गण्डकी: रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनःसञ्चालनमा ल्याउने उल्लेख गरेको छ । सरकारको उक्त निर्णयले आशा जगाएको भए पनि घोषणा कार्यान्वयन हुनेमा भने जनस्तरमा संशय छ । यसअघि पनि पटकपटक गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन । विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्णरुपमा बन्द छ । सरकारले उद्योगमा कार्यरत दुई सय ८० कर्मचारीलाई विसं २०७६ फागुनमा रु ९६ करोड दायित्वसहित अवकाश दिएको थियो । उद्योगका प्रशासन अधिकृत दिनेश कार्कीले सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनःसञ्चालन गर्न सकिने बतौका छन् । “पचासर ६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ”, उनले भने, “बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।” अधिकृत कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो । अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रने गरेको छ र नेपालको भू–बनोट र सडकको स्तरअनुसार अझै केही दशक बायस प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उनले बताएका छन् । “रेडियल प्रविधिमा जाने हो भने रु ५० करोडभन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ”, अधिकृत कार्कीले भन्नुभयो । उद्योग बन्द हुनुपूर्व २५ वर्षसम्म उहाँले त्यहाँ कर्मचारीका रुपमा काम गरेका थिए । “सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि यो उद्योगलाई पुनःसञ्चालन गर्न सकिने भनेर औँल्याएको छ”, अधिकृत कार्कीले भने , “सरकारको नीति तथा कार्यक्रममा पनि समावेश भएपछि उद्योग चल्नेमा आशा जागेको छ, मुख्यरुपमा उद्योग मन्त्रालयले नै यसमा पहल लिनुपर्छ ।” गोरखाको गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै रु १० अर्ब बराबरको सम्पत्ति छ भने, उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले सार्वजनिक–निजी साझेदारी अवधारणाबाट उद्योग चलाउनुपर्ने धारणा राख्नुभयो । “सरकारको मात्रै बाटो हेरेर हुँदैन, यसलाई थ्री पी मोडलमा लैजानुपर्छ”, उनले भने, “उद्योग पुनःसञ्चालनबारे चीन र नेपालका विज्ञसँग छलफल भइरहेको छ, उद्योग चलाउन हामी लागिपरेका छौँ ।” गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्नसक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको उनको को भनाइ छ । “बजारमा रहेको भारतीय टायरको वर्चश्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ”, प्रमुख रानामगरले भने, “स्वदेशी उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जनामा यसले ठूलो मद्दत पु¥याउँछ ।” गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठले उद्योग चलाउने विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराइएको जानकार दिए । “सरकारले नीति तथा कार्यक्रममार्फत उद्योग पुनःसञ्चालन गर्ने घोषणा गरेपछि गोरखाका उद्योगी व्यवसायी खुसी छौँ, हामीले पटकपटक यो माग राख्दै आएका थियौँ, अब निर्णय कार्यान्वयनमा ढिलाइ नहोस्”, उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट चुनाव लड्दा गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका थिए । गृहमन्त्री, गण्डकीका मुख्यमन्त्री, सभामुखलगायत उच्च पदमा गोरखाकै राजनीतिक नेतृत्वमा रहेकाले उद्योग सञ्चालनमा उचित पहलकदमी हुनेमा गोरखाबासी आशावादी छन् । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गोरखकाली रबर उद्योग सञ्चालनका लागि सङ्घी सरकारसँग साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताए , “हाम्रै प्रदेशमा पर्ने भएकाले प्रदेश सरकारको पनि यसमा स्वाभाविक दायित्व रहन्छ”, उनले भने, “प्रदेशमा उद्योगधन्दाको विकास र स्थानीय उत्पादनको प्रवद्र्धन प्रदेश सरकारको प्राथमिकतामा छ ।” सरकारले गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनःसञ्चालनको घोषणा गरेको हो । लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समितिसमेत गठन गर्ने सरकारले तयारी गरेको छ । रासस
काठमाडौं: गृह मन्त्रालय (सचिवस्तर)को जेठ ५ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो । प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेललाई प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै जिम्मेवारीसमेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाउनुपर्ने निर्देशन दिए । उनले संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्नेसमेत बताएका थिए ।
पोखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बुधबार) पोखरा आउने भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री दाहाल बुधबार पोखरा आउने भएका हुन् । उनले पोखरामा भोलि (बुधबार) हुने मुख्यमन्त्री सम्मेलनलाई सरकारको तर्फबाट सम्बोधन गर्नेछन् । गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीका अनुसार भोली (जेठ १०) गते पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवहरुको भेला छ । सो सम्मेलनमा विभिन्न प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गरिने बताइएको छ ।
काठमाडौं: नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेसले जनयुद्ध स्वीकार गरेको हो भनेर प्रश्न गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भट्टराईले २०७२ पछिका सरकारी दस्तावेजमा कतै जनयुद्ध शब्द उल्लेख नभएको तर पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको बताए। ‘आज मेरा केही प्रश्न नेपाली कांग्रेसप्रति छ। यो संवोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ, यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध पनि उहाँ उच्चारण भएको छ। २०७२ सालको संविधानपछि नेपालको कुनै पनि दस्तावेजमा यो शब्द उल्लेख भएको छैन। पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ,’ उनले भने।
काठमाडौं: प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको स्रोतले बतायो । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । यो प्रकरणमा मुछिएका ३२ जनामध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ ।
काठमाडौं: सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८० र ०८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा भएको हो । नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्याउने घोषणा गरेको छ । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।
कास्की: जिल्ला प्रशासन कार्यालय कास्कीको राहदानी फाँटमा देखिएको व्यस्तताले जिल्लावासीको योजना र लक्ष्य आंकलन गर्न सकिन्छ । उमेर पुग्ने बित्तिकै नागरिकता र तुरुन्तै पासपोर्ट (राहदानी) निकालिहाल्ने ध्याउन्नमा रहेका छन् आम युवाहरु । फाँटको रेकर्डअनुसार पासपोर्ट बनाउनेमा २० वर्ष मुनिका उमेर समूहको बाहुल्यता छ । यस आर्थिक वर्ष सुरु भएपछिमात्र १५ हजार जनाले पासपोर्ट बनाइसकेका छन् । यसबाहेक १७ हजार निवेदकको काम प्रक्रियामा रहेको छ भने २ हजार पासपोर्ट केही दिनभित्र आइपुग्ने फाँटका नायबसुब्बा उमाकान्त रेग्मी बताउँछन् । रेग्मीका अनुसार पासपोर्ट लिन आवेदन गर्ने कूल संख्यामध्ये ८० प्रतिशतको उमेर १८ देखि २० वर्ष रहेको छ । उनीहरुले निवेदनमा भेरिफिकेशन गर्दा ‘अध्ययन गर्न जाने’ खुलाएका छन् । ‘किशोरावस्थामै पासपोर्ट बनाउने हतारो छ, सबै बाहिर पढ्न अप्लाई गर्ने भन्दै पासपोर्ट बनाउन आउने गरेका छन्’ रेग्मी भन्छन् ‘पासपोर्ट बनाउनेको संख्या अघिल्लो वर्षको तुलनामा यसपटक बढेको छ ।’ त्यस्तै, कोरोना महामारी घट्दै गएपछि कास्कीमा पासपोर्ट बनाउनेको संख्या बढ्दै गरेको उनले उल्लेख गरे । यस उमेर समूहमा पासपोर्ट बनाउनेको संख्या धेरै भएसँगै अर्काे रोचक पक्ष पनि छ । त्यो पक्ष हो, पुरुषको तुलनामा महिला निवेदकको संख्या बढी । तथ्यांक अनुसार पासपोर्ट लिन निवेदन दिनेमध्ये महिला ६५ प्रतिशत हाराहारीमा छन् । राहदानी फाँटमा पछिल्लो सोमबार र मंगलबारको दर्ता हेर्दा ७९ जनामा महिलाको संख्या ५१ रहेको छ । देशमा सबैभन्दा बढी पासपोर्ट बनाउने जिल्लामा कास्की पाँचौमा पर्छ । काठमाण्डौं, मोरङ, बाँके, पर्सा र कास्की ५ प्रमुख जिल्ला हुन् । राहदानी शूल्क र राजश्वसम्बन्धी विवरण यसप्रकार छः
काठमाडौं: नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायब निरीक्षक पुर्षाेत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीको तर्फबाट नेपालीले जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे सगरमाथाको चुचुरो पुगेका हुन् । सो अवसरमा उनले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहर्याए । उनलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले २०७९ चैत ३० गते आवश्यक निर्देशन र शुभकामनासहित उक्त झण्डाहरु हस्तान्तरण गरेका थिए । नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियानमा आधारशिविर पुगेपनि सगरमाथाको चुचुरो चुम्ने पहिलो नेपाल प्रहरी पुर्षाेत्तम नेपाली बनेका छन् । सो आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको बताइएको छ । नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । यसअघि पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका थिए ।
काठमाडौँ: भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सो निर्देशन दिएका थिए । तर, सो समय सीमाभित्र अनुसन्धान प्रतिवेदन पेस नहुने भएको छ । प्रहरीले बुधवार अनुसन्धान प्रतिवेदन नबुझाउने निर्णय गरेको छ । शरणार्थी प्रकरणको अनुसन्धान नसकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले जानकारी दिए । २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् । हालसम्म यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे सहित १४ जना थुनामा छन् ।