पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

चितवन: चितवनका विभिन्न क्षेत्रमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो।   केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए।   मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए। यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ।   पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए।    सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ । कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ।    कुकुरलाई डीएचएलपीपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताए।    अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले बताए।   कुकुरलाई जन्मिएको छदेखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

बैंकले ब्याज बढाएर आर्थिक र मानसिक तनाव दिएको भन्दै व्यापारीहरु विरोधस्वरुप सडकमा उत्रिए पनि तत्कालै ब्याजको दर घट्ने सम्भावना न्यून छ ।    पोखरामा केही अघि उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीहरुले ब्याजदर नघटाए अर्थ मन्त्रालय र राष्ट्र बैंक घेर्ने चेतावनी दिएका थिए । बैंक तथा बित्तीय संस्थाले एकोहोरो ब्याज बढाएर धराशायी बनाएको आरोप लगाइरहँदा राष्ट्र बैंकले भने त्यसप्रति चासो राखेको पाइएन ।      बैंकले बढाएको ब्याजदर र व्यवसायीको आन्दोलनका विषयमा जिज्ञासा राख्दा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराले नारा, जुलुस वा कुनैपनि प्रकारको आन्दोलनले ब्याज घट्न नसक्ने बताएको छ ।    ‘हामीसँग अहिले सूचना अधिकारी हुनुहुन्न, मैले आधिकारिक धारणा राख्न नमिले पनि केन्द्रीय कार्यालयले यस विषयलाई गम्भीररुपमा लिएको छैन’ बैंकका एक उच्च अधिकारीले भने ।    उनका अनुसार कोभिडअघि लिएको रिनको ब्याज अहिले आएर बढाइएको भएपनि प्रतिशतकाआधारमा त्यसलाई ‘अधिक’ भन्न नमिल्ने उनको भनाई छ । ‘कोभिडअघि वाणिज्य बैंकले ११ प्रतिशत ब्याजमा रिन दिने गरेका थिए’ उनी भन्छन् ‘अहिले औसत ब्याजदर १२.७९ पुगेको छ ।’    ब्याजदर विरुद्ध देशभर आन्दोलन नै हुन थालेपछि वाणिज्य बैंकहरुले ब्याज कम गर्न छलफल भने चलाउन थालेको उनले बताएका छन् । उनले भने ‘बैंकहरुले श्रेणीअनुसार कम गराउन परामर्श सुरु गरेको जानकारी पाएका छौं ।’   हाल आर्थिक कारोबारमा ‘टर्नओभर’ नभएकाले व्यापारीहरुलाई रिन र ब्याजले तनाव दिएको बताउँदै उनले बैंकबाट लिइएको ठूलो राशी अनुत्पादक क्षेत्रमा लगानी भएको आशंका गरेका छन् ।    ‘बैंकको पैसा शेयर मार्केट र रियल स्टेटमा पुगेको देखिन्छ’ बैंकको अनुसन्धान शाखामा आबद्ध वरिष्ठ कर्मचारी भन्छन् ‘त्यहाँबाट पैसा थप रकम बटुलेर फर्कने सम्भावना छैन, अहिलेकै अवस्थामा बेचबिखन गर्दा झन् बढी घाटा छ ।’ त्यस्तै, सरकारले पूँजीगत खर्च गर्न नसक्दा पनि बजारमा पैसाको अभाव भएको बताउँदै उनले सोही कारण व्यापारीहरु तनावमा परेको टिप्पणी गरे ।    अनुसन्धान अधिकारीले बजारमा पैसा नभएको ३ प्रमुख कारण बताइरहँदा बैंकको केन्द्रीय कार्यालयअन्तरगत बैंक तथा बित्तीय नियमन विभागका एक अधिकारीले अन्य कारणसमेत समावेश गरे ।    उनका अनुसार वाणिज्य बैंकहरुले विशेषतः व्यवसायिक कर्जा प्रवाहलाई प्राथमिकता दिन्छन् । जसको उद्देश्य देशको कूल गार्हस्थ उत्पादनमा टेवा पुगोस् भन्ने हो । तर वास्तविकता केही फरक पाइएको उनको भनाई छ ।    अनुसन्धान अधिकारीकै भनाइलाई आधार मान्ने हो भने वाणिज्य बैंकहरुले मुद्दती खातामा निक्षेपकर्तालाई दिएको ब्याजलाई मापन गर्दा तत्कालै ऋणीहरुलाई ब्याजदर घटाउन बैंकले दबाब दिन सक्दैन ।      मुद्दतिमा बढी ब्याज दिनुपर्दा केही वाणिज्य बैंकले ‘बेस रेट’ मिलाउन केही प्रतिशत ब्याजदर बढाएर लिने गरेको पाइएको उनले उल्लेख गरे ।     ‘राष्ट्र बैंकको १८ विभाग छन्, विभागले रिन दिने संस्थामात्र हैन, रिन लिनेमाथि पनि अध्ययन÷अनुसन्धान गरिरहेको हुन्छ’ उनले भने ‘पैसा अन्तै गयो, व्यापारिक क्षेत्रले लिएको रिनबाट जिडिपीमा ०.२ प्रतिशतमात्र योगदान छ, अब आफै बुझ्नुहोस् ।’   अध्ययन÷अनुसन्धानमा देखिए अनुसार व्यापारीहरुले बैंकबाट लिएको व्यावसायिक कर्जाबाट गाडी किनेको, छोराछोरीलाई विदेश पठाएको, घरजग्गामा लगानी गरेको पाइएको छ ।    ‘सबैलाई एउटै बास्केटमा हालेर भन्न खोजिएको हैन तर शहरोन्मूख क्षेत्रमा एउटा प्रयोजनकालागि लिएको रकम अन्यत्र लगानी गरेको पाइएको छ’ उनले भने ।    राष्ट्र बैंक सुत्रले त्यसो भनिरहे पनि ठ्याक्कै विश्वास गर्न कठिन भएको बताउँछन् नेपाल बैंकर्स एशोसियशन गण्डकी च्याप्टरका अध्यक्ष समीर केसी । ‘पछिल्लो समय हेर्दा त्यस्तो हो की जस्तो लाग्छ’ केसी भन्छन् ‘तर भनाइलाई पुष्टी गर्ने आधिकारिक तथ्यांक छैन ।’ यद्यपि विश्लेषण गर्दा गलत नै मान्न नसकिने केसी स्वीकार्छन् ।      एशोसियशनले जनाए अनुसार बैंकहरुबीच ब्याज कति घटाउन सकिन्छ भनेर अनौपचारिक कुराकानी भने भएको छ । खुल्ला अर्थतन्त्रमा यति नै ब्याज लिने भनेर तोक्न नमिल्ने भन्दै उनले कोभिडकालमा तरलताकाकारण सस्तो भएको ब्याज अहिले केही बढेकै बताए ।   ‘व्यवसायीहरु पनि मर्कामा परेको एशोसियशनले महशुस गरेको छ’ केसीले भने ‘तर ब्याजदरको विषय राष्ट्रि«य मुद्दा हो, सरकार र राष्ट्र बैंकले नै पहल गर्नुपर्छ ।’ मुख्यतः स्थिर ब्याजदरको पोलिसी नबनुञ्जेल आगामी दिनमा पनि समस्या निरन्तर हुन सक्ने केसीको ठम्याई छ ।      सामान्यतयः आर्थिक मन्दीकै कारण समस्या निम्तिएको बताउँदै उनले समस्याको जड राष्ट्रिय नभई अन्तर्राष्ट्रिय भएकाले आर्थिक मन्दी छाएको बताए । 

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले सभ्य तरिकाले होली मनाउन आग्रह गरेको छ ।   हिन्दू धर्मावलम्बीहरुको ठुलो पर्व मध्यको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सम्पूर्ण कास्कीबासीमा आग्रह गरको हो ।   कास्कीले आत्मियरुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ । होली पर्वको नाममा अपराधिक क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ।   व्यक्तिको इच्छा विपरित रंग नदल्न, लोला नहान्न, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम नअसुल्न र सार्वजनिक स्थलमा हो–हल्ला नगर्न आग्रह गरेको छ ।   यदी कोही कसैले नियम उल्लघंन गरेमा कानूनबमोजिम कारबाही गरिने र कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं. १०० मा खबर गर्न समेत जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।  

काठमाडौं:  प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डसँग निजी क्षेत्रले बैंक ब्याजदर र डिजेलको मूल्य घटाउन माग गरेका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्रीले बोलाएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग राखेका हुन् ।   बैंकको ब्याजदर घटाउन र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटाएर लगानी मैत्री वातावरण बनाउन आग्रह गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले बताए ।   बैंक ब्याजदर महँगो हुँदा लगानीको वातावरण बिग्रिएको र त्यसलाई महँगो डिजेलले थप मलजल गरेकोबारे प्रधानमन्त्री प्रचण्डलाई अवगत गराइएको उनले बताए ।   ‘बजारमा वस्तुको माग छैन, माग नहुँदा बैंकको ऋण र ब्याजको चक्र बिग्रिएकोबारे प्रधानमन्त्रीलाई जानकारी गरायौं,’ अग्रवालले भने, ‘यसका लागि लगानीको वतावरण बनाउनु पर्छ । लगानीको वातावरण बनाउन बैंक ब्याजदर र डिजेलको मूल्य घटाउनु पर्छ ।’   अग्रवालकाअनुसार परिसंघले डिजेलको मूल्य लिटरमा १० रुपैयाँले घटाउन र बैंक ब्याजदर सरकारले परिस्थिती हेरेर काबुमा राख्न सुझाएको छ ।   छलफलमा प्रधानमन्त्री प्रचण्डले वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका थिए ।   प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु सहभागी थिए ।   यस्तै निजी क्षेत्रकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लागयत बैठकमा सहभागी थिए ।

काठमाण्डौ:  भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो। होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले बताउनुभयो । उहाँका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ । प्रहरीको १०० नम्बरमा फोन  गर्दा पैसा लाग्दैन । यो नम्बरमा गुनासो आउने बित्तिकै सम्बन्धित ठाउँमा प्रहरी पुग्ने उहाँले बताउनुभयो । यसैगरी होलीलाई लक्षित गरी भोलि ठाउँठाउँमा चेकपोइन्टहरु पनि राखिने छ । मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले जानकारी दिनुभयो । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो । पछिल्ला केही वर्षदेखि होली पर्व संयमित तरिकाले मनाउने गरेको पाइन्छ । तर, पनि सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो । होली पहाडी जिल्लामा भोलि र तराईमा पर्सि मनाइँदैछ । 

काठमाडौं : अछाम जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ : ३५ बजे भूकम्प गएको हो।    केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। अछाम आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।   यसअगाडि आजै बिहान ८ :०३ बजे काभ्रेको नमोबुद्ध नगरपालिकाको दाप्चा केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

काठमाडौँ: थोलेदेम्वा अल्ट्रा ट्रेल रेस (४२ किलोमिटर) को उपाधि पुरुष तर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिला तर्फ जुम्लाकी सानुमाया बुढाले हात पारेको छ । बिहीबार सम्पन्न दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो ।    पर्यटकीय क्षेत्र पिके डाँडा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुने म्याराथनमा केन्या र इङल्याण्डका खेलाडीले समेत दौडमा सहभागिता जनाएको थियो ।    प्रतियोगितामा पुरुष तर्फ भोजपुरका तीर्थ तामाङ द्धितिय हुनु भएको थियो भने सोलुखुम्बुकै अर्जुन कुलुङ तृतीय हुनु भएको थियो । यता महिला तर्फ भने जुम्लाकै मञ्जु रावत द्धितिय र खोटाङकी प्रिया राई तृतीय हुनु भएको थियो ।    प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यले स्थानीय विजेताका लागि समेत पुरस्कारको व्यवस्था गरिएको थियो उक्त प्रतियोगितामा पुरुष तर्फ त्रृति राई प्रथम, रवीन्द्र तामाङ द्धितिय र देवराज तामाङ तृतीय हुनु भएको थियो भने महिला तर्फ पदमकुमारी सुनुवार प्रथम, खिनुमाया भुजेल द्धितिय र अनिता सुनुवार तृतीय हुनु भएको थियो ।    ओखलढुङ्गा पर्यटन विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा खिजीदेम्वा गाउँपालिका ओखलढुङ्गा र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको थियो । पर्यटन गन्तव्यको प्रवर्द्धनसँगै साहसिक खेलबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यसँगै खेलाडी उत्पादन गर्न प्रतियोगिता वार्षिक रूपमा आयोजना गर्दै आएको स्थानीय एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिनुभयो । अल्ट्रा रेस पाँच हजार मिटरको उचाइ सम्म रहेको थियो । विजेता खेलाडीहरूलाई ७० हजार, ५५ हजार र ४५ हजार नगद सहित मोडेल, प्रमाणपत्रले सम्मानित गरिएको शेर्पाले जानकारी दिनुभयो ।     

बिहीबार मध्यरातमा गण्डकी प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएपछि प्रदेश सभा नियमावलीका काम अधुरै रहेको छ ।    सरकारको सिफारिशमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम हिउँदे अधिवेशनको अन्त्य गरेका हुन् ।      नियमावली निर्माण गर्न संसदले समिति निर्माण गरेपनि सुक्ष्म ढंगले अध्ययन गरी १५ दिनभित्र काम सक्न असम्भव देखिएको छ । समिति गठन गरिएपनि नियमावली निर्माणार्थ विषयगत समितिहरु गठन गर्नुपर्ने हुन्छ, तर त्यो कामसमेत बाँकी राखेर प्रदेश सभा अधिवेशन अन्त्य भएको छ ।    संसदले निर्माण गरेको समितिलाई नियमावली तयार पार्न फागुन मसान्तसम्म समय दिइएको छ । निर्धारित समयभित्र काम पुरा गर्न आवश्यक विषयगत समिति गठन हुन नसकेका कारण सभालाई आगामी दिनमा आवश्यक काम गर्न कठिनाई हुनेछ ।    सभाले ५ वर्ष बिताइसकेको छ । यसअघि जनस्तरबाट गरिएका प्रश्न र आलोचनाबाट बच्न नियम कानून निर्माण पहिलो प्राथमिकतामा’ भन्दै उम्कने गरेको प्रदेश सरकार पुनः सोही काममा अल्झिएको छ ।    प्रदेशमा नयाँ सरकार बनेपछि अधिवेशनअन्तरगत १६ वटा बैठक बसेपनि आफु अनुकुल ४ विधेयक पारित गरेको छ । जसमध्ये प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त व्यवस्था गर्न पारित विधेयकको आलोचना गरिएको छ ।    संघ सरकारबाट नेकपा एमाले बाहिरिएपछि त्यसको असर गण्डकी प्रदेशमा पनि परेको छ । सोही कारण यहाँ अहिलेकै समीकरण रहने÷नरहने अनिश्चित भएपछि त्यसको सिधा असर प्रदेश सभा नियमावली निर्माणमा परेको छ ।    प्रदेश सरकार सहि ट्रयाकमा चलेनः पाण्डे   हठात् अधिवेशन अन्त्य गरिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकार सहि ट्रयाकमा नहिँडेको प्रतिक्रिया दिएका छन् ।    ‘अधिवेशन अन्त्य गर्ने बेला भएकै थिएन’ नेता पाण्डे भन्छन् ‘संसदमा धेरै बिजनेश थिए, पुरा गर्नैपर्ने थियो ।’ पाण्डेका अनुसार मुख्यमन्त्री खगराज अधिकारीले आफ्नै योजना र दिमाग अनुसार काम गरेर अधिवेशन अन्त्य गरेका हुन् ।    सरकार फेरबदल हुने वा नहुने विषय फरक भएको धारणा राख्दै उनले संसदलाई गतिशील बनाउन नसकेको टिप्पणी गरे ।    ‘मुलतः २ वटा महत्वपूर्ण काम बाँकी थियो । र, गर्नैपर्ने थियो’ पाण्डेले भने ‘पहिलो प्रदेशसभाको विषयगत समिति गठन र दोस्रो, मसान्तसम्म नियमावली अनुमोदन ।’   हाल सभाका समितिले यही विषयमा काम गरिरहेको थियो भन्दै उनले समितिलाई नै निष्क्रिय बनाउने उद्देश्यले हठात् अधिवेशन अन्त्य गर्नु संसदको हितमा नभएको भनाई राखे ।    फागुन अन्त्यसम्म राष्ट्रपति निर्वाचन र सरकारको टुंगो लाग्ने भएकाले यसबीच अधिवेशन र अन्य कामकारवाही निरन्तर हुनैपर्ने उनको जिकिर छ । पाण्डे भन्छन् ‘तर त्यसो हुन सकेन ।’   ‘सरकार त आउँछ, जान्छ खासै ठूलो विषय होइन तर संसदलाई सक्रिय बनाइराख्न पनि अधिवेशन टुंग्याइहाल्न हुन्न थियो’ उनको सटिक टिप्पणी छ ।  

कालीकोट:  कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा पलाँता अस्पतालमा सुत्केरी हुन नसकेका दुई महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ ।   कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले पलाँता गाउँपालिका– २ का ३० वर्षीया सुनखुट्का न्यौपाने र वडा नम्बर ३ का २० वर्षीया सुबिस्ता विकको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभयो ।   प्रजिअ अधिकारीका अनुसार फागुन १६ गते दुवै जना अस्पताल आउनुभएको थियो । उहाँहरूमा  समस्या देखिएका कारण हेलिकोप्टरको व्यवस्था गरी उद्धार गरिएको बताउनुभयो ।   पलाँता अस्पतालमा दुवै जनाले बच्चा जन्माउन नसक्ने अस्पतालका डा. बिज कुमार महतले जानकारी दिनुभएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुर्खेत लगिएको छ ।   पलाँता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा पलाँता सरकारका प्रवक्ता तिलक बुढाले गाउँपालिका, चिकित्सक र जिल्ला प्रशासन कार्यालयको पहलमा दुई जना सुत्केरी हुन नसकेका महिलाको उद्धार भएको जानकारी दिनुभयो ।   उहाँले सहयोग गर्ने सबै प्रति धन्यावाद दिनुहुँदै आगामी दिनमा पनि राष्ट्रपति महिला उत्पादन कार्यक्रम अर्थात् सुत्केरी बचाउने राष्ट्रपति कार्यालयको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले हेलिकोप्टरमार्फत उद्धार भएलगतै प्रदेश अस्पतालमा अप्रेसन गरिएको जानकारी दिनुभयो ।   उहाँले साल पाठेघरको मुखमा अगाडि आएका कारणले गर्भवतीको ज्यान जाने खतरालाई मध्यनजर गरेर सुर्खेत पठाएको बताउनुभयो । सुर्खेत प्रदेश अस्पतालमा अप्रेसनपछि पेटमै परेका बच्चा निकालिएको छ ।   अप्रेसनपछि महिलाको अवस्था खतरा मुक्त रहेको आफूले जानकारी पाएको प्रमुख सुनारले जानकारी दिनुभयो । गत माघ २७ गते जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ७ की ३४ वर्षीया नन्दा विष्ट रावतको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।   अप्रेसनपछि पनि रक्तश्राप नरोकिएपछि प्रदेश अस्पताल सुर्खेतमा नौ दिनपछि उहाँको यही फागुन ६ गते निधन भएको थियो । कालीकोटा पछिल्लो समस्या गर्भवतीमा महिलाको बच्चाभन्दा पहिला साल निस्कने वा पाठेघरको मुखमा आएर बस्ने समस्या बढिरहेका छन् ।