काठमाण्डौ: चालु आर्थिक वर्ष २०७९ र ८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत रहेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर छ । राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा विस्तृत मुद्राप्रदाय छ दशमलव नौ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ । यो अवधिमा रेमिट्यान्स आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै आयात १६ दशमलव आठ प्रतिशतले, निर्यात २४ दशमलव पाँच प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले घटेको छ । वैशाख मसान्तसम्ममा सङ्घीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव तीन प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव तीन प्रतिशत रहेको छ ।
पाेखरा: नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरि बहादुर चुमानले नेपालमा मुर्रा राँगोको अवश्यकता रहेको बताएका छन् । प्रदेश सरकारको आ.व २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको मुर्रा राँगोको आवश्यकता रहेको बताएका हुन् । ‘भारतले १० हजार मेगावाट विद्युत किन्ने कुरा । अनि भारतको सहमतिमा हाम्रो विद्युत बंगलादेशमा बेच्ने कुरा नदेखेर मुर्रा राँगो देख्नु भो, चुमानले भने, ‘यहाँ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरा गरिरहदाँ त्यो आवश्यक नै थियो ।’
कास्कीः बाजे लालबहादुरको १९ वर्ष अघि मृत्यु भइसकेको छ । उनै बाजेले प्रयोग गर्ने भरुवा बन्दुक लिएर माछापुच्छ्रे गाउँपालिका खैमराङका आइत सिं तामाङले खेतबारीमा बाली खान आउने बाँदर धपाउँदै आएका थिए । ०७९ साल कात्तिक ५ गते बिहानै सोही बन्दुक बोकेर आइत गहुँबारीतिर लागे । गहुँ खान आएका ढुकुरको बथान देखेपछि उनले फायर खोले । तर उनले हानेको छर्रा लागेर बोडी टिप्न गएकी नातामा फुपु पर्ने छिमेकी मैरानी (बुद्धिमाया तामाङ)को दायाँ छातीमा लाग्यो । घटनापछि डराएका ३६ वर्षे आइतले बारीको कान्लामा बन्दुक लुकाएर घर लागे । छातीमा छर्रा लागेर चिच्याएपछि ६० वर्षीया मैरानीलाई गाउँलेले पोखराको फिस्टेल हस्पिटलमा उपचारार्थ ल्याए । प्रहरीकहाँ खबर आइपुगेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लुकाइराखेको हतियार र लुकिबसेका आइतलाई पोखरा ल्याए । प्रहरीसँगको सोधपुछमा दुईबीच कुनै रिसइबी नभएको र भवितव्यले घटना घटेको बताइयो । यस कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानअनुसार आइतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्न कानूनी माग गर्दै कास्की अदालतमा मुद्दा दायर गरियो । उक्त मुद्धाको फैसला ०७९ को पुसमा भएको छ । फैसला अनुसार आइतलाई १ वर्ष कैद र १० हजार रुपैयाँमात्र जरिवाना भयो । उल्लिखित कैदमध्ये अदालतले फैसला गर्दासम्म आइतले २ महिना १३ दिन भुक्तान गरिसकेका थिए । अदालती फैसलामा बाँकी कैदको ८६ हजार १ सय रुपैयाँ तिराई थुनामुक्त गर्नु भन्ने आदेश दिएपछि उनी छुटिसकेका छन् । उक्त भरुवा बन्दुक राख्न इजाजत नलिएकाले जफत गरिएको छ । अदालतबाट घट्यो सजाय र जरिवाना आइतको अपराधमा सरकारी वकिलको कार्यालय कास्कीले मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा (१) अनुसार फैसला माग गरिएको थियो । उक्त उपदफाअनुसार आइतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ । जसमा ‘हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजातपत्र प्राप्त गरेको भएपनि शर्त बन्देज विपरित हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन’ भनिएको छ । यसो गरेमा उल्लेखित सजाय र जरिवाना हुनेसमेत उल्लेख भएपनि अदालतबाट भने आइतले कम सजाय र जरिवाना पाए । तर आइतले १ वर्ष कैदमध्ये बाँकी रहेको अवधि पनि जरिवाना तिरेर छुटेका हुन् । ‘यस्तो कसरी हुन्छ ?’ सरकारी वकिलको कार्यालयको एक सह न्यायधिवक्ता भन्छन् ‘हामीले घटनाको प्रकृतिअनुसार ऐनको आधारमा कारवाही माग गरी अदालतमा पेश गर्छाै तर बहस र सवालजवाफकाक्रममा सजाय र जरिवाना तल माथि हुने गरेको छ ।’ यस मुद्दामा आइतले बिना इजाजत हतियार राखेको मात्र हैन फायरिङ् गर्दा छर्रा लागेर व्यक्ति घाइतेसमेत भएका छन् । अदालतमै पुगेको मुद्दामा पनि वादी र प्रतिवादीको मेलमिलापमा फैसला निर्भर रहेको हुनसक्ने उनको आंकलन छ ।
रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ भने अहिले पनि उद्धारको काम भैरहेको छ । युक्रेनका आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताउनुभएको छ । कतिपय मानिस बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन् । ड्नीप्रो नदीमा तीव्र रूपमा पानीको बहाव बढिरहेको छ । खेअर्सन सहरमा बाढीको उच्च जोखिम छ । बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दुरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ । बीबीसीका अनुसार ड्नीप्रोको पश्चिममा युक्रेनी भूभागबाट १७ हजार र पूर्वमा रुसी नियन्त्रण क्षेत्रबाट २५ हजार गरी झण्डै ४२ हजार मानिसको उद्धार गर्नुपर्ने अवस्था छ । राष्ट्रपति भोलोदिमिर जेलकेन्स्कीले नोभा कखोभ्का बाँधमा रुसले क्षति पुर्याएकाे आरोप लगाउनुभएको छ । रुसले आरोप अस्वीकार गरेको छ
काठमाडौं: प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी भोलि सोमबारका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले सोमबार ११ बजेका लागि बैठक राख्नुभएको उहाँको सचिवालयले जनाएका छन्। प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुको अवरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक सञ्चालनबारेमा सहमति बन्न नसकेपछि सभामुख घिमिरेले बैठक भोलिका लागि सार्नुभएको उहाँको प्रेस विज्ञ शेखर अधिकारीले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा नेपालको भूमि साटफेर गरी बंगलादेश मोडलमा सहमति गर्न सकिने विकल्पमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नुभएपछि प्रतिपक्षी दलले संसद बैठकमा विरोध गर्नुभएको छ । सोही अनुसार हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएपछि प्रतिपक्षी दलले विरोध गरेका छन् । प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको बैठक सोमबार विहान ११ बजे बस्नेछ ।
काठमाण्डौ: सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएका छन्। महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् । प्रेस युनियन नेपालले शुक्रवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू आफूलाई सह्य नहुने बताए। उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको सङ्घर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वानसमेत गरेका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरू आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटक–पटक दोहोर्याए । कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उनको भनाइ थियो । उहाँले भन्नुभयो, ‘केही दिन बीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्त्वको र जनचासोको निर्णयहरू गर्यो । पहिलो निर्णय आममाफीको विषयमा । दोस्रो निर्णय नागरिकता विधेयकको विषयमा । तेस्रो निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता, सहभागिताका लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा । त्यस्तै अर्को निर्णय सांसद विकास कोषको सन्दर्भमा । यस्ता कैयन् विषयहरू छन् । यी सबै विषयहरूका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णयहरू हो । अब म सहन्नँ, मैले आफूलाई बदल्ने हो । ती निर्णयहरूको भारी प्रकारान्तरले पार्टीका तमाम सदस्यहरूले बोक्नुपर्ने स्थिति बनेको छ । यो गर्ने क्रमलाई रोक्ने हो । एकपछि अर्को गलत निर्णय गर्दै गयो भने यो भारीले पार्टी यसरी थिचिन्छ, चाहेर पनि यसलाई कसैले उठाउन सक्दैन । महामन्त्री थापाले पार्टीलाई ‘दाइ’ हरूको पार्टीको रूपमा नभई तल्लो तहका कार्यकर्ताको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणासमेत गरेका छन् ।
काठमाडौं: सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । हिजो बिहीवार सर्वोच्चमा पेस भएको रिट आज शुक्रवार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आइतवारका लागि तोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराएका हुन।
काठमाडौं: काठमाडौंमा चिँनिया नागरिकको पैसा चोरी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पटना घर भएका २८ वर्षीय सरिव खान रहेका छन् । काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख रुपैयाँ चोरी गरेको प्रहरीकहाँ उजुरी परेको थियो । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थाबाटै खानलाई पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: पोखरामा करिब दुई दशकदेखि पत्रकारिता गरिरहेका उत्तम पौडेल कलम बिसाएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेका छन् । पौडेलले पार्टी सभापति लामिछानेको हातबाट सदस्यता ग्रहण गरेका हुन् । उनले यसअघि सम्हाल्दै आएको ग्यालेक्सी फोर के टिभीको गण्डकी प्रदेशको प्रमुखको जिम्मेवारीबाट पछि हटेको गत सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । पौडेलले अब पत्रकारितालाई बिट मार्दै सक्रिय राजनीतिमा होमिएकोसमेत बताए । सदस्यता लिएपछि सुनगाभा न्यूजसँग पौडेलले भने ‘औपचारिकरुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको छु । समाज रुपान्तरणको लागि पहिला आफु रुपान्तरित हुन जरुरी छ, यस अभियानमा जोडिन सम्पूर्णमा अनुरोध गर्दछु ।’ रास्वपाबाट राजनीति सुरु थालेका पौडेले पोखरा एफ एम, रेडियो अन्नपूर्ण, सुनौलो एफ एम, न्युज २४ टिभी र ग्यालेक्सी फोरकेमा कार्यरत थिए ।

