काठमाडौं: अस्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टासम्म काम गर्न पाउने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा २० घण्टा मात्रै काम गर्न पाउँथे । नयाँ नियम जुलाई १, २०२३ बाट लागू हुनेछ । यस्तै, अस्ट्रेलियाले स्नातक र स्नातकोत्तर सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले पूर्ण रूपमा काम गर्न पाउने भिसाको समयावधि पनि थप गर्ने भएको छ । जसमा स्नातक सक्ने विद्यार्थीले दुईदेखि चार वर्षको पोस्ट स्टडी वर्क स्ट्रिम (पिएसडब्ल्यू) भिसा पाउनेछन् भने स्नातकोत्तर विद्यार्थीले तीनदेखि पाँच वर्ष र विद्यावारिधिका विद्यार्थीले चारदेखि ६ वर्षे पिएसडब्ल्यू भिसा पाउने छन् ।
काठमाडौं: नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् । सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् । बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेको स्रोतले बताएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।
म्याग्दी: राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधवार) पर्वतको जलजला गाउँपालिका स्थित धार्मिक पर्यटकीय बराह तालमा आउने हुनुभएको छ । बराह तालमा निर्माण गरिएको कुल मन्दिरको समुद्घाटन तथा धार्मिक एवम् पौराणिक महत्त्वको क्षेत्र हम्पाल कालञ्जरको अवलोकन गर्न राष्ट्रपति भण्डारी आउन लाग्नुभएको हो । बिहान ११ बजे राष्ट्रपति भण्डारी हेलिकप्टरबाट जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बराह तालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर जिल्ला स्थित सुरक्षा अधिकारी,राष्ट्रपति कार्यालयबाट खटिएको कर्मचारी सहितको सुरक्षा टोली,जनप्रतिनिधि र स्थानीयवासी सहितको समन्वय बैठक गरी व्यवस्थापकीय र सुरक्षालाई प्रभावकारी बनाइएको अध्यक्ष आचार्यले बताउनुभयो । राष्ट्रपति भण्डारीले बुधवार जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्र अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा निर्मित कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । साथै राष्ट्रपतिबाट समुन्द्र सतहदेखि तीन हजार मिटर उचाइमा रहेको पौराणिक–धार्मिक रूपले महत्त्वपूर्ण पर्यटकीय स्थल कालञ्जर हम्पाल(जलजला) क्षेत्र को हेलिकप्टरबाट अवलोकन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । पर्यटकीय सम्भावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठुलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगामी दिनमा महत्त्व बढेर जाने अपेक्षा गरिएको पालिका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । बराह तालको बिच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् । मन्दिर पुन निर्माणको मुख्य दाता रविन्द्र जंग लामिछानेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । मन्दिर निर्माण गर्न करिब डेढ करोड रुपियाँ खर्च भएको जनाइएको छ । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल प्राकृतिक रूपमा सुन्दर छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । जनै पूर्णिमामा लाग्ने विशेष मेलामा पर्वत सहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट पनि श्रद्धालु भक्तजन आउने स्थानीय युवा नवीन जिसीले बताउनुभयो । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो । राष्ट्रपतिको आगमनले यस क्षेत्रको महत्त्व बढेर जाने विश्वास गरिएको उहाँले बताउनुभयो ।
पोखराः सोमबार पोखरा विमानस्थलमा अवतरण गरिरहेकोबेला बुद्ध एयरसँग चिल ठोक्किएर झरेको भिडियो बाहिरिएपछि यसबारे सर्वसाधारणको जिज्ञासा बढेको छ । भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्टिने व्यक्ति इश्वर क्षेत्री हुन् । यस भिडियोको आधिकारिता खोज्ने क्रममा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका प्रमुखसँग सम्पर्क गर्दा उनले बुद्ध एयरको विमानसँग चिल ठोक्किएको अस्वीकार गरेका छन् । ‘सामाजिक सञ्चालमा भिडियो आएपछि सर्वसाधारणको जिज्ञासा बढ्नु स्वभाविक हो’, गौतमले भने, ‘हिजो सार्वजनिक भएको भिडियोबारे मलाई पनि जानकारी आएको थियो, हेरें तर कहिलेको हो, कहाँ हो, यसबारे कुनै रिपोर्टिङ छैन ।’ बुद्ध एयर पोखराका म्यानेजर गौतम बरालले भिडियोमा सत्यता नभएको दावी गरेका छन् । ‘जहाजसँग चराहरु ठोक्किए क्षति पुग्छ तर जहाजमा कुनै क्षति भएको देखिएन’, गौतमले भने, ‘हिजो काठमाडौंबाट पोखरा आएको जहाज पुनः काठमाडौं नै फर्केको छ, जहाजमा कुनै समस्या छैन ।’ सामाजिक सञ्जालमा भाइरल भिडियोमा भने जहाज उड्दै गर्दा दुई वटा गिद्ध वेगसँग झरेको देखिन्छ । भिडियोग्राफर क्षत्रीले भने घुम्न जानेक्रममा मोबाइलबाट जहाजको भिडियो खिच्नेक्रममा उक्त दृश्य कैद भएको सुनगाभा न्यूजसँग बताएका छन् । उनले भने, ‘मैले खिचिरहँदा जहाज क्रस भएपछि चीलजस्तो देखिने चरा रन्थनिँदै झरेको छ । जुन भिडियोमा प्रष्टै छ ।’ (भिडियोसहित)
दाङ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताएका छन् । राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे भने उनी खुलेनन् । लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ-देउखुरी पुगेका नेपालले पत्रकार भेटघाटमा राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताए । ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो, मैले नै आफैं के गर्ने भनेर सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भनेर सोचिसकेको छैन,’ उनले भने । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले मिडियामा आएका सबै कुरा सत्य नहुने बताए । यसबारे हतारमा केही नबोल्ने बताउँदै उनले भने, ‘प्रेसमा आएका कुराहरु सबै सत्य नै हुन्छन् भन्ने कुरा छैन । विभिन्न पक्षले केके अनुमान गर्छन् सुनौं, अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन । पर्दा भित्र नै रहनदिनुपर्छ, पर्दाभित्र नै रहोस् ।’ उनले अगाडि भने, ‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुको निम्ति मात्रै हामी सधैंभरी बलिदान हुने र अरुले चाहिँ त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’ के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा वृहत छलफलको आवश्यकता भएको उनले बताए । प्रतिनिधि सभा निर्वाचन अगाडि आफ्नो पार्टीलाई राष्ट्रपति उम्मेदवार दिन कांग्रेस र माओवादी सहमत भएको बताउँदै उनले त्यसै अनुसार सम्मानित नेता झलनाथ खनाललाई अघि सारेको जानकारी दिए । तर खनाल निर्वाचनमा पराजित भएकाले विभिन्न नाममा छलफल भइरहेको उनले बताए ।
काठमाडौं: सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत २०७६/०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा तत्कालिन इञ्जिनियर सरोज कुमार दाहाल र सब इञ्जिनियर नविन कुमार विसीविरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानका क्रममा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको पाइएकोले दुवैजनाविरूद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको जानकारी दिए। दुवैजनाले आपसी मिलेमतो गरी सडक निर्माणका योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा विवरण पेश गरी प्रतिवेदन समेत तयारी गरी मापदण्ड अनुसार सडक निमार्ण भएको भनी बदनियतपूर्वक काम गरेको पाइएको अख्तियारको ठम्याइ छ। पक्राउ परेका दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ।
जाजरकोट: जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थी बेहोस भएका छन् । गाउँपालिका–१ स्याप्रीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक दीपक खत्रीले कक्षा ९ मा अध्ययनरत जानकी विकलाई कुटपिट गर्नुभएको हो । शिक्षक खत्रीको कुटपिटबाट विक बेहोस हुनुभएको हो । साथीहरू सँग झगडा गरेको विषयलाई लिएर शिक्षकले छोरीलाई बेहोस हुने गरी कुटेको जानकीका बुवा वीरबहादुर लुहारको भनाइ छ । उहाँका अनुसार शिक्षकले कुटपिट गरेपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्जमा रहेको नर्सिङ्ग होममा उपचार भइरहेको छ । विद्यार्थी पिट्ने शिक्षक नचाहिने भन्दै विद्यार्थी तथा अभिभावकहरूले तत्काल विद्यालयबाट हटाउनु पर्ने माग राखेका छन् । शिक्षक खत्रीले विद्यालयमा गणित र विज्ञान विषय पठाउँदै आउनुभएको छ ।
काठमाडौं: वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन्। प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ। त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरूलाई विदेश पठाएको पाइएको छ। त्यसैगरी विदेश जान लागेको र मानव बेचबिखनको उच्च जोखिममा पर्ने देखिएका दुई सय ५० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्युरोको प्रहरी टोलीले फिर्ता गराएको पनि उनले बताए। यस्तै माघमा मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको आरोपमा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ। गएको एक महिनामा एक महिला र पाँच पुरुष गरी छ जनामाथि अनुसन्धान सम्पन्न गरी अदालतमा मुद्दा चलाइएकामा उनीहरू पूर्पक्षका लागि कारागार चलान भएका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिमा ०५६ सालदेखि सुदूरको बाजुराबाट पाइला चालेका रोकाया पोखरामा चर्चित बन्दै राजधानीबाट कोर नेतृत्वमा पुगेका छन् । त्यसो त साथीहरुले रोकायालाई ‘मरेर बाँचेको योद्धा’ भन्छन् । यसरी मरेर बाँच्नुमा ०६६ पुस ४ गतेको साँझलाई सम्झनुपर्छ । क्याम्पसको छात्रावासमा अखिल क्रान्तिकारीको समूहबाट निर्घाट कुटिएर उनी सेतीको खोंचमा फालिएका थिए । बाँच्ने आश मारिसकेका रोकायालाई अँध्यारोमा खाेचबा६ प्रहरीले उद्धार गरेपछि उपचारार्थ अस्पताल लग्यो । पोखरामा बचाउन नसकिने भएपछि राजधानी पु¥याइएका रोकाया त्यसपछि ८ महिना ह्विलचेयर र बैशाखीको सहारामा बिताएपछि पुनः विद्यार्थी राजनीतिमा फर्किएका हुन् । रोकाया हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय कमिटी महासचिवमा निर्वाचित भए । तर रोकायालाई महासचिवमा निर्वाचित हुन सजिलो भने भएन । अध्यक्ष मण्डलले महासचिव पद सहमतिमा टुंग्याउन खोजेपछि उनले बिहीबार विद्रोह नै गर्नुप¥यो । फलतः बाध्य भएर मतदान भएपछि रोकायाले ७ सय ३३ मत प्राप्त गरी विजयी भए । जीतपछि सुनगाभा न्यूजसँग रोकायाले भने ‘मेरो जीत समग्र विद्यार्थी आन्दोलनको जीत हो ।’ अबको विद्यार्थी राजनीतिको एजेण्डाबारे खुलस्त पार्दै रोकायाले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिको महाअभियानमा अखिलको शक्ति केन्द्रित हुने उनले जनाए । महासचिव रोकायाले भने ‘हामी गुणस्तरीय शिक्षाको आन्दोलनमै छौं, तर आन्दोलन रचनात्मक हुनेछ, अब हिँसा चल्दैन ।’ त्यस्तै, स्ववियु निर्वाचनमा पनि केन्द्रिय कमिटी खट्ने रोकायाले उल्लेख गरे । ‘हामी ०२२ सालदेखि प्रमुख विद्यार्थी शक्ति हौं’ रोकाया भन्छन् ‘अब हुने स्ववियु निर्वाचनमा हामी आफ्नो विरासत जोगाउने छौं ।'