काठमाडौं : बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा थियो। यो मूल्य अघिल्लो दिनको २४ पैसा बढेको हो। युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा पाइन्छ।युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८९ पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको बैठकमा उनले मन्त्रालय टुंगिएका दललाई नाम दिन आग्रह गरेका हुन्। जसपा नेता राजेन्द्र श्रेष्ठले मोटामोटी सहमति भएको तर विषय टुङ्ग्याउन बाँकी रहेकाले पुन: २ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए। केही मन्त्रालयमा सहमति हुन नसकेकाले शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन्। श्रेष्ठले पार्टीहरूले नाम दिए साँझसम्म मन्त्रीहरूको शपथ गर्ने तयारी भएको बताए। स्रोतमा अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय माओवादी केन्द्रले राख्ने भएका छन्। उनले हाल उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालय दिने तयारी गरेका छन्। एमाले नेतृत्वको गठबन्धनमा अर्थमा एमाले र गृहमा रास्वपाले पाएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा भने माओवादीले अर्थ र कांग्रेसले गृह लिएको थियो। यसैगरी कांग्रेसले अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा मन्त्रीमा पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेको छ। उक्त नामसहित अन्य मन्त्रीको टुंगो लगाउन बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ। यसैगरी एसले प्रकाश ज्वालालाई मन्त्रिमा पठाउने बताइएको छ।
काठमाडौं : उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल बस निर्देशिका बमोजिम मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस संचालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ । जसमा बसको अवस्था ठिक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन्। चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य ३१४ जना चालक समेत कारबाहीमा परेका छन्। काठमाडौं उपत्यकाको आवागमनलाई सहजीकरण गर्न,सवारी दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक नियमको पालना गराउन ट्राफिक प्रहरीले नियमित तथा विशेषा चेकिङ गर्दै आएको छ।
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बागमती सभ्यताहरूको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। ‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ ,' उनले भने,' हामी बागमती सभ्यता जोगाउन खोज्दैछौँ। यो मान्छेभन्दा अघिको सभ्यता हो। त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाऔं, त्यसपछि लिपुलेक जोगाउँला,लिम्पयाधुरा पनि जोगौंला।' यस्तै शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन भनेका छन् । सम्मेलनमा बोल्दै मेयर शाहले स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताएका थिए। उनले यसका लागि यसपटकको सरकार केही समय टिकेमा आफूलाई समन्वय गर्न सहज हुने बताए। ‘हाम्रो स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि,' बालेनले भने, ‘जस्तो अहिले सम्माननीयज्यू यहि हुनुहुन्छ, मन्त्रीज्यू यहि हुनुहुन्छ । उहाँहरूको सरकार टिकिदिँदैन र हामीलाई कहिलेकाँही गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्युलाई पनि यसपालि सरकार चाहिँ केही समयलाई टिकिदिए पनि हामीलाई समन्वय गर्न सजिलो हुन्छ । किनभन्दा धेरै कुराहरु जोडिदो रहेछ । स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुन्छन् ।’ त्यस्तै उनले सम्बन्धित नगरपालिका उपप्रमुखहरूलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन आग्रह गरे। उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभाश दिलाउनुपर्ने बताए। 'साँच्चै सरकार सिंहदरबारमा मात्रै नभएर पालिका पालिकामा छ,न्याय भनेको केन्द्रमा मात्रै नभएर पालिका पालिकामा छ भन्ने कुरालाई आगामी दिनमा साँच्चै अवलम्बन गर्न सकियोस,’कार्यक्रममा बोल्दै मेयर शाहले भने,‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा आउन नपरोस् । आफ्नै पालिकामा यस्तो न्याय पाइयोस्।। यसका लागि तपाईंहरू जिम्मेवार हुनुहु्न्छ।'
वालिङ: यस वर्षको एसइईमा स्याङ्जाबाट ४ हजार ४८१ जना परीक्षार्थी सहिभागी हुँदैछन् । जिल्लामा एसइईको सबै तयारी पूरा भएको बताइएको छ । जिल्ला शिक्षा इकाई प्रमुख विश्वराज आचार्यका अनुसार सबै परीक्षा केन्द्रमा तोकिएको स्थानमा प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पुगिसकेका छन् । जिल्लामा १६९ विद्यालयका ४ हजार ४८१ परीक्षार्थीले एसइई दिने भएका हुन् । सामुदायिक विद्यालयबाट एसइई दिनेको सङ्ख्या धेरै देखिएको छ । ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धिगरी सामुदायिक विद्यालयबाट ३ हजार ५७७ जना विद्यार्थी एसइईमा सहभागी हुने आचार्यले जानकारी दिनुभयो । यस्तै, संस्थागततर्फ ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धिगरी ९०४ जना परीक्षार्थी सहभागी हुने आचार्यको भनाइ छ । प्राविधिक विषयतर्फ १३७ जना बाली विज्ञानमा ७३ र कम्प्युटर साइन्समा ६४ जना विद्यार्थीले एसइई दिने भएका हुन् । जिल्लामा परीक्षाका लागि ३४ केन्द्र निर्धारण गरिएको छ । ३४ केन्द्राध्याक्षलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको शिक्षा इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो । परीक्षालाई शान्तपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी पूरा गरिएको शिक्षा इकाई कार्यालयले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरु सरकारकै कारण सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न सरकार आफै उदासिन बन्नाले पीडितहरू सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका हुन्। मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रूपमा सरकार आफैले स्वीकार गरिसकेको तर महिनाैंसम्म कानुनको मस्यौदा गृहमन्त्रालयमा अड्किँदा साहु महाजनले छलकपट गरी धमाधम किसानकाे जग्गा लिलामी गरिरहेकाे उनले बताए। ‘यसले दैनिक भूमिहिन हुने किसानहरुको संख्या झन् बढिरहेको छ। सरकारले आफै सुकुम्बासी उत्पादन गरेको जस्तो देखिएको छ,’उनले भने। सांसद पौडेलले पीडितहरू मिटरब्याजको पैसा तिर्न साहु महाजनकै योजनामा लागूऔषध कारोबार गरेर जेलमा परेको घटनासम्म सार्वजनिक भएको बताउँदै सरकारलाई संवेदनशील हुन आग्रह गरे। मिटरब्याजी साहु महाजन र तिनका आसेपासेले पीडित महिलामाथि यौन शोषण गरेका घटनाहरुसमेत सुन्नमा आएको बताउँदै पौडेलले मिटरब्याज पीडितको समस्या यथाशिघ्र सामाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
काठमाडौँ: पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिनासम्मका लागि हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुन समेत कोषले सबैलाई आग्रह गरेको छ ।
अर्खला: पूर्वी नवलपरासीको होमस्टेहरू पर्यटन प्रवर्द्धन र जातीय परम्पराका कारण विकासको बलियो आधारको रूपमा अगाडि बढेका छन् । पूर्वी नवलपरासीको पहाडी क्षेत्रको बुलिगंटार गाउँपालिकाको वडा नं. ४ अर्खला चुलीबोझामा ४ वर्षअघि स्थापना गरी सञ्चालन गरिएको देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टे (घरबास)मा आन्तरिक एवम् बाह्य पर्यटकको आगमनमा वृद्धि भएसँगै स्थानीयको जीवन स्तरमा समेत परिवर्तन आएको अर्खला वडा नं ४ का वडाध्यक्ष मिनबहादुुर आलेमगरले बताउनुभयो । स्थानीय स्रोत र साधनको प्रयोग गर्दै स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ सञ्चालन गरिएको सो होमस्टे निरन्तरको अथक प्रयासपछि अहिले सफलता तर्फ उन्मुख भएको देवचुली चुलीबाेझा मगर सामुदायिक होमस्टेका अध्यक्ष हेमलाल बरालले बताउनुभयो । पूर्वी नवलपरासीको उत्तरपूर्वी क्षेत्र पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका वडा नं. ४ बोझा पोखरीमा रहेको होमस्टेमा गएको सात महिनायता आन्तरिक पर्यटक तीन हजार एक सय जनाले होमस्टेमा बास बसेको अध्यक्ष बरालले बताउनुभयो । मगर सामुदायिक होमस्टेसँगै रहेको प्रसिद्ध देवचुली डाँडा ७ महिनाको अवधिमा तीन हजार एक सय स्वदेशी पर्यटकले होमस्टेमा बास बसेको अभिलेख रहेको होमस्टे सञ्चालकले बताउनुभयो । मगर समुदायको आफ्नो भाषा, भेषभुषा रहनसहन, सांस्कृतिक पहिचान, रहेको भन्दै पर्यटकको आकर्षण बढेको अध्यक्ष बरालको भनाइ छ । मगर होमस्टेमा समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, देवचुली डाँडा, त्रिकन्या देवीको दर्शन, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार ( कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुरा)ले गर्दा समेत पर्यटनको आगमन बढेको सञ्चालक नौसिंह ठाडाले बताउनुभयो । होमस्टेमा बस्न आउने व्यक्तिहरू मध्ये आलोपालो प्रणाली अन्तर्गत सबैको घरमा बस्ने कारणले समेत आफूहरूले सबै खालका पाहुनाहरूको स्वागत गर्ने मौका पाएको र उनीहरूबाट नयाँ कुरा समेत सिक्न पाएको ठाडाको भनाइ छ । पूर्वी नवलपरासीको बुलिङटार वडा नम्बर ४ मा स्थापना गरिएको होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । सो होमस्टेमा तीन बटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ । होमस्टेमा जाने पर्यटकलाई बस्ने, खाने सबै व्यवस्था सञ्चालक समितिले गर्दै आएको छ । होमस्टे पुगेका आगन्तुकबाट उठेको रकम १० प्रतिशत समूहमा राखेर बाँकी पैसा भने होमस्टेका सदस्यहरूलाई वितरण गर्ने गरिएको छ । कला र संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने होमस्टेले स्थानीयवासीको जीवनस्तरमा समेत परिवर्तन ल्याएको वडाध्यक्ष आले मगरको भनाइ छ । होमस्टे सञ्चालनपछि गाउँमा विकास निर्माणको कामदेखि स्थानीयवासीको आनीबानी तथा व्यवहारमा परिवर्तन आएको स्थानीय बताउँछन् । जिल्लामा मात्र थारु, मगर, गुरुङ र निजी क्षेत्रमा सञ्चालन गरिएको बरौली होमस्टे सञ्चालनमा छन् । जिल्लामा रहेका अमलटारी र पिप्रहर होमस्टे भने देशका प्रमुख होमस्ट मध्ये पर्दछन् ।
तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । ६५० उपभोक्ताले उपभोग गर्ने सो ठाउँस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लास सडेका अवस्थामा फेला परेको थियो । जसका कारण स्थानीयवासी झाडापखाला फैलिएको थियो । दूषित पानीका कारण फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । ‘‘उपभोक्ता बिरामी भएको खबर पाएपछि स्वास्थ्यकर्मीसहित गाउँमै पुग्यौँ हाल सबैलाई निको भएको छ,’’ अधिकारीले भन्नुभयो । उपभोक्ताले ट्याङ्कीमा शव देखेपछि मनोविज्ञानमा असर परी अधिकांशले वान्ता गर्ने गरेको र सबै जना बिरामी भएकोमा हाल सामान्य अवस्थामा फर्किएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‘‘ट्याङ्कीमा शव भेटिएपछि घिन मानेर अधिकांशले बान्ता गरेका थिए अहिले सामान्य अवस्थामा आएको छ’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । तत्कालका लागि मलुको पानी दुर्गन्धित ट्याङ्की नराखी नयाँ अस्थायी पाइप लाइनबाट आठ स्थानमा वैकल्पिक सार्वजनिक धारा व्यवस्था गर्ने कार्य पालिकाले गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ । ‘‘तत्कालका लागि खानेपानीको समस्या समाधान गर्न दुई हजार लिटर क्षमता ४ वटा पानी ट्याङ्की राखेर वितरण सार्वजनिक धाराबाट वितरण गर्ने गरी काम भइरहेको छ,’’ अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्कीको ढकन खोलेर चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए । घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा आइतबार शव फेला परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ७० लाखको लागतमा सो आयोजना योजना निर्माण गरिएको दुई लाख २५ हजार घन मिटर क्षमताको पानी ट्याङ्कीमार्फत उपभोक्तालाई पानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीय शान्ता श्रेष्ठको शव दुर्गन्धित अवस्थामा ट्याङ्की भित्र भेटिएपछि गाउँवासीले प्रहरीलाई खबर गरेका थिए ।