काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन्। पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा,कोटेश्वरमा आयोजित कार्यक्रमलाई बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने,‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।’ प्रधानमन्त्री प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धी उल्टिने खतरा रहेको बताए। प्रधानमन्त्रीले भने,'संविधानमै उल्लेख भइसकेका शान्ति प्रक्रिया,संक्रमणकालीन न्यायलगायतका विषयलाई तर्क,वितर्क गरेर असफल बनाउने र उल्ट्याउने प्रयास भइरहेको छ।' उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए । उनले भने,‘अब जनता र कार्यकर्ता तिर फर्केर मात्र पार्टी बन्छ । नेताहरूबाट समर्थन लिएर र सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नै पर्ने भएको छ । पार्टी हामी सबै मिलेर बनाउनु नै छ । पार्टी बनाउने राजनीति,बिचार र संस्कृतिमा गयौं भने पार्टी बन्न ढिलो पनि हुन्न ।’ प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए। उनले पार्टीका नेताहरूलाई निर्देशन दिँदै भने, ‘लेखौं, बोलौं र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौं । हामी सबैले आफ्नो भूमिका पुरा गर्यौं भने हाम्रो तागत ठूलो छ । सरकारको नेतृत्व लिएपछि पनि धेरै कामहरु गर्न प्रयास भएका छन् । केही सफल भएका छन्,केही सफल हुँदैछन् । पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी छ । सरकारलाई जनताको आशा अपेक्षाअनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौति र जिम्मेबारी हाम्रो काँधमा छ ।’
काठमाडौं: शुक्रबार अमेरिकी डलरको भाउ सीमान्तदरमा बढेको छ। आज डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ। बिहीबार डलरको खरिददर १३१ रुपैयाँ ३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसा महंगिएको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ र बिक्रीमा १४४ रुपैयाँ ६६ पैसा पाइन्छ। बुधबार युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा थियो। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०२ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ७१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।
काठमाडौं : नयाँ वर्ष २०८० को पहिलो दिन आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। शुक्रबार राति देशभर आंशिक बदली रहने छ।
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका- १ स्थित महाभिरमा बस दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट मुस्ताङ जाँदै गरेको बा ३ ख ९६४७ नम्बरको बस अन्नपूर्ण गाउँपालिकाको महाभिरमा दुर्घटना हुँदा दुई विदेशीसहित ५ यात्रु घाइते भएका हुन्। अन्य यात्रुहरू सकुशल रहेका छन्। घाइतेको अवस्था खतरामुक्त रहेको अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्सले घाइतेलाई बेनी अस्पताल पुर्याएको हो। बसमा २३ जना यात्रु सवार थिए। बस सडकबाट ५ मिटर तल खसेको थियो।
काठमाडौं : नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताए। 'पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ', उनले भने। भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताए। केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । महानगरीय प्रहरी बृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ ।
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजी स्वार्थका लागि राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको बताएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, 'अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्न प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ। राष्ट्रिय हितलाई तिलाञ्जलि दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ ।' उनले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको पनि उल्लेख गरे। बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनु सम्भव रहेको उनले बताए।
काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा उक्त अडिओ सार्वजनिक हुनु पार्टीविरूद्धको षडयन्त्र भएको बताएका छन्। बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन्। ‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’ उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने दाबी गरे। उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनको दाबी छ। पत्रकारले सोधेका प्रश्नको भने श्रेष्ठले जवाफ दिएनन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरू भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन मंगलबार नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो । बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाउने प्रमुख सचेतक परियारले जानकारी दिए। रास्वपा सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्नका लागि व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।
काठमाडौं : कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको मृत्यु भएको हो। मंगलबार पनि तीन महिनापछि एक संक्रमितको मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।

