कालीकोट: कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा पलाँता अस्पतालमा सुत्केरी हुन नसकेका दुई महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले पलाँता गाउँपालिका– २ का ३० वर्षीया सुनखुट्का न्यौपाने र वडा नम्बर ३ का २० वर्षीया सुबिस्ता विकको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभयो । प्रजिअ अधिकारीका अनुसार फागुन १६ गते दुवै जना अस्पताल आउनुभएको थियो । उहाँहरूमा समस्या देखिएका कारण हेलिकोप्टरको व्यवस्था गरी उद्धार गरिएको बताउनुभयो । पलाँता अस्पतालमा दुवै जनाले बच्चा जन्माउन नसक्ने अस्पतालका डा. बिज कुमार महतले जानकारी दिनुभएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुर्खेत लगिएको छ । पलाँता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा पलाँता सरकारका प्रवक्ता तिलक बुढाले गाउँपालिका, चिकित्सक र जिल्ला प्रशासन कार्यालयको पहलमा दुई जना सुत्केरी हुन नसकेका महिलाको उद्धार भएको जानकारी दिनुभयो । उहाँले सहयोग गर्ने सबै प्रति धन्यावाद दिनुहुँदै आगामी दिनमा पनि राष्ट्रपति महिला उत्पादन कार्यक्रम अर्थात् सुत्केरी बचाउने राष्ट्रपति कार्यालयको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले हेलिकोप्टरमार्फत उद्धार भएलगतै प्रदेश अस्पतालमा अप्रेसन गरिएको जानकारी दिनुभयो । उहाँले साल पाठेघरको मुखमा अगाडि आएका कारणले गर्भवतीको ज्यान जाने खतरालाई मध्यनजर गरेर सुर्खेत पठाएको बताउनुभयो । सुर्खेत प्रदेश अस्पतालमा अप्रेसनपछि पेटमै परेका बच्चा निकालिएको छ । अप्रेसनपछि महिलाको अवस्था खतरा मुक्त रहेको आफूले जानकारी पाएको प्रमुख सुनारले जानकारी दिनुभयो । गत माघ २७ गते जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ७ की ३४ वर्षीया नन्दा विष्ट रावतको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । अप्रेसनपछि पनि रक्तश्राप नरोकिएपछि प्रदेश अस्पताल सुर्खेतमा नौ दिनपछि उहाँको यही फागुन ६ गते निधन भएको थियो । कालीकोटा पछिल्लो समस्या गर्भवतीमा महिलाको बच्चाभन्दा पहिला साल निस्कने वा पाठेघरको मुखमा आएर बस्ने समस्या बढिरहेका छन् ।
पोखरा र भद्रपुरबीच हवाई उडान हुने भएको छ । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर गौतम बरालले भन्नुभयो । उहाँले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिनुभयो । म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ । “पोखरा पर्यटकीय शहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ”, उहाँले भन्नुभयो । पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरुले छिटोे र आरामदायी यात्रामा रुची राख्ने हुँदा जति एयर कनेक्टिभिटि पर्यटकको चहलपहल पनि बढ्दै जाने बताउनुभयो । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवद्र्धन हुने उहाँको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताउनुभयो । योसँगै बुद्ध एयरले मार्च ९देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । अब हवाई उडानबाट ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा रू नौ हजार छ सय ८५ पर्ने जनाइएको छ ।
काठमाडौं: नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ । यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए । पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ । ‘भिजा आइसकेको छ । एक जना खेलाडी घाइते पनि हुनु भएको छ । हामीले प्रतिस्थापन मागेका छौं,’ उनले भने, ‘त्यहाँको आधिकारिक व्यक्तिबाट जानकारी आएपछि हामीले घाइते खेलाडीको नामसहित जानकारी दिनेछौं ।’ पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको हो । उनले भने, ‘आईसीसीमा हामीले सन्दीपको नाम अन्तिम १६ मा रजिष्टर गराइसकेका थियौं । अदालतले विशेष कारण खेल्न जाने अनुमति दिएको खण्डमा सन्दीपले खेल्न पाउने भन्ने कुरालाई आधार बनाएर हामीले सन्दीपलाई पठाउन लागेका हौं ।’ नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप यूएई जान पाएका थिएनन् । तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउन लागेको हो । नेपालले भोलि बिहीबार घरेलु टोली यूएईसँग तथा शुक्रबार र सोमबार पपुवा न्युगिनीसित खेल्दै छ ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापाले नेकपा एमाले सत्तापक्ष नै भएको प्रतिक्रिया दिएका छन् । एमाले मन्त्रीहरुले संघ सरकारबाट सामुहिक राजीनामा दिएपछि पुस १० गते नेकपा (माओवादी केन्द्र)सँग भएको सम्झौता टुटेको छ । यसै प्रसंगमा मन्त्री थापाले संघमा जे भएपनि गण्डकीमा एमाले नै सत्तापक्ष भएको दाबी गरेका हुन् । मन्त्री थापाले यथास्थितिमै प्रदेश सरकार रहनसक्ने सम्भावना भएको जिकिर गर्दै भने, ‘संघमा जे–जे भएपनि गण्डकी प्रदेशमा हामी सत्तामै छौ, रहन्छौं, माओवादी र एमाले सँगै छ ।’ तर माओवादी र एमालेबीच स्पष्ट विभाजन भइसकेको र सत्ता समीकरण विभक्त भइसकेको प्रसंगमा सरकारका प्रवक्तासमेत रहेका थापाले अब नेपाली कांग्रेस र एमालेबीच पनि तालमेल हुनसक्ने इंगित गरे । ‘त्यसो त माओवादी, राप्रपा र एमालेको सरकार छ यहाँ’ थापा भन्छन् ‘माथिबाट तीनै पार्टीले प्रदेशउपर निर्णय गरेको छैन, यसर्थ यही समीकरण नै सरकारमा हुने सम्भावना छ ।’ पार्टी हाइकमाण्डको निर्णय विपरित जान नमिले पनि प्रदेशको हितकाखातिर यहीबाट सरकारको खाका कोरिनसक्ने अभ्यास यसपटक हुनेमा उनको विश्वास छ । प्रदेश सरकारबाट एमाले बाहिरिए माओवादीसमेत बाहिरिनु पर्ने बाध्यता भएको उनको भनाई छ । प्रदेशमा राप्रपाले एमालेलाई साथ नछाड्ने भएपछि माओवादीले कांग्रेससँग सत्ता समीकरणार्थ छलफल गरिहाल्न सकेको छैन । यसबीचमा प्रदेश सरकारको भविष्य सबै पार्टीको केन्द्रीय निर्णयमा निर्भर रहनेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलबार मनाउने नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुकका रुपमा उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विकासका पूर्वाधार, जलविद्युत्, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेसा बिस्तारै लोप हुँदै गएको उल्लेख गर्नुभएको छ । “माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्बन्धलाई थप उजागर र स्थापित गर्नेछ”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ । वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ सङ्कल्पित रहेको प्रधानमन्त्री दाहालले सो सन्देशमा भन्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायका बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल गर्नुभएको छ ।
कास्कीमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांकलाई आधार मान्ने हो भने यहाँ पछिल्लो ६ महिनामा ७४ जनाले मृत्यु रोजेका छन् । जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या ६४ रहेको छ । त्यस्तै, हामफालेर ६ जनाले आत्महत्या गरेका छन् । प्रहरीको सूचनाअनुसार बाँकी ४ जनाले विष सेवन गरेको पाइएको छ । आत्महत्या बढ्नुका विविध कारण रहेको मनोचिकित्सक बताउँछन् । यसपछि पनि पाेखराकाे मालेपाटन र गैह्रापाटनमा १–१ जनाले आत्महत्या गरिसकेका छन् । बिजी हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ मनोचिकित्सक निर्मल लामिछानेका अनुसार आत्महत्याका कारण विभिन्न हुन्छन् । लामिछाने भन्छन् ‘कोभिडपछि नेपाली समाज केही विचलित भएको छ, त्यसयता आत्महत्या र मानसिक बिरामी बढेका छन् ।’ यद्यपि, मानिसले मृत्यु रोज्नुमा कुनै एकमात्र कारण हुन नसक्ने उनको ठम्याई छ । ‘मुलतः बिपीएस (बायो–साइको–सोसियल) आत्महत्याको कारक बन्न सक्छ’ लामिछानेले भने ‘यससँगै बेरोजगारी, आर्थिकरुपमा सम्पन्न हुन नसक्दाको पीडालगायतले आत्महत्या निम्त्याउँदैछ ।’ उनले बिपीएसलाई कुनैपनि व्यक्तिको पारिवारिक, मानसिक र सामाजिक अवस्था भनि व्याख्या गरेका छन् । कतिपय आत्महत्याको पछाडि बिपिएस नै मुख्य कारण रहेको र मेडिकल साइन्समा पनि पुष्टि भएको उनले बताए । लामिछाने भन्छन्, ‘पोखरामै आत्महत्या गरेका व्यक्तिको हिस्ट्री केलाउँदा पनि यिनै कारणहरु बढी पाइन्छन्’ त्यस्तै, समयमै मनोचिकित्सकबाट काउन्सिलिङ् लिनसके आत्महत्या रोक्न सकिने उनको धारणा छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति भएका हुन् । डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताए । सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा. शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए । ‘पाटन अस्पतालमा भएको साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु,’ डा. शर्माले भने । नेपालमा दुई विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गरेका डा. शर्मा नेपालका अब्बल चिकित्सकमध्येमा गनिन्छन् । डा. शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।
लेखनाथ: गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले विद्यार्थीलाई कितावी ज्ञानको साथमा व्यवहारिक र अन्तराष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा अपरिहार्य भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २७ तालचोक स्थित डायमण्ड माध्यामिक विद्यालयको ३५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई शनिबार सम्बोधन गर्दै, कुलपति गुरुङले शिक्षण संस्थाले बजारमा आपूर्ति हुने जनशक्ति उत्पादन गर्नेगरी गुणस्तरमा ध्यान दिन सुझाव दिए । उनले आफ्नो कुशलता देखाउने, योग्यता प्रर्दशन गर्ने, विचारहरु प्रस्तुत गर्ने नागरिकहरुको उत्पादनबाट शिक्षा क्षेत्र अघि वढ्नुपर्नेमा जोड दिए । कुलपति गुरुङले शिक्षाको क्षेत्रमा ठुलो लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्ने नीजि क्षेत्रलाई राज्यले सहजीकरण नगरेर उल्टो विभिन्न कर लिने गरेको बताए । उनले शिक्षण संस्थाहरुले समयानुकुल परिवर्तन हुँदै शिक्षालाई प्रविधिसँग जोडेर अगाडी लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले विज्ञान प्रविधिको प्रयोगमा जोड दिदै, विद्यार्थीहरुले त्यसको सहि सदुपयोग गरे नगरेको नियमन गर्न अभिभावकलाई सुझाव दिए । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य यम बहादुर रोकाले कास्कीकै पूर्विभेगको शैक्षिक केन्द्रको रुपमा विकास गर्ने गरी ३५ बर्ष अगाडी अग्रेजी माध्यमबाट अध्यापन गराउने उद्देश्यका साथ विद्यालयको स्थापना भएको उल्लेख गरे । प्राचार्य रोकाले २०५२ साल देखि एसएलसी परिक्षामा समावेश भएको विद्यालयबाट अहिलेसम्म झण्डै २ हजार २ सय विद्यार्थी उत्र्तिण भएको बताए । विद्यालयबाट झण्डै १ हजार २ सय विद्यार्थीले दश दुई जोड उत्र्तिण गरेको उल्लेख गर्दै, डायमण्डबाट उत्पादित विद्यार्थी हरेक क्षेत्रको प्रतिस्पर्धामा अब्बल रहेको बताए । उनले विद्यालयमा अध्ययन गरी झण्डै तीनसय चिकित्सक, चारसय इञ्जिनियर, विभिन्न विश्वविद्यालयमा अनुसन्धानकर्ता, चाडर्ड एकाउन्टेन र प्रशासनिक क्षेत्रमा जनशक्ति उत्पादन भएको बताए । संस्थापक प्राचार्य रोकाले विद्यालयमा अहिले १ हजार ५ सय विद्यार्थी अध्ययन गरीरहेको उल्लेख गर्दै, ९५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको बताए । विद्यालयको शैक्षिक सुधारका लागि कार्ययोजना प्रस्तुत गर्दै रोकाले आधारभूत तहको अध्ययनका लागि नयाँ भौतिक संरचनाको निर्माण गरिने, बालमैत्री वातावरणमा अध्यापन गराईने, सिर्जनात्मक प्रयोग र विद्यार्थीको अन्तरनिहित क्षमताका आधारमा कार्यक्रम समावेश गरिने उल्लेख गरे । यसैगरी विद्यार्थीहरुको स्वास्थ्य बिमा, ध्यान केन्द्रितका लागि योगा अभ्यास, स्वअनुशासनका लागि संस्कृत शिक्षाको पढाई, शैक्षिक महोत्सव, पढाई महोत्सव लगायतका कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख गरे । उनले शिक्षक र अभिभावकलाई विद्यालयको एप्स मार्फत जोडिएको उल्लेख गर्दै, रचनात्मक सुझाव दिन आग्रह समेत गरे । समारोहमा १० वर्ष भन्दा वढि सेवा गरेका शिक्षक शिक्षिका एवं कर्मचारीहरुलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा महेश्वर पण्डित, वुद्धिसागर अधिकारी, विकास लामिछाने, सम्झना लामिछाने, अनुराधा पौडेल, सम्झना सुवेदी, विनोद थापा, केदार अधिकारी र पवित्रा अधिकारी रहेका छन् । यसैगरी विक्रस सम्वत २०७६, ०७७ र ०७८ सालको एस इ ई र दश दुई जोड तर्फ सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पदम डायमण्ड अवार्डबाट सम्मान गरिएको थियो । फागुन १२ र १३ द्धिदिवशिय रुपमा विद्यालय प्राङ्गणमा आयोजित बार्षिकोत्सव कार्यक्रममा शैक्षिक प्रर्दशनी, फुड फेस्टीभल सहित विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रर्दशन गरिएको थियो । विगत तिन वर्ष देखी कक्षा ११ र १२ मा होटल म्यानेजमेण्ट कोर्षको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरुले सिकेका सिपलाई व्यवहारिक रुपमा उर्तानुपर्छ भन्ने ध्येयका साथ वार्षिक कार्यक्रम अनुसार नै फुड फेस्टीवलको आयोजना गरेको विद्यालयका निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायले वताए । विद्यालयका निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अभिभावक इन्द्रबहादुर थापा, भूतपूर्व विद्यार्थी राजकुमार थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा व्यवस्थापक हरि प्रसाद लामिछानेले स्वागत सञ्चालन शिक्षक नारायण पराजुलीले गरेका थिए ।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो। क्रिकेटर लामिछानेले युएइमा क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले लामिछानेलाई विदेश जान दिने आदेश भएको जानकारी दिए।

