काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलबार मनाउने नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुकका रुपमा उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विकासका पूर्वाधार, जलविद्युत्, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेसा बिस्तारै लोप हुँदै गएको उल्लेख गर्नुभएको छ । “माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्बन्धलाई थप उजागर र स्थापित गर्नेछ”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ । वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ सङ्कल्पित रहेको प्रधानमन्त्री दाहालले सो सन्देशमा भन्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायका बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल गर्नुभएको छ ।
कास्कीमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांकलाई आधार मान्ने हो भने यहाँ पछिल्लो ६ महिनामा ७४ जनाले मृत्यु रोजेका छन् । जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या ६४ रहेको छ । त्यस्तै, हामफालेर ६ जनाले आत्महत्या गरेका छन् । प्रहरीको सूचनाअनुसार बाँकी ४ जनाले विष सेवन गरेको पाइएको छ । आत्महत्या बढ्नुका विविध कारण रहेको मनोचिकित्सक बताउँछन् । यसपछि पनि पाेखराकाे मालेपाटन र गैह्रापाटनमा १–१ जनाले आत्महत्या गरिसकेका छन् । बिजी हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ मनोचिकित्सक निर्मल लामिछानेका अनुसार आत्महत्याका कारण विभिन्न हुन्छन् । लामिछाने भन्छन् ‘कोभिडपछि नेपाली समाज केही विचलित भएको छ, त्यसयता आत्महत्या र मानसिक बिरामी बढेका छन् ।’ यद्यपि, मानिसले मृत्यु रोज्नुमा कुनै एकमात्र कारण हुन नसक्ने उनको ठम्याई छ । ‘मुलतः बिपीएस (बायो–साइको–सोसियल) आत्महत्याको कारक बन्न सक्छ’ लामिछानेले भने ‘यससँगै बेरोजगारी, आर्थिकरुपमा सम्पन्न हुन नसक्दाको पीडालगायतले आत्महत्या निम्त्याउँदैछ ।’ उनले बिपीएसलाई कुनैपनि व्यक्तिको पारिवारिक, मानसिक र सामाजिक अवस्था भनि व्याख्या गरेका छन् । कतिपय आत्महत्याको पछाडि बिपिएस नै मुख्य कारण रहेको र मेडिकल साइन्समा पनि पुष्टि भएको उनले बताए । लामिछाने भन्छन्, ‘पोखरामै आत्महत्या गरेका व्यक्तिको हिस्ट्री केलाउँदा पनि यिनै कारणहरु बढी पाइन्छन्’ त्यस्तै, समयमै मनोचिकित्सकबाट काउन्सिलिङ् लिनसके आत्महत्या रोक्न सकिने उनको धारणा छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति भएका हुन् । डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताए । सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा. शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए । ‘पाटन अस्पतालमा भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु,’ डा. शर्माले भने । नेपालमा दुई विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गरेका डा. शर्मा नेपालका अब्बल चिकित्सकमध्येमा गनिन्छन् । डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।
लेखनाथ: गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले विद्यार्थीलाई कितावी ज्ञानको साथमा व्यवहारिक र अन्तराष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा अपरिहार्य भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २७ तालचोक स्थित डायमण्ड माध्यामिक विद्यालयको ३५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई शनिबार सम्बोधन गर्दै, कुलपति गुरुङले शिक्षण संस्थाले बजारमा आपूर्ति हुने जनशक्ति उत्पादन गर्नेगरी गुणस्तरमा ध्यान दिन सुझाव दिए । उनले आफ्नो कुशलता देखाउने, योग्यता प्रर्दशन गर्ने, विचारहरु प्रस्तुत गर्ने नागरिकहरुको उत्पादनबाट शिक्षा क्षेत्र अघि वढ्नुपर्नेमा जोड दिए । कुलपति गुरुङले शिक्षाको क्षेत्रमा ठुलो लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्ने नीजि क्षेत्रलाई राज्यले सहजीकरण नगरेर उल्टो विभिन्न कर लिने गरेको बताए । उनले शिक्षण संस्थाहरुले समयानुकुल परिवर्तन हुँदै शिक्षालाई प्रविधिसँग जोडेर अगाडी लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले विज्ञान प्रविधिको प्रयोगमा जोड दिदै, विद्यार्थीहरुले त्यसको सहि सदुपयोग गरे नगरेको नियमन गर्न अभिभावकलाई सुझाव दिए । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य यम बहादुर रोकाले कास्कीकै पूर्विभेगको शैक्षिक केन्द्रको रुपमा विकास गर्ने गरी ३५ बर्ष अगाडी अग्रेजी माध्यमबाट अध्यापन गराउने उद्देश्यका साथ विद्यालयको स्थापना भएको उल्लेख गरे । प्राचार्य रोकाले २०५२ साल देखि एसएलसी परिक्षामा समावेश भएको विद्यालयबाट अहिलेसम्म झण्डै २ हजार २ सय विद्यार्थी उत्र्तिण भएको बताए । विद्यालयबाट झण्डै १ हजार २ सय विद्यार्थीले दश दुई जोड उत्र्तिण गरेको उल्लेख गर्दै, डायमण्डबाट उत्पादित विद्यार्थी हरेक क्षेत्रको प्रतिस्पर्धामा अब्बल रहेको बताए । उनले विद्यालयमा अध्ययन गरी झण्डै तीनसय चिकित्सक, चारसय इञ्जिनियर, विभिन्न विश्वविद्यालयमा अनुसन्धानकर्ता, चाडर्ड एकाउन्टेन र प्रशासनिक क्षेत्रमा जनशक्ति उत्पादन भएको बताए । संस्थापक प्राचार्य रोकाले विद्यालयमा अहिले १ हजार ५ सय विद्यार्थी अध्ययन गरीरहेको उल्लेख गर्दै, ९५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको बताए । विद्यालयको शैक्षिक सुधारका लागि कार्ययोजना प्रस्तुत गर्दै रोकाले आधारभूत तहको अध्ययनका लागि नयाँ भौतिक संरचनाको निर्माण गरिने, बालमैत्री वातावरणमा अध्यापन गराईने, सिर्जनात्मक प्रयोग र विद्यार्थीको अन्तरनिहित क्षमताका आधारमा कार्यक्रम समावेश गरिने उल्लेख गरे । यसैगरी विद्यार्थीहरुको स्वास्थ्य बिमा, ध्यान केन्द्रितका लागि योगा अभ्यास, स्वअनुशासनका लागि संस्कृत शिक्षाको पढाई, शैक्षिक महोत्सव, पढाई महोत्सव लगायतका कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख गरे । उनले शिक्षक र अभिभावकलाई विद्यालयको एप्स मार्फत जोडिएको उल्लेख गर्दै, रचनात्मक सुझाव दिन आग्रह समेत गरे । समारोहमा १० वर्ष भन्दा वढि सेवा गरेका शिक्षक शिक्षिका एवं कर्मचारीहरुलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा महेश्वर पण्डित, वुद्धिसागर अधिकारी, विकास लामिछाने, सम्झना लामिछाने, अनुराधा पौडेल, सम्झना सुवेदी, विनोद थापा, केदार अधिकारी र पवित्रा अधिकारी रहेका छन् । यसैगरी विक्रस सम्वत २०७६, ०७७ र ०७८ सालको एस इ ई र दश दुई जोड तर्फ सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पदम डायमण्ड अवार्डबाट सम्मान गरिएको थियो । फागुन १२ र १३ द्धिदिवशिय रुपमा विद्यालय प्राङ्गणमा आयोजित बार्षिकोत्सव कार्यक्रममा शैक्षिक प्रर्दशनी, फुड फेस्टीभल सहित विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रर्दशन गरिएको थियो । विगत तिन वर्ष देखी कक्षा ११ र १२ मा होटल म्यानेजमेण्ट कोर्षको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरुले सिकेका सिपलाई व्यवहारिक रुपमा उर्तानुपर्छ भन्ने ध्येयका साथ वार्षिक कार्यक्रम अनुसार नै फुड फेस्टीवलको आयोजना गरेको विद्यालयका निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायले वताए । विद्यालयका निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अभिभावक इन्द्रबहादुर थापा, भूतपूर्व विद्यार्थी राजकुमार थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा व्यवस्थापक हरि प्रसाद लामिछानेले स्वागत सञ्चालन शिक्षक नारायण पराजुलीले गरेका थिए ।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो। क्रिकेटर लामिछानेले युएइमा क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले लामिछानेलाई विदेश जान दिने आदेश भएको जानकारी दिए।
डडेल्धुरा: संविधानमा स्वास्थ्य उपचारको हकलाई मौलिक हकका रूपमा राखिएको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनिएको छ। यद्यपि ग्रामीण भेगका सरकारी अस्पतालमा न चिकित्सक भेटिन्छन् न औषधि पाइन्छ। सङ्घीय सरकार मातहत रहेका देशभरका १२ वटा अस्पतालमध्ये डडेल्धुरा अस्पताल एक हो तर सो अस्पतालमा मनोचिकित्सक र औषधि पाउन मुस्किल छ। मनोचिकित्सक र औषधि नहुँदा मानसिक रोगीको उपचारमा समस्या हुँदै आएको छ। मनोचिकित्सक डा. निराजन भट्टराई गत असार महिनामा अवकाश लिनुभएपछि डडेल्धुरा अस्पताल मनोचिकित्सकविहीन भएको छ। अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तका अनुसार डडेल्धुरामा करिब चार सय जना मानसिक रोगी छन्। हाल अस्पतालमा मनोचिकित्सक नहुँदा डडेल्धुराका निजी मेडिकलमा दुई महिनामा आउने मनोचिकित्सकसँग परामर्श लिने र औषधि सेवन गरिरहेका छन्। मनोसामाजिक समस्या भएकाले निजी मेडिकलमा पुगेर चिकित्सकको जाँच खर्च पाँच सय रुपियाँ तिरेर औषधि उपचार गर्दा पीडा झनै बल्झने उहाँको तर्क छ। यसका लागि सरकारले सरकारी अस्पतालमा चिकित्सक र ११ प्रकारका औषधि अनिवार्य व्यवस्थापन गर्न जरुरी रहेको उहाँले बताउनुभयो। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालको २० देखि २५ प्रतिशत जनसङ्ख्या मनोसामाजिक समस्याबाट गुज्रिरहेका छन्। प्रत्येक वर्ष विश्वको जनसङ्ख्याको १४ प्रतिशतमा मृत्युका कारण मानसिक रोग हुने गरेको टीपीओ नेपालका कार्यकारी निर्देशक एवं मनोचिकित्सक डा. कमल गौतमले बताउनुभयो। बिहीबार टीपीओ नेपालले डडेल्धुरामा आयोजना गरेको मनोसामाजिक सहयोगलाई विभिन्न सवालमा समाहित गर्नका लागि बहुपक्षीय सरोकारवालासँग समन्वय तथा सहकार्य बैठकमा डा. गौतमले विश्वमा प्रत्येक वर्ष ३९ हजारले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार नेपालजस्ता विकासोन्मुख राष्ट्रमा ७५ प्रतिशतले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। १५ वर्षदेखि २९ वर्ष उमेर समूहका युवा रहेका छन्। आत्महत्या गर्नेभन्दा आत्महत्याको प्रयास गर्नेको सङ्ख्या २२ गुणा बढी रहेको छ। मानसिक तनावका कारण विश्वमा झन्डै एक करोड २० लाख मानिसले आत्महत्याको प्रयास गर्ने गरेका तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनको रहेको डा. गौतमले बताउनुभयो। यसका लागि स्वास्थ्य संस्था, स्थानीय सरकारले मनोचिकित्सकको व्यवस्था गरेर परामर्श दिने र औषधि खरिद गरेर उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ। विद्यालयमा नर्स कार्यक्रम पनि भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नर्सले मनोसामाजिक परामर्श दिँदा अभिभावकसम्म पुग्ने उहाँको सुझाव छ। चिकित्सकलाई समेत मनोसामाजिक परामर्शका तालिम सञ्चालन गरेर समुदायमा परामर्श दिन सकिने उहाँले बताउनुभयो। नेपालमा मानसिक समस्या भएकामध्ये १४ प्रतिशतले मात्रै उपचार पाइरहेको उहाँले बताउनुभयो। मातृ मृत्युदरमा १६ प्रतिशत आत्महत्या रहेको छ। यसमा पनि १८ वर्षदेखि २१ वर्ष उमेर समूहका आमा रहेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो। डडेल्धुरामा पछिल्ला वर्षमा आत्महत्या गर्नेको सङ्ख्या भने घटेको देखिएको छ तर सबैभन्दा बढी घटना भने आत्महत्याकै छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको हालसम्म आत्महत्या गर्नेको सङ्ख्या १९ छ। गत वर्ष डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या २७ थियो भने त्योभन्दा अघिल्लो वर्ष २०७७/७८ मा आत्महत्या सङ्ख्या ४३ थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संघ र सरकार दुबै सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकी प्रदेशमा पनि सरकार हेरफेर हुने भएको छ । बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकीमा पनि यस्तो अवस्था आएको हो । निर्णयपछि प्रदेशका युवा तथा खेलकुदमन्त्री पन्चराम गुरुङले पार्टीको निर्णयलाई पालना गर्ने प्रतिक्रिया दिएका छन् । ‘धुम्बाराही बैठकबाट संघ र प्रदेशको सरकारबार बाहिरिने निर्णय भर्खरै भएको छ’ मन्त्री गुरुङ् भन्छन् ‘हामीले त्यसको पालना गर्दै बाहिरिने छौं ।’ यद्यपि, पार्टीको निर्णयभपछि प्रदेश कमिटीमा पनि अब छलफलमा बस्ने तयारी भइरहेको गुरुङले जनाए । प्रदेशमा राप्रपाका २ सांसद छन् । पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो। प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो। रास्वपाले सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिएको थिएन।
सुर्खेत: नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र हितमा चल्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालको राजनीति विदेशीको इसारामा चलेको छनक मिलेकोभन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको समेत हस्तक्षेप बढिरहेको चर्चा गर्नुभयो । ‘देशको राष्ट्रपतिजस्तो पदमा विदेशी हस्तक्षेप हुनु राम्रो होइन, राजनीतिक दलका नेताहरु यसमै रमाइलो मानेर बस्नु झन विडम्बनापूर्ण हो’ उहाँले भन्नुभयो । रावलले राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन्, त्यो विषयमा नेपालप्रति चासो र रुचि राख्ने कैयौँ मान्छेहरू चकित भएको समेत उहाँले चर्चा गर्नुभयो । देशको राजनीति राष्ट्रपतिको निर्वाचनमाजस्तो विकासका लागि तातेको भए देशमा ठूलो आर्थिक परिवर्तन आउँथ्यो उहाँले भन्नुभयो । कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनु नै देशको हितमा रहेको उहाँको भनाइ छ । तर अहिले सबै नेताहरु आफ्नो स्वार्थमा केन्द्रित देखिएको उहाँले टिप्पणी गर्नुभयो ।
काठमाडौं: नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमती भए पनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बौलदै उहाँले सो नाका सञ्चालनका लागि भारत सरकारसँग पनि आग्रह गर्नुभयो । सांसद गौतमले छोटी भन्सारहरुको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । छोटी भन्सारलाई अस्तव्यस्त बनाएर सरकार आफैंले चोरी पैठारीलाई प्रश्रय दिएको आशंका समेत उहाँले व्यक्त गर्नु भयो । ‘‘२७ अक्टोवर २००९ मा नेपाल–भारतबीच भएको वाणिज्य सन्धी अनुसार व्यापार र पारबहनका लागि गुलरिया–मूर्तिया नाका सञ्चालन गर्ने सहमती भएको थियो । तर, आज १४ वर्ष बितिसक्यो । म पनि यो संसदमा नौं वर्षदेखि छु । बारम्बार कुरा उठाउँछु । तर, अहिलेसम्म त्यो नाका सञ्चालन हुन सकेन सभामुख महोदय । त्यसकारण सभामुखमार्फत् मे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु चाहन्छु–र, भारत सरकारलाई पनि विशेष आग्रह गर्न चाहन्छु–यो नाका सञ्चालनमा तदारुकता देखाइयोस् ।,’’ सांसद गौतमले भन्नुभयो, ‘‘र, तत्काल यो नाका सञ्चालनमा आओस् । सीमावर्ती जिल्लाहरुमा धेरै छोटी भन्सारहरु छन । त्यो व्यवस्थिति छैनन् । आज छोटी भन्सारहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अस्तव्यस्त अवस्थामा छन । यसप्रति पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’’ सांसद गौतमले अर्थतन्त्र कमजोर भइरहेका बेला भन्सार कार्यालयको व्यवस्थापन गर्न पनि सरकार गम्भिर नभएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

