स्याङ्जा: देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका–१, सिरुबारीमा एकै रात १३ ठाउँमा चोरी भएको छ। वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा चोरी भएको हो। राजास्वारादेखि सिरुबारीसम्मको दुई किमि दूरीभित्र चोरी भएको प्रहरी निरीक्षक पदमराज थापाले बताउनुभयो। चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यान दिएको देखिएको छ। बौद्ध गुम्बाको दान पेटिका लग्दा भित्र रहेका वर्षौंदेखिका पुराना बुद्धका मूर्तिमा भने केही नगरेको थापाले बताउनुभयो। चोरी गर्नेले तीन लाख ३६ हजार रुपियाँ नगदसहित, साढे १० तोल सुन चोरी गरेका छन्। सबैभन्दा धेरै सम्पत्ति पूर्णबहादुर गुरुङको घरबाट चोरी भएको छ। गुरुङ परिवार पोखरा गएको मौका छोपी मङ्गलसूत्र, चन्द्रमा, नौगेडी, चुरा, बेरुवा औँठी गरी साढे १० तोला सुन र नगद दुई लाख पाँच हजार लगेको थापाले बताउनुभयो। यस्तै वडा कार्यालयबाट ३० हजार रुपियाँ, पूर्णबहादुर बगालेकोबाट सीसीटीभी, मोनिटर र सीपीयू लगेका छन्। चोरले गङ्गाधर ढकालको किराना पसलबाट सात हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार नगद, लक्ष्मी शर्माको फेन्सी पसलबाट सात हजार नगद, कृष्णप्रसाद पौडेलको पसलबाट सात हजार, मित्रलाल अधिकारी र दिगो बहुउद्देश्यीय सहकारीबाट एक/एक हजार नगद, ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरी गरेका छन्। मान्छे नभएका घर र पसलबाट चोरी भएकाको कारण चोरी गर्ने नजिकैका वा चिने जानेकै मान्छे हुन सक्ने सक्ने वडा अध्यक्ष पवनकाजी अधिकारीले अनुमान गर्नुभयो। उहाँले आफ्नो वडा कार्यालयबाट देखिएको राजस्वको खाममा रहेको ८८ हजार नलगेको र अफिसका ल्यापटप, कम्प्युटर केही नगरेको बताउनुभयो।
पोखरा: लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष विच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई अनुरोध गर्नुभयो । कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता सुनारले यस कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा लिङ्ग र लैङ्गिकताको विाष्मा अधिवक्ता गिता कुमारी लामिछाने, महिलाको अवस्था र कानुनी व्यवस्थाको बारेमा अधिवक्ता लक्ष्मण शर्मा र लैंगिक हिंसाको परिचय, कारण र न्यूनीकरणमा महिला तथा पुरुषको भूमिकाको विषयमा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नम्वर ७ भित्रका विभिन्न टोल विकास, आमा समुह, युवा क्लव र महिला क्लवबाट करिव ४० जनाको सहभागिता रहेको थियो ।
काठमाडौं: पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटना परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उहाँले परिवारको नमुना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिनुभयो । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।
बिर्तामोड: झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा बिर्तामोडका २१ वर्षीय राजीव बस्नेत प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् । सुनको कारोबार गर्दै आएका झापा बिर्तामोड नगरपालिका ३ भगवान् चौकका कमल बस्नेतका छोरा राजीवलाई माघ ५ गते श्रीअन्तु घुम्न जान्छु भनी घरबाट निस्किएसँगै अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेत अपहरणमा परेका हुन् । प्रदेश नं। १–०१–०१५प ८०९६ नम्बरको स्कुटरमा घरबाट निस्किएका बस्नेतको केही क्षणमा नै फोन स्वीच अफ भएपछि उहाँको खोजी सुरु भएको थियो । साथीसँग घुम्न जाने भनेका कारण उनको खोजतलासमा केही ढिलाइ भए पनि प्रहरीको सक्रियताले उनलाई सकुशल मुक्त गर्न सकिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो । उहाँको अपहरण गरेर छोराको रिहाइका लागि ४ करोड रुपियाँ फिरौती मागेपछि प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको थियो । अपहरणकारीले राजीवलाई युवतीको प्रभावमा पार्दै अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणमा सहयोग गर्ने युवतीलाई पक्राउ गर्न सफल बनेसँगै राजीवको नजिक प्रहरी पुगेको थियो । अपहरणकारीको पहिचान खुले पनि अपहरणकारीले युवकको हत्यासम्म गर्न सक्ने भयले प्रहरी बढी सतर्क भएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । अपहरण गरेर भारतको मणिपुर लगिएको पाइएपछि भारत मणिपुर राज्यका प्रहरीसँगको समन्वयमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । सोही क्रममा अपहरणको मुख्य योजनाकारका रूपमा रहेका मणिपुरका राजु भण्डारीले पक्राउ पर्ने डरले किशोरलाई बिना सर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जङ्गलछेउमा छाडेको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो । व्यावसायिक साझेदार झापा बिर्तामोडका कमल बस्नेतबाट फिरौती असुलका लागि भारत मणिपुरका राजु भण्डारीले भाडाका मानिसहरू प्रयोग गरेर आफ्ना व्यावसायिक साझेदार बिर्तामोडका कमल बस्नेतका छोरा राजीवको अपहरण गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । मणिपुरका भण्डारीले बिर्तामोडका कमल बस्नेतसँगको लेनदेन मिलाउन उनका छोराको प्रयोग गरेर रकम असुल गर्ने योजना बनाएको पाइएको छ । भण्डारीकै योजना अनुसार उनले नेपालमा प्रतीक्षा योङ्हाङसँगको सल्लाहमा आफ्नो योजनालाई अगाडि बढाएको प्रहरीको भनाइ छ । सोही क्रममा प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका दीपिका लिम्बू र कौशिका लिम्बूलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरूले योजना सफल भएमा जनही २५÷२५ लाख रुपियाँ दिएर विदेश पठाइदिने आशा देखाएको पाइएको छ । विगत छ महिनादेखि योजना बनाएर कमलका छोरालाई युवतीको प्रेम जालमा पारेर अपहरण गर्न सफल बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणकारीले कमलका छोरा २१ वर्षीय राजीवलाई घुम्न जाने योजना बनाएर अपहरण गर्न सफल बनेको हुन् । यसै क्रममा माघ ४ गते पर्यटकीय क्षेत्र सालबारी झिल घुमेर ५ गने अर्को पर्यटकीय स्थल इलामको कन्याम घुन जाने भनी लगी एकाएक अपहरणकारीको फन्दामा राजीव परेको प्रहरीले जनाएको छ । युवतीको फन्दामा परि अपहरणमा परेका राजीवको परिवारसँग नेपालकै कुनै एक भूभागमा लगेर बन्धक बनाएर मणिपुर र नेपाली भाषामा फिरौती रकम माग्न सुरु गरेसँगै प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको थियो । अपहरणको मुख्य योजनाकारको पहिचान भएसँगै प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्ने योजना थाह पाएपछि मुख्य योजनाकार राजु भण्डारी बस्नेतलाई निःशर्त छोड्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरी अपहरणमा संलग्नमध्ये प्रतीक्षा योङ्हाङलाई बिर्तामोडबाट पक्राउ गर्न सफल भएको थियो भने उनी पक्राउ परेसँगै अपहरणका योजनाका बारेमा धेरै कुरा खुलेको प्रहरीको भनाइ छ । अपहरणमा भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम तथा चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीव्र बनाएको जनाइएको छ । प्रहरीका अनुसार आपराधिक समूह निकै ठूलो रहेकाले उक्त समूहको खोजी गरेर पक्राउ गर्नका लागि सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।
काठमाडौँ: नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकविरुद्ध प्रदर्शन गरेको छ । सोमवार काठमाडौँको माइतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोसाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरूले आतंक फैल्याउँदा व्यवसायीहरू पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरूले बताए । महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरूलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताए । उनले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्याएकाले व्यवसायीहरू मर्कामा परेको बताए । उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको बताए । उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको जिकिर गरे । त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरूका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताए । उनले बैंकहरुले ब्याजदर बढाएर आतङ्क मच्चाएकाले बैंकको आतङ्क रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको जिकिर गरे । उनले व्यवसायीहरूको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताए । उनले व्यवसायीहरूले उठाएका मागहरू सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरूले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरूलाई समेत राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाए । त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भए पनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाइन् । उनले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृत्ति लिएको बताइन् । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरूले व्यापार व्यवसाय नगरेको बताइन् ।
बेंसीसहर: लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थललाई ऐतिहासिक एवं पर्यटकीय स्थलका रूपमा विकास गर्ने भएको छ। मर्स्याङ्दी गाउँपालिका–३ ढँगैबेँसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रूपमा विकास गर्ने भएको हो। पर्यटन प्रववर्द्धनसँगै ऐतिहासिक स्थलको संरक्षणमा लागिपरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि प्रेमबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय ‘राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल स्मृति केन्द्र’ गठन गरिएको छ।
काठमाण्डौंः डिजिटल वालेट चलाउने इ–सेवाको नामबाट ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । ‘इ–सेवाको आधिकारिक कर्मचारी हुँ’, भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा काठमाण्डौंबाट शुभम साहलाई पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रौतहटको माधवनारायण नगरपालिका निवासी साहबाट ठगिएको भन्दै प्रेम बाँनिया, माधव लामिछानेलगायत ३३ जनाले कार्यालयमा उजुरी दिएपछि उनलाई पक्रउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् । कोइरालाका अनुसार साहले १६ लाख १३ हजार रुपैयाँ ठगि गरेको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । १९ वर्षीय साहले इ–सेवाको कर्मचारी भन्दै निवेदकहरुलाई खाता अपडेट गर्नुपर्ने भन्दै उनीहरुको मोबाइलमा पासवर्ड पठाई कोड नम्बर मागेर ठगी गरेको आरोप छ । प्रहरीले सुभमको साथबाट १ थान मोटरसाइकल, २ मोबाइल, १० थान सिमकार्ड, एटीएम कार्ड, नागरिकतालगायत बरामद गरेको छ ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सिकाइ उपलब्धीको अवस्था कमजोर रहेको बताएका छन्। शिक्षा पत्रकार सञ्जाल (इजोन)को अधिवेशन उद्घाटन गर्दै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षाको सिकाइ उपलब्धीको अवस्था कमजोर रहेको बताएका हुन्। शिक्षा मन्त्री खनालले भने, ‘विद्यार्थीहरूले कक्षा त चढेका छन् तर सिकाइसहित चढेका छैनन्। तल्ला कक्षालाई वास्ता नगरी एसईईलाई मात्र जोड दिँदा तल्ला कक्षाका विद्यार्थीको अवस्था नाजुक छ।’ विद्यालय तहमा सिकाइ कमजोर भएकाले उच्च शिक्षामा पनि त्यसको प्रभाव देखिन थालेको भन्दै शिक्षा मन्त्री खनालले शिक्षा सुधारका लागि आफू लागिरहेको बताए। खनालले संघीय शिक्षा ऐन अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए। शिक्षा मन्त्री खनालले अहिले पनि शिक्षकले चार महिनासम्म तलब नपाउने अवस्था रहेको भन्दै त्यसलाई अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताए। शिक्षा पत्रकार सञ्जालको अधिवेशनबाट रविचन्द्र पराजुली अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा सूर्यप्रसाद पाण्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी, कोषाध्यक्षमा मञ्जिमा ढकाल चयन भएका छन्। यस्तै, सदस्यहरूमा रुपेश आचार्य, अर्जुन पोखरेल, दीपक अर्याल, नुनुता राई, सुनिता लोहनी र दिनेश गौतम रहेका छन्। सञ्जालका अध्यक्ष प्रकृति अधिकारीको अध्यक्षतामा अधिवेशन भएको हो।
काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालेका छन् । गत शुक्रबार लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । सत्ता साझेदार दलबाट लामिछानेले गृह लिएपछि माओवादीले परराष्ट्र वा अर्थ मन्त्रालयमध्ये एक लिने तयारी गरेको थियो । प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्र मन्त्रालयमध्ये एक मन्त्रालय लिनुपर्ने व्यवस्था छ । तर, सत्ता साझेदार दलमा सबैलाई चित्त बुझाउनुपर्ने भएपछि माओवादी तीनमध्ये कुनै महत्वपूर्ण मन्त्रालय लिएन । गृह रास्वपाले लियो भने अर्थ र परराष्ट्र मन्त्रालय एमालेले लियो । अब गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिएपछि माओवादी लिने दाबी गरेको छ । प्रधानमन्त्रीलाई सफल बनाउनकै लागि पनि गृह माओवादीले लिनुपर्ने नेताहरुले बताएका छन् । तर, पार्टी सचिव एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले गृहमन्त्रीका विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर टुंगो लाग्ने बताए । ‘अहिले रविजीले राजीनामा दिएपछि गृृह मन्त्रालय प्रधानमन्त्रीज्यूले सम्हाल्नुभएको छ’ पौडेलले भने, ‘अब सत्ता साझेदार दलसँग छलफल गरेर टुंगो लगाउँछौं ।’ तर, रास्वपाले गृह मन्त्रालय आफ्नै पार्टीको हुने बताएको छ । गृहमन्त्रीमा को जाने भन्ने विषयमा पार्टीले निर्णय गर्ने सो पार्टीले जनाएको छ । अहिले प्रधानमन्त्रीले गृहसहित वन तथा वातावरण र खेलकुदमन्त्री आफैं राखेका छन् ।