पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौं:     साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ । विसं २०७५ असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनी जिआइटिसीररमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरिरहेको छ । निर्माण कम्पनीको म्याद अहिलेसम्म चारपटक थपिएको छ । कोरोना महामारीका कारणले मात्र दुईपटक म्याद थपिएको थियो । चारपटक थपिएको म्याद पनि गत पुस मसान्तमा सकिएको छ । धरहरा क्षेत्रका सबै संरचना निर्माणका लागि कम्तीमा पनि अझै एक वर्ष लाग्ने निर्माण व्यवसायी तर्फका आयोजना व्यवस्थापक सञ्जय नकर्मी बताउनुहुन्छ ।  हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ । टेन्डरमा नभएका काम पटकपटक थपिएको र टक्सार विभागको भवन भत्काउन सम्झौता भएको मितिले २२ महिना लागेकाले काम ढिलाइ भएको दाबी निर्माण व्यवसायी पक्षको छ । धरहराका विशेषता धरहरा टावर बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना बनिरहेको छ । जमिनमाथि भुइँतल्लासहित २३ तल्लाको धरहरा भने ठडिएको छ । समग्रमा धरहरा २५ तल्लाको बनेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब आठ करोड रहेको जनाइएको छ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३।८५ मिटर छ । भूमिगत तल्लासहित ९२।२५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।  धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तल्ला बाहिर २।५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भ¥याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ । वैशाख १२ गतेको धरहरा क्षेत्र विसं २०७२ वैशाख १२ गते शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएको धरहरालाई जस्तात्यस्तै छोपेर राखिएको छ । त्यस नजिकै धरहरा टावर ठडिन भने छ वर्ष समय लागेको थियो ।  विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो । २०७५ साल असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण सुरु गरेको थियो । गत वर्ष प्राधिकरणको अवधि सकिएपछि हाल यस क्षेत्रको निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभागले हेर्दै आएको छ । भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्ध भूमिगतसहित चारतले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ को काम पनि भइरहेको विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले जानकारी दिनुभयो । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ । धरहरा क्षेत्रमा तीनतले भूमिगत पार्किङको व्यवस्था गरिएको छ । जहाँ दुई सय ४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा ९भीमसेन स्तम्भ० लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ । सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ ।    धरहराको इतिहास विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१।८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाउनुभएको इतिहास छ । विसं १९१३ मा बज्र ९चट्याङ० ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो । यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ । हाल धरहरा टावरको काम भने सकिएको छ । ठडिएको टावर वरपरबाट तस्बिर खिच्ने भीड देखिन्छ । तस्बिर खिचिरहेका रामचन्द्र सुवाल भने धरहरा चढ्नका लागि खुला गरिदिए हुन्थ्यो भन्ने माग गर्नुहुन्छ । विभागले भने धरहरा क्षेत्रका सबै संरचनाको निर्माण नसकिएसम्म धरहरामात्र खुला गर्न नसकिने जनाएको छ ।

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्याङ्जा गल्याङ नगरपालिकाका तत्कालिन नगर प्रमुख भुपराज अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे,लेखापाल राजेन्द्र रेग्मी,आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौंका प्रतिनिधि शिवप्रसाद न्यौपानेलगायत ६ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अदुवाको बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन नगर प्रमुख अधिकारीले १३ लाख रुपैयाँ नगरपालिकालाई हानी पुर्‍याएको देखिएको अख्तियारको ठहर छ। अधिकारीसँग १३ लाख रुपैयाँ बिगो माग गरिएको छ। यसैगरी, तत्कालीन नगर प्रमुख अधिकारी,प्रमुख प्रशासनिक अधिकृत पाण्डे,तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी,लेखापाल रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेसनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी १ करोड ९७ लाख ७० हजार ४९९ रकम हिनामिना गरेको पाइएको अख्तियारले  जनाएको छ। यिनीहरुविरुद्ध सोही रकम बराबरको बिगो दावी गरिएको छ। अख्तियारका अनुसार अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौं र उक्त प्रालिका अख्तियार प्राप्त अधिकारी शिव प्रसाद न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिइ २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ हिनामिना गरेको पाइएको छ। प्रवक्ता भण्डारीका अनुसार आपूर्तिकर्ता स्पुक प्रालि र अख्तियार प्राप्त न्यौपानेलाई  ऐनको दफा ८को उपदफा ९४० बमोजिम सजाय माग गरी  २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगोसमेत जफत गर्न माग दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो।

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् ।  निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशीघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।  साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए ।  साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् । 

नुवाकोट: नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप दश लाख रुपैयाँ दिने घोषणा गरेको छ।  नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए।  स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ।  ‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छु, उनले भने, ‘मापदण्डमा रहेको सूचाङ्कका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ।’ शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ। विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य  कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपप्रमुख शिवप्रसाद दाहालको भनाइ छ। उनका अनुसार विद्यालयमा विद्युतीय हाजिर, पूर्ण दरबन्दी, ई–पुस्तकालयसहित प्रत्येक शैक्षिक सत्रको उपलब्धिलाई तथ्याङ्क र गुणस्तरीय मापदण्डको आधारमा मापन गरिने छ।  शिक्षाको विकासलाई नगरले प्राविधिक शिक्षा, प्रविधियुक्त शिक्षा र सीपयुक्त शिक्षालाई जोड दिएको छु, उनले भने, ‘शिक्षा सुधारका लागि विद्यालयलाई भौतिकरुपमा सम्पन्न, शिक्षक–कर्मचारी पर्याप्त र सरोकारवाला पक्षको सकारात्मक सहयोग जुटाउन कार्यक्रम ल्याएको हो।’ हाल बेलकोटगढी नगरभित्र १९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। 

सुर्खेत- वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्नराजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।   छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आज विहान साढे दुई बजे अनियन्त्रित भई सडकदेखि करिव ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।   घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा २७ बर्षिय सागर शाही, दैलेख डुङ्गेश्वर गा.पा.–५ बस्ने बर्ष ३३ का दिपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गा.पा.–५ बस्ने बर्ष ३१ को बविन शाही, दैलेख गराँस गा.पा.–३ बस्ने बर्ष ३६ को राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाई छ ।   दुर्घटनमा दैलेख भैरवी गा.पा.– ५ बस्ने बर्ष २६ को बिरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको हुँदा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ, आदिवासी जनजाति मध्ये बौद्ध धर्मालम्वीले मनाउने सोनाम लोसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रिय ल्होसार पर्व –२८५९ ह्योई–तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको कामना गर्नुहुँदै प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गर्नुभएको छ ।    शुभकामना सन्देश (पुर्णपाठ) तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई/तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु ।   नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन् । यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।   नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम -किसानहरूको_ ल्होछार पनि भन्दछन् ।   नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल—चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ÷संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।   ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्दछ । अन्तमा, फेरि पनि सोनाम ल्होछारले समस्त नेपालीहरूमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

पोखराः जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोपमा पुस २६ गते पक्राउ परेका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।    जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा वडाध्यक्ष अधिकारीलाइ शुक्रबार रिहा गर्न आदेश दिएको हो । सोही अनुसार उनी शुक्रबारनै धरौटी बुझाएर रिहा भएका हुन् ।   कास्की जिल्ला अदालतका न्यायाधिश ऋषिराज आचार्यको एकल इजलासले शुक्रबार वडाध्यक्ष अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जुन मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो । अधिकारी रिहा भएपनि उनको मुद्दा सकिएको छैन । हाललाई थुनामा राखेर कारवाही अगाडी बढाउन आवश्यक नदेखिएको भन्दै उनलाई मुक्त गरिएको हो ।    जाहेरवालाले अभियुक्त अधिकारीलाई थुनामा राखेर कारवाही अगाडी बढाउन माग गरेको थियो । सो मुद्धामा जाहेरवालाको तर्फबाट अधिवक्ताहरु शिव सुनार र कुञ्जनी परियार प्यासीले वहस गरेका थिए ।   सोही वडाका सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । 

पोखरा:  ब्रिटिसको लण्डन सदर्क काउन्सीलका मेयर सुनिल चोप्राले पोखराले पर्यटनको माध्यमबाट सम्बृद्धि हासिल गर्न सक्ने बताएका छन् ।  पोखरा महानगरपालिका वडा नं. २६ बाट प्रारम्भ हुने रोयल ट्रेकको विहिबार निरिक्षणका क्रममा मेयर चोप्राले पोखरा उपत्यकाका डाँडाबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिने उल्लेख गर्दै, पर्यटनका क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे ।    पत्नी भर्षा सहित पोखरा भ्रमणमा आएका मेयर चोप्राले विट्रिसका तत्कालिन युवराज चाल्र्सले समय विताएको पोखरा २६ को सिलिङ्गे ट्राईगर ट्रि मा स्थानीय जनप्रतिनिधिसँग यस क्षेत्रको विकासको संभावनाका बारेमा छलफल गरेका थिए । मेयर चोप्राले रोयल ट्रेकमा झण्डै एक किलोमिटर पैदलयात्रा गरेका थिए ।  सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले सिलिङ्गेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, रोयल ट्रेकको विकास एवं विट्रिसका राजा चाल्र्स थर्डलाई पुन एक पटक नेपाल भ्रमणको वातावरण मिलाईदिन आग्रह गरेका थिए । अध्यक्ष थापाले सदर्क नगर र पोखरा महानगरपालिकाको विचमा भगिनी संवन्ध स्थापना गरी कला र संस्कृतिको आदान प्रदान गर्न सकिने उल्लेख गरे ।  मेयर चोप्राको भ्रमणलाई पूर्व पर्यटन दुत एवं एभरेष्ट इन यू.के का अध्यक्ष पशुपति भण्डारीले सहजीकरण गरेका थिए ।  मेयर चोप्रालाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडा नं. १३ का अध्यक्ष किरण बराल, वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, वडा नं. २६ का जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, तिर्थबहादुर राजभाट, सुजता बराल सुनार, सुदिपराज ढुंगाना, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा स्थानीय वासिन्दा हरि अधिकारी, चन्द्रबहादुर रानाभाट, शिवबहादुर रानाभाट, चिनिया थापा, डम्बर बहादुर थापा, मदन बस्नेत लगायतले स्वागत गरेका थिए । मेयर चोप्रा दम्पतीले टाइगर टप रिर्सोटमा समेत केही समय बिताएका थिए । 

बागलुङ: ग्रामीण भेगका स्वास्थ्य चौकीमा रहेका प्रसूति कक्षमा वैकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा मोबाइलको बत्ती बालेर प्रसूति गराउनुपर्ने बाध्यता छ। नियमित प्रयोग हुँदै आएको स्थानीय स्तरमा उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेलाबेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता भएको हो।  विशेषगरी लाइन जाने समय वा कुनै कारणले विद्युत् अवरुद्ध हुँदा रातको समय सुत्केरी गराउन कठिन भएको गलकोट नगरपालिका–७, मल्ल स्वास्थ्य चौकीका इन्चार्ज अनिता कार्कीले बताउनुभयो। “विद्युत् जाने आउने समस्या हिउँदमा पनि हुन्छ,” उहाँले भन्नुभयो– “बर्खामा त झन् हप्तारदस दिन बिजुली नहुँदा धेरै कठिनाइ भोग्नुपरेको छ।”  सुत्केरी गराउँदै गर्दा बिजुली जाँदा असाध्यै कठिन हुने गरेको अनमी माधुरी नेपालीले बताउनुभयो। “व्याथाले च्यापेका गर्भवती सम्हाल्ने कि मोबाइल खोज्न जाने ?,” उहाँले भन्नुभयो– “कहिलेकाहीँ त बच्चा आधा जन्मेको बेला लाइन जान्छ, अँध्यारोमा परिस्थिति सम्हाल्न असाध्यै कठिन हुन्छ।” अनमी नेपालीले मोबाइलको लाइट बोलेर तीन जना सुत्केरी गराएको अनुभव सुनाउनुभयो। मल्म स्वास्थ्य चौकीमा केन्द्रीय प्रसारणको विद्युत् जोडिएको छ। यद्यपि बेलाबेलामा हुने विद्युत् आपूर्ति कटौतीले गर्दा प्रसूतिगृह जस्तो संवेदनशील कक्ष मर्कामा परेको छ।  स्वास्थ्य चौकीमा वैकल्पिक ऊर्जाको वा ब्याकअप व्यवस्थापन गर्न सके कठिन अवस्थामा सहज हुने स्वास्थ्य चौकी प्रमुख कार्कीको भनाइ छ। विद्युत्को वैकल्पिक व्यवस्थापन गर्न नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गरे पनि कार्यक्रम स्वीकृत भएको छैन। मल्म स्वास्थ्य चौकीमा यस वर्ष मात्रै १९ जना महिला सुत्केरी भएका छन्। बरेङ गाउँपालिकाको बाटाकाचौर स्वास्थ्य चौकीले पनि विद्युत् आपूर्तिको समस्या भोग्दै आएको छ।  स्वास्थ्य चौकीको प्रसूति कक्षमा वैकल्पिक ऊर्जा नहुँदा प्रसूतिको समयमा निकै कठिनाइ भोग्नुपरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख धर्म प्रकाश थारूले बताउनुभयो।  प्रसूति कक्षमा सुत्केरी अवस्थामा दुई जना महिला स्वास्थ्यकर्मीले नियमित काम गरे पनि बिजुली जान सक्ने अवस्थालाई ध्यानमा राखेर एक जना मोबाइल बाल्नका लागि बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।  वैकल्पिक ऊर्जाको व्यवस्थापन नभएका बागलुङका अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले यस्तो समस्या भोग्दै आएका छन्। स्थानीय तहको पहलमा केही स्वास्थ्य चौकीमा ब्याट्री व्यवस्थापन भए पनि अधिकांशमा छैन।   बरेङ गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले प्रसूति गृहको संवेदनशीलतालाई गम्भीरताका साथ लिएको बताउनुभयो। आगमी बजेट तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य निकायसँग समन्वय गरेर वैकल्पिक व्यवस्थापन गर्ने उहाँले बताउनुभयो।