काठमाडौं : प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा न्यौपाने सिढीबाट लडेर घाइते भएका हुन् । न्यौपानेको टाउकोमा चोट लागेको छ । लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक २० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । निकुञ्जको नियमित गस्ती टोलीले बुधबार बिहान ९ः३० बजे मृत अवस्थामा गैँडालाई फेला पारेको थियो । एक आपसमा जुधेर मृत्यु भएको हुन सक्ने सूचना अधिकारी तिवारीले बताउनुभयो । मृत गैँडाको खाग खुर सुरक्षित छ भने साउन महिना यता प्राकृतिक र चोरी शिकारीले गर्दा १३ वटा गैँडाको मृत्यु भएको छ । गैँडाको वासस्थान परिवर्तन भएर पश्चिम क्षेत्रमा धेरै हुन थालेपछि जुधेर मर्ने सख्या वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने र यहाँबाट अन्य निकुञ्जमा लैजानको लागि तयारी भए पनि काम हुन ढिलाइ भइराखेको उहाले बताउनुभयो । पश्चिम अमलटाडी, कावासोती लगायतको क्षेत्रमा गैँडाको लागि उपयुक्त वासस्थान छ । नारायणी नदीको भँगालो, घाँसे मैदान, पानीको व्यवस्था, मानवीय चापको कमीलगायतको कारणले गैँडाको वासस्थान पश्चिम हुन थालेको छ । त्यसलाई व्यवस्थापन गर्नको लागि विभागबाट पनि पहल भइराखेको उहाँले जानकारी दिनुभयो । संरक्षित वन्यजन्तुका लागि सबैभन्दा महत्वपूर्ण वासस्थान रहेकाले त्यसतर्फ विभागको ध्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताउनुभयो । गैँडाको सुरक्षाका लागि वासस्थानको सुधार, स्थानान्तरण, जनसङ्ख्या व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, समुदाय परिचालनलगायतको काममा विभागले योजना अनुसार काम गरिराखेको जानकारी दिनुभयो । पछिल्लो गणना अनुसार निकुञ्जमा छ सय ९४ गैँडा छन् ।
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहकाबीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो । जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशीर्वाद दिनुहोला ।’ पन्त र सुवेदीको बिहीबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुबैतर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् । दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ–कामना मिलिरहेको छ ।
पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गर्नुभएको छ । काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गर्नुभएको हो । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताउनुभयो । महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । “पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो । यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए । निगमको आजको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाउनुभएको थियो । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ । निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट हुनुहुन्छ ।
बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म 'पठान' ले नेपालबाट राम्रो कमाइ गरेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको छ। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ। जनावरी २५ देखि प्रदर्शन भएको फिल्मले भारतमा अझै पनि राम्रो व्यापार गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतबाट ५३६ करोड ७७ भारू कमाएको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्। शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।
काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ । उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २३४ यूएस आईक्यूआई छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । वातावरण विभागका अनुसार यो समाचार तयार पर्दासम्म बुधवार रत्नपार्कको यूएस आईक्यूआई १७३, भक्तपुरको २०७, कीर्तिपुरको १८१ र नारायणीको २४२ देखिएको छ । आईक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम–२।५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौँमा यो मात्रा ४६ पुगेको पाइएको हो । यसअघि आइक्यूएयरले आफ्नो वेभसाईटमा प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौँ सन् २०२१ मा विश्वको छैटौँ प्रदूषित राजधानी बनेको थियो। आइक्यू एयरले नेपाल प्रदूषित मुलुकको १० औँ स्थानमा राखेको थियो। पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौँ प्रदूषित मुलुकमा परेको छ । वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम–२.५ को मात्रा २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौँ र तराईका सहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पुग्ने अनुमान वातावरण विभागको छ। वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार काठमाडौँमा यस वर्ष हिउँदमा पानी धेरै नपरेकाले पनि मौसम धमिलो वा तुवाँलो देखिएको हो। उनले भने, ‘यो अझै केही दिन लम्बिने देखिन्छ। गर्मी सुरु भएपछि तराईमा प्रदूषणको तह झन् बढ्ने देखिन्छ ।’
पोखरा: आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका विद्यालयहरु तयारीमा जुटिरहेको बेला पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी समूह भने अदालत जाने तयारी गरिरहेको छ । स्वतन्त्र विद्यार्थी समूह (स्वविस)ले चुनावमा सहभागी हुन नाम दर्ता गरेपछि निर्वाचन समितिले आफुखुशी नाम परिवर्तन गरिदिएको भन्दै अदालतको ढोका ढक्ढक्याउन जान लागेको बताएको छ । समितिले नाम परिवर्तन गरी पृथ्वी विद्यार्थी मन्च राखिदिएको भन्दै स्वविसका सभापति दिप्सन गुरुङ्ले यसमा असहमति रहेको जनाएका छन् । स्ववियु निर्वाचनको लागि १९ गते स्वविसले नाम दर्ता गरेको र क्रम संख्या ‘९’ पाएको गुरुङले बताए । ‘निर्वाचन समितिले आफ्नो मनोमानी गरेको छ, कानुनी प्रक्रिया पुर्याएर दर्ता गरेका हौ’ संयोजक गुरुङ् भन्छन् ‘हामिमाथि अन्याय भएको छ, निर्वाचन समितिले न्याय दिएन भने अदालत जानेछौँ ।’ २५ गतेसम्म निर्वाचन समितिले कानुनी प्रकृयाअनुसार निर्णय नलिएमा रिटको प्रकृयामा जाने गुरुङको चेतावनी छ । ‘यथाशीघ्र उक्त नामावली सूचिलाई सच्याउँदै पुनः संगठनको नाम प्रकाशित गर्न आग्रह गर्दछौँ, अन्यथा अदालत गुहार्न बाध्य हुनेछौं’ गुरुङले भने । नामै परिवर्तन गरेर दर्ता सूची प्रकाशन गर्नु निर्देशिकाको विपरित भएको स्वतन्त्र विद्यार्थी समूहका कोषध्यक्ष अभिषेक विष्टले बताए । ‘सत्यको जित अवश्य हुनेछ,’ विष्टले भने, ‘निर्देशिका विपरितको उक्त कार्यको हामि सशक्त प्रतिकार गर्ने छौं ।’
के माटोले पनि श्वास फेर्छ ? माटोमा पनि जीवन हुन्छ ? माटो पनि मर्छ ? अनि माटोलाई बचाउँन उपचार गरिन्छ ? प्रश्नको फेहरिस्त जवाफ दिँदै माटो विज्ञ सुनिल पाण्डे भन्छन्, ‘हो, माटोले श्वास फेर्छ, बिरामी हुन्छ र उपचार पनि गर्नुपर्छ ।’ पाण्डेका अनुसार माटो जीवित हुन्छ र मर्छ पनि । एकपटक मरिसकेको माटोलाई पूनर्जीवन दिन धेरै समय र खर्च लाग्ने पाण्डे बताउँछन् । माटो तथा मल परीक्षण प्रयोगशाला पोखरामा वरिष्ठ माटो विज्ञकारुपमा कार्यरत पाण्डेले परम्परागत खेतिपातिबाट बिस्तारै व्यावसायिक कृषितर्फ लाग्ने क्रम बढिरहे पनि सोही अनुसार कृषकहरुमा माटोसम्बन्धि ज्ञान नभएकोमा दुख व्यक्त गरे । उनका अनुसार ज्ञानको कमीले माटो मरुभूमि बन्दैछ, जसलाई पुरानै स्वरुपमा फर्काउन कठिन छ । थोरै जमिनमा धेरै उत्पादन लिन कृषकहरुले रासयनिक मलको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा ह्रास आउने गरेको विज्ञ पाण्डेको भनाई छ । हाइब्रिड र बेमौसमी खेती गर्दा माटो मर्दै गएको भन्दै पाण्डेले माटोको परीक्षण र उपचार अत्यावश्यक भएको सुझाए । ‘माटोबिना धर्तीमा जीवन छैन, यत्ति बुझिदिनु प¥यो’ उनको कथन छ । जनसंख्या वृद्धि र उच्च आयको लोभमा कृषकले कम्पोष्ट मलको कम प्रयोग गर्दा त्यसको असर मानव स्वास्थ्यमासमेत पर्दै गएको उनले जनाए । ‘माटोमा जस्तो तत्व छ त्यहाँबाट हुने उत्पादनमा सोही गुण हुन्छ’ पाण्डे भन्छन् ‘माटो अस्वस्थ वा दुषित छ भने त्यसले हाम्रो शरिरलाई दिने पनि त्यहि तत्व हो ।’ व्यावसयिक खेतीमा अत्यधिक मलखाद र माटोको गुण परीक्षण हुनैपर्ने उनको जिकिर छ । पाण्डेले भने ‘माटो कमसल भए उत्पादन कमसल हुन्छ, त्यसले शरिरलाई पोषण दिँदैन ।’ उनका अनुसार दिनानुदिन माटोमा अम्लीयपन बढिरहेको छ, जसको प्रमुख कारण स्वयं कृषक हुन् । प्रयोगशालाले हाल माटो परीक्षणार्थ घुम्ती सेवा सुरु गरेको र कृषकलाई सेवा दिन विभिन्न स्थान पुग्ने योजनाअनुरुप काम अघि बढाएको बताएको छ । जनचेतनाको अभावमा माटो परीक्षण हुन नसकेको भन्दै प्रयोगशालाले ल्याबसहितको बस प्रयोगमा ल्याएको छ । यद्यपि, माटो परीक्षणपछि त्यसको नतीजाअनुरुप कृषकलाई माटो उर्वर बनाउन दिइने सुझावको कार्यान्वयन भने हुन नसकेको पाण्डेले गुनासो गरे । ‘माटोमा चुनको प्रयोग, मलखादबाट बन्ने कम्पोष्ट मल, रासायनिक मल र अन्य प्राकृतिक उपाय सुझाउँछौ तर उहाँहरु (कृषक)ले उपचार पद्दति अपनाउनु हुन्न’ पाण्डेको भनाई छ । त्यसो त कृषकहरुले माटो परीक्षणमा रुचि नदेखाएपनि प्रयोगशालाले यस वर्षमात्रै किट र भ्यानबाट करिब ५ हजार नमुना परीक्षण गरेको दाबी गरेको छ । प्रयोगशालासँग अत्याधुनिक प्रविधि व्यवस्थापन गर्न असम्भव रहेपनि पोखराको प्रयोगशालाले चालु मेसिनबाटै परीक्षणलाई निरन्तरता दिएको छ । कुनैपनि बाली लगाउँनुअगावै माटो परीक्षणमा जोड दिँदै उनै पाण्डे भन्छन् ‘उन्नत जातको बिउँ–बिजन, खनजोत, पोटासियम, फस्फोरसलगायतका मल, सिँचाईको उचित प्रयोग गर्न सके हाल भइरहेको भन्दा २ गूणा बढी उत्पादन हुनसक्छ ।’ हाल स्थानीय निकायबाट व्यावसायिक कृषिका नाममा दिइने अनुदानले खासै सकारात्मक सन्देश दिन नसकेको उनको गुनासो छ । ‘छिमेकी मुलुक भारतमा किसानले माटो परीक्षण गरेको ‘सोइल टेस्ट रिपोर्ट’ पेश गरेपछि बल्ल प्राथमिकताका आधारमा अनुदान दिने गरिन्छ’ पाण्डेले भने ‘यहाँ निवेदनको आधारमा पैसा दिने गरिएको छ ।’ सरकारी अनुदान सही ठाउँमा पुग्नुपर्छ भन्ने उद्देश्यअनुरुप पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुखसँग छलफल चलिरहेको र माटो परीक्षणपछि उपयुक्त हुने खेतीमा सहयोग गर्ने नीति बनाइने पाण्डेले जानकारी दिए ।
काठमाडौं: नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) को ‘कोअर्डिनेसन व्युरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई कोअर्डिनेसन व्युरोको नेतृत्व प्रदान गरेको हो । एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारी औपचारिक हस्तान्तरण हुनेछ । मार्च ५ देखि दोहामा सुरु भएको उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् । सम्मेलनमा दाता वा साझेदारहरूले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्नेबारे ठोस आवाज उठाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारीक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा सम्मेलनले जोड दिएको पनि श्रेष्ठले जानकारी दिए । सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्याएको थियो । त्यसका लागि संयुक्त राष्ट्रसंघ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले सघाउनुपर्ने नेपालको जोड थियो । सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सन’ले पनि यिनै मुद्दाहरूको कार्यान्वयनमा विशेष जोड दिएको मन्त्री श्रेष्ठले बताए । सम्मेलनको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवम् पदाधिकारीसँग उपप्रधानमन्त्री श्रेष्ठले छलफल गरेका थिए । त्यसक्रममा अबको नेतृत्वका रूपमा नेपालले अतिकम विकसित वा गरिब राष्ट्रहरूलाई सबैको हितका निम्ति गोलबन्द गर्ने विश्वास निर्माण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।