी ढल्दै गरे, पक्राउ परे । प्रतिरक्षाका लागि जुटाइएका केही हतियारसमेत आन्दोलनकारीले प्रयोग गर्न पाएनन् । सुरक्षाकर्मीहरु बर्बर ढंगले प्रस्तुत भएपछि प्रदर्शनकारी हताहत भए । सोही क्रममा गुरुङ मारिए । गुरुङसँगै अन्य कति मारिए हालसम्म संख्या यकिन हुन सकेको छैन । त्यस काण्डमा गुरुङलाई बाँधेर लगियो । त्यसपछि उनी सदाकालागि बेपत्ता भए । गुरुङलाई जिउँदै खाल्डामा पुरियो भन्ने हल्ला चलियो । केहीले गोली हानेर मारियो त कतिले खाल्डोमा हालेर गोली हाने, भने । तर उनीलगायत अन्य कसैको पनि शव पाइएन । गुरुङसँगै आन्दोलनमा रहेका महेश्वरलाल श्रेष्ठले बताए अनुसार उक्त काण्डमा २८ जना बेपत्ता बनाइए । केहीले २२ जना मारिएको बताइएका छन् । आन्दोलनमा सहभागीमध्ये कतिलाई त्यहाँबाट पाता कसेर कसैलाई रक्सौल, कसैलाई मेची बोर्डर पुर्याइएको थियो । केहीलाई रौतहटको जंगलतर्फ लगेको स्थानीयले देखेको बताएका थिए । ती मध्ये कसैलाई पुनः जीवित देखिएन । आन्दोलनमा सरिक लालध्वज गुरुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए । त्यस्तै, बुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए । त्यस्तै, बुद्धसिंह राना, खेमबहादुर गुरुङ र ट्रफि लामासमेत बेपत्ता पारिए । सोही दिन ११ जनालाई सेनाले एउटै डोरीले बाँधेर टिकौलीको जंगल लगेपछि उनीहरु पनि फेरि देखिएनन् । आन्दोलनको त्यस दिनको घटनाबारे महेश्वरलालले बेलाबेला उल्लेख गरेका वृत्तान्त हुन् । त्य समयका एकमात्र जीवित पात्र उनी हाल भरतपुरमा छन् । गुरुङको योगदान र गाथालाई बिर्सन नदिन ०५० मा स्थापित शहिद हरिप्रसाद गुरुङ प्रतिष्ठान पोखराले सक्दो मिहिनेत गरेको छ । प्रतिष्ठानका अध्यक्ष रुद्रबहादुर गुरुङ भन्छन्, ‘उहाँ (हरिप्रसाद) मारिएपछि शहिद घोषणा गरियोस् भनेर हामिले तारान्तार सम्बन्धित निकायमा खबरदारी ग¥यौं, तर सुनुवाई भएन । कांग्रेसले लामो समय सरकार चलाउँदा पनि हाम्रो कुरा सुनिएन ।’ अझ, कांग्रेसलाई नै घटनाबारे पूर्ण जानकारी नभएको भन्दै उनले दुखेसो पोखेका थिए । अध्यक्ष रुद्रकाअनुसार हरिप्रसाद बेपत्ता बनाइएपछि उनको सम्पूर्ण सम्पत्तिसमेत सरकारले रोक्का गर्यो । ससुराली खलकको भरथेगले परिवारमा ठूलै समस्या भने हुन पाएन । जुन सम्पत्ति ०४६ सालपछि मात्रै फुकुवा गरिएको थियो । गुरुङ बेपत्ता पारिएपछि श्रीमती दोधाँरमा परिन् र हातमा रातो चुरा लगाइरहेका थिइन् । प्रजातन्त्रको पूनर्बहालिपछि नेता गणेशमान सिंहले उनी मारिइसकेको र काजकिरिया गरे हुन्छ भनेपछि अन्ततः ०४६ भदौमा विधिवत काजकिरिया गरिएको प्रतिष्ठानका सचिव टिकाबहादुर गुरुङले जनाए । त्यसबेला नेता सिंहले गुरुङ परिवारलाई किरिया खर्चवापत १ लाख रुपैयाँ उपलब्ध गराएका थिए । आन्दोलनमा आफन्त हरिप्रसाद गुरुङको काजकिरिया गरेपछि परिवार र आफन्तले उनलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै कास्की, भरतपुर काँग्रेस हुँदै केन्द्रमा ढोका ढक्ढक्याउन सुरु गर्यो । प्रतिष्ठानका पदाधिकारीहरुको झोलामा सरकार र पार्टीलाई बुझाउन ज्ञापनपत्रका प्रति भइरहन्थे । कांग्रेसका योद्धा भएकाकारण उनलाई शहिद घोषणा गरियोस् भन्ने माग जायज थियो । तर, सुनुवाई भइरहेको थिएन । सुनुवाई नभएपनि उनको शालिक स्थापना गर्न प्रतिष्ठानले हदैसम्म पहल ग¥यो । र, फलस्वरुप ०५० मंसिरमा पोखराको सिम्पानीचोकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गुरुङको अद्र्धकद शालिकको स्थापना गरी उक्त स्थानलाई हरिचोक नामाकरण गरे । पछि ०६५ मंसिरमा पूर्णकदको शालिक राखियो । उनको शालिक राख्न कास्की कांग्रेसका शुक्रराज शर्माको योगदान रहेको सचिव टिका बताउँछन् । शालिक राखियो, सिम्पानी चोकले नयाँ नाम पायो, तर उनलाई शहिद घोषणा नगरिएकोमा प्रतिष्ठानको लडाई निरन्तर थियो । त्यसपछिको समय विभिन्न तवर र शैलीमा मारिएका व्यक्तिहरुलाई राज्यले आफुखुशी शहिद घोषणा गर्दै पीडित परिवारलाई क्षतिपुर्ति दिँदै गर्दा प्रतिष्ठानका पदाधिकारी बेचैन थिए । ज्ञापनपत्र बुझाउँदै, खबरदारी गर्दै विभिन्न निकायमा धाउँदा आश्वासनबाहेक केही पाएका थिएनन् । तरपनि उनीहरु थाकेनन् । यहि अनवरतको खटाइपछि गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले माघ ११ गते शहिदहरुको नामावली सार्वजनिक गर्ने क्रममा गुरुङको नाम पनि समावेश गरे । यसरी बेपत्ता पारिएको ५६ वर्षपछि उनी शहिदको लिष्टमा परे । घोषणासँगै प्रतिष्ठानले चैनको सास फेरेको अध्यक्ष रुद्र बताउँछन् । ‘२ दर्जन बढी मारिएको वा बेपत्ता भएको आन्दोलनमा हरिप्रसादमात्रै शहिद घोषणा भए नि ?’ सोधाइमा सचिव टिका भन्छन्, ‘हाम्रो उद्देश्य हरिप्रसादलाई मात्रै चर्चामा ल्याउने, शहिद घोषणा गर्ने थिएन, यकिन संख्या पत्ता लगाउन हामीले लामो समय भरतपुरमा सोधखोज गर्यौ, तर कोही भेटेनौं ।’ अन्य कोही नभेटेपछि हरिप्रसादलाई शहिद घोषणा गर्न प्रतिष्ठानले संघर्ष गरेको उनले सुनाए । प्रतिष्ठानको तयारी शहिद घोषणा गर्ने योजना सफल भएपछि अब शहिद गुरुङलाई चिनाउने योजनामा प्रतिष्ठान लागेको छ । उनका चिनो खोज्ने तयारीमा जुटिरहेको प्रतिष्ठान पोखराको पुरानो घर र भरतपुरमा केही भेटिन्छ कि भनेर खोज्दैछ । हालसम्म गुरुङले यौवनावस्थामा सेतो घोडा चढेकोबाहेक अन्य तस्बिर पाउन सकेको छैन । सोही तस्बिरको आधारमा उनको शालिक निर्माण गरिएको हो । प्रतिष्ठानले वैसाख १२ गते गुरुङको जन्म दिवस मनाउँदै आइरहेको छ । – व्यक्तिगत अर्काइभ