अन्य दिनमा भन्दा शुक्रबारको साँझ लेकसाइडले मादक शैलीमा निम्ता दिन्छ पोखरेली र बाह्य पर्यटकलाई । यद्यपि, लाउञ्ज र बारहरुमा स्थानीय किशोर किशोरीको जमघट बढी हुन्छ । त्यसो त सबै उमेर समूहका ‘पार्टी गोएर्स’ भेटिन्छन् ताल किनारमा तर युवावस्थामा पाइँला राख्दै गरेका समूहको मस्ती लोभलाग्दो अनि ‘घातक’ छ । देशभर चल्तीमा रहेका रेष्टुरेन्ट, बार र लाउन्जहरुले किशोर उमेरका केटाकेटी र युवा युवतीमाझ खुल्लमखुल्ला मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य चुरोट एवं हुक्काको प्रचार प्रसार गरिरहेछ । सम्बन्धित व्यापारिक संस्थाले आफ्नो फेसबुक पेज र प्रायोजित पेजमार्फत देशैभर आकर्षक विज्ञापन र तस्बिरका माध्यमबाट गर्ने प्रचारले अचेल बार र लाउञ्जमा युवायुवती झुम्मिएको देखिनु सामान्य भएको छ । आयमूलक कर्ममा लाग्नु अगावै ‘पार्टी एनिमल’ बन्ने बाटोमा लाग्न यस्तै पेजहरुले उत्प्रेरक भूमिका खेलेका छन् । पोखराको लेकसाइड र पामे क्षेत्रमा खुलेका रेष्टुरेन्ट र बारहरुले सामाजिक सञ्जालमा छरपस्ट फिँजाएको तस्बिर हेर्दा त्यहाँ यस्तै उमेर समूहको बाहुल्यता देखिन्छ । यस्तै तस्बिरले उनीहरुको व्यापार, व्यवसायको प्रचारमात्र गर्दैन भर्खर युवावस्थामा लाग्दै गरेका समूहलाई पनि ‘लत’ बसाइरहेको छ । जुनसुकै व्यापार/व्यवसायलाई प्रवद्र्धन गर्न बिना विज्ञापन सम्भव छैन । विज्ञापनको संसारमा अहिले सामाजिक सञ्जाल अगाडी छ । यही सञ्जालको मुख्य प्रयोगकर्तामा युवा वर्गको बाहुल्यता छ । यही सञ्जालमार्फत आउने गर्छन् धुवाँ र मदिरामा लट्ठिएका युवा/युवतीहरुको तस्बिर । कपिलनाथ कोइराला अध्यक्ष, उपभोक्ता मञ्च गण्डकी प्रदेश सामाजिक सञ्जालमा प्रायोजितरुपमा आउने विज्ञापन र तस्बिरलाई निश्चित स्थान र उमेर समूहलाई लक्षित गरी प्रचारप्रसार गर्न मिल्ने हुँदा नचाहँदैमा कसैले त्यसलाई हेर्नबाट रोक्न मिल्दैन । सोही कारण यस्ता पेजहरु बढी प्रभावकारी भएका छन् । रेष्टुरेन्ट एवं बारका यस्ता प्रचारमूलक सामग्री आफुले पनि सामाजिक सञ्जालमा निरन्तर देखेको बताउँदै उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले यसलाई ‘जटिल विषय’को संज्ञा दिए । इन्टरनेटको माध्यमबाट आउने प्रायोजित विज्ञापनले एकातिर देशको पैसा बाहिरिने र अर्काेतिर सामाजिक क्षति बढ्ने उनको चेतावनी छ । ‘व्यवसायीले नाफा कमाउँदा सामाजिक र व्यक्तिगत घाटा बढेको छ’ कोइराला भन्छन् ‘विज्ञापनदाताले उपभोक्ताको स्वास्थ्यमा पारेको असरको क्षतिपुर्ति भर्नुपर्छ ।’ तस्बिर र भिडियोको प्रभावले उपभोक्ता कालान्तरमा दुव्र्यसनी भएको प्रशस्तै उदाहरण यही समाजमा भएको उनले दाबी गरे । सम्बन्धित निकायले विज्ञापन र व्यवसायको प्रकार र उसले गर्ने बजारीकरणको स्पष्ट मापदण्ड बनाउँन नसक्दा उपभोक्ताको स्वास्थ्यमा असर परेको बताउँदै उनले यस विषयमा जिल्लास्थित सरोकारवाला नियकासँग छिट्टै छलफल गर्ने बताए । बजार अनुगमन र नियमनलेमात्रै यस्ता प्रायोजित सामग्रीलाई रोक्न सकिने उनको ठहर छ । सामाजिक सञ्जालको प्रभाव सबैभन्दा बढी भएको स्वीकार्छन् वरिष्ठ मनोचिकित्सक निर्मल लामिछाने । ‘पहिले पहिले सञ्चारमाध्यममा रक्सी, चुरोटको विज्ञापन आउथ्यो’ लामिछानेले भने ‘सामाजिक र व्यक्तिगतरुपमा त्यसको दूरगामी असर परेको भएर नै रोकिएको हो ।’ निर्मल लामिछाने वरिष्ठ मनोचिकित्सक विश्वमै रोकिएको त्यस्तो विज्ञापन अहिले सामाजिक सञ्जालमा छरपस्ट हुनु चिन्ताको विषय भएको उनको ठम्याई छ । ‘सोसल मिडियालाई अनुशरण गर्ने, त्यहीबाट सिक्नेको संख्या ठूलो छ’ उनले भने ‘यही मिडियामा रक्सी र चुरोट सेवनको तस्बिरले युवावर्गलाई ध्वस्त बनाउँदैछ । ‘यस्ता पेज र विज्ञापन बन्द गर्नुपर्छ’ लामिछानेको सटिक भनाई छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ गुरुदत्त ढकाल भने यसमा नियमन गर्न आवश्यक भएको बताउँछन् । तर कसरी नियमन गर्ने भन्ने प्रश्नमा उनी लाचार सुनिए । प्रजिअ ढकाल भन्छन् ‘कम्पनी रजिष्ट्रार कार्यालय, कर कार्यालयले ठोस नीति बनाए सजिलो हुन्थ्यो, हामी शान्ति सुरक्षा दिने विषयमामात्र गम्भीर छौं ।’ प्रायोजित र लक्षित विज्ञापन सरकारी मापदण्ड विपरित भएपनि कुनै उजुरी नपरी एक्सनमा जान नमिल्ने ढकालको धारणा छ । व्यवसायीले कमसेकम मदिरा र सुर्तिजस्ता पदार्थको बिक्रीमा ‘वैधानिका प्रावधान’ उल्लेख गरेमात्रै पनि स्थिति भयावह नहुने केही अभिभावकाे धारणा छ ।
विराटनगर : लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृत विराटनगरबाट पक्राउ परेका छन्। भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१५ रानीस्थित १ नम्बर ढाटबाट असइ (प्रहरी सहायक निरीक्षक) घनश्याम लाखे पक्राउ परेका हुन्। उदयपुरको कटारी नगरपालिका-५ घर भएका ३० वर्षीय लाखे प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकलमा सवार थिए। लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार दिउँसो ४:२० बजेतिर मोटरसाइकल रोकेर चेकजाँच गर्दा १.५२ ग्राम ब्राउन सुगर फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए। उनका अनुसार इलामको प्रहरी चौकी कर्फोक दरबन्दी भएका लाखे इलामकै इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत रहेको खुलेको छ। ब्राउन सुगर बरामद भएसँगै असइ लाखेले चलाएको मोटरसाइकलको पछाडि बसेका इलामको माङ्सेबुङ गाउँपालिका-२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी एसपी राईले दिए। उनका अनुसार घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अघि बढाएको छ। ब्राउन सुगरको धन्दामा संलग्न रहेको पाइएपछि यसअघि गत मंगलबार पनि विराटनगरबाट नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका थिए। सुरुमा १ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका विराटनगर-१५ का २० वर्षीय नजाम खानले नाम लिएपछि हवल्दार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट भारतको जोगवनीदेखि नेपालतर्फ ब्राउन सुगर भित्राउन यादवले खानलाई भरियाको रूपमा प्रयोग गरेको खुलेको छ। विराटनगर-१४ मा बस्दै आएका यादव वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भई विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए।
पोखरा: माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ । माघको पहिलो हप्ता ठप्प रहेको विमानस्थलमा तेस्रो सातातिर आइपुग्दा यात्रुको सङ्ख्यामा वृद्धि भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालय प्रमुख विक्रमराज गौतमले विमानस्थल सञ्चालन अन्तर्राष्ट्रिय हवाई उड्डयन संस्था (आइकाओ) को मूल्य र मान्यताअनुरूप भएकाले जहाज चढ्ने यात्रुलाई ढुक्क भएर यात्रा गर्न आग्रह समेत गर्नुभयो । उहाँले दुर्घटना बाजा बजाएर आउँदैन, यसलाई भवितव्यको रूपमा लिनुपर्ने बताउनुभयो । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा हुने एयरलाइन्समा कुनै खराबी नभएकाले हवाई यात्रालाई सुरक्षित ठान्न उहाँले यात्रुहरूलाई आग्रह गर्नुभयो । पोखरा आउने पर्यटकको रोजाइमा हवाई यात्रा नै रहेकाले पर्यटन व्यवसायले पनि सहजीकरण गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ । ‘विशेषतः यो समय पोखरामा अफसिजन चलिरहेको छ, त्यसमा पनि विमान दुर्घटनाले यात्रुहरू घटाएको हो । मानिसमा मनोवैज्ञानिक असर परेर होला यात्रुको सङ्ख्या पहिलेको तुलनामा कमी नै छ’ प्रमुख गौतमले भन्नुभयो । पोखराबाट कुनै समय दैनिक ४ हजार यात्रुसम्म आवतजावत गरेको विमानस्थलको रेकर्ड छ । हिजो र आज यती एयरलाइन्सबाट यात्रा गरेर पोखरा आउनुभएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यात्रामा हुने भयलाई दूर गर्न आग्रह गर्नुभयो । यती एयरलाइन्सका पोखरा प्रमुख राम लामिछानेले आफ्नो कम्पनीमा यात्रुको चाप बिस्तारै बढ्दै गएकाले उडान सङ्ख्या थप्न लागेको बताउनुभयो । बुद्ध एयरका स्टेसन इन्चार्ज गौतम बरालले भोलिका लागि १२ वटा उडान तालिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा–काठमाडौँ, पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगञ्जका लागि उडान तालिका छ, जसमा ६० देखि ७० प्रतिशत हवाई यात्रु रहेका छन् ।’ सौर्य एयरलाइन्सका स्टेसन इन्चार्ज नवजित केसीले पोखराबाट जानेभन्दा काठमाडौंबाट आउनेको सङ्ख्या बढ्न थालेको बताउनुभयो । गत वर्ष जनवरीमा २ हजार ४ सय ८२ उडान सङ्ख्या रहे पनि समीक्षा अवधिमा यस वर्षको जनवरीमा १ हजार ८ सय ६७ उडान सङ्ख्या रहेका छन् । जसमा गत वर्ष ३२ हजार ७ सय ३० यात्रुले उडान भरेका थिए भने यस वर्ष २८ हजार ८ सय ६९ ले यात्रा गरेको विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीले जानकारी दिनुभयो । हवाई दुर्घटना भएपछि यात्रुको सङ्ख्यमा कमी आएकोमा माघको तेस्रो साताबाट भने पोखराको हवाई उडानमा यात्रुहरूको सङ्ख्या बढ्न थालेको सुवेदीले बताउनुभयो ।
काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ। लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै सर्वोच्चमा सरकारका तर्फबाट महान्यायाधीवक्ता कार्यालयले निवेदन दिएको थियो। सोही मुद्दामा आज पहिलो सुनुवाइ हुन लागेको हो। गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आजलाई तोकिएको हो। उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो। उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।
धनगढी: १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् । मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए । उनले भने, ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ ।’ २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो । फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो । नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् । तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्रन सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरुले कानुन अनुसार नै उनलाई पक्रेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको बताएको छ ।
धनगढी: तेह्र वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ । अदालत खुलेपछि उहाँलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । काठमाण्डौं जाने क्रममा हिजो नेपाल प्रहरीले बाँकेको कोहलपुरबाट उहाँलाई पक्राउ गरेको थियो । पक्राउ पर्नु भएका चौधरीलाई नेपालगञ्जबाट जहाजमा काठमाण्डौं र काठमाण्डौंबाट हिजो साँझ जहाजमै धनगढी ल्याइएको छ । चौधरीसँग नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ चौधरी पनि कैलाली आउनु भएको छ । २०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु २ त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए । ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिनु भएको थियो । प्रतिवादीको अनुपस्थितिमा २०७० वैशाख १० गते अदालतले फैसला गरेको थियो । अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो । १० वर्ष अगाडि नै अदालतले फैसला गरे पनि चौधरीसहित कसुरदार तीनै जनालाई पक्राउ नगरी फरार सूचीमा राखिएको थियो । यसबिचमा चौधरीले कैयौँ पटक चुनावसमेत लडिसक्नु भएको छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा उहाँ कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको थियो । नागरिक उन्मुक्ति पार्टीले ११ वर्ष अगाडि नै सरकार र तत्कालीन आन्दोरत थरुहट सङ्घर्ष समितिबिच भएको सहमति विपरीत मुद्दा चलाइ पक्राउ गरेको जनाएको छ । विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको थारु संयुक्त सङ्घर्ष समिति र नेपाल सरकारबिच २०६९ जेठ १० गते आठ १० बुँदे सहमति भएको थियो । जुन सहमतिको बुँदा ८ मा थारुहरूले चरणबद्ध रूपमा गरेको आन्दोलनको क्रममा पक्राउ परेकालाई निशर्त रिहा गर्ने, आन्दोलनको क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने र आन्दोलन रोक्ने सहमति गरिएको थियो । नेपाल सरकारको वार्ता टोली र थारु संयुक्त सङ्घर्ष समितिबिच भएको सम्झौता विपरित मुद्दा चलाएर दोषी ठहर गरी पक्राउ गर्ने कार्यको थरुहट÷थारुवान् राष्ट्रिय मोर्चा र थारु कल्याणकारिणी सभा कैलालीले विरोध जनाएका छन् । २०७२ साल भदौ ८ गते थारु समुदायका घर, व्यापारिक फर्म छानी–छानी जलाउनेलाई पक्राउसमेत नगरेको तर सरकार र आन्दोलनरत पक्षबिच मुद्दा फिर्ता गर्ने सहमति भएको घटनामा दोषी ठहर गरी पक्राउ गर्नु थारुमाथि राज्यको विभेद रहेको मोर्चा र सभाको ठहर छ ।
काठमाडौं: कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए । ‘कोहलपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीतर्फ लगिदैछ” उनले भने । अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । चालक साजन चौधरीले उनीहरुले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए । जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् । जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्यो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्यो । ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीलाई ६र६ महिनाको दरले कैद सजाय तोकियो । क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भयो । फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको छ ।
नागरिकता विवादबाट गृहमन्त्री खुस्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः पदमा पुग्न बालुवाटार र बालकोटको फेरो लगाउन व्यस्त छन् । सबैभन्दा बढी सोमबार र मंगलबार गरेको दौडधुपपछि पनि गृहमन्त्रीमा पुनर्बहाली नभएपछि उनले सामाजिक सञ्जालमा आफु ‘अभिमन्यू’ नभएको बताएका छन् । महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहमा परी मारिएका पात्र हुन्, अभिमन्यू । सोही पात्रलाई प्रस्तुत गर्दै सञ्जालमा लामिछानेले रनाहा पोखेका छन् । उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको महिना बितिसक्दा पनि आन्तरीक उडानमात्रै भएपछि पोखरेलीबीच कहिलेदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ ? भन्ने चासो बढेको छ । र, चासोसँगै उब्जिएका छन् आशंका पनि । यही चासो र आशंका चिर्ने दिन यही महिनाको २३ तारिख हुनेछ । सामान्यतयः कुनैपनि अन्तर्राष्ट्रिय उडानकालागि विमानस्थल सुरु भएको ४२ दिन कुर्नुपर्ने नियम पालना गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रबन्धक एवं सूचना अधिकृत ज्ञानेन्द्र भुल बताउँछन् । भुल भन्छन्, ‘विमानस्थल उद्घाटन हुनेबित्तिकै अन्तर्राष्ट्रिय उडान सुरु गर्न ४२ दिनको समयसीमा तोकिएको हुन्छ, त्यसपछि बल्ल उडान अनुमति पाइन्छ ।’ उक्त जानकारीसँगै भुलले सोही कारण पोखरा विमानस्थलको उद्घाटन गर्दा आन्तरीक उडानबाट सुरु गरिएको बताए । अन्तर्राष्ट्रिय नियमअनुसार फेब्रुअरी २२ तारिखमा समयसीमा सकिने र २३ देखि पोखरामा अन्तर्राष्ट्रिय विमान उत्रनेछ । पोखरा विमानस्थलमा हाल ‘भिज्युअल फ्लाइट रुल्स् (भिएफआर)’ पद्दति छ । तर अन्तर्राष्ट्रिय उडान भर्न ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स् (आइएफआर)’को व्यवस्था गर्नुपर्नेछ । यही पद्दति जडानकालागि समेत ४२ दिनको समय राखिने गरेको सूचना अधिकृत भुल बताउँछन् । यद्यपि, २३ तारिखमा कुन कम्पनीको हवाइजहाज पोखरा आउछ भनेर अहिले नै किटान गर्न नसकिए पनि यस दिन उडान निश्चित हुने भुलले ठोकुवा गरे । ‘प्राधिकरणको सम्पर्कमा आएका भुटान एयरलाइन्स र ड्रुक उडान गर्न आतुर छन्‘ भुलले भने ‘त्यस्तै, एयरबसमार्फत सेवा दिइरहेका वायुसेवाहरु पनि उडानका अनुमति मागिरहेका छन् ।’ निर्धारित दिनमा अन्तर्राष्ट्रियय उडान सुरु भएपनि निश्चित उडान तालिका अनुसार अर्थात् सेड्युल फ्लाइट भने हुनेछैन । सुरुवाति चरणमा चार्टर फ्लाइट हुने प्राधिकरणले सुनगाभा न्यूजलाई बताएको छ । चार्टर फ्लाइटले अन्तर्राष्ट्रियस्तरमा दिने सन्देश र बजारीकरण (मार्केटिङ्)ले पोखरा विमानस्थलमा नियमित तालिका अनुसार उडान हुन सघाउ पुग्ने भुलको विश्वास छ ।