पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताउनुभएको छ ।   शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताउनुभएको हो ।   प्रधानमन्त्रीले भन्नुभयो, “बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ । राजश्व सङ्कलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन् । राहदानी, लाइसेन्स लगायतका काममा विगतको झण्झट हटेका छन् । यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजाउँ ।’’   “सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्,’’  प्रधानमन्त्रीले थप्दै भन्नुभयो, “एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।’’   प्रधनमन्त्री प्रचण्डले नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको बताउनुभएको छ ।   ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, “विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएको फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।’’

काठमाडौं:  नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रूबिना क्षेत्री र अलराउन्डर सीता रानामगर हङकङमा हुने टी-२० फ्रेन्चाइज लिग खेल्न प्रस्थान गरेका छन्।    ललितपुर मेयर टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सकिएको भोलिपल्ट शुक्रबार दुई महिला क्रिकेटर हङकङतर्फ प्रस्थान गरेका हुन्।    बिहीबार भएको फाइनलमा सीताको कप्तानीमा रहेको एपिएफले उपाधि जितेको थियो। उपाधि जित्ने क्रममा सीताको टिमले रुबिनाको कप्तानीमा रहेको कोशी प्रदेशलाई पराजित गरेको थियो।   हङकङमा हुने फेयरब्रेक आमन्त्रण २०२३ क्रिकेट प्रतियोगितामा कप्तान रूबिना द बार्बी आर्मी  र सीता द टोनेडसमा आवद्ध छिन्।  १५ दिन चल्ने प्रतियोगितामा नेपालका दुई खेलाडीको पारिश्रमिक कम्तिमा ५ हजार अमेरिकी डलर हुनेछ। खेलाडीले खेलको थप भत्ता पनि पाउनेछन्। दुवैले अघिल्लो सिजनको प्रतियोगितामा सहभागिता जनाएका थिए।    प्रतियोगितामा बार्बी आर्मी र टोनेडससहित वारियर्स, स्पिरिट, साफायर्स र फाल्कन्स सहभागी हुँदैछन्। प्रतियोगिता हङकङको कोलुन क्रिकेट क्लबको मैदानमा हुँदैछ।    प्रतियोगिताको पहिलो खेल चैत २१ मा हुनेछ। फाइनल आगामी वैशाख ३ मा हुनेछ।   दिनमा दुई वटा खेल हुनेछ। एक टोलीले समूह चरणमा एक अर्कासँग एकपटक खेल्छन्। समूहको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।   आइसिसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनी फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्दै आएको छ। २८ देशका कुल ८३ खेलाडी ६ टिममा आबद्ध छन्।    अमेरिका क्रिकेटसँगको सहकार्यमा आयोजना गरिएको २०२३ को लागि एक अतिरिक्त प्रतियोगिताका खेलहरू १५ देखि ३० सेप्टेम्बर २०२३ मा अमेरिकामै खेलिनेछ।  

भैरहवा: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ ।   नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अब विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।    मन्त्री शर्माले भन्नुभयो, “हिजो राजनीतिक दलहरु परिवर्तनको आन्दोलनको भूमिकामा दिए, मुलुकमा व्यवस्था परिवर्तन भएसँगै अब यसलाई संस्थागत गर्न र जनताका आकांक्षा परिवर्तन गर्न दलहरुले विगतको भूमिका बदल्नुपर्छ ।”   मन्त्री शर्माले आम सञ्चार क्षेत्रको नीति तर्जुमा गर्नका लागि राष्ट्रिय मिडिया सम्मेलन महत्त्वपूर्ण कोशेढुङ्गा हुने पनि बताउनुभयो । सरकारले अब आगामी वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा लागेको अवस्थामा मिडिया सम्मेलनले सञ्चारमन्त्री नीति तर्जुमा गर्न सघाउ पुग्ने उहाँको भनाइ छ ।   राजनीतिक र पत्रकारिता क्षेत्र एक अर्काका परिपुरक रहेको  बताउनुहुँदै मन्त्री शर्माले भन्नुभयो, “आम सञ्चार क्षेत्र र राजनीतिक क्षेत्र एक अर्काका परिपुरक हुन्, दुवै क्षेत्रले परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुराएका छन्, अबका दिनमा पनि यी दिई क्षेत्रले अझै महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी छ ।”   जनताको आकांक्षा र सपना बदल्ने कुरातर्फ राजनीतिक दलहरुले ध्यान दिनुपर्ने र यसतर्फ मिडियाले खबरदारी गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । उहाँले सरकार र सार्वजनिक निकायमा रहेका व्यक्तिहरुलाई मिडियाले खबरदारी गर्ने हो भने उनीहरुलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।   यसैगरी, कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्टले पत्रकारितामा विश्वसनीयताको सङ्कट रहेको भन्दै अब प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।   सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । सल्लाहकार निर्मला शर्माले पत्रकारितामा महिला सहभागिता बढाउनका लागि सबै तहका सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो  ।   लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी (मैत्तय) ले नेपाली चिन्तन र छलफलको केन्द्र लुम्बिनी बन्न सक्ने बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका निमित्त उपकुलपति डा. तिलकराम आचार्यले लुम्बिनीमा देशभरका पत्रकार जुट्नु आफैँमा गौरवको विषय भएको जानकारी दिनुभयो ।   सदस्यता शुद्धीकरण अभियानमा महासंघ प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विज्ञापन बोर्डले कमिसनमा काम गरेको भन्दै यो विज्ञापन बोर्ड खारेजी गर्नुपर्ने बताउनुभयो ।   नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उनले अहिलेसम्म निर्माण भएका कानुन, ऐन नियम पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्नुहुँदै सरकारी र निजी सञ्चार प्रतिष्ठानले  श्रमजीवी सञ्चार ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने औंल्याउनुभयो ।   शुद्धीकरणको अभियान कसैको पूर्वाग्रही ढङ्गले भन्दा पनि काउन्सिल बनाएर सदस्यता दिनु पर्ने भन्दै चुनाव लड्नेभन्दा पनि पत्रकारिताको विषयमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।   प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले नेपाली पत्रकार र सञ्चार गृहका बीचमा सघन छलफल आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले पनि बोल्नुभएको थियो ।

काठमाडौं:  श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ।    श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो।    स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले जानकारी दिए।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गरेका हुन्।    अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयको भनाइ छ।    आगामी वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेको भनाइ छ।    यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृतिको कामा अघि बढाइएको थियो ।    त्यसपछि पनि श्रमिकलाई दुःख दिने, फाइलहरु अनावश्यक रुपमा अल्झाउने गुनासाहरु मन्त्रालयमा पुग्ने गरेका थिए। सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले जनाएको छ।

काठमाडौं :  माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४  विद्यार्थी सहभागी भएका छन्।   आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६  विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए।    उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६  विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन्। ​ कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिए।    उनका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन्।    एसइईको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको उनले बताए। 

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले),नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए।   राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ। राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।   राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्। शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।   'उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनु हुनेछ,' सचिव बुढाथोकीले भने, 'शुक्रबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बसेलगत्तै मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी आवश्यक व्यवस्थापन गरिरहेका छौं।'   नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीको विश्वासका मतका लागि अहिलेसम्म सत्ता साझेदार दल एमाले, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कसैसँग छलफल नभएको बताए। शुक्रबार लिइने विश्वासका मतका लागि सबै दलहरुसँग छलफल गरेर विश्वासको मत दिने वातावरण बनाइने उनले बताए।  a कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक-एक गरी ४० सदस्य रहेका छन्। 

पशुपतिनगर: इलाम कारागारबाट एक कैदी फरार भएका छन् । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई फरार भएका हुन् ।   विहीबार साँझ कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको कारागार प्रशासनले जनाएको छ  ।   गणनाका क्रममा उनी फेला नपरेपछि फरार थुनुवाको खोजतलास भइरहेको इलामका एसपी दिलिप घिमिरेले जानकारी दिनुभयो । उहाँले सिसि टिभी फुटेज हेर्दा बिहिबार नै कैदी भागेकोसमेत देखिएको बताउनुभयो । "हामी कारागारबाट कैदी फरार कसरी भयो भन्ने अनुसन्धान  गर्दैछौ‌‍," एसपी घिमिरेले भन्नुभयो ।   डाँका मुद्दामा सजाय भोगीरहेका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा केहि दिनअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।    जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा छानविन गरिए पनि उक्त भिडियो १० महिना अगाडीको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।    पछिल्लो समय नमुना मानिएको इलाम कारागार विवादित बन्दै गएको छ ।

काठमाडौँ: आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।   राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागिता जनाएका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ ।   परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ ।  परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् । 

दोधारा चाँदनी : भारतको विभिन्न ठाउँबाट हुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो ।    “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, 'पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।'   सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ ।  “अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ,' पन्तले भने,'यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ ।    जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए। प्राथमिकताका आधारमा खोप लगाइने उन ले बताए। 'अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ,' उनले भने, “आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।'   नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन ।    त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । “खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ,' पन्तले भने।