पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौं : सांसद् ज्ञानेन्द्र शाहीले बास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शाहीले  वर्तमान सरकारनै वास्तविक मिटरब्याजी भएको बताएका हुन् ।   शाहीले भने,‘पछिल्लो आठ महिनामा चालु खर्च ५१.४६प्रतिशत र पुँजीगत खर्च २२.१५ प्रतिशत र व्यवस्थापकीय खर्च ३७.४१ प्रतिशत खर्च गरेको छ । भएभरको पैंसा असारमा मात्रै खर्च गर्ने प्रवृत्ति छ । पुँजीगत खर्च ७८ प्रतिशत गर्न बाँकी छ । सबै पैंसा सरकारले बैंकमा राखेर ब्याज खाइरहेको छ । वास्तविक मिटरब्याजी कोहि छ भने त्यो सरकार हो । बैंकमा पैंसा राखेर जनतालाई अलमलमा नराखियोस् । कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीको हालत विजोग छ । ’   बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था आएको उनले बताए । शाहीले भने,‘नेपाल सरकारले २ खर्ब ११ अर्ब मात्रै फिक्स डिपोजिट गरेको छ । निर्माण व्यवासी र अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्ब रुपैयाँ सरकारी खातामा राखेर ब्याज खाइरहेको छ । बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’

काठमाडौँ:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।    भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।    “कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”   मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।   कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।    “अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।    बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।    महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान रोकिएको छ ।   बुधवार तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरूले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयका लागि अवरुद्ध भएको हो ।   महासङ्घको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एसाेसिएटतर्फ तीन वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन् । ‘भोट फर अञ्जन’, भोट फर सघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान  स्थगित भएको छ ।   महासङ्घको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र सघाई र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा भइरहेको छ । महासङ्घको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।   महासङ्घको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासङ्घको अध्यक्ष बन्नुहुनेछ । नयाँ नेतृत्व चयन गर्नको लागि उद्योगी व्यवसायीहरूको बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति रहेको छ ।

सप्तरी: सप्तरीको चार पालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने छ घर जलेर नष्ट भएको छ ।   जिल्लाको कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका, महादेव गाउँपालिका र शम्भुनाथ नगरपालिकामा आगलागी भएको हो । आगलागीबाट २४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।   कञ्चनरुप नगरपालिका १ बैरवामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने तीन घर जलेर नष्ट भएको छ । साथै नौ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले स्थानीय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा मङ्गलबार लागेको आगो फैलिएर छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जानकारी दिनुभयो ।   आगो निभाउने क्रममा ५२ वर्षीय बिनय खंग र ३५ वर्षीय गजिन्द्र सदा घाइते हुनुभएको छ । घाइतेमध्ये विनयलाई उपचारका लागि धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने गजेन्द्रको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   रुपनी गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ भने १० लाख बराबरको क्षति भएको छ ।   यसैगरी, वडा नं. २ स्थित रामनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा छिमेकी शिवनारायण साहको समेत घर जलेर नष्ट भएको डीएसपी सिंहले जानकारी दिनुभयो ।   आगलागीमा तीन वटा पशुचौपायासमेत जलेर मरेको उहाँले बताउनुभयो  । दुवै ठाउँको आगलागी नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुणयन्त्र तथा प्रहरी र स्थानीयवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।   यस्तै, महादेबा २ बस्ने जयकुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागी हुँदा तीन तलाको फुसको घर पूर्णरुपमा नष्ट हुँदा चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।   यसैगरी, जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सब डिभिजन वन कार्यालयको प्राङ्गणमा राखिएको पुरानो काठहरूमा अचानक आगलागी भएको छ । सो आगलागीमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  बुधबार अमेरिकी डलरको भाउ बढेको छ। आज डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।    मंगलबार  एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसा बढेको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५पैसा पाइन्छ।  मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ।    क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७०  पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ।   मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ।

काठमाडौं:  बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।   गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पर्वत : पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप  बढेको छ। अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।    ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिए। 'पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ', उनले भने। दूषित पानीको प्रयोगका कारण बिरामीको सङ्ख्या बढेको हुनसक्ने डा अधिकारीले बताए। कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भए पनि अस्पतालले परीक्षण भने गरेको छैन।   अस्पतालका ५६ शय्यामा बिरामीले भरिभराउ छन्। ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ। मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा अधिकारी बताउँछन्। जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ।    पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको बनाइएको हो। जनशक्ति अभावको समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीको भनाइ छ। पर्वत अस्पताल मात्र होइन यहाँका निजी अस्पताल, क्लिनिक र ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा समेत बिरामीको सङ्ख्या बढेको बताइएको छ । 

काठमाडौं  : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ।   बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।   बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देससहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस्,'भनी प्रस्ताव प्रस्तुत  गर्ने  संभावित कार्यसूची  रहेको छ।   बैठकमा नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको  निधनमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ। नेता तुम्बाहाम्फेको चैत्र २४ गते निधन भएको थियो।

काठमाडौं : नेपाल उद्योग वाणिज्य  महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरू भएको छ। प्रज्ञा भवन कमलादीमा बिहान १० बजेदेखि मतदान सुरू भएको हो। निर्वाचनमा  १ हजार ९ सय ५३ मतदाता रहेका छन्।   महासंघको नयाँ नेतृत्व चयनका लागि उद्योगी व्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ । वरिष्ठ उपाध्यक्षसहित ६६ पदका लागि निर्वाचन हुन लागेको हो।   ५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन्।    महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ।  वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ,वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन्।    महासंघको इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको हो।