अमेरिकामा बैंक डुबेको र सार्क मुलुक श्रीलंकाको अर्थतन्त्र टाट पल्टेको खबरले नेपाली बैंकमा पनि असर देखिएको छ । विशेषतः पोखराका निक्षेपकर्ताहरुले बैंकमा रहेको बचत झिकेर घरमै राखेको आशंका गरिएको छ । ‘बैंक डुबे बचत डुब्ने’ गलत बुझाइकाकारण बचतकर्ताले बैंकबाट पैसा झिकेर घरमै राखेको जानकार बताउँछन् । त्यस्तै पछिल्लो समय राम्रै साख भएका सहकारी संस्थाहरुले पनि निक्षेपकर्ताको रकम भुक्तानी गर्न नसक्दाको प्रभाव बैंकहरुबाट झिकिएको छ । निक्षेपकर्ताले सहकारी र वाणिज्य बैंकको फरक छुट्याउन नसक्दा वा वित्तीय साक्षरताको कमीले जोखिम मोलेर घरमै पैसा राखेको आंकलन गरिएको हो । पोखराकै प्रतिष्ठित मानिएको एक फाइनान्सका कर्मचारीका अनुसार घरमै पैसा राख्नेहरु प्रायः लाहुरे पृष्ठभूमिका छन् । ‘मुख्यतः लाहुरे परिवार, अझ गुरुङ् समुदायले घरमै पैसा राखेको हाम्रो बुझाई छ’ उनले भने । पछिल्लो समय व्यापार व्यवसाय र घरजग्गामा उल्लेख्य लगानी नभएको पाइएकाले पनि उनको भनाइलाई पुष्टि गर्छ । त्यस्तै, कतिपयले बैंकबाट झिकेको रकम ज्वाइन्ट भेन्चर कम्पनी (संयुक्त लगानीको व्यवसाय)मा लगानी गरेका छन् । यस्ता व्यवसायको पछिल्लो परिणाम भने ऋणात्मक छ । पोखरामा बाह्य मुलुकबाट आउने रकम र त्यसले पार्ने प्रभावबारे नेपाल राष्ट्र बैंक, पोखराले वित्तीय साक्षरतामा जोड दिन आवश्यक रहेको जनाएको छ । पोखरा कार्यालयका अनुसार बैंकको बीमा हुने र निक्षेपकर्ताको रकम कुनै हालतमा नडुब्ने निश्चित हुन्छ । राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले देशभरका बैंक तथा बित्तीय संस्थाको हरपल निगरानी भइरहेको बताउँदै केन्द्रीय कार्यालयले यसबारे विभिन्न माध्यमार्फत जानकारी गराइरहेको बताइन् । ‘बैंकहरु सुरक्षित छन्, निक्षेपकर्ताहरुले बैंकिङ् प्रणालीमार्फत कारोबार गर्दा हुने असंख्य फाइदा छन्’ निर्देशक जोशी भन्छिन् ‘बचत घरमा हैन, बैंकमा गरौं ।’ राष्ट्र बैंकका अनुसार बैंकमा बचत गर्दा रकम सुरक्षित हुने, ब्याज पाइने र आवश्यक पर्दा झिक्न सकिनेछ । त्यस्तै, ऋण लिन वा देश विदेशमा पैसा पठाउन होस् वा झिक्न, बैंकिङ प्रणाली नै उचित हुने बैंकले जनाएको छ । ‘आफ्नो पैसाको उपयोग र सदुपयोगमात्र हैन, निक्षेपकर्ताको बचतले देशको अर्थतन्त्रमा सकारात्मक सुधारसमेत सम्भव हुन्छ’ जोशीले भनिन् । उनका अनुसार राष्ट्र बैंकले यथाशक्य छिटो ‘पेपरलेस’ प्रणालीमा रुपान्तरित हुने वाणिज्यलगायत बैंकलाई निर्देशन दिइसकेको र यसबाट बचतकर्तालाई अझ बढी लाभ हुनेछ ।
काठमाडौं: काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सो शंकास्पद वस्तु बम नभएको पाइएको छ । नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जानकारी दिए । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइएको छ । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिंदा स्थानीयले प्रहरीको समर्थनमा हुटिङ गरेका थिए ।
पोखराः पोखरामा अनुचित लेनदेन (मिटर ब्याज)मार्फत कारोबार बढेपछि सहजीकरणमा जुटेको जिल्ला प्रशासन कार्यालय कास्कीले आंशिक सफलता हात पारेको छ । मिटरब्याजको समस्या सल्टाउन गृह मन्त्रालयबाटै परिपत्र भएयता कास्कीमा हालसम्म १ सय ३ वटा निवेदन परेको छ । जसमध्ये प्रशासनको सहजीकरण सहायता कक्षले ३३ वटामात्रै मुद्धा फछर्याैट गर्न सफल भएको छ । ३३ मुद्धामा पनि पीडक र निवेदक आफै मिल्ने सहमति गरेका छन् । तर उनीहरुबीच कसरी लेनदेन टुंगियो भन्ने विषयमा सहायता कक्ष बेखबर छ । अन्य मुद्धा मिल्ने, मिलाउने प्रक्रियामा छन् भने केही मुद्धा जिल्ला बाहिर पठाइएको छ । यता सहायता कक्ष भने फछर्याैट भएको संख्यालाई ‘अत्यधिक सफल’ भनिरहेको छ । कक्षका नायब सुब्बा रमेशप्रकाश बरालका अनुसार देशैभर मिटरब्याजमा परेको निवेदन र फछर्याैटको तुलना गर्दा कास्की प्रशासन सबैभन्दा बढी सफल भएको दाबी गर्छन् । ‘मिटरब्याजसम्बन्धी १ हजार निवेदन परेको जिल्लामा मुस्किलले ३० वटामात्र किनारा लागेको खबर छ’ नासु बराल भन्छन् ‘कास्कीमा हामीले १ सय हाराहारीका निवेदनमा ३३ वटा टुंग्याइदियौ ।’ बाँकी निवेदनउपर छलफल भइरहेको बताउँदै उनले अब उप्रान्त पीडित र पीडकसँगै थप एकजनामात्र राखेर सम्वाद गर्ने जनाए । त्यस्तै केही निवेदनउपर कुनैपनि हालतमा मिलाउन नसकेपछि उनीहरुलाई अदालत पठाइएको बराल बताउँछन् । पोखरामा भएका यस्ता अनुचित लेनदेनका घटनामा घरजग्गासमेत जोडिएको छ भने केहीको स्थायी ठेगाना कास्कीबाहिर देखिएकाले समस्या समाधान गर्न कठिनाई देखिएको कक्षको अनुभव छ । ‘घरजग्गा राखेर लेनदेन भएको छ तर पीडितले बसाई सराई नगर्दा उनीहरुको निवेदनउपर छलफल गर्न सकिएन’ बरालले भने ‘त्यस्ता उजुरी, निवेदन आयोगकै प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाइएको छ ।’ यस्तैमध्येको एक पीडित हुन् सरस्वती पुर्जा । कास्कीको लेखनाथमा बसोबास गर्दै आएकी पुर्जाको ठेगाना हो म्याग्दी । उनले स्थानीय शुभदेवि देवकोटासँग लेनदेन गरेकी छिन् । पुर्जाले लिएको रिनको ब्याज चर्काे भएको भन्दै कास्की प्रशासनमा निवेदन दिइन् । निवेदनपछि प्रशासनले ३ पटकसम्म छलफल चलायो तर पार लगाउन सकेन । हाल उक्त ्निवेदन म्याग्दी पुगेको छ । अब म्याग्दीमै प्रक्रिया अघि बढ्ने पुर्जा बताउँछिन् । त्यस्तै १ दर्जन बढी लेनदेनका घटनामा स्थायी ठेगाना स्याङ्जा भएका पीडित छन् । कतिपय पीडित स्थायीरुपमै पोखरा बसोबास गर्दै आएपनि उनीहरुले बसाइसराइ नगरेका कारण मुद्धा यहाँ चलिरहेपनि अन्त्यमा सम्बन्धित जिल्ला नै पठाइएको छ । यस्तै मध्ये एक लेनेदेनको घटनामा पीडकले उल्टै अदालतमा मुद्धा दायर गरी थप दुख दिएको पाइएको छ । नाम नबताउने शर्तमा पीडित भन्छिन् ‘१ करोड ७० लाख रिन लिएकी हुँ, अहिले २ करोड ९२ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब देखाउँछ’ पीडित भन्छिन् ‘अहिले उल्टै मलाई मुद्धा हालिदिएको छ, म पीडित नै पीडक बनाइएको छु ।’ पहिले चिनजानको आधारमा सामान्य कागज गरेर लेनदेन गर्ने र पछि हिसाब बिग्रदै गएपछि मुद्धामामिला गर्दा नागकिरताको आधारमा कारवाही प्रक्रिया अघि बढ्ने भएपछि सहायताकक्षले सोचेजस्तो काम गर्न गाह्रो भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी गुरुदत्त ढकाल बताउँछन् ।
पोखरा: हिन्दू धर्मशास्त्र अनुसार साउनलाई धर्मकर्मको महिना मानिन्छ । जुन शिवजीको महिना भनेर मानिने साउन महिना आजदेखि सुरु भएको छ । साउनको सूरु दिनमै सोमबार परेकाले आजको दिनलाई विशेष पुजाआरधना गरी मनाइदैछ । र यो महिनाभर शिवको पूजा गर्ने र ब्रत बस्ने गरिन्छ । यो समयमा शिवजीको पुजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहदै आएको छ । त्यसैले यो महिनाको सोमबार ब्रत बसेको खण्डमा परिवारमा सुख शान्ति छाउने विश्वास पनि रहिआएको छ । पार्वतीले साउन महिनाभरी निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती रहेको हुनाले महिलाहरूले यस महिना र सोमबारलाई बढी महत्व दिन्छन् । साउन सुरु भएसँगै पोखरा महानगरपालिका १ बगरस्थित गाईघाटको माहोललाई सुनगाभा न्यूजको लेन्सबाट कैद गरेका छौं । तस्बिरहरु:
काठमाडौं: सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबार (साउन १) देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ। विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ। विभागले विज्ञप्ति जारी गर्दै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलको शुल्क र बुके उपलब्ध गराउन भने पनि त्यो प्राप्त नभएको उल्लेख गरेको छ। सरकारले २०७९ चैत १५ गते आलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरेको थियो। विदेशी टेलिभिजन च्यानलसमेत हेरिरहेका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भारलाई न्यायोचित बनाउन विद्यमान शुल्क प्रणालीलाई सुधार गरी सरकारले आलाकार्ट शुल्क प्रणाली कार्यान्वयन गर्ने योजना अघि सारेको थियो। यो प्रणालीमा उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्न सक्ने सुविधा हुन्छ। अहिले उपभोक्ताले आफूले नहेर्ने च्यानलको पनि शुल्क तिर्दै आएका छन्। आलाकार्ट प्रणालीका लागि सरकारले आधारभूत प्याकेजको प्रतिमहिना २५० रुपियाँ निर्धारण गरेको थियो। त्यस्तै सशुल्क च्यानलसमेत गरी अधिकतम प्रतिमहिना पाँच सय रुपियाँ तिर्नुपर्ने गरी शुल्क निर्धारण गरिएको थियो। इन्टरनेट र च्यानल सुविधा उपलब्ध गराइरहेका सेवा प्रदायकका हकमा अहिले लिइरहेको शुल्कमा थप शुल्क बढाउन नपाउने व्यवस्था पनि यसमा गरिएको छ। आलाकार्ट प्रणाली अनुसार सशुल्क विदेशी च्यानलको शुल्क र बुके (टेलिभिजन च्यानलको बन्डल) उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानललाई डाउनलिङ्क अनुमति प्राप्त वितरकमार्फत विभागले पहिलो पटक वैशाख १७ गते, दोस्रो पटक वैशाख ३१ गते र तेस्रो पटक असार १७ गते पत्राचार गरेको थियो। बारम्बार पत्राचार गरेर पनि कुनै जानकारी प्राप्त नभएपछि उपभोक्ताबाट उठाउन सकिने बुके र प्रतिच्यानलको मूल्य निर्धारण हुन सकेको छैन। यो प्रणाली कार्यान्वयनमा आउँदा शुल्क प्रणाली पारदर्शी भई उपभोक्ता तथा यस प्रणालीमा संलग्न हुने सबैलाई फाइदा हुने विश्वास सरकारको छ। त्यसमा लागि विभागले यो प्रणाली कार्यान्वयनमा सहयोग पु(याउन सबैलाई आग्रह पनि गरेको छ।
पोखरा: चर्चित र्यापर आशिष रानामगर (लाउरे) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ११ बुँदे खुलापत्र लेखेका छन् । आज (बुधबार) आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गर्दै लाउरेले बालेन र धरानका मेयर हर्क साम्पाङजस्तै काम गर्न सुझाएका हुन् । लाउरेले मेयर आचार्यलाई लेखेको पत्रमा आफूहरुले पर्यटकीय पोखरालाई स्वस्थ, पूर्ण, प्राकृतिक र स्वर्गजस्तै देख्न चाहेको बताएका छन् । साथै मेयरलाई सघाउन आफूसमेत तयार रहेको लाउरेले स्पष्ट पारेका छन् । लाउरे लेख्छन्: १) पोखरा नेपालको सुन्दर, सफा र पर्यटकीय सहर भनेर चिनिन्छ तर पोखराको प्रवेशद्वार (रङ्गशाला, चाइनिज पुल) नजिकैको बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिन्छ । जसरी उनीहरुले सबै फोहोर बेवास्ता गरेर सडकमा फाल्छन् । २) भित्री टोल र गल्लीको सडक अवस्थालाई केही समयको लागि अलग राखौं । मुख्य बजारका सडकको अवस्था दरार र खाल्डाले भरिएको छ । ती भत्किएका सडकको मर्मत सम्भार गर्दा प्राधिकरणले राति देखिने ‘सावधानी’ चिन्ह कहिल्यै राखेन, जसले गर्दा धेरै दुर्घटना, गम्भीर चोटपटक र मृत्युसमेत हुने गरेको छ । ३) पोखराका लगभग हरेक सडक बत्ती नेपाली नागरिकको भविष्य जस्तै धमिलो छन् । कुनै पनि सडक बत्तीहरू रातको समयमा सुरक्षित र निर्धक्क भएर सवारी साधन चलाउन पर्याप्त उज्यालो छैन । ४) लगभग हरेक राउन्ड (चौक) को डिजाइन र नियमहरू भ्रमित छन् । ट्राफिक प्रहरीले कहिलेकाहीँ चोकको बीचमा घेरा हाल्ने सङ्केत दिन्छ तर कहिले केन्द्रको परिक्रमा नगरी सवारीसाधन चलाउन दिन्छ, जसले गर्दा फेरि धेरै दुर्घटना हुने गरेको छ । ५) कुनै बस स्ट्यान्ड छैन, जहाँ सार्वजनिक सवारी साधनले यात्रु बोकाएर गन्तव्यमा र्पुयाउन केही बेर रोकिनुपर्ने हुन्छ (अर्थात अर्काे बस स्ट्यान्ड) सार्वजनिक बसहरूले यात्रु ओराल्ने ठाउँमा रोकिएर समस्या, ट्राफिक जाम र दुर्घटनासमेत गराउँछन् । हामी, सर्वसाधारण पनि बस स्ट्यान्डसम्म हिँडेर बसको प्रतीक्षा गर्न अल्छी छौं । ६) पोखराका मेयरलाई व्यक्तिगत रूपमा पोखराका प्रत्येक टोलमा खेल मैदान वा जनस्वास्थ्य तथा फिटनेस सेन्टर खोल्न अनुरोध गर्न चाहन्छु, जसले अन्ततः युवाहरूलाई खेलकुद र फिटनेसमा संलग्न गराउने जसले गर्दा बेचैन र उत्साही युवाहरूलाई उनीहरूको ऊर्जा र यो सानो पहलहरूले भविष्यका खेलकुद च्याम्पियनहरूलाई जन्म दिन सक्छ । र सबैभन्दा महत्वपूर्ण कुरा, यसले समाजमा लागुऔषधको समस्या, युवाहरूमाझ हुने गिरोह हिंसा उन्मूलन गर्नेछ । ७) नेपाली कला, संगीत र मनोरन्जनको क्षेत्रमा पोखराले महत्वपूर्ण योगदान र उदाहरण दिँदै आएको छ, जसलाई हाम्रो सरकारी क्षेत्रबाट कहिल्यै मान्यता नदिइएका पोखरेलका दिग्गज कलाकारहरू छन् । प्रदेश सरकारको तर्फबाट कला, संगीत र मनोरञ्जनका लागि एउटै प्रेक्षागृह वा कन्सर्ट हल खोलेर सानो सहयोगले ठूलो फरक पार्न सक्छ । हामी कलाकारको हैसियतले सरकारलाई कर तिरिरहेका छौं । ८) हाम्रो प्रादेशिक सरकारले युवाहरूले गरेको रचनात्मकतामा ध्यान दिनुपर्छ । उदाहरणका लागि, विगत ३–४ वर्षअघि पोखरामा कतै युवाहरुको समूहले फोहोर प्लाष्टिक संकलन गरेको थियो । ती फोहोर प्लास्टिक पग्लिएपछि, ढुङ्गा र अन्य आवश्यक सामग्रीहरू थप्दैछ । उनीहरुले प्रदर्शनका लागि मात्रै १०० मिटर लामो भित्री सडक खाल्डो लगाएका थिए । अचम्मको कुरा, त्यो सडक प्रयोगको लागि उत्तम हो । भित्री गल्लीमा फोहोर प्लाष्टिकबाट बनेको सडक उत्तम र टिकाउ हुने विज्ञहरुले बताएका छन् । ९) पोखराको चट्टान, लामो र व्यस्त आकाश पुल सडक सेल्फी भिडियो, डेटिङ र अन्य अनावश्यक चीजहरू बनाउन मात्र प्रयोग गरिन्छ । मनोवैज्ञानिक रूपमा, मानिसहरूले चट्टान र व्यस्त आकाश पुलमा एक कदम चाल्न चाहँदैनन् । भूमिगत ट्युब च्यानल बढी लागत प्रभावकारी र प्रयोगयोग्य हुने मलाई विश्वास छ । किनकी, भूमिगत ट्यूब मार्फत जाने पहिलो प्रक्रिया तल र सजिलो हुनेछ । १०) नेपालमा सङ्गीत, अभिनय, नृत्य, राजनीति, सामाजिक कार्य आदि क्षेत्रमा धेरै रत्न, तारा र महापुरुषहरू छन् जो मरेका र जीवित छन् । आफ्ना प्रियजनलाई श्रद्धाञ्जली दिन मूर्ति बनाउने विषयमा जहिले पनि ठूलो विवाद र बहस हुन्छ । तालको छेउको फुटपाथ क्षेत्र र तालको छेउमा हिड्ने ट्रेल संयुक्त राज्य अमेरिकाको हलिवुड वाक अफ फेम स्ट्रीटू जस्तै प्रयोग गर्न सकिन्छ, जहाँ हामी उनीहरूलाई श्रद्धाञ्जली दिन भुइँमा प्रत्येक मार्बलमा कलाकारको नाम शिल्प गर्न सक्छौं । ११) सडकमा नेपाल प्रहरीको अकस्मात चेकजाँचलाई सुरक्षा र बत्तीले राम्रोसँग लैजानुपर्छ । प्रायजसो, तिनीहरू अँध्यारो कुनामा जाँच गर्छन् जसले दुर्घटना निम्त्याउन सक्छ । तसर्थ, अचानक दुर्घटनाबाट बच्न कम्तिमा ५० मिटर टाढा उचित प्रकाश र सिग्नल राख्नुपर्छ । यी पोखरामा हामीले सामना गरिरहेका केही प्रमुख समस्याहरू हुन् ।
कास्कीः जिल्ला प्रशासन कार्यालय कास्कीको तथ्यांकले जिल्लाभर १ हजार १ सय ३७ हतियार रहेको देखाउँछ । जसमध्ये टुटु, १२ बोरको बन्दुक, भरुवा र हावादारी रहेका छन् । प्रशासन कार्यालयले उक्त तथ्यांक वर्षेनी नवीकरण हुन आउने बन्दुकको रेकर्डअनुसार उल्लेख गरेको हो । तर जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयलाई आधार मान्ने हो भने जिल्लामा उल्लेखित संख्याभन्दा बढी बन्दुक रहेका छन् । विशेषतः प्रशासन कार्यालयले निर्वाचनताका जिल्लावासीलाई हतियार बुझाउन गरेको आग्रहको आधार र वर्षेनी नवीकरण हुने संख्यालाई लिएर उक्त हिसाब देखाएको हो । यता, सरकारी वकिल र प्रहरी कार्यालयमा आउने हातहतियारसम्बन्धी मुद्दामा प्रयोग भएका अधिकांश बन्दुक भने दर्ता नगरी राखिँदै आएको पाइएको छ । जिल्लामा रहेका हतियार बाजे, बुवा हुँदै छोरा पुस्तामा आएको देखिन्छ । जसलाई वर्षेनी नामसारी र नवीकरण गरिँदै आइएको प्रशासन कार्यालयले जनाएको छ । त्यस्ता हतियारहरु हेर्दा सामान्य घातक नदेखिएपनि त्यसबाट अन्नपूर्ण संरक्षण क्षेत्रमा चोरी शिकारी हुँदै आएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)का सूचना अधिकारी डा. रविन कँडरिया बताउँछन् । अन्नपूर्ण क्षेत्रमा बन्दुकमार्फत रतुवा र घोरलको चोरी शिकारी हुने गरेको उनले बताए । ‘एक्यापले कारवाही गरेको १९ मुद्दा छन्, जहाँ नगद जरिवाना बढी छ’ कँडरिया भन्छन् ‘चोरी शिकारीमा एक्यापले नै मुद्दा चलाउँछ भने अन्यमा खरखजानाअन्तरगत प्रहरीकहाँ पठाउँछौं ।’ कंँडरियाको अनुभवमा अवैधानिकरुपमा राखिएका बन्दुकहरु चोरी शिकारीमा प्रयोग भएका छन् । ‘हामीलाई घरमा राखिएका बन्दुकबाट खतरा छ, परियोजना क्षेत्रमा बन्दुक पड्किएको आवाज सुनिनु नौलो होइन’ उनले भने ‘यद्यपि, पहिलेभन्दा अहिले चोरी शिकारी धेरै कम भएको रेकर्ड छ ।’ माछापुच्छ्रे गाउँपालिकाको खैमराङमा केही अघि ढुकुर हान्दा एक छिमेकी महिलाको छातिमा लागेको थियो । खैमराङका आइत सिं तामाङले चलाएको उक्त बन्दुकको लाइसेन्स थिएन । पछि एकापसमा मिलापत्र गरेपछि अदालतबाट कम सजायमा उनी छुटेका थिए । उक्त भरुवा बन्दुक राख्न इजाजत नलिएकाले जफत गरिएको छ । त्यस्तै, चोरी शिकारी र खरखजाना मुद्धामा प्रयोग भएका बन्दुक पनि बिना इजाजत प्रयोग भएको सरकारी वकिल कार्यालयका एक न्यायधिवक्ता बताउँछन् । उनका अनुसार दर्ता भएका बन्दुकबाट भन्दा बिना दर्ता राखिएका बन्दुकबाट अपराध हुने सम्भावना बढी छ । जिल्ला प्रशासनका अनुसार पछिल्लो समय बन्दुक दर्ता भएको छैन । पहिलेदेखि घरमा भएका बन्दुक नवीकरण हुँदै आएको छ । यस्ता हतियारबाट हुने अपराधमा मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा (१) अनुसार फैसला गरी सजाय सुनाउने प्रावधान रहेको छ । दफामा ‘हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजातपत्र प्राप्त गरेको भएपनि शर्त बन्देज विपरित हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन’ भनिएको छ । दफा विपरित भए ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ । तर ज्यान मुद्दामा भने उक्त दफा लागु हुनेछैन । त्यस्तै, मादी गाउँपालिका निवासी विशाल गुरुङले अर्काको नाममा रहेको हतियारबाट बन्यजन्तु शिकार गरेपछि उनलाई ०७८ साउनमा कास्की जिल्ला अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त फैसला अनुरुप गुरुङले दिनको ३ सय रुपैयाँकादरले जरिवना बुझाई जेलमुक्त भएका थिए । यस्तै प्रकृतिको मुद्दामा अन्नपूर्ण गाउँपालिकाका ओमप्रसाद गर्बुजा पनि समातिएका छन् । उनले समातिएपछि उक्त बन्दुक जंगलमा भेटेपछि आफैले प्रयोग गरेको बताएपछि मुद्दा प्रक्रियामा रहेको छ । उक्त बन्दुक प्रहरीले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौंमा परीक्षणार्थ पठाएको छ । जसको रिपोर्ट आउन बाँकी छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ गुरुदत्त ढकालले पहिले भएका बाहेक नयाँ हतियार दर्ता गराउन आउनेको संख्या शून्य भएको बताएका छन् । खरिद स्वीकृति लिने र नामसारी गर्ने व्यवस्था प्रशासनले गर्ने बताउँदै प्रजिअ ढकालले कास्कीमा १२ र २२ बोरबाहेकका ठूला हतियार नभएको जनाए । त्यस्ता हतियारबाट कुनै अपराध भए हतियार जफतदेखि कानूनी कार्वाही हुने र भइरहेको ढकालले बताएका छन् । प्राचिन समयदेखि नेपालीहरुको घरमा हतियार राख्ने चलन चलेपनि हाल ‘अनावश्यक’ भएको सामाजिक अनुसन्धाता रामचन्द्र बराल बताउँछन् । ‘हाम्रो समाज लाहुेर संस्कृतिमा भिजेको छ, शान मान र प्रतिष्ठास्वरुप हतियार राख्न थालिएको हो’ पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत बराल भन्छन् ‘विशेष पर्वमा कोतपूजा गर्ने, समाजमा शक्ति देखाउने काममा हतियार राख्ने गरिएको पाइन्छ ।’ पहिले राज्य कमजोर भएकाले आफ्नै सुरक्षाकाखातिर हतियार राखिने भएपनि अब आधा घण्टाको समयमा राज्यको उपस्थिति सम्भव भएकाले आदर्श समाजमा हतियार अनुचित भएको उनको टिप्पणी छ । ‘सामाजिक मनोविज्ञानमा हतियार हुनुहुन्न’ बराल भन्छन् ‘बाँदर तर्साउन राखिने हतियारले मान्छे तर्साइयो भने समाज द्वन्द्वतर्फ अग्रसर हुनसक्छ ।’ ु
पोखराः गत माघदेखि पोखरा महानगरले न्यूरोडमा सुरु गरेको पे–पार्किङ असफल भएपछि पार्किङ सञ्चालकलाई महानगरले क्षतिपुर्ति थमाएको छ । महानगरले अघि सारेको योजना असफल भएपछि क्षतिपुर्ति बुझाएको यो पहिलो पटक हो । महानगरले न्यूरोडस्थित पुरानो पूर्णिमा हलको खाली जग्गामा पे–पार्किङको व्यवस्था गरी धुमधामले शुभारम्भ गरेको थियो । उक्त पार्कि«ङ सञ्चालन गर्ने जिम्मा स्थानीय एक युवाले लिएका थिए । त्यसबखत उनले महानगरको योजनालाई सघाउन तयार रहेको बताएका थिए । सोही अनुरुप उनले फिल्महलको खाली जमिनमा लगानी गरी पार्किङयोग्य पनि बनाए । तर पार्किङ नचलेपछि लगानी डुबेको भन्दै उनले असारको पहिलो साता क्षतिपुर्ति दाबी गर्दै महानगरमा निवेदन दिएका थिए । करिब ४ लाख रुपैयाँ लगानी गरेको बताएका उनले हाल क्षतिपुर्तिवापत महानगरबाट २ लाख ७० हजार रुपैयाँ पाएका छन् । व्यक्तिलाई क्षतिपुर्ति तिरेको विषयमा जानकारी लिन खोज्दा महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले यस विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै बुझेर खबर गर्ने बताएका छन् ।

