गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ ।   एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्...

काठमाडौं : चीनले नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ। सन् २०१९ को कोभिड कहरपछि पहिलो पटक चीनले औपचारिक रूपमा नेपालमा पर्यटक गन्तव्य मुलुकमा समावेश गरेको हो।    चैत्र १ गते अर्थात् मार्च १५ बाट चिनियाँ पर्यटक घुम्ने देशमा नेपाललाई पनि राखिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिए। चिनियाँ पर्यटन मन्त्रालयले अप्रुभड डेस्टिनेसन स्ट्याटस (एडीएस) दिएको पछिल्लो २० देशमा नेपाल पनि परेको छ। यसअघि २०२३ जनवरीमा पनि चिनियाँ मन्त्रालयले एडीएसमा २० देशको नाम सार्वजनिक गरेको थियो। तर, नेपालको नाम थिएन।    त्यसपछि बोर्डले चिनियाँ राजदूतावासलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो। बोर्ड र पर्यटन व्यवसायीको पहलले चीनको गन्तव्य मुलुकमा नेपाल पर्न सफल भएको प्रवक्ता लामिछानेले सुनाए।    चीनको एडीएसमा नेपाल परेपछि मार्च महिनाबाट नै चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा व्यवसायीको छ। सन् २०२३ को जनवरीमा १ हजार ४ सय ३६ र फेबु्रअरीमा २ हजार २ सय २२ चिनियाँ नेपाल घुम्न आएका छन्। सन् २०१९ को भन्दा करिब ७५ प्रतिशत र अब मार्चमा करिब ८५ प्रतिशतले पर्यटन क्षेत्र सुध्रिने आकलन गरिएको छ। फेब्रुअरीमा नेपाल आउने पर्यटको सूचीमा चीन सातौं स्थानमा परेको छ।    पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रमा चीनको लगानी पनि बढिरहेको छ। सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा पनि चीनको लगानी छ। चिनियाँ पर्यटक लक्षित धेरै व्यापार–व्यवसाय पनि सञ्चालनमा आएका छन्। बोर्डका अनुसार करिब पाँच सय होटल तथा रेस्टुँरा चिनियाँ पर्यटक लक्षित खुलेका छन्। काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत सांस्कृतिक पर्यटनसँगै प्याराग्लाइडिङ, छोटो दूरीका पदयात्रामा चिनियाँ पर्यटक रमाउँछन्।    चीनका धेरै सहरमा नेपालबाट सिधा उडानले पनि पर्यटक बढाउन सघाउने व्यवसायी बताउँछन्। अहिले हिमालय एयरलाइन्सले चीनको बेइजिङ, चोङकिङ र कुनमिङमा सिधा उडान गरिहेको छ। 

उपराष्ट्रपति पदका उम्मेदवार तथा जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग भेटवार्ता गरेका छन्।   जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार चौधरीलाई उम्मेदवार यादवले आज भेटेका हुन्।   सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार यादवले उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न चौधरीसँग आग्रह गरेका छन्।   चौधरीले आफूहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका सांसद प्रदीप यादवले बताए।   'रेशमजीले हाम्रो उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई यसबारे भन्छु भन्नुभएको छ,' उनले भने।   जनमत पार्टी, नागरिक उन्मुक्ति र लोसपाले सहकार्य गर्ने भन्दै गठबन्धनसमेत गरेका थिए।   जनमतले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाएको छ।   यसैबीच उपराष्ट्रपतिका उमेदवार यादवले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि भेटेका छन्।   महतोले यसबारे पार्टीमा छलफल गरिने जवाफ दिएको सांसद प्रदीपले बताए। यही चैत ३ मा उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ।   नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव, जनमतलगायत दलबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्।

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।   राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उहाँको भनाइ छ ।   नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्नुहुँदै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाइसकेको हुने स्मरण समेत गराउनुभयो ।   उहाँले सांसद, मन्त्री भईसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने धारणा समेत राख्नु भयो ।   ‘‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहोर्‍याएर सपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले सपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो । डा. रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक सपथ ग्रहण गर्नु भयो । र अहिले आएर रामचन्द्र पौडेल हुनुभयो ।,’’ महामन्त्री शर्माले भन्नुभयो, ‘‘राजनीतिमा रुपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको सपथग्रहण गरोस् । तीन पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’’   महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताउनुभयो ।   महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहको छनौट गर्न नहुने पनि पटक–पटक दोहोर्‍याउनुभयो ।   महामन्त्री शर्माले भन्नुभयो, ‘‘हामीले त्यसलाई एउटा राष्ट्रिय रुपमा एउटा उत्पादनको दशक, उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रुपमा पनि आकर्षण गराउँछ । हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका आयोजनाहरु बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ ।’’ महामन्त्री शर्माले राजनीति जनताको आर्थिक रुपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पार्नु भयो ।

काठमाडौँ:  देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । मंगलबार केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका  देशभरका उद्योगी व्यवसायीहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन् ।    उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंक विरुद्ध सडक संर्घषमा उत्रिएका छन् । देशभरका उद्योगी व्यवासायीहरुले राष्ट्र बैंक अगाडि पुगेर  व्यवसायीहरूको पीडा महशुस गराउन ध्यानाकर्षण समेत गरेका छन् ।    विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताए । उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले अर्को ब्याजदर दिएको बताए । उनले यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको बताए । उनले व्यवसायीहरुको व्यापार सुस्त भएको अवस्थाका उच्च ब्याज दिनसक्ने अवस्था नभएको बताए । उनले सरकारले व्यवसायीहरुसँग छलफल गरी समाधान गर्न आग्रह गरे ।    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरुको आन्दोलन निरन्तर चल्ने बताए । उनले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने बताए । उनले ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायित्व आवश्यक रहेको बताए । उनले अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीहरुले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न नसक्ने अवस्था नभएको बताए ।    त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरु बैंक विरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकायहरु समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाए । उनले पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरु मर्कामा परेको बताए । उनले बैंकहरुले उद्योगी व्यवसायीहरुलाई सुकुम्वासी बनाउने काम गर्न लागेको बताए ।     विगत एक वर्षदेखि व्यवसायीहरू बैङ्कको ज्यादतीबिरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैंक गर्न बाध्य भएको व्यवसायीहरुले बताए । आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आबद्ध भएका वस्तुगत संघहरु आन्दोलनमा सहभागिता रहेको छ । आन्दोलनमा व्यवसायीहरुले बैंकिङ आतंक बन्द गर,ब्याजदरमा स्थिरता कायम गर,चालु पुँजीकर्जा मार्ग निर्देशन स्थगन गर,ब्याजदर हामीलाई चर्को भो,गरिखान गाह्रो भयो,उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।           

काठमाण्डाै: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो ।   आज मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाइन्सलाई निर्देशनसमेत दिनुभयो । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमानदार र समर्पित भएर लाग्न पनि एलाइन्सलाई सचेत गराउनुभयो ।   उहाँले भन्नु भयो, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन । त्यस कारण हाम्रो एलाइन्स मानव अधिकारप्रति समर्पित, इमानदार हुनुपर्दछ ।’   अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताउनुभयो । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले बुद्ध जन्मेको देशका मानिसहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुनेसमेत बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको उल्लेख गर्नुभयाे ।    उहाँले भन्नुभयो, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यस कारण हामी हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन ।’   अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उल्लङ्घनकर्ताहरूले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई चीन र जापानले बधाई दिएको छ। सोमबार शितलनिवासमा पौडेलले पदभार ग्रहण गरेपछि चीन र जापानले बधाई दिएका हुन्।   नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन् सोङ्‌ले चीन सरकारका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।    यसैगरी जापानका प्रधानमन्त्रीले पनि राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। नेपालस्थित जापान दूताबासमार्फत उनले जापान सरकारको नेपालसँग थप काम गर्न तत्पर रहेको जनाएका छन्। उनले नेपाल-र जापानबीच दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन र सहकार्य गर्ने उल्लेख गरेका छन्।   गत मंसिरमा पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको थियो। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान नेपालस्थित जापानीदुतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको थियो।जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’पौडेलले पाएका थिए। विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए।   पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरेको थियो।

काठमाडौँ:  मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो ।    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    यस्तै यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।   

काठमाडौं:  प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ ।   छनोट खेलको समूह ‘बी’ मा रहेको नेपालले लगातार दुई खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० र दोस्रो खेलमा नर्दन मारियानालाई  पनि ६–० गोलले हराएको थियो ।   यस समूहबाट संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिममा नखेल्ने घोषणा गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए ।   पहिलो चरणबाट आठ समूहका शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणमा नेपालसहित चीन, अष्ट्रेलिया, लेबनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान प्रवेश गरेका छन् ।   दोस्रो चरणमा प्रवेश गरेका आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । यसबाट उत्कष्ट चार टोलीले सन् २०२४ मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् ।   आयोजक उज्वेकिस्तानसहित सन् २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

काठमाडौं:  भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् ।   महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् ।   पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट-प्रोडक्सनमा व्यस्त छन् ।   फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् ।   आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।   महिलातर्फ आलिया शीर्षस्थानमा   आलिया यतिबेला आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन् । यसबाहेक उनी आफ्नो फिल्म रकी र रोनीको प्रेमकथाको सुटिङमा पनि व्यस्त छिन् । उनले ओरम्याक्स पपुलर फिमेल स्टारको सूचीमा पहिलो स्थान हासिल गरेकी छन् ।   दीपिका पादुकोण अहिले अमेरिकाको लस एन्जलसमा छिन् । सोमबार सम्पन्न ओस्कार अवार्डमा उनी प्रस्तुतकर्ताको रूपमा देखा परिन् । उनी हालै ब्लकबस्टर फिल्म पठानमा शाहरुख खानसँग देखिएकी थिइन् । ओरम्याक्सकोे सूची अनुसार उनी हाल देशको दोस्रो सबैभन्दा लोकप्रिय महिला स्टार हुन् ।   अभिनेत्रीतर्फ सूचीको तेस्रो स्थानमा कियारा आडवाणी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सन् २०२३ को सुरुमा विवाह गरेका थिए । कियारा आफ्नो विवाहलाई लिएर केही महिनादेखि हेडलाइन्समा थिइन् । सायद यही कारण उनी यो सूचीमा रहिन् ।   कट्रिना कैफ दशकभन्दा बढी समयदेखि बलिउडकी शीर्ष अभिनेत्री हुन् । उनी अहिले सलमान खानसँग टाइगर ३ को सुटिङमा व्यस्त छिन् । चर्चित महिला स्टारको सूचीमा कट्रिना चौथो नम्बरमा छिन् ।   कृति सेनन हालै फिल्म ‘शहजादा’ मा कार्तिक आर्यनको अपोजिटमा देखिएकी थिइन् । उनको फ्यान फलोइङ पनि निकै उच्च छ । यो सूचीमा उनी पाँचौं स्थानमा परेकी छन् ।