काठमाडौं : ग्यास सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा.चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो। उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ। क्रिटिकल केयर हेड डा.प्रदीप तिवारी,एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति,फ्लाइट डाक्टर इएमएस रोसन शर्मा,प्यारामेडिक्स इआर दिनेश राई,सागर महर्जन र राज तामाङ गएका हुन्। बुधबार राती आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घाइते आमा छोरा दुवैजनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको थियो। आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ। भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। नेता भण्डारीको २५-३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाण्डौंमा जारी छ । महाधिवेशनको तालिकाअनुसारका काम केही ढिलो भएपनि अहिले आकांक्षीहरुको अन्तिम नामावली सार्वजनिक भइसकेको छ । अध्यक्षको नेतृत्वमा दाबेदारी गरेका ५ मध्ये चारजना प्रतिष्पर्धामा छन् । जसमध्ये हालका महासचिव समिक बडाललाई आगामी अध्यक्षकारुपमा हेरिएको छ । नेतृत्वको होडमा बडालसँगै आरसी लामिछाने, मोती बिक र लोकश निरौला मैदानमा छन् । यता अध्यक्ष मण्डल भने सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने ध्याउन्नमा छ । सोही अनुसार अहिले मण्डलको बैठक जारी रहेको महाधिवेशनमा गण्डकीबाट सहभागी प्रतिनिधिले बताएका छन् । सहभागीमध्ये गण्डकी प्रदेशतर्फका खुल्ला केन्द्रीय सदस्य उम्मेदवार सुशन घिमिेर भन्छन्, ‘समिक बडालको सम्भावना बढी छ, यदि चुनाव भए बडाल र लामिछानेबीच प्रतिष्पर्धा हुनेछ ।’ अध्यक्षका अर्का प्रत्यासी वाङ्छु योञ्जनले बडाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । महाधिवेशन तालिका अनुसार आज साँझबाट निर्वाचन हुनेछ । यद्यपि, अध्यक्ष छान्न ‘टीकेप्रथा’ लागु हुने सम्भावना छ । तर सहमतिको अधिकतम प्रयासलाई टीकेप्रथा भन्न नमिल्ने गण्डकी प्रदेशबाट स्थायी कमिटी सदस्य पदका उम्मेदवार विश्वदर्शन पराजुली बताउँछन् । पराजुली भन्छन्, ‘अन्तिम नामावली सार्वजनिक भएपछि हामीहरु भोट मागिरहेका छौं, तर उच्चपदमा अध्यक्ष मण्डलले सहमति जुटायो भने त्यसलाई सकारात्मक मान्नुपर्छ, टीकेप्रथा भन्न मिल्दैन ।’ यद्यपि, सहमतिबाटै अध्यक्ष चयन गर्न कठिन हुने आशिर्वाद सुवेदी बताउँछन् । खुल्लातर्फ सचिवमा उम्मेदवारी दिएका सुवेदी भन्छन् ‘मुख्यतः लामिछाने र बडालबीच प्रतिष्पर्धा हुने सम्भावना छ, दुबैजना ब्याक हुने मनस्थितिमा छैनन् ।’ महासचिव पदमासमेत सहमतिको प्रयास भएपछि उम्मेदवार नरेश रोकायाले विरोध जनाएका छन् । विरोधपछि मतदानमार्फत महासचिव निर्वाचित हुने भएको छ । मंगलबारदेखि सुरु भएको महाधिेवेनमा देशभरका १६ सय बढी प्रतिनिधि सहभागी छन् । हालसम्म ४ स्थायी कमिटी सदस्य र ३५ केन्द्रिय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं : ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरिन्। कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो। काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए। प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पतालहुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालिएको थियो।
कास्की: गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका बिदाबारे निर्णय गरेको थियो । बिदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक बिदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिनसक्छ । गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषद्ले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैंमा बिदा दिने निर्णय गरेको थियो ।
राजविराज : बिरामी श्रीमतीलाई बलात्कार गर्ने एक युवकलाई कैद सजाय भएको छ। सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा डेरा गरी बस्ने २२ वर्षीय युवकलाई वैवाहिक बलात्कारको अभियोगमा एक महिना कैद सजाय भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलाशले कैद सजायका साथै ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्न लगाउने फैसला समेत सुनाएको छ। अदालतले दुवैको नाम गोप्य राखेको छ। उनीहरुले प्रेम विवाह गरेको बताइएको छ। मादक पदार्थ सेवन गरी नसाको सुरमा आएका श्रीमानले मुख थुनेर बलात्कार गरेको पीडितले बताएकी छिन्। बिरामी रहेको बताउँदै श्रीमानलाई रोक्दा नमानी गालीगलौज गरी गत साउन १९ गते बलात्कार भएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दिएकी थिइन्। प्रहरीले स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरेको थियो। जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलाशले भदौ १६ गते ३० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए। वैवाहिक बलात्कारलाई दण्डनीय बनाउन अधिवक्ता मीरा ढुंगानाले २०५८ सालमा रिट हालेकी थिइन्। जसमा सर्वोच्च अदालतले सरकारका नाममा २०५९ वैशाख १९ गते परमादेश दिएको थियो। परमादेशको चार वर्षपछि कानून बन्यो। लैंगिक समानता कायम गर्न ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन–२०६३’ मा मुलुकी ऐनलाई संशोधन गरी श्रीमान्ले गर्ने वैवाहिक बलात्कारमा ३ देखि ६ महीनासम्म कैदको व्यवस्था गरिएको थियो। त्यसपछि ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन–२०७२’ ले दण्ड–सजाय बढाएर तीनदेखि पाँच वर्ष पुर्याएको थियो। ऐनअनुसार वैवाहिक बलात्कारको उजुरीको प्रारम्भिक छानबिनबाट श्रीमतीलाई तत्काल वा मुद्दा किनारा नहुँदासम्म दुवै एकै ठाउँमा बसोबास गर्न नसक्ने अवस्था भए श्रीमानलाई तत्काल अलग बस्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ। ०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी अपराध संहिता ऐन–२०७४’ को दफा २१९ को उपदफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने उल्लेख छ। न्यूनतम कैद–सजाय नतोकी ‘पाँच वर्षसम्म’ उल्लेख भएकाले न्यायाधीशले एक दिन वा एक घन्टा मात्रै पनि कैद–सजायको फैसला गर्न सक्नेछन्।
टर्कीए: टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ । भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरिया सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्यम्सेवी संस्थाहरूले देशको राष्ट्रिय झण्डा आधा झुकाएका छन् । दुवै देशका भूकम्पपीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डाराइरहेका छन् । प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले जनयुद्ध दिवसको अवसरमा आज जारी गरेको सार्वजनिक बिदाप्रति कटाक्ष गरेका छन् । सरकारले बिदा दिएको केही घण्टापछि उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत ‘नेपालीले नेपाली मारेकोमा दिवस मनाउने ?’ भन्दै असन्तुष्टिी जाहेर गरेका हुन् । मिश्रले लेखेका छन् ‘जनयुद्ध दिवस ? निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ! - नेपालीले नेपाली मारेकोमा 'दिवस' मनाउने? - ४६/६२-६३ सालको आन्दोलनलाई 'जनआन्दोलन' भन्न मिल्छ, जतिबेला लाखौं नेपाली सडकमा निस्किए। - ४/५ हजार मान्छेले लुकेर मान्छे मार्दा त्यसलाई 'जनयुद्ध' भन्ने? त्यो केवल 'सशस्त्र विद्रोह' थियो। - यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्। - ठिक छ, यति तल गिर्नै थियो, गिर्दै छौँ। रसातलमा पुग्नै आँटेका छौँ। त्यसपछि यो राष्ट्रघाती 'विकृत अग्रगमन' को प्रदूषणकारी बत्ती आफैँ निभ्नेछ। अब धेरै धैर्य गर्नु नपर्ला !' उनको धारणाप्रति मिश्रित प्रतिक्रिया जनाइएको छ । यद्यपि, राप्रपाले भने बिदा विरुद्ध कुनै पनि आधिकारिक धारणा व्यक्त गरेको छैन ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा साढे ७९ लाख यात्रु आवतजावत गरेका छन्। विमानस्थल कार्यालयकाअनुसार सन् २०२२ मा ७९ लाख ५४ हजार ४८० जना यात्रु आवतजावत गरेका हुन्। हवाई यात्रामा यो संख्या हालसम्मकै धेरै हो। सन् २०२१ मा ३५ लाख २८ हजारले आन्तरिक र १४ लाख ५७ हजारले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । कोरोना माहामारीपछि भने हवाई यात्रु बढेको तथ्याङ्कले देखाउँछ। सन् २०२२ मा अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले यात्रा गरेका छन्। उक्त यात्रु बोक्नका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले एक वर्षमा त्रिभुवन विमानस्थलमा २४ हजार तीन सय १२ पटक उडान अवतरण गरेको तथ्यांकमा उल्लेख छ। त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ जनाले यात्रा गरेका छन्। यी यात्रु बोक्न आन्तरिक वायुसेवाहरूले एक लाख आठ हजार २०२ पटक उडानरअवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। कुन महिना कति यात्रु? तथ्याङ्कअनुसार अन्तर्राष्ट्रियतर्फ सन् २०२२ को जनवरीमा दुई लाख ८ हजार ४५, फेब्रुअरीमा एक लाख ८१ हजार ५६१, मार्चमा दुई लाख ५२ हजार ९६४, अप्रिलमा दुई लाख ५६ हजार ९४६, मे मा दुई लाख ९४ हजार ५०९ जनाले आवतजावत गरेका छन्। त्यस्तै जुन महिनामा दुई लाख ८० हजार १९१, जुलाईमा दुई लाख ७५ हजार ६२४, अगस्टमा दुई लाख ८१ हजार ६९६ जनाले यात्रा गरेका छन्। तथ्याङ्कअनुसार सेप्टेम्बरबाट यात्रुको संख्या तीन लाख बढी पुगेको छ। सेप्टेम्बरमा तीन लाख ३९ हजार १३४, अक्टोबरमा तीन लाख ६० हजार ७ सय, नोभेम्बरमा तीन लाख ६४ हजार ७२४ र डिसेम्बरमा तीन लाख ५२ हजार १३४ जनाले यात्रा गरेका छन्। त्यसैगरी आन्तरिकतर्फ सन् २०२२ को जनवरीमा तीन लाख ५० हजार ७४९, फेब्रुअरीमा तीन लाख ६३ हजार ८३५, मार्चमा चार लाख ३६ हजार १७९, अप्रिलमा चार लाख ११ हजार १४४, मे मा तीन लाख ९७ हजार ८०३, जुनमा तीन लाख ५५ हजार ३०४ जनाले यात्रा गरेका छन्। त्यस्तै जुलाईमा तीन लाख ३२ हजार ९०५, अगस्टमा तीन लाख ३३ हजार पाँचसय, सेप्टेम्बरमा थीन लाख ५६ हजार ३६४, अक्टोबरमा चार लाख २ हजार ५४५, नोभेम्बरमा तीन लाख ५३ हजार १०९ र डिसेम्बर महिनामा तीन लाख ७२ हजार ७१५ जनाले यात्रा गरेका छन्।
पोखराको महेन्द्रपुलमा भर्खरै एक निजी गाडीले सडक पार गरिरहेका ३ जनालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएका २ जनालाई उपचारार्थ नजिकैको अस्पताल लगिएको छ । अर्का एकको अवस्था भने सामान्य रहेको छ । सामान्य अवस्था रहेका पैदलयात्री वसन्त रसाइली हुन् । तीब्र गतिमा रहेको बा १३ च २६६२ नम्बरको पजेरोले पैदलयात्रीलाई ठक्कर दिएपछि पुलको बारमा गएर ठोक्किएको छ । पुलकाे बारमा ठोक्किँदा पजेरो नदीमा खस्नबाट बचेको छ । हाल चालकलाई नजिकै ड्युटीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको अवस्थाबारे केहीबेरमा जानकारी दिने प्रहरीले जनाएको छ ।