रसुवा : बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ। केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन्। चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात भइसकेको छ। निर्यात भएका सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका सामग्रीसमेत छन्। उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो। यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ। आयात कमी हुँदा सामानका शुल्क बापतको राजस्व कमी भएको र अबका दिनमा केरुङबाट काठमाडौँसम्म नेपाली कन्टेनर सिधा आवतजावतको वातावरणले आयात सामग्रीको परिमाण बढ्न गई राजस्व बढ्ने आशा गरीएको छ। चीनबाट स्याउ, ओखर, अदुवा, लसुन जस्ता वस्तु आयातमा कमी हुँदै गएको बताइएको छ। जुत्ता, चप्पल, तयारी पोसाक, बच्चाका खेलौना, मोटरका पार्टपुर्जा, विद्युतीय कार, जिप, स्काभेटर, टिपर, थर्मस, रोल कपडा, इलेक्ट्रिक सामान, जलविद्युत् उत्पादनका उपकरणलगायत विविध सामग्री आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए।
काठमाडौं: ट्विटर इंकको लोगो फेरिएको छ। अब प्रयोगकर्ताहरूले ट्विटर लगइन गर्दा निलो चरोको सट्टा कुकुर देख्नेछन्। बेलायती दैनिक पत्रिका द गार्डियनका अनुसार ट्विटरले सोमबार आफ्नो लोगो परिवर्तन गरेको हो। ट्विटरको लोगोमा निलो चरो थियो। तर अहिले यसको ठाउँमा एक भाइरल 'मिम'मा देखिने कुकुर छ। उक्त लोगो राखेर ट्विटरले एक लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वाइनको नक्कल गरेको द गार्डियनमा उल्लेख छ। ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले सोमबार एक मिम ट्विट गर्दै लोगो परिवर्तन गरेको बारे जानकारी दिएका हुन्। उक्त ट्विटमा डोजक्वाइनले जवाफमा 'धेरै मुद्रा। वाह। धेरै सिक्का। कति पैसा। त्यसैले क्रिप्टो' भन्दै जवाफ दिएका छन्। मस्कले ट्विटरमा त्यसरी डोजक्वाइनको लोगो प्रयोग गर्नुको कारण भने खुलाएका छैनन्। यसलाई थुप्रै अन्तर्राष्ट्रिय पत्रिकाहरूले मस्कले डोजक्वाइनको प्रचार गर्न खोजेको रुपमा पनि लिइरहेका छन्। ट्विटरमा डोजक्वाइनको लोगो देखिएसँगै डोजक्वाइनको मूल्य अमेरिकी डलर ०.०७९ देखि ०.०९४ पुगेको छ। यो सन् २०२२ को नोभेम्बरदेखि कै सबैभन्दा बढी मूल्य हो। केहीले भने मस्कको यो कदमलाई अप्रिल फुल (मूर्ख दिवस) मा मस्कले रमाइलो गर्न खोजेको तर उक्त दिन (अप्रिल १ तारिख)मा सार्वजनिक हुन नसकेको भन्दै तर्क दिएका छन्। यद्यपि मस्कले आफ्नो मुद्दा खारेज गर्न अमेरिकाको अदालतमा निवेदन दिएको भोलिपल्ट नै ट्विटरको लोगो परिवर्तन भएको हो। हाल मस्कमाथि डोजक्वाइनको पिरामिड शैलीबाट रकम उठाएर क्रिप्टोकरेन्सीमार्फत ठगी गरेको आरोप छ। डोजक्वाइनले मस्कले गरेको विभिन्न कार्यबापत भएको २५८ बिलियन अमेरिकी डलर क्षतिको माग राख्दै मुद्दा दायर गरेको थियो। तर उक्त मुद्दालाई मस्क र उनका वकिलले 'काल्पनिक काम' बताउँदै आएका छन्। डोजक्वाइनका लगानीकर्ताहरूले मस्कले नियतबस डोजक्वाइनको मूल्य बढाएको र पछि बेवास्ता गरेको आरोप लगाइरहेका छन्। उनीहरूका अनुसार मस्कलाई पहिलेनै सन् २०१९ देखि क्रिप्टोकरेन्सीको मूल्य नहुने थाहा भएको तर पनि नाफा आर्जनको लागि डोजक्वाइनलाई बढावा दिएको आरोप छ।
पोखरामा पछिल्लो समय बढेकोे दुर्घटनापछि समबन्धित निकायहरुले चासो राखेका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिक समाज, ट्राफिक प्रहरी र सरोकारवालासँग छलफल गरी मापदणड निर्धारण गरेको छ । प्रशासन कार्यालयले नगर र माइक्रोबसका सरोकारवाला निकायलाई दुर्घटना न्यूनीकरण गर्न ३ बुँदै मापदण्ड पालना गर्न निर्देशन दिएको छ । उल्लेखित मापदण्डमा नगरभित्र सञ्चालित सार्वजनिक बसहरुले अधिकतम गति नियन्त्रण गर्नुपर्ने जनाइएको छ । मापदण्डमा गति उल्लेख नगरिएपनि सामान्यतयः २० देखि ३० किलोमिटर प्रतिघण्टा मापन गरिएको अन्तर्राष्ट्रिय अभ्यास छ । त्यस्तै, सार्वजनिक गाडीले उल्लेखित बस स्ट्याण्डमामात्रै यात्रु चढाउने र झार्ने व्यवस्था गर्न कडाइकासाथ लागु गर्ने उल्लेख गरिएको छ । साथै, बस चालकहले ओभरटेक गर्न नपाइने निर्देश गरिएको छ । यससँगै प्रशासले यातायात व्यवसायीहरुलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा चालक र सहचालकलाई सचेतनामूलक प्रशिक्षणको व्यवस्था गर्न अनुरोध गरेको छ । ट्राफिक प्रहरी कास्कीको रेकर्ड अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सय बढी दुर्घटना भएको छ ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ट्याक्सी चालक आन्दोलित बनेका छन्। विमानस्थलमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले मंगलबार बिहानबाटै सेवा बन्द गरेका छन्। सोमबार दिउँसो पनि पार्किङको गेटमा उनीहरुले ट्याक्सी राखेर विरोध गरेका थिए। उनीहरुले यस अगाडि देखिनै पार्किङ शुल्क महंगो भएको भन्दै विरोध गर्दै आएका थिए। चालकहरुले शुल्क घटाउनुपर्ने माग राखेका छन्। विमानस्थलको जग्गा निजी कम्पनीलाई दिएर पार्किङ व्यवस्थापन हुँदै आएको छ। पार्किङ गर्दा महँगो शुल्क तिर्नु परेको गुनासो ट्याक्सी चालकबाहेक अन्य नीजी सवारी धनीले समेत गर्दै आएका छन्। पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा हाल ८० रुपैयाँ पुगेको छ। पार्किङ शुल्क थप बढाउने कम्पनिको धम्की पछि चालकहरु आन्दोलित बनेका हुन्।
काठमाडौं : मंगलबार सुदूरपश्चिम प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। मंगलबार राती देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
काठमाडौं : चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ। मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ। 'लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। चलचित्रकर्मीलाई सरल र सहजताका लागि बोर्ड सदैव साथ मै छ', बोर्ड अध्यक्ष भुवन केसीले भने। प्रतियोगितामा सहभागी हुनका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम २०८० वैशाख १० गतेसम्ममा बोर्डको कार्यालय अथवा इमेलमार्फत पेस गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रले क्रमशः प्रथम हुने चलचित्रले एक लाख ५० हजार, द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ७५ हजार प्राप्त गर्नेछन्। पुरस्कृत चलचित्रलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिकरूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ। प्रतियोगितामा सहभागी हुने चलचित्र कम्तीमा ५० प्रतिशत नेपालमै छायाँङ्कन भएको र चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ। साथै सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।
काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्। । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए। प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता,सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे। विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ छ। 'हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।' समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ छ । 'समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो,'यी कुरालाई सधैं सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गरे। प्रधान सेनापतिले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ-आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा प्रस्तुत गर्न आग्रह गरे। प्रधान सेनापतिले मधेश प्रदेशका हरेक जिल्लाबाट सर्वसाधारण नागरिकका जेहेन्दार १ छोरा र १ छोरी गरी १६ जनालाई सैनिक विद्यालय बर्दिबासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने जानकारी गराए। सम्बोधनकै क्रममा प्रधान सेनापतिले भूतपूर्व सैनिकहरूको जीवनलाई थोरै भएपनि सरल,सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए। मधेस प्रदेशका बासिन्दालाई नेपाली सेनामा भर्नामा आकर्षण बढाउन सिराहा,पर्सा र सर्लाहीमा तैनाथ नेपाली सेनाका युनिटहरूमा भर्ना छनौट भइरहेको र निकट भविष्यमा अन्य जिल्लामा पनि भर्ना छनौट केन्द्र तोकिने बताए। हाल निवृत्तिभरणमा राजीनामा स्वीकृत भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ । सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको थियो।
काठमाडौं : थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ११५१ नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३४५ र एन्टीजेनबाट ८०६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४९ र एन्टिजेनबाट २७ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा १६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–२ मा गोविन्द भट्टराईलाई जिताउन अपिल गरेका छन् । तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई विजयी गराएर पठाउन मतदातासमक्ष आग्रह गरेका हुन् । थापाले भने,‘गोविन्द भट्टराईबाट सालिनता सिकेका छौं । कहिलेकाहीँ मिलाउने क्षमता पनि राख्नुपर्छ । भट्टराई तपाईंको माटोले चिनेको उम्मेदवार हो । उहाँले तनहुँबाट जित्दै गर्दा नयाँ र पुराना साथीलाई मिलाएर लैजानुहुन्छ । ’ कतिपय सांसद् कता जान्छन् भन्ने अत्तोपत् समेत नहुने उनको भनाइ छ। थापाले भने,‘कतिपय सांसद् बिलाउँछन् । गोविन्द भट्टराई हराउने,कराउने,बिलाउने सांसद् हुनेछैनन् । तपाईंहरूले निर्वाचित गराएर पठाएको सांसद् राष्ट्रपति हुनुभयो । ’ थापाले गोविन्दराज जोशीलगायतसँग पनि कुराकानी गरेर पार्टीलाई एकढिक्का बनाउँदै लगिने बताए । थापाले भने,‘घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ– तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन । यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जो आयो त्यसले बजाउँदै हिँडने ।’