पोखरा: इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । प्राधिकरणले आफूखुसी रूपमा ७०० प्रतिशतसम्म भाडा बढाएको भन्दै यति बेला सेवा प्रदायक विरोधमा छन् । प्राधिकरणले भाडा बढाएपछि सरकारले उच्च स्तरीय समिति गठन गरी घटेको भाडदारमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भने पनि नमानेको आइस्पानको आरोप छ । यही विवादको कारण अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा प्राधिकरणले छानेरै विद्युत् काटेको सेवा प्रदायकहरूले बताएका छन् । सोही कारण पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।
धनगढी: कैलालीसहित विभिन्न जिल्लामा बसोबास गर्दै आएका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन्। समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले धुमधामसँग मनाउनका लागि हप्तादिन अगाडिबाटै तयारीमा जुटेका हुन्। माघ थारू समुदायको नयाँ वर्ष पनि हो। थारू नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्छ। सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि रहेकाले धुमधामसँग मनाउने गरिएको कैलारी गाउँपालिका–१, रानामुडाका मनोज चौधरीले बताउनुभयो। उहाँका अनुसार गाउँघरतिर मानिसहरू पर्वको तयारीमा जुटेका छन्। माघ पर्वमा बङ्गुरको मासु नभई नहुने तरकारीको परिकार हो। “माघमा बङ्गुर मार्ने र मासु लिनेको लिस्ट १०–१५ दिनअगाडि नै बनिसकेको छ,” उहाँले भन्नुभयो। पर्वको चहलपहल सुरु भइसकेको छ। गाउँघरतिर माघ सम्बन्धित गीत गुञ्जिन थालेका छन्। पर्वको रौनक बढ्न थालेको छ। अहिले मान्छेहरू जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा जुटेका छन्। माघ पर्वमा नभई नहुने थारू परिकार ढिक्री हो। जुन चामलको पिठोबाट बनाइने गरिन्छ। ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानी, पिसानीको कार्य भइरहेको कैलारी गाउँपालिका–१, मोहनपुरकी फूलरानीदेवी चौधरीले बताउनुभयो। “बिस्तारै बिस्तारै गाउँघरका सबै जना तयारीमा जुटेको देखिन्छ,” उहाँले भन्नुभयो, “हाम्रो पनि तयारी भइरहेको छ।” यो समुदायका मानिसले तीन दिनसम्म माघी पर्व मनाउने गर्छन्। पुस अन्तिम दिनबाट पर्व सुरु हुने गर्छ। पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ। कतिपय गाउँ, ठाउँमा यस दिन नाचगान पनि हुने गर्छ। माघ १ गते अर्थात् पर्वको दोस्रो दिनलाई ‘लहान’ भन्ने गरिन्छ। यो दिन बिहानै नदी, दह, तलाउमा नुहाइधुवाई र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने गरिन्छ। यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नुका साथै ढिक्री, मासुलगायतका परिकार खाने गरिन्छ। पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको बताइन्छ। माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ। यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन गर्ने गरिन्छ। धार्मिक, सामाजिक महत्व बोकेको माघ पर्व थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो। तत्कालीन समयमा मालिक वा जमिनदारका घरमा कमैया, कमलहरी बसेकाहरू माघी पर्वमा मात्रै छुट्टी पाउने गरेको यस समुदायका मानिस बताउँछन्। त्यसैले मुक्तकमैया होस वा जुनसुकै वर्गका थारू परिवारले माघ उल्लासपूर्वक मनाउने गर्छन्। माघ पर्व मनाउनका लागि देश, विदेश रहेका पनि घर फर्कने गर्छन्। माघ ठूलो र खुसीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको धनगढी उपमहानगरपालिका–१, वसन्त टोल मुक्तकमैया बस्तीका जालुराम चौधरीले बताउनुभयो। “त्यसका लागि हामी तयारीमा जुटिसकेका छौँ,” उहाँले भन्नुभयो। माघमा रमाउनका लागि विभिन्न धार्मिक स्थल र गाउँमा मेलाको तयारी पनि भइरहेको छ।
काठमाडौं: नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बरमात्र प्रयोग गर्न आह्वान गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा स्थापित हुँदै गएको भन्दै यस्तो आग्रह गरेको हो । ‘हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रूपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ’, टेलिकमले भनेको छ, ‘यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरू, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरूमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको छ । आफूले प्रयोग गरिरहेको÷गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उल्लेखित सम्पूर्ण कार्यहरू सुरक्षित ढंगले सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।’ टेलिकमले प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्रीहरू असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहन सक्ने जनाएको छ । यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिगको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । टेलिकमले अगाडि भनेको छ, ‘मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिनुहुन पनि नेपाल टेलिकम अनुरोध गर्दछ ।’
दैलेख: स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि प्रशिक्षण दिइएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई सो प्रशिक्षण प्रदान गरिएको हो । टेवा टिमको आर्थिक सहयोगमा शान्तिका लागि साझा अभियान नेपालको सहकार्यमा महिला सशक्तीकरण मञ्च नेपालको आयोजनामा जिल्लाका दुई पालिकाका महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता अभिवृद्धि तालीम दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीय सरकारका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकार, नेतृत्व विकास, सङ्घीयता, मानव अधिकार र विभिन्न तहका सरकारका अधिकार र संवैधानिक व्यवस्था, महिला नेतृत्व विकासका आधारभूत सीपहरूलगायत विभिन्न कानुनी व्यवस्था, सूचनासम्बन्धी हक अधिकार विषयमा महिला जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको महिला सशक्तीकरण मञ्च नेपालले जनाएको छ । महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले स्थानीय तहमा निर्वाचित भएका महिलाले आफ्ना अधिकार, काम कर्तव्यका विषयमा जानकारी दिने र उहाँहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महिला कार्यपालिका र वडा पालिकामा केवल साक्षीको रूपमा मात्र नभएर साँच्चिकै नेतृत्व लिन सक्नेगरी उहाँहरूको क्षमता विकास गर्न लागिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संविधानले व्यवस्था गरेबमोजिम महिला निर्वाचित भए पनि आफ्नो नेतृत्व विकास नगरेका कारण पार्टीले समेत प्रमुख पदमा उम्मेदवार नबनाउने समस्या रहेको बताउनुभयो । कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाउँदा नसोधेरै वा बस्नै पर्छजस्ता बाध्यकारी नियम लगाएका कारण महिला निर्वाचनमा लडेको स्मरण गर्दै आगामी दिनमा महिला नेतृत्वका लागि आफै अगाडि बढ्नु पर्ने बताउनुभयो । जिल्लाका ११ पालिकामा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागि स्थानीय सरकारले समेत चासो दिनुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ दैलेखका अध्यक्ष महारूप खत्रीले निर्वाचित महिला जनप्रतिनिधिले जनताको सेवामा तल्लिन हुनुपर्ने बताउनुभयो । गुराँस गाउँपालिकाका अध्यक्ष शिवाकुमारी खड्काले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकाससँगै उहाँहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा जानकारी प्राप्त गर्नु राम्रो भएको बताउनुभयो । तालिमको सहजीकरण अधिबक्ता बालमुकुन्द घिमिरे र बिन्द्रा महर्जनले गर्नुभएको थियो ।
काठमाडौं: ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । अन्तिम संस्कार अघि पेलेको पार्थिव शरीरलाई सोमबारदेखि अन्तिम श्रद्धाञ्जली दिन ब्राजिलको साओ पाउलोस्थित सान्तोस क्लबको रङ्गशालामा राखिएको छ । पेलेले दुई दसकभन्दा बढी समय सान्तोस क्लबबाट खेल्नुभएको थियो । २४ घण्टाको श्रद्धाञ्जली सभापछि पेलेको अन्तिम संस्कार गरिने बताइएको छ । पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो पनि साउपाउलो पुग्नुभएको छ । श्रद्धाञ्जली कार्यक्रममा इन्फान्टिनोले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताउनुभयो । उहाँले फिफाका हरेक सदस्य राष्ट्रले पेलेको सम्मानमा कम्तीमा एउटा रङ्गशालाको नाम पेलेको नामबाट राख्न आग्रह समेत गर्नुभएको छ । पेलेको वास्तविक नाम एड्सन अरान्तेस दो नासिमेन्तो हो । पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ प्रशंसकहरू दुई घण्टा बढी लाइनमा बसेर सान्तोस रङ्गशाला पुगेका थिए । पेलेको अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने छ । तीन पटक फिफा विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १८५८, १९६२ र १९७० को विश्व कप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गर्नुभएको छ । पेलेले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गर्नुभएको छ । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । रोयटर्स
कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रुलाई आवतजावत सुविधा दिन सार्वजनिक बस सेवा सञ्चालन गरिएको छ। विमानस्थलभित्र तीन–तीन मिनेटको फरकमा दुईवटा बस सञ्चालन गरिएको हो। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटीओ रोड–बिरौटा चोक–राष्ट्रबैङ्क चोक हुँदै फिस्टेल गेटसम्म चारवटा बस १०–१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म ‘नन स्टप’ सञ्चालन गरिएको हो। पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा सञ्चालन गरिएको सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो। यसले निजी सवारीसाधन नभएका यात्रुका लागि सहजता पुग्ने विश्वास पालिका प्रमुख आचार्यले गर्नुभयो। “निजी सवारी भएका यात्रु सिधै विमानस्थलमा जान सक्ने भए पनि पोखरामा चल्ने नगर बसबाट विमानस्थल पुग्न लामो समय खर्चिनुपर्छ। नगर बसहरू विभिन्न चोकमा रोकिँदै बजार घुमेर जाने भएकाले यात्रुलाई समस्या रहेको थियो। यही समस्याको समाधानका लागि सिधै विमानस्थलमा पुग्ने गरी सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। महानगरपालिकाले एयरपोर्टदेखि लेकसाइड जान वैकल्पिक सडक प्रयोग गर्ने तयारी गरेको छ। एयरपोर्टबाट आउने पर्यटकलाई औद्योगिक क्षेत्र गेटको प्रहरी बिट–एयरपोर्ट अगाडिबाट मिलनटोल, रामबजार, चोरसाँघुको वैकल्पिक बाटो हुँदै बिरौटा चोकबाट फिस्टेल गेटसम्मको सेवा दिन खोजिएको छ। वडा नं। १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले तत्कालका लागि परिकल्पना गरिएको बाटो भएको र पछि प्लानिङमा तलमाथि भए पनि मूल बाटोभन्दा सहायक बाटोबाट सहज ढङ्गले सेवा प्रवाह गर्ने प्रयास गरिने बताउनुभयो। एयरपोर्टदेखि एयरपोर्ट गेटसम्मका लागि दुईवटा गाडी र एयरपोर्ट गेटबाट वैकल्पिक बाटोका लागि चारवटा गाडी व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ। “पृथ्वी चोक क्षेत्रमा ज्यादा सवारीसाधनको भीडले जाम हुन्छ तसर्थ वैकल्पिक बाटोको व्यवस्था गर्न लागिएको हो,” उहाँले भन्नुभयो। महानगरपालिकाले नयाँ विमानस्थल सञ्चालन व्यवस्थित गर्न सरोकारवाला र पर्यटन व्यवसायीसँग छलफल तथा अन्तक्र्रिया गरेको छ।
सडक विभाग, पुल महाशाखा, ललितपुरले पृथ्वीनारायण क्याम्पसलाई पठाएको पत्रले क्याम्पस प्रशासन एवं प्राध्यापक संघलाई चिन्तित बनाएको छ । विभागले क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि प्राध्यापक संघहरुले सामुहिक विरोध जनाएका छन् । संघका अध्यक्षहरुले क्याम्पसको जग्गा खण्डिकृत गरी निजी प्रयोजन र केही व्यक्तिको स्वार्थमा लाभ हुने टिप्पणी गरे । क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले विभागले प्रेषित गरेको चिट्ठीले क्याम्पसमाथि कुदृष्टि राखेको जनाएका छन् । ‘क्याम्पसको भविष्यमाथि धावा बोल्ने विभागको योजनालाई हामी सफल हुन दिँदैनौ’ क्याम्पस प्रमुख कोइरालाले भने ‘विभागको निर्णय कदापी स्वीकार्दैनौ, हामी यसको विरोधमा छौं ।’ यस विषयउपर प्राध्यापक संघबीच छलफल चलाएको र विभागको निर्र्णयविरुद्ध भोली जिल्ला प्रशासन कार्यालय र अख्तियार जाने तयारीमा रहेको कोइरालाले जनाए । ‘आम पोखरेलीलाई विभागको पत्रबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नेछौं’ कोइरालाले भने । नेपाल प्रगतिशील प्राध्यापक संगठन, पृथ्वीनारायाण क्याम्पसका अध्यक्ष नवीन प्यासी अधिकारीले विभागको पत्रानुसार क्याम्पसमाथि अहित हुने टिप्पणी गरे । पत्रमा पुल निर्माणार्थ क्याम्पसले बाटो दिनुपर्ने भन्दै पठनपाठनमा अवरोध हुन गए क्षमा याचना गर्ने जनाएको छ । क्याम्पस र मणिपाल अस्पताल नजिक रहेको झोलुंगे पुलबाट करिब १ सय मिटर उत्तरमा पक्की पुल बनाउने विभागको योजना छ । ‘१ किलोमिटरको आसपास अन्य पुल भएकाले त्यसको नजिकै पक्की पुल बनाउनुको नियत क्याम्पसको जमिन खण्डिकरण गर्ने नियत हो भन्नेमा कुनै शंका छैन’ अध्यक्ष अधिकारीले उल्लेख गरे । विभागको निर्णयले पोखराका केही स्वार्थ समूहलाई फाइदा गर्ने नियत रहेको उनको आशय छ । अधिकारी भन्छन् ‘क्याम्पसमाथि केही व्यक्ति र समूहको गिद्धेदृष्टि छ, जो क्याम्पस भोली विश्वविद्यालय बनोस्, प्रगति होस् भन्ने चाहँदैनन् ।’ विभागको निर्णयविरुद्ध क्याम्पस अन्तरगतका त्रिवि प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र एकीकृत समाजवादी प्राध्यापक संगठनले संयुक्त विरोध जनाएका छन् ।
पोखरा: पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । तेइस वर्ष अगाडि ‘सडक मै खाऔँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवले सडकमै नाचगानसँगै खानासँग रमाउन पाइन्छ । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखराको ब्रान्डको रूपमा स्थापित यस महोत्सवलाई व्यापारिक दृष्टिकोणबाट भन्दा पनि पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृतिको विकास र प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा पर्यटकीय सहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन् । अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने र यही अवसरमा यहाँको रहनसहन संस्कृतिलाई प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य हो र यो सफल पनि हुँदै गएको छ ।” उहाँले महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, भैरव नाच, परम्परागत ढिकी जाँतो, विवाह मण्डप, गुन्द्री बुन्ने, मोही मथ्ने, नेपाली संस्कृति र परम्पराको पहिचान झल्कने सामग्रीलगायत सात प्रदेशका पकवानहरू पनि रहेकाले संस्कार संस्कृति बुझ्न चाहनेहरूका महोत्सव आकर्षक थलो रहेको बताउनुभयो । पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले २५ वर्षअगाडि भारतको गोवा जाँदा अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकको घुइँचो देखेपछि लेकसाइडमा पनि सोही प्रकृतिको महोत्सवको परिकल्पना गरेर पोखराको सडकमा यो महोत्सव सुरु भएको थियो । रेवान पोखराले हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिँदै आएको छ । पोखराको ब्रान्डका रूपमा स्थापित हुँदै गएको यो महोत्सवले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिसँग जोडेर एकअर्काको संस्कृति बुझ्नसमेत पुलको काम गरेको उहाँको भनाइ छ । रेवानका प्रथम उपाध्यक्ष एवम् प्रचारप्रसार संयोजक विश्वराज पौडेलले पर्यटन आर्थिक समृद्धिको आधार भएको जनाउँदै महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । पौडेलले महोत्सवमा मात्र नभई पर्यटन विकासका लागि पोखरा महानगरपालिकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य स्थलहरूलाई संवद्र्धन र संरक्षण गर्दै कल्चर भिलेज ९सांस्कृतिक गाउँ० मा पर्यटकले अवलोकन गरी विभिन्न जातजातिको संस्कृति अध्ययन गर्ने स्थलका रूपमा विकास गर्न सकेमा पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो । लेकसाइडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब तीन किलोमिटर खुल्ला सडकमा सञ्चालित महोत्सव पुस १७ गतेसम्म चल्नेछ । सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेका छन् । यसैगरी, पोखरा घुम्न आउने पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्ष र महोत्सवको अवसरमा होटललगायतका पर्यटकीय गतिविधिमा विशेष सहुलियत प्याकेजहरू रहेको महासचिव विकास भट्टराईले जानकारी दिनुभयो ।
पोखरा: देशको पुर्वदेखि पश्चिमी कुनासम्म आठवटा सहरहरुमा भब्य प्रस्तुती दिएर गृहमैदान आइपुगेको नेपथ्यले सँधैजस्तै न्यानो पोखरेली माया जुटाउन सफल भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रको यसै मैदानमा अघिल्लोपटक ब्याण्ड उपस्थित हुँदा लगातारको झरीकै बीच पनि उल्लेख्य दर्शक पानीमा रुझेरै कन्सर्ट हेर्न आइपुगेका थिए । यसपाला भने विहानैदेखि हिमाल देखिनेगरि सफा आकाश पाएको पोखराले ब्याण्डलाई अझ गतिलो स्वागत ग¥यो । आफ्नो माटोमा आइपुग्दा प्रारम्भकै दिन सम्झँदै ब्याण्डले पहिलो गीत ‘आँगनै भरि हिउँ नै झरे, आरु फूल है टिपि राख्नू’ गाएर सुनाएको थियो । नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले झण्डै ३३ वर्षअघि याङ्जाकोटमा रचना गरेको यो गीत ब्याण्डकै पहिलो सिर्जना थियो । यसरी स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३२ वर्षमा गरेको यात्राका झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो । दोश्रो प्रस्तुती ‘भेँडाको ऊनजस्तो’ लाङटाङतिरको संकलन थियो । अर्थात् अब गुरुङहरुको वस्तीबाट केहि पूर्वतर्फ तामाङहरुको क्षेत्रमा कार्यक्रमले प्रवेश गर्यो । पोखराबाट उदाएको यो ब्याण्ड यतिन्जेल सिंगो नेपालकै साझा सम्पत्ति बनिसकेको छ। त्यसैले त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट संकलन गरिएका भाकाहरुलाई रक धुनसँग जोडेर यसले नेपाली पहिचानको कोशेलीका रुपमा संसारलाई सुनाउँदै आइरहेको छ । तेश्रो गीत फेरि स्थापना कालतिरकै पुरानो ‘छेक्यो छेक्यो देउराली डाँडा’ थियो । यो त झनै ब्याण्डलाई स्थापित गराउने सिर्जनाको रुपमा सबैले चिनेको गीत । ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको शुक गुरुङ सिर्जित यो गीतमा पोखरेली दर्शकहरु अझ रमाए । अब भने पोखरेलीहरुसँग अमृतले साक्षात्कार गर्ने पालो आइपुग्यो । ‘विहान झलमल्ल हिमाल देखेर म पोखराको मान्छेको धेरै दिनदेखिको न्याश्रो मेटियो’ अमृतले यसरी यस ठाउँसँगको आफ्नो सामिप्य प्रकट गर्नासाथ विशाल दर्शक घेरा खुशीले उत्तेजित भएको थियो । उनले तमाम दर्शकका साथसाथै ब्याण्डलाई यसरी प्रस्तुतीको मौका जुराइदिने मानव सेवा आश्रमलाई धन्यवाद ब्यक्त गरे । त्यसपछि उनले आफ्नो थातथलो नछाड्न आव्हानका साथ गाउँ जाने र रोदीमा बसेर गाउने अनुरोध गर्दै सुरुगरेः ‘खान्न म त लामपाते सुरती लाउँ कि नलाउँ जुग जाने पिरती’ त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएको थियो । यस गीतमा अमृतले ‘घर हाम्रो पोखरा’ भनेर गाइरहँदा दर्शकदीर्घामा पनि जताततै तन्नेरीहरु ‘घर हाम्रो पोखरा’ भनेर चिच्याइरहेको देखिन्थ्यो । ‘हाम्रो पोखरा त सुन्दर छँदैछ,’ अमृतले दर्शकहरुलाई भने, ‘अन्यत्र पनि सुन्दर ठाउँले भरिएको यो देश घुम्ने मौका नछाडौं है ।’ अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः ‘शिरफूल शिरैमा वनफूल वनैमा हिउँको फूल धौलासिरिमा’ कार्यक्रम अवधिभर अमृतले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो । यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो । ‘सबैतिरबाट आएर हामी यो पोखरामा बस्यौं । हाम्रा बाजे बराजुले यहाँ बजार बनाए । हामीले यसलाई सहर बनायौं । हाम्रा भावी पुस्ताले अझ विशाल महानगर बनाउनेछन्,’ यसअघि सरकारी विद्यालयहरुकै निम्ति पोखरामा पाँचपटक आफूलाई प्रस्तुत गरिसकेका उनी भनिरहेका थिए, ‘त्यो भावी विशाल महानगर कस्तो बनाउने भन्ने विषयमा हामीले आजैबाट ध्यान पु¥याउनु जरुरी छ ।’ त्यो भावी महानगर मानवीयताले भरिएको बनाउने हो भने आजैबाट आ–आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्ने संस्कारको विकास गर्न उनले पोखरावासीसँग आव्हान गरे । कार्यक्रममा अमृतले लाहुरेहरुबाट भित्रिएको गीत ‘नैनाताल’ गाउनुअघि मुलुकले भोग्नुपरेको युवा पुस्ताको पलायनबारे चिन्ता प्रकट गरेका थिए । ‘हाम्रा बाउ बाजेहरु धेरैजसो रहरले लाहुरे भएका थिए । तर, हिजोआज करैले पनि नेपाली तन्नेरीहरु विदेशिनुपर्ने भएको र यो संख्या दिनदिनै बढ्दै गइरहेको छ,’ उनले दर्शक दीर्घामा हेर्दै अनुरोध गरे, ‘यहाँ आउनुभएका गण्डकीका ठूलाबडाहरुले रोजगारीको अवसर सिर्जना गरेर तन्नेरीहरुलाई आफ्नै ठाउँमा बस्ने वातावरण बनाइदिनुस् है ।’ प्रत्युत्तरमा दर्शकदीर्घाबाट समर्थनको ठूलो आवाज आएको थियो । यसअघि मुलुकभर यात्रागरेर आएको गुरुङ र उनको टोलीलाई आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गरेका थिए । त्यसैगरि कन्सर्टको अघिल्लो दिन सोमबार मात्रै पोखरा–२५को हेम्जा बाबियतारास्थित ‘मानव सेवा आश्रम’मा नेपथ्य टोलीले भ्रमणगरेको थियो । त्यतिबेला अमृतले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए । त्यस अवसरमा नेकपा एमालेको प्रदेश संसदीय दल प्रमुख खगराज अधिकारीलगायतका नेताहरुले पोखराबाट उदाएको नेपथ्यले सिँगो नेपाली पहिचानका लागि दिएको योगदानको चर्चागरेका थिए । मंगलबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा नयाँबजारस्थित मैदानमा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः ‘भर्खरै चुनाव सकिएको छ । घर–घर विभाजित भएको छ । तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ । हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ । हामीले गाउँ गाउँमा अस्पताल पु¥याउनका निम्ति जोडिनै पर्छ ।’ धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो । कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो । दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो । कन्सर्ट हेर्न आएका साना नानीहरुलाई भने मञ्चको ठीक अगाडि सुरक्षित तवरले रमाउन सक्नेगरि बन्दोबस्त मिलाइएको थियो । कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए । संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले पोखरामा लगातार नवौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘यो सहरबाटै जन्मेको नेपथ्यले मुलुकभरि मानवताको उज्यालो फैलाउने संकल्प बोकेको मानवसेवा आश्रमसँग मिलेर सहकार्य सुरुगरेको छ,’ उनले भने, ‘यो अठोटलाई आज देखिएको पोखरेली दाजुभाइ दिदीबहिनीको मायाले थप बलियो बनाएको छ ।’ मानव सेवा आश्रमसँग युवा पुस्तालाई जोड्न भरमग्दुर प्रयास चलिरहेको बेला यो कन्सर्टले त्यो उद्देश्यमा सघाउ पु¥याउने विश्वास पनि उनले प्रकट गरे । पोखराको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् बुधबार काठमाडौंतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित भृकुटीमण्डपमा नेपथ्य पुस १६ गते शनिबार प्रस्तुत हुँदैछ । यसरी मंसिर १६ गते बिराटनगरबाट सुरुभएको मानवताको लागि नेपथ्यको देशब्यापी यात्रा ठीक एक महिना लगाएर पुस १६ गते सम्पन्न हुनेछ ।

