पोखरा: बानियाँ बन्धु समाज जिल्ला कार्य समिति कास्कीले बानियाँ समुदायबाट प्रतिनिधीत्व गर्ने राष्ट्रसेवामा कार्यरत उच्च पदस्त व्यक्तिहरुलाई सम्मान गरेको छ । नयाँवर्षको अवसरमा आयोजित भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच बानियाँ बन्धु समाज कास्कीले पश्चिम पृतना हेड क्वार्टर बिजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँ, सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँ, सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँ र २६ वर्षदेखी फलफुल ब्यवशायमा लागेका ब्यवशायी अमर बानियाँलाई सम्मान गरेको हो । सो अवसरमा बोेल्दै पश्चिम पृतना हेड क्वार्टर विजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँले छरिएर रहेका बानियाँ समुदायलाई एकीकृत गर्न बानियाँ बन्धु समाजले खेलेको भुमिकाको प्रशंसा गरे । बानियाँहरु नेपालभर छरिएर रहेको र बानियाँ बन्धु समाजकै कारण आज एक ठांउमा हुन पाएको र यसरीनै आफ्नो समुदायको उत्थानको लागी सम्पूर्ण बानियाँ बन्धुहरु आ आफ्नो ठांउबाट लाग्नुपर्ने उनको भनाइ रहेको थियो । सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँले बानियाँ बन्धु समाजले आफुहरुलाई सम्मान गरी आफ्नो काम कर्तब्यमा अझ अगाडी वढ्न हौसला मिलेको वताए । त्यस्तै सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँले आफु पूर्व नेपालको भएतापनि काम कर्तब्यको शिलशिलामा पोखरामा आज भन्दा २५ वर्ष अगाडि कार्यरत रहंदा पोखरामा बानियाँ बन्धुहरु रहेको स्मरण गर्दै पुन २५ वर्षपछि पोखरामानै आइपुग्दा आफ्नो समुदायबाट सम्मानित हुंदा आफ्नै दाजुभाइ संग प्रत्यक्ष भेट भएको महशुस गरे । आगामी दिनमा नेपाल भर रहेका बानियाँ बन्धुहरुलाई एक आपसमा सहयोग र सदभाव कायम गर्दै अगाडी वढ्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै युवा व्यवसायी अमर बानियाँले बानियाँ समुदायलाई माथि उठाउनका लागी सम्पूर्ण बानियाँ बन्धुहरु एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको वताउदै हरेक बानियाँहरुले आफ्नो समुदायलाई दह्रो बनाउन लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वर्षा बानियाँले स्वागत मन्तब्य राखेकी थिइनभने बानियाँ बन्धु समाज कास्कीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर बानियाँले कार्यक्रम माथी प्रकाश पारेका थिए । कार्यक्रममा बानियाँ बन्धु समाजका संरक्षक चन्द्र प्रकाश बानियाँ, पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, बानियाँ बन्धु समाजका केन्द्रीय सचिव दिपक बानिँया, केन्द्रीय सदस्य द्धय सूर्य बहादुर बानियाँ र इन्द्रमाया बानियाँ लगायतले शुभकामना मन्तब्य राखेका थिए । बानियाँ बन्धु समाज कास्कीका अध्यक्ष होम बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य शंकर बानियाँले गरेका थिए ।
पोखरा: युनाइटेड क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार दृष्टीबिहीनहरुलाई सेतो छडी वितरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार १२ जना दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरिएको हो । सो अवसरमा सेतो छडी वितरण गर्दै पोखरा महानगरपालिकाका वडा अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले पोखरामा पोखरा महोत्सवको आयोजना गरी बिकृति रहित समाज र सामाजिक काममा लागेको सबैलाई थाहै रहेको र नेपाली नयाँ वर्षको दिनमा दृष्टी क्षमता कम भएकाहरुलाई सहयोग स्वरुप सेतो छडी वितरण गरी रचनात्मक कामको सुरुवात गरेको बताउदै युनाइटेड क्लवको हरेक क्रियाकलापमा पोखरा महानगरपालिका र आफ्नो वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै अपांगतामैत्री समाज कास्कीका अध्यक्ष शान्त बहादुर परियारले कोरोना महामारीका कारण लकडाउको समय वा अन्य अवस्थामा समेत आफ्नो संस्थालाई सहयोग गर्दै आइरहेको युनाइटेड क्लबले नेपाली नयाँवर्षको अवसरमा आफ्नो समाजमा आवद्ध दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । युनाइटेड क्लबले महोत्सवको आयोजना गरी राष्ट्र«कै उत्कृष्ट क्लब सावित भएको आफ्नो संस्थाले महसुस गरेको उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष वैशाख ७ गते वार्षिकोत्सव मनाउदा साताब्यापी कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र यो वर्षपनि १३ औं वार्षिकोत्सवको अवसर पारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तरक्रिया, अपांगता भएकाहरुलाई सहायता सामाग्री वितरण, विभिन्न संघ संस्थालाई खाद्यान्न वितरण, रक्तदान, विद्यालयमा पुस्तकालय निर्माण लगायतका कार्यक्रमहरु गरिने बताए । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको भएतापनि वार्षिकोत्सव विशेषमा समेत सामाजिक कामलाई निरन्तरता दिदै आइरहेको बताए । क्लबका महासचिव दिनेश सुनारका अनुसार १३ औं वार्षिकोत्सव अन्तर्गत वैशाख ६ गते सम्म दैनिक कार्यक्रमहरु हुनेछन ।
रामेछाप : रामेछापमा शुक्रबारदेखि सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८० सालका अवसरमा महोत्सव आयोजना गरिएको हो। महोत्सव शनिबार साँझसम्म सञ्चालन हुने छ। प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङले उद्घाटन गरे। महोत्सवमा रामेछापकाका ९ वटा जातजातिको झाँकी एवं जातीय संस्कार झल्कने नृत्य प्रस्तुत गरिएको छ। १९ वटा स्टलमा जिल्लामा उत्पादन गरिएका उत्पादित खाद्यान्न तथा हस्तकलाका वस्तुहरू राखिएको छ। जातीय पहिचान झल्कने खानेकुराहरू पनि राखिएको छ। समारोहमा झन्डै २ हजारको सहभागिता रहेको आयोजक रामेछाप उद्योग वाणिज्य संघ रामेछापका सचिव यज्ञप्रसाद सुवेदीले जानकारी दिए।
काठमाडौं : थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १४२४ नमूना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९७ र एन्टीजेनबाट १२२७ नमुना परीक्षण गर्दा पीसीआरबाट ३४ र एन्टिजेनबाट १०२ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ६८ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४०१ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
काठमाडौंः ट्राफिक नियमको पालना नगर्ने झण्डै १९ लाख ४२ हजार सवारीधनीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८।०७९ मा ट्राफिक नियमको पालना नगर्ने १९ लाख ४१ हजार ७५८ सवारीधनीहरूलाई कारबाही गरेको हो । कारबाहीबाट १ अर्ब ४१ करोड ८९ लाख २६ हजार जरिवाना राजस्व असुली भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारीचालकले तोकिएका नियम पालना गर्नुपर्ने व्यवस्था छ । ट्राफिक पदमा जनशक्ति अपुग भएका कारण अन्यत्रबाट १ हजार ३३५ जना काजमा ल्याएको कारण ३ हजार ९३५ जना ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापन कार्यमा संलग्न रहेका छन् । गत वर्षको तुलनामा सवारी नियमको पालना नगर्नेको प्रतिशत १८.३७ ले बढेको छ । यो वर्ष सवारी नियम पालना नगर्ने मादक पदार्थ सेवकलाई ५४ हजार ८८७ पटक तीव्रगतिमा सवारीसाधन चलाउनेलाई २६ हजार ३५९ पटक लेन अनुशासन पालना नगर्नेलाई १३ हजार ८९३ पटक कारबाही भएको छ । सवारीसाधनको प्रकृतिअनुसार मोटरसाइकल चालकले ६ लाख २२ हजार ४५५, ट्रक / ट्याकंर चालकले ५ लाख ७ हजार ४९५ कार, जीप, भ्यान चालकले ४ लाख १९ हजार ९१५ पटक सवारी नियमको पालना गरेका छैनन् । सवारी नियमको पालनामा कमजोरी रहेको र नियमको पालना नहुँदा सडक दुर्घटनामा समेत वृद्धि हुँदै आएको देखिँदा आवश्यकताअनुसार ट्राफिक दरबन्दीको व्यवस्था गरी सडक अनुशासन पालनामा कडाई गर्नुपर्ने देखिएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे। राष्ट्रपति पौडेलले नेपाल रत्न पूर्वप्रधानमन्त्री स्व कोइरालालाई प्रदान गरे। राष्ट्र गौरव राजनीतिज्ञ स्व जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई प्रदान गरे। सुप्रसिद्ध प्रबल जनसेवाश्री डा जगमान गुरुङलाई प्रदान गरियो। समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको छ। मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेका थिए। नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ।
काठमाडौं: नयाँ वर्ष मनाउन गएका रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो। प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। पोखरीमा खस्नेबित्तिकै उनको उद्धार गरिएको थियो। उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ राजमार्गको छेवैमा रहेको भुतखोलामा नुहाउने क्रममा हरेक वर्षजस्तो मानिसको मृत्यु हुने गर्छ।
काठमाडौं: समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरू हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ। जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो। शैक्षिक सत्र सुरू भएको महिनौं दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरू भएको दिन नै पुस्तक पाउने भएका छन्। पुस्तक नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ। जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ। योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ। ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याउने जिम्मा लिएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए। उनका अनुसार नयाँ शैक्षिक सत्र सुरू नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन। सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताए। नेपालगञ्जबाट गाडीमार्फत् ढुवानी गरेर जिल्लामा पुर्याइएकाले ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उनको गुनासो थियो। ‘पहिला जिल्ला शिक्षा कार्यालयमार्फत् मंसिरको दोस्रो चौमासिकमा पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित विद्यालयमा रकम उपलब्ध गराई पुस्तक खरिदको प्रक्रिया अगाडि बढाइन्थ्यो’, शाहीले भने। अहिले पुस्तक खरिदका लागि स्थानीय पालिकाले प्रक्रिया अगाडि बढाए पनि पुस्तक खरिदको रकम समयमा दिन नसकेको उनले बताए। पालिकाले पाठ्यपुस्तक खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण निकालेर शैक्षिक सत्र सुरू हुनु अगावै पुस्तक सम्बन्धित विद्यालयमा पुर्याएको शाहीको भनाइ थियो। पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका पुस्तक डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गरे। पुस्तक पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले पुस्तक खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन्। पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट पुस्तक लैजान सकिने शाहीको भनाइ थियो। यी चार पालिकामा पैदल मार्गमार्फत् केही दिनअघि पुस्तक पुगिसकेका छन्। कक्षा १ देखि १० सम्मका सबै विषयका पुस्तक पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिए। तीन गाउँपालिकाको पुस्तक भोलिदेखि ढुवानी हुने जिल्लाको माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुग्न सकेको छैन। हवाई मार्गमार्फत् ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत् ढुवानी गरिने ढुवानीको जिम्मा लिएको ज्ञानबहादुर रोकायाले बताए। उनका अनुसार तीन पालिकाका लागि भोलि शनिबारदेखि नेपालगञ्जबाट पैदल मार्ग भएर ढुवानी गरिने छ। शनिबारदेखि पुस्तक ढुवानी सुरु गरी एक हप्ताभित्र पैदल मार्गबाटै सदरमुकाम पुग्ने रोकायाले बताए। उनले तीन पालिकाका ५८ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुर्याउने जिम्मा लिए। यो वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैं पाठ्यपुस्तकको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन्। कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरू भएसँगै पुस्तक पाउने भएका हुन्। हुम्लाका चार गाउँपालिकामा पुस्तक पुगिसकेका छन् भने तीन पालिकाका लागि शनिबारदेखि ढुवानी सुरू हुँदैछ। यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरू हुने गरेको छ। कोरोना महामारीका समयमा पठनपाठनमा समस्या भएपछि यहाँका स्थानीय तहले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका हुन्। तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू हुने र मंसिरको अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्दै आएका थिए। कोरोना संक्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरू गर्न थालिएको मानसरोवर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए।
स्याङ्जा: पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा आर्थिक वर्ष २०७८-७९ मा २६ करोड ५७ लाख २८ हजार बजेट बेरुजु देखिएको छ । महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो । यहाँ नगरपालिकामा प्रतिशतका हिसाबले धेरै चापाकोट नगरपालिका ३.०२ प्रतिशत र कम वालिङ नगरपालिका १.४६ प्रतिशत तथा पालिकामा हरिनासमा सबैभन्दा बढी ४.२६ प्रतिशत र फेदिखोलामा सबैभन्दा कम १.१३ प्रतिशत बेरुजु देखिएको छ । चापाकोट नगरपालिकामा एक अर्ब २९ करोड ९२ लाख ९५ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड ९२ लाख ४० हजार बेरुजु देखिएको छ भने गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ३८ लाख २० हजार रुपियाँमा तीन करोड २३ लाख ८६ हजार रुपियाँ बेरुजु देखिएको हो । यस्तै, पुतलीबजार नगरपालिकामा दुई अर्ब ३८ करोड १० लाख ४८ हजार रुपियाँको लेखापरिक्षणमा तीन करोड २५ लाख दुई हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने भीरकोट नगरपालिकामा एक अर्ब ३३ करोड ७७ लाखको लेखापरिक्षणमा दुई करोड १९ लाख ७० हजार रुपियाँ बेरुजु देखिएको छ । वालिङ नगरपालिकामा एक अर्ब ८१ करोड ३४ लाख ७३ हजारको लेखापरिक्षणमा दुई करोड ६३ लाख ९९ हजार रुपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकामध्ये हरिनास गाउँपालिकामा ७६ करोड ३४ लाख ५६ हजारको लेखापरीक्षणमा तीन करोड २५ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ । यस्तै, आँधीखोला गाउँपालिकामा एक अर्ब १६ करोड ६३ लाख ४१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको भने कालीगण्डकी गाउँपालिकामा एक अर्ब एक करोड ८४ लाख ३१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपियाँ बेरुजु देखिएको छ । विरुवा गाउँपालिकामा ९८ करोड ८० लाख ९६ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८१ लाख ४० हजार बेरुजु देखिएको छ । फेदीखोला गाउँपालिकामा ९६ करोड ३३ लाख ५५ हजारको लेखापरीक्षणमा एक करोड ९ लाख ३२ हजार रुपियाँ बेरुजु देखिएको छ भने अर्जुन चौपारी गाउँपालिकामा ८२ करोड ७ लाख ४५ हजारको लेखापरीक्षणमा एक करोड २१ लाख ५० हजार रुपियाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

