पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौँ:  काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ ।  उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २३४ यूएस आईक्यूआई छ ।    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।    वातावरण विभागका अनुसार यो समाचार तयार पर्दासम्म बुधवार रत्नपार्कको यूएस आईक्यूआई १७३, भक्तपुरको २०७,  कीर्तिपुरको १८१  र नारायणीको २४२  देखिएको छ । आईक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम–२।५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौँमा यो मात्रा ४६ पुगेको पाइएको हो ।    यसअघि आइक्यूएयरले आफ्नो वेभसाईटमा प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौँ सन् २०२१ मा विश्वको छैटौँ प्रदूषित राजधानी बनेको थियो। आइक्यू एयरले नेपाल प्रदूषित मुलुकको १० औँ स्थानमा राखेको थियो। पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौँ प्रदूषित मुलुकमा परेको छ ।    वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम–२.५ को मात्रा २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौँ र तराईका सहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पुग्ने अनुमान वातावरण विभागको छ। वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार काठमाडौँमा यस वर्ष हिउँदमा पानी धेरै नपरेकाले पनि मौसम धमिलो वा तुवाँलो देखिएको हो। उनले भने, ‘यो अझै केही दिन लम्बिने देखिन्छ। गर्मी सुरु भएपछि तराईमा प्रदूषणको तह झन् बढ्ने देखिन्छ ।’

पोखरा:  आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका विद्यालयहरु तयारीमा जुटिरहेको बेला पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी समूह भने अदालत जाने तयारी गरिरहेको छ ।  स्वतन्त्र विद्यार्थी समूह (स्वविस)ले चुनावमा सहभागी हुन नाम दर्ता गरेपछि निर्वाचन समितिले आफुखुशी नाम परिवर्तन गरिदिएको भन्दै अदालतको ढोका ढक्ढक्याउन जान लागेको बताएको छ । समितिले नाम परिवर्तन गरी पृथ्वी विद्यार्थी मन्च राखिदिएको भन्दै स्वविसका सभापति दिप्सन गुरुङ्ले यसमा असहमति रहेको जनाएका छन् ।  स्ववियु निर्वाचनको लागि १९ गते स्वविसले नाम दर्ता गरेको र क्रम संख्या ‘९’ पाएको गुरुङले बताए ।  ‘निर्वाचन समितिले आफ्नो मनोमानी गरेको छ, कानुनी प्रक्रिया पुर्याएर  दर्ता गरेका हौ’ संयोजक गुरुङ् भन्छन् ‘हामिमाथि अन्याय भएको छ, निर्वाचन समितिले न्याय दिएन भने अदालत जानेछौँ ।’ २५ गतेसम्म निर्वाचन समितिले कानुनी प्रकृयाअनुसार निर्णय नलिएमा रिटको प्रकृयामा जाने गुरुङको चेतावनी छ । ‘यथाशीघ्र उक्त नामावली सूचिलाई सच्याउँदै पुनः संगठनको नाम प्रकाशित गर्न आग्रह गर्दछौँ, अन्यथा अदालत गुहार्न बाध्य हुनेछौं’ गुरुङले भने ।  नामै परिवर्तन गरेर दर्ता सूची प्रकाशन गर्नु निर्देशिकाको विपरित भएको स्वतन्त्र विद्यार्थी समूहका कोषध्यक्ष अभिषेक विष्टले बताए ।    ‘सत्यको जित अवश्य हुनेछ,’ विष्टले भने, ‘निर्देशिका विपरितको उक्त कार्यको हामि सशक्त प्रतिकार गर्ने छौं ।’   

के माटोले पनि श्वास फेर्छ ? माटोमा पनि जीवन हुन्छ ? माटो पनि मर्छ ? अनि माटोलाई बचाउँन उपचार गरिन्छ ?   प्रश्नको फेहरिस्त जवाफ दिँदै माटो विज्ञ सुनिल पाण्डे भन्छन्, ‘हो, माटोले श्वास फेर्छ, बिरामी हुन्छ र उपचार पनि गर्नुपर्छ ।’ पाण्डेका अनुसार माटो जीवित हुन्छ र मर्छ पनि । एकपटक मरिसकेको माटोलाई पूनर्जीवन दिन धेरै समय र खर्च लाग्ने पाण्डे बताउँछन् ।    माटो तथा मल परीक्षण प्रयोगशाला पोखरामा वरिष्ठ माटो विज्ञकारुपमा कार्यरत पाण्डेले परम्परागत खेतिपातिबाट बिस्तारै व्यावसायिक कृषितर्फ लाग्ने क्रम बढिरहे पनि सोही अनुसार कृषकहरुमा माटोसम्बन्धि ज्ञान नभएकोमा दुख व्यक्त गरे । उनका अनुसार ज्ञानको कमीले माटो मरुभूमि बन्दैछ, जसलाई पुरानै स्वरुपमा फर्काउन कठिन छ ।    थोरै जमिनमा धेरै उत्पादन लिन कृषकहरुले रासयनिक मलको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा ह्रास आउने गरेको विज्ञ पाण्डेको भनाई छ । हाइब्रिड र बेमौसमी खेती गर्दा माटो मर्दै गएको भन्दै पाण्डेले माटोको परीक्षण र उपचार अत्यावश्यक भएको सुझाए । ‘माटोबिना धर्तीमा जीवन छैन, यत्ति बुझिदिनु प¥यो’ उनको कथन छ ।      जनसंख्या वृद्धि र उच्च आयको लोभमा कृषकले कम्पोष्ट मलको कम प्रयोग गर्दा त्यसको असर मानव स्वास्थ्यमासमेत पर्दै गएको उनले जनाए । ‘माटोमा जस्तो तत्व छ त्यहाँबाट हुने उत्पादनमा सोही गुण हुन्छ’ पाण्डे भन्छन् ‘माटो अस्वस्थ वा दुषित छ भने त्यसले हाम्रो शरिरलाई दिने पनि त्यहि तत्व हो ।’     व्यावसयिक खेतीमा अत्यधिक मलखाद र माटोको गुण परीक्षण हुनैपर्ने उनको जिकिर छ । पाण्डेले भने ‘माटो कमसल भए उत्पादन कमसल हुन्छ, त्यसले शरिरलाई पोषण दिँदैन ।’ उनका अनुसार दिनानुदिन माटोमा अम्लीयपन बढिरहेको छ, जसको प्रमुख कारण स्वयं कृषक हुन् ।    प्रयोगशालाले हाल माटो परीक्षणार्थ घुम्ती सेवा सुरु गरेको र कृषकलाई सेवा दिन विभिन्न स्थान पुग्ने योजनाअनुरुप काम अघि बढाएको बताएको छ । जनचेतनाको अभावमा माटो परीक्षण हुन नसकेको भन्दै प्रयोगशालाले ल्याबसहितको बस प्रयोगमा ल्याएको छ ।    यद्यपि, माटो परीक्षणपछि त्यसको नतीजाअनुरुप कृषकलाई माटो उर्वर बनाउन दिइने सुझावको कार्यान्वयन भने हुन नसकेको पाण्डेले गुनासो गरे । ‘माटोमा चुनको प्रयोग, मलखादबाट बन्ने कम्पोष्ट मल, रासायनिक मल र अन्य प्राकृतिक उपाय सुझाउँछौ तर उहाँहरु (कृषक)ले उपचार पद्दति अपनाउनु हुन्न’ पाण्डेको भनाई छ ।    त्यसो त कृषकहरुले माटो परीक्षणमा रुचि नदेखाएपनि प्रयोगशालाले यस वर्षमात्रै किट र भ्यानबाट करिब ५ हजार नमुना परीक्षण गरेको दाबी गरेको छ । प्रयोगशालासँग अत्याधुनिक प्रविधि व्यवस्थापन गर्न असम्भव रहेपनि पोखराको प्रयोगशालाले चालु मेसिनबाटै परीक्षणलाई निरन्तरता दिएको छ ।      कुनैपनि बाली लगाउँनुअगावै माटो परीक्षणमा जोड दिँदै उनै पाण्डे भन्छन् ‘उन्नत जातको बिउँ–बिजन, खनजोत, पोटासियम, फस्फोरसलगायतका मल, सिँचाईको उचित प्रयोग गर्न सके हाल भइरहेको भन्दा २ गूणा बढी उत्पादन हुनसक्छ ।’   हाल स्थानीय निकायबाट व्यावसायिक कृषिका नाममा दिइने अनुदानले खासै सकारात्मक सन्देश दिन नसकेको उनको गुनासो छ । ‘छिमेकी मुलुक भारतमा किसानले माटो परीक्षण गरेको ‘सोइल टेस्ट रिपोर्ट’ पेश गरेपछि बल्ल प्राथमिकताका आधारमा अनुदान दिने गरिन्छ’ पाण्डेले भने ‘यहाँ निवेदनको आधारमा पैसा दिने गरिएको छ ।’   सरकारी अनुदान सही ठाउँमा पुग्नुपर्छ भन्ने उद्देश्यअनुरुप पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुखसँग छलफल चलिरहेको र माटो परीक्षणपछि उपयुक्त हुने खेतीमा सहयोग गर्ने नीति बनाइने पाण्डेले जानकारी दिए । 

काठमाडौं: नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) को ‘कोअर्डिनेसन व्युरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई कोअर्डिनेसन व्युरोको नेतृत्व प्रदान गरेको हो । एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारी औपचारिक हस्तान्तरण हुनेछ ।   मार्च ५ देखि दोहामा सुरु भएको उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।   सम्मेलनमा दाता वा साझेदारहरूले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्नेबारे ठोस आवाज उठाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारीक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा सम्मेलनले जोड दिएको पनि श्रेष्ठले जानकारी दिए ।   सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्याएको थियो । त्यसका लागि संयुक्त राष्ट्रसंघ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले सघाउनुपर्ने नेपालको जोड थियो । सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सन’ले पनि यिनै मुद्दाहरूको कार्यान्वयनमा विशेष जोड दिएको मन्त्री श्रेष्ठले बताए ।   सम्मेलनको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवम् पदाधिकारीसँग उपप्रधानमन्त्री श्रेष्ठले छलफल गरेका थिए । त्यसक्रममा अबको नेतृत्वका रूपमा नेपालले अतिकम विकसित वा गरिब राष्ट्रहरूलाई सबैको हितका निम्ति गोलबन्द गर्ने विश्वास निर्माण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।  

काठमाण्डाै:  नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड जितेका छन् ।   मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई 'स्पाेर्ट्स अवार्ड–२०७८' अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे ।   यस विधामा क्रिकेटका डेभ वाटमोर, भलिबलका जगदीश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए । बाँकी चार जना मनाेनीतलाई पछि पार्दै अलमुताइरीले अवार्ड जितेका हुन् ।    अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएकाे थियाे । अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि जितेको थियो ।

पोखरा:  जिल्ला ट्राफिक कार्यालय कास्कीले होली पर्वको दिन हिजो (शुक्रबार) ट्राफिक नियम उल्लघन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरेको जनाएको छ ।  पोखराको सिर्जनाचोक, चिप्लेढुङ्गा, लेकसाइड र हेम्जामा होली मनाउने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ५६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।    होलीको दिनमा कुनै अप्रिय दुर्घटना हुन नदिन ट्राफिक कार्यालयले १७ ठाउँ बढीमा सवारी चेकिङ गरेको थियो ।  कारबाहीमा पनर्मो मोटरसाइकल, स्कुटर, कार र जिप छन् । सवारी चालक अनुमति पत्र नभई गाडी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमताभन्दा बढि यात्रु राख्ने, तिव्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल/स्कुटर कुदाउँने लगायत सवारी कारबाहीमा परेका छन् ।  जसमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन,’ पाठकले भने, ‘धेरैले मादक पदार्थ सेवन गरेको, हेल्मेट नलगाएको, क्षमता भन्दा बढी सवार भएर यात्रा गरेको कारण बढी कारबाहीमा परेका छन् ।’ पाठकका अनुसार २०२ जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, १५४ जना हेल्मेट नलगाउने र क्षमता भन्दा बढी सवार गर्ने कारबाहीमा परेको छन् । भने ११९ जना पक्राउ परेका छन् ।  यसैबीच, हिजो मात्रै पोखरामा ८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।  घाइतेको हाल मणिपाल अस्पातालमा उपचार भईरहेको पाठकले बताए ।   

काठमाडौं:  आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ ।   एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यूएईमा सोमबार सकिएको लिग टु कै शृंखलामा नेपाल विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेका वासिमले नै कप्तानमा निरन्तरता पाएका छन् । उनले सीपी रिजवानलाई रिप्लेस गरेका हुन्   घरेलु मैदानमा खेलेको शृंखलामा रहेका ३ खेलाडी परिवर्तन भएका छन् । आलिसा शाराफु, राहुल भाटिया र सबिर अलीको स्थानमा अश्वन्त भल्थापा, आर्यंश शर्मा र जावर परिद टिममा समावेश भएका छन् ।   आर्यंशले यू-१९ विश्वकप छनोट खेलेका थिए । नेपाल यूएई र पपुवा न्युगिनी सम्मिलित लिग टू को अन्तिम शृंखला बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।   असद भालाको कप्तानीमा यूएईमै खेलेको पपुवा न्यु गिनीको टोली नेपाल आउने छ ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।  अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए ।   २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।   सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् ।     प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका थिए । तर, सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै उनीहरू सर्वोच्चमा पुगेका हुन् । सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ । 

काठमाडौं: नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले जारी पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।    यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान   २०७९ फागुन २३ गते (मंगलबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्गसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ।साथै  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।   राति ː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।      २०७९ फागुन २४ गते (बुधबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।    राति ː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।     २०७९ फागुन २५ गते (बिहिबार)   दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।     राति ː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।