पोखरा: महिलाहरूको माहान चाँड हरितालिका तिजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ यही भाद्र ३० देखि असोज १ गते सम्म हुने भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेश स्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति मेलाको मुख्य आकर्षणको रुपमा रहेका छन् । २०५४ साल देखि नै “मौलिक सस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ कास्की जिल्ला भित्रकै ऐतिहासिक एवम् बृहत साथै गण्डकी प्रदेशकै प्रतिष्ठित महोत्सवको रुपमा पहिचान बनाउन सफल ‘लामाचौर तीज महोत्सव–२०८०’ को २५ औं संस्करणको तयारी तिब्र रुपमा भइरहेको छ। राष्ट्रको खेलकुद विकास र विस्तारमा सहयोग गरी भाइचाराको सम्बन्धलाई स्वर्णिम बनाउने, नव प्रतिभावान् खेलाडीलाई प्रतिभा प्रस्फुटन गराउनु तथा नेपालमा उत्कृष्ट खेलाडीको खेल प्रदर्शन गराउनु, अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहित गर्ने, मौलिक कला र लोक संस्कृतिको जगेर्ना गर्दै लामाचौर क्षेत्रले समाजमा गरेको उल्लेखनीय कार्यको परिचय स्थापित गर्ने, महिलाहरूको गायन एवम् प्रस्तुतिकलाको विकासमा सहयोग गर्ने साथै महिला सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नु, विभिन्न उद्योग, ब्यापार, व्यवसायीद्धारा उत्पादित वस्तु प्रर्वदनमा प्रोत्साहित गर्ने, आम दर्शकहरू माँझ सांस्कृतिक, खेलकुद लगायत विभिन्न रमाईला कार्यक्रमहरूद्धारा ज्ञान, मनोरञ्जन प्रदान गर्ने, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा विकास गर्ने महोत्सवको उद्देश्य रहेको छ । समाजका अध्यक्ष स्वागत सिहं भण्डारीले महोत्सव आयोजना गर्नको लागी आवश्यक सम्पुर्ण उपसमिति गठन गरी तिब्र रुपमा तयारी चलिरहेको र सबै जना एकजुट भै यस ऐतिहासिक एवं प्रतिष्ठित महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
काठमाडौं: विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे हातहतियार नष्ट गरिएको छ । नेपाल प्रहरीका अनुसार भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको हाे । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका-११ का वडाअध्यक्ष लगायतको रोहबरमा काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ । उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
बागलुङ: बागलुङ बडिगाड गाउँपालिकामा वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत फेला परेका छन् । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी शारधा प्रसाद चौधरीले बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जानकारी दिए । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेकाे छ । प्रहरीका अनुसार अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।
काठमाडौं: सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी कुवेर कडायतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन । बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो । लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।
नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो। ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्। सूची:
काठमाडौं: व्यवसायी दीपम मल्होत्राले त्रिभुवन विमानस्थलमा समातिएको सुनमा आफ्नो कुनै सारोकार नभएको भन्दै नियोजित रुपमा मेरो र व्यवसायिक प्रतिष्ठामा आंच पुर्याउने दुरासय भएको बताएका छन्। त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरी उनले आफ्नो भनाइ राखेका हुन्। उनले विमानस्थल भन्सार जाँचपास भएर बाहिरिएको सुनमा आफ्नो कुनै संलन्नता नरहेको बताएका छन्। मिडियामा फोटोसहित उक्त सुनमा आफ्नो हात रहेको भन्दै समाचार आएकोमा त्यसमा कुनै सत्यता नभएको बताए। कानुनी प्रक्रियामा जाने जानकारी उनले दिए। ‘म र मेरो परिवार सहितको व्यापार व्यवसाय नेपालको कानुन बमोजिम काम भैरहेको छ,’ उनले पत्रकार सम्मेलन गर्दै भने,‘आफ्नो सम्पूर्ण व्यापार व्यवसायको आम्दानीको विवरण सरकारी निकायमा बुझाएको छु।’ उनले दोस्रो व्यक्तिलाई प्रयोग गरी व्यापार व्यवसाय नगरेको बताए। सञ्चार माध्यममा उल्लेख गरिएका कुनैपनि व्यक्तिसँग सम्बन्ध र चिनजान समेत नभएको मल्होत्राले दाबी गरेका छन्। व्यवसायिक जीवनलाई क्षति पुग्नेगरी आफूविरुद्ध समाचार आएकोमा उनले आपत्ति जनाए। उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरिएका छन् । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको मल्होत्राले बताए । उनले भने, ‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’ समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको उनले बताए । ‘अनुमान र आशंकाका आधारमा समाचार लेख्दा कसैले मसित जानकारी लिन चाहेन,’ उनले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र्रराज पाण्डेले पार्टीको केन्द्रीय बैठकमा महामन्त्री एवं युवा नेता गगन थापामाथि कटाक्ष गरेका छन् । बैठकको आज तेस्रो दिन थापालाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले भनेका छन् ‘सके सभापति फेरेर देखाउनुहोस, नसके अनावश्यक भ्रम छर्ने काम बन्द गर्नुहोस् ।’ पाण्डेले कांग्रेसका सबै एउटै डुंगामा सवार रहेको दर्शाउँदै पार्टी सभापति डुबे सबै डुब्ने उल्लेख गरे । पाण्डेले भनेका छन् ‘सभापति शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ ।’ पछिल्लो समय थापाले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने र आवश्यक परे आफैले नेतृत्व दिने भन्ने अभिव्यक्तिप्रति पाण्डेले उक्त भनाई राखेका हुन् । मन्तव्यक्रैक्रममा पाण्डेले पार्टीप्रति भ्रम छर्न र नकारात्मक टिकाटिप्पणी नगर्न पनि सुझाव दिए । ‘हामी सबै एउटै डुंगामा छौं, कठिन अवस्थामा छौं’ पाण्डेले भने ‘सामुहिकरुपमा डुंगा पार लगाउने जिम्मा हामीमै छ ।’ पार्टीको विधानमा सभापति फेर्ने प्रावधान भएको भन्दै उनले सके फेर्न अन्यथा अतिरञ्जित नगर्न महामन्त्री थापालाई चेतावनी दिए । ‘फेर्ने समय पनि आउँछ फेरौला तर त्यो समय पर्खनु पर्छ अतिरञ्जना गर्ने काम बन्द गरौं’ पाण्डेले भने । केन्द्रीय समितिको बैठक मंगलबारबाट केन्द्रीय कार्यालय, सानेपामा बसिरहेको छ ।
काठमाडौं: स्कुटी अनि मोटरसाइकलमा प्रयोग हुने ब्रेकको सामानभित्र लुकाएर भन्सार कटाएको ८० किलो बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्यो। सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कटाएको सामान ट्याक्सीमा लोड गर्दागर्दै प्रहरीसहित गएको विभागको टोलीले नियन्त्रणमा लियो।सुनको परिणाम मध्यरातसम्म यकिन भएको छैन। विभाग प्रमुख नवराज ढुङ्गानाका अनुसार सुन ८० किलो भन्दा बढी हुनसक्ने अनुमान छ। विभागले सुन तस्करीमा संलग्न रहेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ। एक जना ट्याक्सी चालक, अर्का एक भन्सार एजेन्ट हुन्छ। तेस्रो व्यक्तिको परिचय खुलाइएको छैन। भन्सार जाँचपास भएर सामानको रूपमा सुन बाहिरिएको विशेष सूचनाको आधारमा विभागले अप्रेशन गरेको बताइएको छ।सुन तस्करीमा विभागले गरेको यो अहिलेसम्मकै ठुलो अप्रेशन हो। यस अगाडि भन्सारको मिलेमतोमा भित्रिने सुन प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो। यो अप्रेसनमा भने प्रहरी समेत पछि परेको देखियो। बरामद भएको सुनको परिणाम अनि शैलीले सङ्गठित तस्करी समूह नै यसमा संलग्न देखिन्छन्। करिब एक अर्ब बराबरको सुन हो बरामद भएको। सहजै भन्सार पास भएकाले तस्करीमा सङ्गठित समूहको संलग्नता देखिन्छ।यसमा प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभाग खटिएकाले समेत गृह मन्त्रालय मातहतको सुरक्षा निकाय समेत शंकामा परेको छ। विमानस्थलमा प्रहरीको विभिन्न युनिट खटिन्छन्। मानव बेचबिखन ब्युरो, लागू औषध ब्युरो, विशेष ब्युरो अनि उपत्यका प्रहरी कार्यालयका सादा पोसाकका प्रहरी समेत खटिन्छन् विमानस्थलमा। त्यसमा डिआइजीको नेतृत्वमै प्रहरीहरू समेत खटिएका छन्। तर कसैले सङ्केत नपाउनु सामान्य घटना देखिन्न। यस्तो अप्रेसनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको परिचालन हुने गरे पनि बुधवारको घटनामा ब्युरो देखिएन। असार १२ मा विभागको प्रमुख भएर आएका ढुङ्गाना यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा थिए। उनकै नेतृत्वमा यति ठुलो परिमाणको तस्करीको सुन समातिएकाले यो अप्रेसनमा प्रधानमन्त्री कार्यालय समेत संलग्न देखिन्छ। अहिले राष्ट्रिय अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहतमै छ। निरन्तर बदनाम भन्सार हालसालै इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा विमानस्थल भन्सारका कर्मचारी समातिएर कारागार समेत पुगे। चिनिया व्यापारीले भेपमा लुकाएर ल्याएको नौ किलो सुन भन्सारका कर्मचारी मिलेर साटेर बेचेका थिए। यही घटनामा नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले पुर्पक्षका लागि थुनामा गए।भेपमा सुन राखेर ल्याउने चिनिया व्यापारी फरार भए। फरार भएका चिनिया व्यापारीसँग माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोराको निकट सम्बन्ध रहेको खुल्यो। तर प्रतिवादी भने बनाइएन। ब्रेक शु मार्फत २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक(पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो । यसले यसअघि पनि अहिलेकै शैलीमा सुन तस्करी त भएको थिएन रु भन्ने आशंका जन्माएको अधिकारीहरुको भनाइ छ । अनुसन्धान अधिकृतहरुका अनुसार अब त्यो कोणबाट पनि अनुसन्धान हुनेछ । ‘यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’ सुनदेखि जग्गा कारोबारीसम्म तस्करीमा यस अगाडिका सुन तस्करीमा सुन व्यापारको आवरणमा रहेकादेखि जग्गा कारोबारीसम्म तानिएका थिए। प्रहरीसम्म सुन तस्करी गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेर जागिर समेत गएको थियो। सुन तस्करीमा प्रतिष्ठित व्यापारीहरू समेत जोडिँदै आएका छन्।यस अगाडिको ३३ किलो सुन तस्करीको अनुसन्धानले त हाउजिङ व्यवसायीदेखि नेतासम्मको धन्दा खुलायो। धेरैको पोल खुल्ने भएपछि प्रतिवेदनै गोप्य राखियो। ३३ किलो सुन तस्करीमै विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान,प्रभात अग्रवाल लगायतमा पक्राउ परेका थिए। ३८ क्विन्टलसम्म सुन तस्करी भएको खुलेको यो समूहमा भुजुङ गुरुङ समेत देखिए। तस्करी भरियाका नाइके चूडामणि उप्रेती देखिएका थिए। पोद्दार सुन तस्करीमा पटक पटक जोडिने गरेका छन्। उनी २०६९ असोज १९ गते सवा १ करोड विदेशी मुद्रासहित समातिएका भारतीय नागरिक विनोदकुमार सोनीको केसमा समेत जोडिएका थिए। सोनी पक्राउ परेपछि उनले बोकेको रकम सुन तस्करीको भएको खुलेको थियो। यो घटनाको अनुसन्धानमा सिल्भर सिटीका पोद्दार, दरबारमार्गमा रहेको तत्कालीन इविसु ज्वेलर्सको मुरारीलाल जमालिया समेत जोडिएका थिए। राजकुमार दारुका, आरके ज्वेलर्सका राजेन्द्र शाक्य समेत तस्करीमा जोडिए। ३३ किलो सुन तस्करीको अनुसन्धान अगाडि बढ्दै जाँदा जब पोद्दार पक्राउ परे हतार हतार समितिको अनुसन्धान टुङ्गाइयो र प्रतिवेदन बुझाउन लगाइएको थियो।
काभ्रे: काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३:१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ । गाडीमा १५ जना यात्रु सवार थिए ।

