कास्कीः पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्। यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्। गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए। आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना, छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भयो। युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)मा आइटी अधिकृतको रुपमा कार्यरत थिए भने उनकी श्रीमती सरु शर्मा त्रिभुवन विमानस्थलमै टावर कन्ट्रोलर अफिसरको रुपमा कार्यरत रहेको आफन्तसमेत रहेकी विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले बताइन्। एउटै विमानमा श्रीमान्, छोराछोरी र सासूआमालाई गुमाएको खबर पाएपछि श्रीमती सरु विक्षिप्त भएकीले अस्पताल भर्ना गरिएको छ। एकै परिवारका चार जनाको निधनपछि अहिले सो गाउँ शोकमग्न भएको छ। गाउँका छिमेकी र आफन्त शव पहिचान र अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन्। अकल्पनीय घटनाले सिङ्गो गाउँलाई मर्माहत बनाएको गाउँपालिकाकी उपाध्यक्ष तिवारीले बताइन्। विमान दुर्घनामा एकै परिवारका ती चारजना सहित पर्वतका १० जनाले ज्यान गुमाएका छन्। सो घटनामा निधन हुनेमा कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका–१ पाङकी रचना काफ्ले र उनको १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो। त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङको पनि सोही दुर्घटनामा निधन भएको थियो।
पोखराः यति एयसलाइन्सको दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पहिचान गरी भोली परिवारजनलाई बुझाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पहिचान भएका शवहरु पोखराबाटै परिवारजनको जिम्मा लगाइनेछ । त्यस्तै, पहिचान हुन नसकेका शव काठमाण्डौं लगेर डीएनए परीक्षण गर्ने कार्यालयबाट जानकारी दिइएको छ । हाल शवहरु पोखरा विज्ञान प्रतिष्ठानमा राखिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको सूचना अनुसार ६९ शव भेटिएको छ भने बाँकी ३ शवको खोजी कार्य जारी छ ।
पोखराः यति एयरलाइन्सको विमान काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटना हुँदा पोखराले होनहार पत्रकार त्रिभुवन पौडेललाई गुमाएको छ । अवतरणकाक्रममा सेती खोंचमा विमान दुर्घटनापछि रिपोर्टिङ गर्ने क्रममा जब यात्रुहरुको सूची प्राप्त भयो तब पत्रकारबीच खैलाबैला भयो । सूचीमा उल्लेख भएको नाम देखेपछि अत्तालिएका पत्रकारहरुले अन्ततः पौडेललाई गुमाएका छन् । पत्रकार महासंघ कास्की सभापति विमला भण्डारीले पत्रकार पौडेलको शव पहिचान भएको बताएकी छिन् । भण्डारीले भनिन्, ‘उहाँको शव भेटिएको छ, र परिचयपत्रसमेत भेटिएको छ । पौडेलका अनन्य मित्र एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले पनि दुखित मुद्रामा खबर सत्य भएको बताए । ‘सेती खोंचमा यतिको धुँवासँगै विलिन भए त्रिभुवन’ ज्ञवालीले भने ‘हामी अपत्यारिलो खबर स्वीकार्न बाध्य भयौं । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार हालसम्म ६९ जनाको शव फेला परिसकेको छ । जसमध्ये ३४ शव गण्डकी अस्पताल र ३२ शव दुर्घटनास्थलमै छ । बाँकी रहेका ३ शव क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुन् । जुझारु, सहयोगी र प्रेस स्वतन्त्रका हिमायती पौडेलको मृत्युपछि पोखरेली पत्रकारहरु शोकमा रहेका छन् । सेन्टरको राजधानीमा आयोजित बैठकबाट पौडेल पोखरा फर्कदै थिए । विवाहित पौडेलका एक छोरा छन् ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताउनु भएको छ । आइतबार एक शोक सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवम् चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’’ उहाँले सो सन्देश ट्वीटमार्फत सार्वजनिक गर्नुभएको हो । यसैबीच, आइतबार पूर्वी नेपालका केही स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पूर्वी नेपाल पुग्नु भएका राष्ट्रपतिले पोखरा घटनाको बारेमा थाहा पाउने बित्तिकै त्यहाँका कार्यक्रम स्थगित गर्नुभएको जानकारी राष्ट्रपतिको निजी सचिवालयले दिएको छ ।
यति एयरलाइन्सको दुर्घटनामा परेको जहाजमा सवार यात्रुहरुको उद्धारपछि अस्पतालमा पु¥याउँदा जीवित अवस्थामा नपाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्रोतले जनाएको छ । यसअघि केही यात्रु घाइते भेटिएको र उपचारार्थ अस्पताल लगिएको भन्ने सूचना गलत भएको अस्पतालका एक सिनियर चिकित्सकले बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा चिकित्सकले भने, ‘प्लेन क्रयासको खबर सुन्नासाथ हामी स्ट्यान्डबाइ थियौं, केही यात्रुको जीवितै उद्धार हुनेमा आश पनि थियो तर यहाँ ल्याइएका यात्रु कोही पनि जीवित थिएनन् ।’ अहिले अस्पतालमा करिब ३३ शव रहेको उनले जनाए । ‘ठ्याक्कै यति नै शव छन् भनेर यकिन गरिहाल्न गाह्रो छ’ उनले भने ‘करिब ३२–३३ शव भएको अनुमान छ ।’ शव जलेको र क्षतविक्षत भएकाले पहिचान गर्न नसकिएको र सोही कारण यकिन संख्यासमेत खुलाउन नसकिएको उनले जानकारी दिएका छन् ।
काठमाडौँ — आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । 'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छु, उनले भने यो, विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ । -रासस
पोखराः आज बिहान काठमाण्डौबाट पोखरा उडेको यति एयरलाइन्सको जहाजमा पोखरा–२५ हेमजाका ४ जना सवार भएको जानकारी प्राप्त भएको छ । हेमजाका स्थानीयवासीले दिएको जानकारी अनुसार पोखरा आउन लागेका यात्रुमा भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर, अनिशा बाँनिया र राजन सापकोटा सवार थिए । जसमध्ये, भगवति–जितेन्द्र र अनिशा–राजन दम्पत्ति रहेको जनाइएको छ । दुबै जोडी यतिको कलसाइन नाइन एन–एएनसीमा सवार थिए । उक्त कलसाइनको विमान बिहान पोखराको सेती खोंचमा दुर्घटनामा परेको छ । विमानमा चालकदलका ४ सहित ६८ जना सवार थिए ।
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता हाम्रो साझा पहिचान भएको बताउनुभएको छ । थारू समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालका जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व छन् । यी चाडपर्वले एकापसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।” उहाँको सन्देशमा भनिएको छ, “यस अवसरमा सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री प्रचण्डले माघी पर्वले सम्पूर्ण नेपालीबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृति निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ । माघ १ गते मनाइने माघी पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडका रूपमा मनाउँछन् । नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्नो परम्परा र विशेषताअनुसार मनाउँदै आएको पाइन्छ ।
पोखराः रेडक्रम सोसाइटी कास्की शाखाको शनिबार आयोजित १० औं निर्वाचन अधिवेशनबाट सभापतिमा डण्डराज शर्मा निर्विरोध निर्वाचित भएका एका छन् । शर्मा यसअघि सभापति रहेका थिए । त्यस्तै, उपसभापति खुलामा धर्मराज अधिकारी, उपसभापति महिलामा उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ र उपमन्त्री रमा कोइराला निर्विरोध भएको रेडक्रस सोसाइटीले जनाएको छ । रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्ष, उपकोषाध्यक्ष, कार्यसमितितर्फ महिला सदस्य र खुला सदस्यका लागि भने सर्वसम्मत हुन नसकेपछि मतदान भएको छ । कोषाध्यक्ष र उपकोषाध्यक्षमा २÷२ जनाको उम्मेद्वारी परेको छ । महिला सदस्य ३ जनाका लागि ६ जना र खुला सदस्य ६ जनाका लागि २३ जनाको उम्मेद्वारी परेको छ । ४८ उपशाखा रहेको कास्कीमा कूल मतदाता २ सय ६६ जना छन् ।