डडेल्धुरा: संविधानमा स्वास्थ्य उपचारको हकलाई मौलिक हकका रूपमा राखिएको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनिएको छ। यद्यपि ग्रामीण भेगका सरकारी अस्पतालमा न चिकित्सक भेटिन्छन् न औषधि पाइन्छ। सङ्घीय सरकार मातहत रहेका देशभरका १२ वटा अस्पतालमध्ये डडेल्धुरा अस्पताल एक हो तर सो अस्पतालमा मनोचिकित्सक र औषधि पाउन मुस्किल छ। मनोचिकित्सक र औषधि नहुँदा मानसिक रोगीको उपचारमा समस्या हुँदै आएको छ। मनोचिकित्सक डा. निराजन भट्टराई गत असार महिनामा अवकाश लिनुभएपछि डडेल्धुरा अस्पताल मनोचिकित्सकविहीन भएको छ। अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तका अनुसार डडेल्धुरामा करिब चार सय जना मानसिक रोगी छन्। हाल अस्पतालमा मनोचिकित्सक नहुँदा डडेल्धुराका निजी मेडिकलमा दुई महिनामा आउने मनोचिकित्सकसँग परामर्श लिने र औषधि सेवन गरिरहेका छन्। मनोसामाजिक समस्या भएकाले निजी मेडिकलमा पुगेर चिकित्सकको जाँच खर्च पाँच सय रुपियाँ तिरेर औषधि उपचार गर्दा पीडा झनै बल्झने उहाँको तर्क छ। यसका लागि सरकारले सरकारी अस्पतालमा चिकित्सक र ११ प्रकारका औषधि अनिवार्य व्यवस्थापन गर्न जरुरी रहेको उहाँले बताउनुभयो। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालको २० देखि २५ प्रतिशत जनसङ्ख्या मनोसामाजिक समस्याबाट गुज्रिरहेका छन्। प्रत्येक वर्ष विश्वको जनसङ्ख्याको १४ प्रतिशतमा मृत्युका कारण मानसिक रोग हुने गरेको टीपीओ नेपालका कार्यकारी निर्देशक एवं मनोचिकित्सक डा. कमल गौतमले बताउनुभयो। बिहीबार टीपीओ नेपालले डडेल्धुरामा आयोजना गरेको मनोसामाजिक सहयोगलाई विभिन्न सवालमा समाहित गर्नका लागि बहुपक्षीय सरोकारवालासँग समन्वय तथा सहकार्य बैठकमा डा. गौतमले विश्वमा प्रत्येक वर्ष ३९ हजारले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार नेपालजस्ता विकासोन्मुख राष्ट्रमा ७५ प्रतिशतले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। १५ वर्षदेखि २९ वर्ष उमेर समूहका युवा रहेका छन्। आत्महत्या गर्नेभन्दा आत्महत्याको प्रयास गर्नेको सङ्ख्या २२ गुणा बढी रहेको छ। मानसिक तनावका कारण विश्वमा झन्डै एक करोड २० लाख मानिसले आत्महत्याको प्रयास गर्ने गरेका तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनको रहेको डा. गौतमले बताउनुभयो। यसका लागि स्वास्थ्य संस्था, स्थानीय सरकारले मनोचिकित्सकको व्यवस्था गरेर परामर्श दिने र औषधि खरिद गरेर उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ। विद्यालयमा नर्स कार्यक्रम पनि भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नर्सले मनोसामाजिक परामर्श दिँदा अभिभावकसम्म पुग्ने उहाँको सुझाव छ। चिकित्सकलाई समेत मनोसामाजिक परामर्शका तालिम सञ्चालन गरेर समुदायमा परामर्श दिन सकिने उहाँले बताउनुभयो। नेपालमा मानसिक समस्या भएकामध्ये १४ प्रतिशतले मात्रै उपचार पाइरहेको उहाँले बताउनुभयो। मातृ मृत्युदरमा १६ प्रतिशत आत्महत्या रहेको छ। यसमा पनि १८ वर्षदेखि २१ वर्ष उमेर समूहका आमा रहेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो। डडेल्धुरामा पछिल्ला वर्षमा आत्महत्या गर्नेको सङ्ख्या भने घटेको देखिएको छ तर सबैभन्दा बढी घटना भने आत्महत्याकै छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको हालसम्म आत्महत्या गर्नेको सङ्ख्या १९ छ। गत वर्ष डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या २७ थियो भने त्योभन्दा अघिल्लो वर्ष २०७७/७८ मा आत्महत्या सङ्ख्या ४३ थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संघ र सरकार दुबै सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकी प्रदेशमा पनि सरकार हेरफेर हुने भएको छ । बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकीमा पनि यस्तो अवस्था आएको हो । निर्णयपछि प्रदेशका युवा तथा खेलकुदमन्त्री पन्चराम गुरुङले पार्टीको निर्णयलाई पालना गर्ने प्रतिक्रिया दिएका छन् । ‘धुम्बाराही बैठकबाट संघ र प्रदेशको सरकारबार बाहिरिने निर्णय भर्खरै भएको छ’ मन्त्री गुरुङ् भन्छन् ‘हामीले त्यसको पालना गर्दै बाहिरिने छौं ।’ यद्यपि, पार्टीको निर्णयभपछि प्रदेश कमिटीमा पनि अब छलफलमा बस्ने तयारी भइरहेको गुरुङले जनाए । प्रदेशमा राप्रपाका २ सांसद छन् । पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो। प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो। रास्वपाले सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिएको थिएन।
सुर्खेत: नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र हितमा चल्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालको राजनीति विदेशीको इसारामा चलेको छनक मिलेकोभन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको समेत हस्तक्षेप बढिरहेको चर्चा गर्नुभयो । ‘देशको राष्ट्रपतिजस्तो पदमा विदेशी हस्तक्षेप हुनु राम्रो होइन, राजनीतिक दलका नेताहरु यसमै रमाइलो मानेर बस्नु झन विडम्बनापूर्ण हो’ उहाँले भन्नुभयो । रावलले राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन्, त्यो विषयमा नेपालप्रति चासो र रुचि राख्ने कैयौँ मान्छेहरू चकित भएको समेत उहाँले चर्चा गर्नुभयो । देशको राजनीति राष्ट्रपतिको निर्वाचनमाजस्तो विकासका लागि तातेको भए देशमा ठूलो आर्थिक परिवर्तन आउँथ्यो उहाँले भन्नुभयो । कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनु नै देशको हितमा रहेको उहाँको भनाइ छ । तर अहिले सबै नेताहरु आफ्नो स्वार्थमा केन्द्रित देखिएको उहाँले टिप्पणी गर्नुभयो ।
काठमाडौं: नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमती भए पनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बौलदै उहाँले सो नाका सञ्चालनका लागि भारत सरकारसँग पनि आग्रह गर्नुभयो । सांसद गौतमले छोटी भन्सारहरुको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । छोटी भन्सारलाई अस्तव्यस्त बनाएर सरकार आफैंले चोरी पैठारीलाई प्रश्रय दिएको आशंका समेत उहाँले व्यक्त गर्नु भयो । ‘‘२७ अक्टोवर २००९ मा नेपाल–भारतबीच भएको वाणिज्य सन्धी अनुसार व्यापार र पारबहनका लागि गुलरिया–मूर्तिया नाका सञ्चालन गर्ने सहमती भएको थियो । तर, आज १४ वर्ष बितिसक्यो । म पनि यो संसदमा नौं वर्षदेखि छु । बारम्बार कुरा उठाउँछु । तर, अहिलेसम्म त्यो नाका सञ्चालन हुन सकेन सभामुख महोदय । त्यसकारण सभामुखमार्फत् मे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु चाहन्छु–र, भारत सरकारलाई पनि विशेष आग्रह गर्न चाहन्छु–यो नाका सञ्चालनमा तदारुकता देखाइयोस् ।,’’ सांसद गौतमले भन्नुभयो, ‘‘र, तत्काल यो नाका सञ्चालनमा आओस् । सीमावर्ती जिल्लाहरुमा धेरै छोटी भन्सारहरु छन । त्यो व्यवस्थिति छैनन् । आज छोटी भन्सारहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अस्तव्यस्त अवस्थामा छन । यसप्रति पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’’ सांसद गौतमले अर्थतन्त्र कमजोर भइरहेका बेला भन्सार कार्यालयको व्यवस्थापन गर्न पनि सरकार गम्भिर नभएको भन्दै आपत्ति समेत जनाउनु भयो ।
म्याग्दी: सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर होहल्ला, झै–झगडा र सामाजिक सद्भाव बिगार्नेलाई जरिवाना तिराउनेसमेत नियम बनाएका छन्। आमा समूहको अगुवाइमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने नियम बनाइएको छ। मगरदाङ आमा समूहले जनप्रतिनिधि र अगुवाहरूको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्यूनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो। समूहकी अध्यक्ष राजमती बुढाले जुवातास खेल्न र आयातीत मदिरा सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको बताउनुभयो। “हाम्रो गाउँभित्र आयातीत मदिरा बेचबिखन गर्न रोक लगाएका छौ,” उहाँले भन्नुभयो, “तोकिएको भन्दा अन्य समयमा घरेलु मदिरा सेवन गरेर होहल्ला, झगडा र अशान्ति फैलाउनेलाई जरिवाना तिराउछौँ।” संस्कारगत विवाह, छेवर, किरिया र घरमा साँझको समयमा मात्र गाउँमै उत्पादन भएको मदिरा प्रयोग गर्न छुट दिइएको छ। मगर समुदायको बाहुल्य रहेको मगरदाङमा २५० घरधुरी छन्। तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक पाँच हजार रुपियाँ, दोस्रो पटक दश हजार रुपियाँ र तेस्रो पटक पन्ध्र हजार रुपियाँ जरिवाना तिराएर प्रहरीको जिम्मा लगाइने मगरदाङ आमा समूहकी सचिव सुनिता पुनले बताउनुभयो। समूहले निर्णय कार्यान्वयनका लागि टोलटोलमा महिलाहरूको निगरानी समूह बनाएका छन्। मदिराको अव्यवस्थित सेवन तथा जुवातास र लागूपदार्थ दुव्र्यसनीका कारण उत्पन्न घरेलु हिंसा, सामाजिक सद्भावमा असर र विकृति नियन्त्रणका लागि महिला अग्रसर बनेका हुन्। आमा समूहको प्रयासमा वडाका जनप्रतिनिधि, राजनीतिक दल र देउताभीर युवा क्लबले पनि साथ दिएका छन्। गाउँ सभामार्फत उमेर समूहअनुसार मजदुरको ज्याला र कृषि उपजको मूल्य निर्धारण गरिएको छ। सबैभन्दा कम खेतालाको दैनिक चार सय रुपियाँदेखि अधिकतम हलगोरुसहितका हलीलाई प्रतिदिन एक हजार चार सय रुपियाँ ज्याला तोकिएको छ।
तीन हप्ताअघि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबारे चासो राख्दा नागरिक उड्डयन प्राधिकरण (क्यान)ले फेब्रुअरी २३ देखि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भएसँगै विदेशबाट जहाज आउने तयारी रहेको जानकारी दिएको थियो । क्यानले त्यसबेला आइएफआर जडानसँगै भुटाना वा चीनबाट जहाज आउने गृहकार्य भइरहेको जनाएपनि त्यसो हुन सकेन । अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न अझै लामो प्रक्रिया पुरा गर्नुपर्ने क्यानको जवाफ छ । विमानस्थल उद्घाटनको २ महिना हुनै लाग्दा अझै केही समय लाग्ने क्यानका डेपुटी म्यानेजर एवं सूचना अधिकृत ज्ञानेन्द्र भुल बताउँछन् । ‘नआत्तिनुहोस् न ! पसल खोलेका छौं, अब ग्राहक आउँछन्’ भुल भन्छन् ‘धैर्य गर्नुहोस्, पर्यटक बोकेर ठूलो जहाज छिट्टै पोखरा आउनेछ ।’ भुलका अनुसार विमानस्थल उद्घाटन हुनु भनेको पसल खोलेको हो । अब पसल हेर्न विदेश एयरलाइन्स कम्पनी पोखरा आउने तयारी भइरहेको छ । प्राधिकरणले जानकारी दिए अनुसार आइएफआर जडान भएपछि यहाँको विमानस्थल अवलोकन गर्न एयरलाइन्सको टीम आउनेछ । टीमले विमानस्थल, रनवे, प्रविधि, उपकरण र पर्यटनसँग सम्बन्धित पूर्वाधारको अध्ययन गर्नेछ । त्यसपश्चात्, विभिन्न एयरलाइन्सको टीमले उक्त अध्ययन प्रतिवेदन सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाएपछि बल्ल उडानबारे मिति घोषणा हुनेछ । चीनको अनुदान र रिनमा बनेको विमानस्थल भएकाले सर्वप्रथम चीनकै एयरलाइन्सले उडान थाल्ने सम्भाना अधिक भएको क्यानको विश्वास छ । ‘अबको २–३ हप्तामा चाइना साउथवेस्ट एयरलाइन्सको टीम अध्ययनार्थ पोखरा आउने पक्कापक्की छ’ भुलले भने ।
काठमाडौँ : वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् । बहराइनमा मंगलबार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिइन् । बहराइनका राजा अल खालिफाले डा. रुइतलाई १० लाख डलरबराबरको अवार्डसहित सम्मानपत्र प्रदान गरेका छन् । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका रुइतलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । अन्तिम ६ व्यक्ति तथा संस्थाको सूचीमा परेर रुइत छनोट भएका थिए । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । डा. रुइतले मोतियाबिन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले प्रतिष्ठानमा अन्धोपन हटाउन आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् ।
सुर्खेत: कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवान मृत भेटिएका छन् । बिहीबार बिहान करिब तीन बजेतिर प्रहरी जवान कवीन्द्र राम कामी गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार को दायाँ कन्चटमा गोली लागेको छ । गणको ४ नम्बर प्रहरी पोस्टमा कामीको बिहीबार बिहान एक बजेदेखि तीन बजेसम्मको ड्युटी थियो । आफूले प्रयोग गरिरहेको एसएलआर बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दार्चुलाको अपि नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरबन्दी भएका कामी केही महिनादेखि गणमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: सांसद् दीपक गिरीले सांसद्हरूले संसद्मा उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । गिरीले संसद्मा विषय उठाए पनि सरोकारवाला मन्त्रीबाट जवाफ नआएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले घोराही तुलसीपुर सडक खण्डको अवस्था विजोग भएको जानकारी गराए। गिरीले भने,‘घोराही तुलसीपुर सडक–खण्डको अवस्था विजोग छ । सुन्दैछु यो सडक निर्माण कार्यको ठेक्का पनि रद्ध हुँदैछ । सभामुख महोदयमार्फत् ध्यानाकर्षण गराउँछु की शून्य समयमा उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्छ ।’

