काठमाडौंः वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानवता सेवा गरेका आधारमा बहराइनको उच्च अवार्ड प्रदान गरिने भएको हो । बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ । पुरस्कारका लागि यस वर्ष मनोनीतहरूमध्ये डब्ल्यूएचओ फाउन्डेसन पनि रहेकोमा निर्णायकहरूले डा. रुइतलाई छनोट गरेका थिए । मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा. रुइतलाई पुरस्कार प्रदान गरिएको गल्फ न्युजले जनाएको छ । उक्त घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले यस वर्ष अवार्डका लागि १३९ मनोनयनमा परेको जानकारी दिनुभयो । “नेपाली नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई उहाँको समुदायको सेवा र उपलब्धिका लागि सम्मान गरिएको छ,” उहाँले भन्नुभयो । मानवताको सेवाका लागि इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले डा. रुइतलाई मोतीबिन्दुको उपचारमा अभिनव दृष्टिकोण राखेर उक्त पुरस्कार प्रदान गरिएको बताउनुभयो । यसैबीच गोरखापत्रसँग कुरा गर्दै डा. रुइतले ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले आफूलाई उक्त अवार्ड प्रदान गर्न लागेको जानकारी दिनुभयो । उहाँले आफूले आँखा स्वास्थ्यमा काम गरेबापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु आफ्नो व्यक्तिगत रूपमा नभई समग्र राष्ट्रको गौरवको विषय भएको बताउनुभयो । डा. रुइतका अनुसार बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । कोभिडको समयमा भने अवार्ड रोकिएको थियो ।
पोखराः पोखरामा विमान दुर्घटना हुँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ । थप एकजनाको शव भेटिएसँगै विमान दुर्घटनामा मृत्युु हुनेको संख्या ७१ पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘आइतबार पोखरामा विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि शव परिवारलाई बुझाउन थालिएको छ, ढकालले भने, ‘दुर्घटना स्थलमा बेपत्ता भएकाहरुलाई खोजी कार्य जारी छ, अहिले थप एकजनाको शव भेटिएको छ, बेपत्ता भएका एकजनाको खोजी कार्य जारी छ ।’ आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना भएको थियो । आइतबार विमान दुर्घटना हुँदा ४ चालक दलसहित ६८ जना सवार थिए । आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् । नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् ।
पोखराः पोखराको गैह्रापाटन निवासी बलराम गौतम सोमबार दिउँसोदेखि परिवार र आफन्तसँग सम्पर्कविहीन छन् । पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गौतम परिवार गैह्रापाटन बस्दै आएका छन् । ५६ वर्षीय गौतम सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन नसकेको उनका भतिज विकास आचार्यले जानकारी दिएका छन् । ‘सामान्य दिन झैं काका दिउँसो घरबाट निस्कनु भएछ’ भतिज आचार्यले भने ‘बेलुकासम्म पनि नआउँदा काकाले मोबाइल र गाडीको चाबी घरमै छाडेको पाइयो ।’ त्यसबेला मोबाइल स्वीचअफ भइसकेको पाइएको आचार्यले बताए । गौतम मंगलबार दिउँसोसम्म सम्पर्कविहीन भएपछि परिवार र आफन्तको सल्लाहमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निवेदन दिइएको छ । निवेदन पाएपपिछ कास्की प्रहरी खोजीकार्यमा जुटेको छ । त्यस्तै, आफन्तहरु पनि पोखराको नारायणस्थान, सराङकोटलगायतको स्थानमा खोजी गरिरहेको आचार्यले जनाए । गौतम विभिन्न उद्यम र व्यवसायमा संलग्न छन् ।
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे.. सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा।..’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ । बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो । पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो । गत वर्ष उहाँ आफैंले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइनेछ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ । बागलुङको बडिगाड गाउँपालिका-३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ । लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगतले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । “प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्यो, गायक खत्रीले सम्झिनुभयो । गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गतवर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाउनुभयो । उहाँहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो । खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै हुनुहुन्थ्यो । स्थानीय प्रगतिशील युवा क्लबले उहाँहरूलाई आमन्त्रण गरेको थियो । गायिका निराको निधनले मर्माहत बन्नुभएका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो लिनुभएको छ । “बैनीको दुःखद घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँ”, गायक खत्रीले भन्नुभयो, “मैले नै सिफारिस गरेर निरा बैनी भीमपोखरा आउने योजना बनेको थियो ।” आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो । त्यहीँबाट बागलुङको भीमपोखरा जाने कार्यक्रम थियो । “बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, श्राेतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो”, गायक खत्रीले भन्नुभयो, “त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।” प्रत्यक्ष दोहोरीको प्रवर्द्धन गरिरहेको ‘सारङ्गी संसार’ युट्युब च्यानलका सञ्चालक ताराकान्त विकले गायिका निरालाई ऊर्जाशील कलाकारका रूपमा स्मरण गर्नुभयो । “एउटा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो, हँसिलो, चञ्चल, ऊर्जा पनि उस्तै”, विकले भन्नुभयो, “मञ्चीय कार्यक्रममा दर्शक र श्राेतालाई अडाइरहन सक्ने क्षमता उहाँमा थियो ।” ‘सारङ्गी संसार’का छवटा भागमा गायिका निरा मुख्य भूमिकामा प्रस्तुत हुनुभएको थियो । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उहाँको आफ्नै युट्युब च्यानल पनि छ । चर्चित गायकहरूसँगको उहाँको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ । तीज गीत, पञ्चेबाजालगायत गीत सार्वजनिक गर्नुभएकी निरा प्रत्यक्ष दोहोरीबाट अझ बढी चिनिएको विकले बताउनुभयो । “प्रत्यक्ष दोहोरीमा गज्जबले जम्न सक्नुहुन्थ्यो, मौलिक शब्द र बागलुङे लवज उहाँको गायनमा झल्कन्थ्यो”, विकले भन्नुभयो, “अब त्यो सम्झनामा मात्र रहने भयो, एल्बम र युट्युबमा मात्र उहाँका गीत बाँकी रहे ।” बडिगाड–८ का टीका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।” सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटुनाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । पोखरा उड्नुअघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देश हेर्न नपाउँदै छन्त्याल सेतीखोँचमा अस्ताउनुभएको हो । बडिगाड–८ का वडाध्यक्ष खडक पुनले गायिका निराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध बनेको बताउनुभयो । “सङ्गीत क्षेत्रमा सङ्घर्षशील, आफ्नै प्रतिभा र क्षमताले स्थापित गाउँकी चेलीलाई गुमाउनुपर्दा गहिरो पीडाबोध भएको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा पढ्दादेखि नै नाच्ने गाउनेमा उहाँको बढी रुचि थियो, गाउँमा हुने वैशाखे पूर्णिमालगायत मेला, कार्यक्रममा सानैदेखि गीत गाउनुहुन्थ्यो ।” छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गर्नुभएको थियो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ । उहाँको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन् । -रासस
पोखराः फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेमगरको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उहाँले भन्नुभयो, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।” यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उहाँ पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लाग्नुभयो । “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उहाँले सुनाउनुभयो, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।” केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उहाँलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । “बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।” खुट्टा र पिठ्यँुमा लागेको चोट देखाउँदै आलेले भन्नुभयो, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्यँुमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।” आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्नुहुन्छ । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ।” अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान धन्यवाद दिँदै बस्नुभएको छ । “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उहाँले भन्नुभयो । पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ । घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ । सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ । RSS
पोखराः मनाङको थोरङला पास पदमार्गमा एक महिला पदयात्री मृतावस्थामा भेटिएकी छिन् । उक्त पदमार्गमा रहेका पदयात्रीले महिला मृत अवस्थामा भेटेपछि हुम्दे प्रहरीलाई खबर गरेका थिए । पोखरामा रहेको नर्थ नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनका सञ्चालक माेहन भण्डारीले पाेखराबाट गएका पथप्रदर्शकहरुले बिहान ८ बजे देखेकाे र उक्त जानकारी प्रहरीलाई दिएकाे सुनगाभा न्यूजलाइ बताए । पथप्रदर्शकहरुले उनको हाइ अल्टिट्युडकाकारण मृत्यु भएको अनुमान गरेका छन् । जानकारी पाएपछि घटनास्थल पुगेको मनाङ प्रहरीले उनी मृत अवस्ठामा रहेकाे पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले उक्त महिला कोरियन नागरिक रहेको र अन्दाजी ४५ वर्षीया रहेको जनाएका छन् । उनको शव करिब ५४ सय उचाईमा रहेको थोङफेदीमा भेटिएको हो । उनी पथप्रदर्शबिना पदयाात्रामा निस्किएको हुनसक्ने जनाइएको छ । हाल उनको शव मनाङमा रहेको र काठमाण्डौं पठाउन समन्वय भइरहेको श्रेष्ठले जानकारी दिए । त्यस्तै, सोही पदमार्गमा विदेशीका अन्य २ शवसमेत भेटिएको र एकमुष्ट पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । (नोटः यसअघि प्रयोग भएको मृतकको तस्बिर कोरियन दूतावासको अनुरोधमा हटाइएको छ । –सम्पादकं)
कास्कीः पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्। यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्। गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए। आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना, छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भयो। युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)मा आइटी अधिकृतको रुपमा कार्यरत थिए भने उनकी श्रीमती सरु शर्मा त्रिभुवन विमानस्थलमै टावर कन्ट्रोलर अफिसरको रुपमा कार्यरत रहेको आफन्तसमेत रहेकी विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले बताइन्। एउटै विमानमा श्रीमान्, छोराछोरी र सासूआमालाई गुमाएको खबर पाएपछि श्रीमती सरु विक्षिप्त भएकीले अस्पताल भर्ना गरिएको छ। एकै परिवारका चार जनाको निधनपछि अहिले सो गाउँ शोकमग्न भएको छ। गाउँका छिमेकी र आफन्त शव पहिचान र अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन्। अकल्पनीय घटनाले सिङ्गो गाउँलाई मर्माहत बनाएको गाउँपालिकाकी उपाध्यक्ष तिवारीले बताइन्। विमान दुर्घनामा एकै परिवारका ती चारजना सहित पर्वतका १० जनाले ज्यान गुमाएका छन्। सो घटनामा निधन हुनेमा कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका–१ पाङकी रचना काफ्ले र उनको १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो। त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङको पनि सोही दुर्घटनामा निधन भएको थियो।
पोखराः यति एयसलाइन्सको दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पहिचान गरी भोली परिवारजनलाई बुझाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पहिचान भएका शवहरु पोखराबाटै परिवारजनको जिम्मा लगाइनेछ । त्यस्तै, पहिचान हुन नसकेका शव काठमाण्डौं लगेर डीएनए परीक्षण गर्ने कार्यालयबाट जानकारी दिइएको छ । हाल शवहरु पोखरा विज्ञान प्रतिष्ठानमा राखिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको सूचना अनुसार ६९ शव भेटिएको छ भने बाँकी ३ शवको खोजी कार्य जारी छ ।
पोखराः यति एयरलाइन्सको विमान काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटना हुँदा पोखराले होनहार पत्रकार त्रिभुवन पौडेललाई गुमाएको छ । अवतरणकाक्रममा सेती खोंचमा विमान दुर्घटनापछि रिपोर्टिङ गर्ने क्रममा जब यात्रुहरुको सूची प्राप्त भयो तब पत्रकारबीच खैलाबैला भयो । सूचीमा उल्लेख भएको नाम देखेपछि अत्तालिएका पत्रकारहरुले अन्ततः पौडेललाई गुमाएका छन् । पत्रकार महासंघ कास्की सभापति विमला भण्डारीले पत्रकार पौडेलको शव पहिचान भएको बताएकी छिन् । भण्डारीले भनिन्, ‘उहाँको शव भेटिएको छ, र परिचयपत्रसमेत भेटिएको छ । पौडेलका अनन्य मित्र एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले पनि दुखित मुद्रामा खबर सत्य भएको बताए । ‘सेती खोंचमा यतिको धुँवासँगै विलिन भए त्रिभुवन’ ज्ञवालीले भने ‘हामी अपत्यारिलो खबर स्वीकार्न बाध्य भयौं । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार हालसम्म ६९ जनाको शव फेला परिसकेको छ । जसमध्ये ३४ शव गण्डकी अस्पताल र ३२ शव दुर्घटनास्थलमै छ । बाँकी रहेका ३ शव क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुन् । जुझारु, सहयोगी र प्रेस स्वतन्त्रका हिमायती पौडेलको मृत्युपछि पोखरेली पत्रकारहरु शोकमा रहेका छन् । सेन्टरको राजधानीमा आयोजित बैठकबाट पौडेल पोखरा फर्कदै थिए । विवाहित पौडेलका एक छोरा छन् ।

