चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

  काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो नीति तथा प्राथमिकतमा भूमिमा किसानहरूको सहज पहुँचको नीति ल्याउने भएको छ । साथै २ बर्षभित्र सुकुम्बासी समस्या सम्बोधनदेखि भूमिको वैज्ञानिक व्यवस्थापनमार्फत् यसको सही सदुपयोग गर्न र आवाससम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।  उपप्रधान तथा अर्थमन्त्री समेत रहेका विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सरकारको नीति तथा कार्यक्रमको मस्यौदामा ‘भूमिको डिजिटल नापी पूरा गर्ने, भूमिको प्रकृति, स्वरूप र सम्भावनाका आधारमा भूउपयोग गर्ने, निर्माण भइसकेका संरचनाको सम्भव सुधार र उपयुक्त विकल्पको योजनासहित भूउपयोग नीति र कानूनको कार्यान्वयन गर्ने उल्लेख छ ।  साथै पछिल्लो समय समस्याका रुपमा रहेको सार्वजनिक र सरकारी जग्गामाथिको अतिक्रमण हटाउने र रोक्ने नीति लिने भएको छ ।  ‘दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्ने, भूमि व्यवस्थाको संरचनामा अन्तरनिहीत समस्याहरूको दिगो समाधानका लागि ’राष्ट्रिय भूमि आयोग’ गठन गर्ने’, पौडेल नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ ।  सस्तो, सहज र भरपर्दो सञ्चार  सरकारले आधुनिक सञ्चारमार्फत् जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने, प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने नीति लिने भएको छ ।  यसका लागि सवैका लागि सूचना तथा सञ्चार सुविधा सस्तो, सहज र भरपर्दो बनाउने र फाइभ जी प्रविधि प्रयोगमा ल्याउने भएको छ ।  ‘इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने । डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने, सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने, विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निःशुल्क गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ ।  आधुनिक प्रविधिमार्फत् सेवाग्राहीले सेवा लिन घण्टौं लाइन बस्नुपर्ने वाध्यताको अन्त्य गर्ने, गैरकानुनी काम कारवाही र भ्रष्टाचार अन्त्य गर्न प्रविधिको अधिकतम सदुपयोग गर्ने, कृषिकार्य, बजार मूल्य सूचना, रोजगारीका अवसर, राज्यले दिने सहुलियत तथा मौसम तथा विपद्सम्बन्धी जानकारी नियमितरूपमा मोबाईल सुविधा, जनस्वास्थ्य, एपमार्फत उपलब्ध गराउने सरकारको लक्ष्य हुने भएको छ । ‘राष्ट्र, लोकतन्त्र, शान्ति, विकास र सामाजिक सद्भावप्रति जिम्मेवारीसहितको पूर्ण प्रेस स्वतन्त्रता कायम गर्ने । सञ्चार जगतलाई गरिमामय बनाउने र सञ्चारकर्मीहरूको हक हितको संरक्षण गर्ने’, मस्यौदामा समेटिएको छ ।

काठमाडौं:  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धनमा आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्छ । आज अन्तरिम आदेशबारे निर्क्यौल गर्न सर्वोच्चले दुवै पक्षलाई झिकाएको हो । शुक्रबारको इजलासले अन्तरिम आदेश दिएमा लामिछानेको सांसद पद अयोग्य हुनेछ । तर, सर्वोच्चले अन्तरिम आदेश नदिएमा भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उहाँको सांसद र मन्त्री पद कायमै रहनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरी लामिछानेको नेपाली नागरिकता रद्द भइसकेको अवस्थामा रास्वपाका सभापति पद, साधारण सदस्यता तथा निर्वाचनका प्रक्रिया बदर गर्न माग गर्नुभएको थियो ।

काठमाडौं:   जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि चार किसिमका सेवामा टाइम कार्ड लागू गरेको हो । जिप्रकामा ‘टाइम कार्ड’ लागू भएसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले वलोकन–निरीक्षण गर्नुभएको छ । कुन सेवालाई कति समयभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागू गरिएको छ ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ ।  त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो ।  अब उक्त मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गरेपछि त्रिविले स्ववियु कार्यतालिका सार्वजनिक गर्ने भएको छ । यसअघि चैत २८ गते गर्ने गरी सहमति जनाइएको थियो । तर, लगातार ३४ दिन विदा भएको ५ गते गर्ने गरी सिफारिस गरेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए ।  त्रिवि कार्यकारी परिषद् बैठकले उक्त मिति अनुमोदन गरेपछि कार्यान्वयनमा आउने र सोही आधार चुनावी कार्यतालिका सार्वजनिक गरिने उनको भनाई छ ।

पोखरा:   इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । प्राधिकरणले आफूखुसी रूपमा ७०० प्रतिशतसम्म भाडा बढाएको भन्दै यति बेला सेवा प्रदायक विरोधमा छन् । प्राधिकरणले भाडा बढाएपछि सरकारले उच्च स्तरीय समिति गठन गरी घटेको भाडदारमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भने पनि नमानेको आइस्पानको आरोप छ । यही विवादको कारण अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा प्राधिकरणले छानेरै विद्युत् काटेको सेवा प्रदायकहरूले बताएका छन् । सोही कारण पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।

धनगढी:   कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्दै आएका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन्। समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले धुमधामसँग मनाउनका लागि हप्तादिन अगाडिबाटै तयारीमा जुटेका हुन्। माघ थारू समुदायको नयाँ वर्ष पनि हो। थारू नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्छ।  सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि रहेकाले धुमधामसँग मनाउने गरिएको कैलारी गाउँपालिका–१, रानामुडाका मनोज चौधरीले बताउनुभयो। उहाँका अनुसार गाउँघरतिर मानिसहरू पर्वको तयारीमा जुटेका छन्। माघ पर्वमा बङ्गुरको मासु नभई नहुने तरकारीको परिकार हो। “माघमा बङ्गुर मार्ने र मासु लिनेको लिस्ट १०–१५ दिनअगाडि नै बनिसकेको छ,” उहाँले भन्नुभयो।  पर्वको चहलपहल सुरु भइसकेको छ। गाउँघरतिर माघ सम्बन्धित गीत गुञ्जिन थालेका छन्। पर्वको रौनक बढ्न थालेको छ। अहिले मान्छेहरू जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा जुटेका छन्।  माघ पर्वमा नभई नहुने थारू परिकार ढिक्री हो। जुन चामलको पिठोबाट बनाइने गरिन्छ। ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानी, पिसानीको कार्य भइरहेको कैलारी गाउँपालिका–१, मोहनपुरकी फूलरानीदेवी चौधरीले बताउनुभयो। “बिस्तारै बिस्तारै गाउँघरका सबै जना तयारीमा जुटेको देखिन्छ,” उहाँले भन्नुभयो, “हाम्रो पनि तयारी भइरहेको छ।”  यो समुदायका मानिसले तीन दिनसम्म माघी पर्व मनाउने गर्छन्। पुस अन्तिम दिनबाट पर्व सुरु हुने गर्छ। पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ। कतिपय गाउँ, ठाउँमा यस दिन नाचगान पनि हुने गर्छ। माघ १ गते अर्थात् पर्वको दोस्रो दिनलाई ‘लहान’ भन्ने गरिन्छ। यो दिन बिहानै नदी, दह, तलाउमा नुहाइधुवाई र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने गरिन्छ। यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नुका साथै ढिक्री, मासुलगायतका परिकार खाने गरिन्छ। पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको बताइन्छ।  माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ। यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन गर्ने गरिन्छ। धार्मिक, सामाजिक महत्व बोकेको माघ पर्व थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो। तत्कालीन समयमा मालिक वा जमिनदारका घरमा कमैया, कमलहरी बसेकाहरू माघी पर्वमा मात्रै छुट्टी पाउने गरेको यस समुदायका मानिस बताउँछन्। त्यसैले मुक्तकमैया होस वा जुनसुकै वर्गका थारू परिवारले माघ उल्लासपूर्वक मनाउने गर्छन्।  माघ पर्व मनाउनका लागि देश, विदेश रहेका पनि घर फर्कने गर्छन्। माघ ठूलो र खुसीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको धनगढी उपमहानगरपालिका–१, वसन्त टोल मुक्तकमैया बस्तीका जालुराम चौधरीले बताउनुभयो। “त्यसका लागि हामी तयारीमा जुटिसकेका छौँ,” उहाँले भन्नुभयो। माघमा रमाउनका लागि विभिन्न धार्मिक स्थल र गाउँमा मेलाको तयारी पनि भइरहेको छ।    

काठमाडौं:  नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बरमात्र प्रयोग गर्न आह्वान गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा स्थापित हुँदै गएको भन्दै यस्तो आग्रह गरेको हो ।  ‘हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रूपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ’, टेलिकमले भनेको छ, ‘यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरू, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरूमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको छ । आफूले प्रयोग गरिरहेको÷गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उल्लेखित सम्पूर्ण कार्यहरू सुरक्षित ढंगले सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।’ टेलिकमले प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्रीहरू असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहन सक्ने जनाएको छ ।  यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिगको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।  ‘यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।  टेलिकमले अगाडि भनेको छ, ‘मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिनुहुन पनि नेपाल टेलिकम अनुरोध गर्दछ ।’

दैलेख:  स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि प्रशिक्षण दिइएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई सो प्रशिक्षण प्रदान गरिएको हो ।  टेवा टिमको आर्थिक सहयोगमा शान्तिका लागि साझा अभियान नेपालको सहकार्यमा महिला सशक्तीकरण मञ्च नेपालको आयोजनामा जिल्लाका दुई पालिकाका महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता अभिवृद्धि तालीम दिएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीय सरकारका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकार, नेतृत्व विकास, सङ्घीयता, मानव अधिकार र विभिन्न तहका सरकारका अधिकार र संवैधानिक व्यवस्था, महिला नेतृत्व विकासका आधारभूत सीपहरूलगायत विभिन्न कानुनी व्यवस्था, सूचनासम्बन्धी हक अधिकार विषयमा महिला जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको महिला सशक्तीकरण मञ्च नेपालले जनाएको छ ।   महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले स्थानीय तहमा निर्वाचित भएका महिलाले आफ्ना अधिकार, काम कर्तव्यका विषयमा जानकारी दिने र उहाँहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महिला कार्यपालिका र वडा पालिकामा केवल साक्षीको रूपमा मात्र नभएर साँच्चिकै नेतृत्व लिन सक्नेगरी उहाँहरूको क्षमता विकास गर्न लागिएको उहाँले बताउनुभयो ।  जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संविधानले व्यवस्था गरेबमोजिम महिला निर्वाचित भए पनि आफ्नो नेतृत्व विकास नगरेका कारण पार्टीले समेत प्रमुख पदमा उम्मेदवार नबनाउने समस्या रहेको बताउनुभयो । कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाउँदा नसोधेरै वा बस्नै पर्छजस्ता बाध्यकारी नियम लगाएका कारण महिला निर्वाचनमा लडेको स्मरण गर्दै आगामी दिनमा महिला नेतृत्वका लागि आफै अगाडि बढ्नु पर्ने बताउनुभयो ।  जिल्लाका ११ पालिकामा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागि स्थानीय सरकारले समेत चासो दिनुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ दैलेखका अध्यक्ष महारूप खत्रीले निर्वाचित महिला जनप्रतिनिधिले जनताको सेवामा तल्लिन हुनुपर्ने बताउनुभयो ।  गुराँस गाउँपालिकाका अध्यक्ष शिवाकुमारी खड्काले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकाससँगै उहाँहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा जानकारी प्राप्त गर्नु राम्रो भएको बताउनुभयो । तालिमको सहजीकरण अधिबक्ता बालमुकुन्द घिमिरे र बिन्द्रा महर्जनले गर्नुभएको थियो ।  

काठमाडौं:  ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा  उपचारका क्रममा निधन भएको थियो । उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । अन्तिम संस्कार अघि पेलेको पार्थिव शरीरलाई सोमबारदेखि अन्तिम श्रद्धाञ्जली दिन ब्राजिलको साओ पाउलोस्थित सान्तोस क्लबको रङ्गशालामा राखिएको छ । पेलेले दुई दसकभन्दा बढी समय सान्तोस क्लबबाट खेल्नुभएको थियो । २४ घण्टाको श्रद्धाञ्जली सभापछि पेलेको अन्तिम संस्कार गरिने बताइएको छ ।  पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो पनि साउपाउलो पुग्नुभएको छ । श्रद्धाञ्जली कार्यक्रममा इन्फान्टिनोले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताउनुभयो । उहाँले फिफाका हरेक सदस्य राष्ट्रले पेलेको सम्मानमा कम्तीमा एउटा रङ्गशालाको नाम पेलेको नामबाट राख्न आग्रह समेत गर्नुभएको छ । पेलेको वास्तविक नाम एड्सन अरान्तेस दो नासिमेन्तो हो । पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ प्रशंसकहरू दुई घण्टा बढी लाइनमा बसेर सान्तोस रङ्गशाला पुगेका थिए । पेलेको अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने छ । तीन पटक फिफा विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १८५८, १९६२ र १९७० को विश्व कप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गर्नुभएको छ । पेलेले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गर्नुभएको छ । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । रोयटर्स