पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचन भइरहेको छ । निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियु र नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र समर्थित अनेरास्ववियु (क्रान्तिकारी) प्रतिष्पर्धामा छन् । अनेरास्ववियुबाट अध्यक्षमा विरेन्द्र जिसी, संघबाट विराट सिग्देल, क्रात्किारीबाट पवन लम्साल रहेका छन् । यसअघि परिषद्मा अनेरास्ववियुको नेतृत्व रहेको थियो । सबै विद्यार्थी संगठनले जीतको दाबी गरेका छन् । ६१४ विद्यार्थी रहेको कलेजमा अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य एवं कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ले करिब ६० मतान्तरले जित्ने बताएका छन् । हेर्नुहोस्, उम्मेदवारहरुको नामावलीः
गण्डकी: शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ्याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन । आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उहाँलाई घरीघरी झस्काउँछ । मनमा अझै डरले घर गरेको छ । “सम्झँदा पनि कहाली लाग्छ, मुटु ढक्क फुल्छ”, ३९ वर्षीया गिरीले भन्नुभयो, “घरमाथिबाट ढल्किँदै आएको जहाज एक्कासि बजारियो र आगो लाग्यो ।” माघे सङ्क्रान्तिको दिन बिहान गिरी आँगनमा छ महिनाकी छोरीलाई दूध खुवाउँदै हुनुहुन्थ्यो । बुबा बेल पनि घरमै हुनुहुन्थ्यो । ठूली छोरी इरिस्ना साथीसँग खेल्न गइकी थिइन् । त्यहीबेला ठूलो र डरलाग्दो आवाज लक्ष्मीका कानमा प¥यो । माथितिर हेर्दा जहाज घरमै छोइएला जसरी आइरहेको थियो । छिनभरमै जहाज गिरीको घरदेखि एक सय मिटरअघिको जमिनमा धसिँदै सेतीखोँचमा खस्यो । “जहाज खसेपछि आगो लाग्यो, धुँवाको कालो मुस्लो निस्कियो, कता जाने, के गर्ने होसहवास गुमेजस्तो भयो”, उहाँले सुनाउनुभयो, “काखकी छोरी लिएर बुबासँगै घरछेउको आलुबारीतिर भागेँ ।” जीवनमा पहिलो पटक यति ठूलो घटना देख्नुभएकी गिरीले अहिले कुनै सिनेमाको दृश्यझैँ लाग्ने गरेको सुनाउनुभयो । “मुस्ताङतिर, जहाज दुर्घटनाबारे मोबाइलमा हेरिन्थ्यो, सुनिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै आँखाअघि देखियो, सोँच्दा पनि डर लाग्छ, हातखुट्टा काँप्छ ।” गिरी दुर्घटनालगत्तै घटनास्थल नजिक जान पनि सक्नुभएन । दिनैभर छोरीहरु साथमा लिएर घरभित्रै बस्नुभयो । विस्तारै डर मत्थर हुँदै गए पनि मन अझै हलुका हुन नसकेको गिरीको भनाइ छ । उहाँका छिमेकी पनि उक्त घटनाबाट त्रस्त छन् । घारिपाटन, नागबेली टोलकी सीता विक पनि जहाज खस्ने बेला घरमै हुनुहुन्थ्यो । बिहान मन्दिर गएर फर्केपछि परिवारमा खाना खाने सुरसार चल्दै थियो । अकस्मात् ठूलो आवाज आयो । त्यतिञ्जेल विकले जहाज हो भन्ने पनि पत्तो पाउनुभएको थिएन । “भूइँचालो गएजस्तो भएको थियो, बाहिर निस्कँदा त जहाज खसेर आगो लाइसकेको रहेछ, वरिपरी धुँवाधुलो छाएको थियो”, उहाँले भन्नुभयो, “होसै गुमेजस्तो, न बोल्न सक्ने, न खाने अवस्था भयो, घरैअघि भएकाले होला अझै पनि डर लाग्छ, यो घटना कहिल्यै बिर्सन नसकिने भइयो ।” विकको घरअघिको बाँसघारीलाई पछाडिको भागले लछार्दै जहाज खोँचमा खसेको थियो । माथिबाट खस्दा जहाज ठोक्किएको जमिन धस्सिएको छ । रुख र बुट्यान मासिएका छन् । आगलागीले घाँस र पत्कर नष्ट गरेको छ । जहाजका भग्नावशेष, यात्रुका जलेका लुगाफाटा र सामग्री छरपष्ट देखिन्छन् । दुर्घटनास्थल यसै उजाड र उराठलाग्दो छ । दुर्घटना भएको ठाउँ हेर्न आउने मानिस पनि उत्तिकै हुन्छन् । बाहिरकालाई घटनास्थल हेर्ने कौतुहलता भए पनि आसपासका बासिन्दालाई भने त्यही ठाउँले त्रीसदीपूर्ण घटनाको सम्झना गराइदिन्छ । पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले आफ्नो जीवनकालमा यति ठूलो बीभत्स दुर्घटना कहिल्यै नदेखेको बताउनुभयो । “जहाज खसेको १० मिनेटमै घटनास्थल पुगेको थिएँ, अवस्था दर्दनाक थियो, हेर्दाहेर्दै यात्रुहरु जले, जीवित उद्धारको प्रयास विफल भयो”, उहाँले भन्नुभयो । उद्धारमा सबै स्रोतसाधन लगाउँदा पनि कसैलाई बचाउन नसकिएको वडाध्यक्ष बानियाँले बताउनुभयो । झाडीसहित खोल्साखाल्सी भएको गहिरो खोँचमा जहाज खसेका कारण उद्धार जटिल बनेको थियो । वडाको पहलमा दुर्घटनास्थल वरपरका बासिन्दालाई शुक्रबार मनोपरामर्श दिने तयारी भइरहेको वडाध्यक्ष बानियाँको भनाइ छ । “दुर्घटनाले कसैलाई मनोवैज्ञानिक असर परेको हुनसक्छ, त्रास रहिरहेको हुनसक्छ”, उहाँले भने, “इच्छुक र आवश्यक परेका व्यक्तिलाई राखेर दुई घण्टा मनोपरामर्श दिदैँछौँ ।” जहाज दुर्घटनाबारे सत्यतथ्य थाहा पाउन धेरै मानिस उत्सुक रहेको वडाध्यक्ष बानियाँले बताउनुभयो । “के कारणले गर्दा जहाज दुर्घटना भयो होला भनेर मानिसहरु कुराकानी गरिरहेका भेटिन्छन्, अनेक खाले अनुमान लगाउँछन्”, उहाँले भन्नुभयो, “आशा गरौँ विमान दुर्घटनाको कारण पत्ता लाग्नेछ र फेरिफेरि यस्तो दुर्घटना हुनेछैन ।” दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एकजनाको खोजी तथा उद्धार जारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार फेला परेकामध्ये २२ शव पोखरामै शव परीक्षण गरी परिवारजनलाई बुझाइएको छ ।
रेसुङ्गाः पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो । सुन्दा अचम्म लाग्न सक्छ तर, गुल्मीमा फेसबुक म्यासेन्जरको प्रयोग गरेर एक समूहले लागुऔषधको प्रयोग गर्दै आएको छ । जिल्लामा गाँजा खानेको म्यासेन्जर ग्रुप छ । जसको नाम जी ग्रुप राखिएको छ । उनीहरू म्यासेन्जर ग्रुपमा गाँजा खाने ठाउँ, गाँजा लिने पालो र सहभागी हुने विषयमा छलफल गर्दछन् । सामाजिक सञ्जाल फेसबुक प्रोफाइल हेरेर उनीहरूले ग्रुपमा सदस्य थप्दै गएका छन् । चित्र तथा चरित्रको आधारमा शङ्का लागेमा त्यही ग्रुपमा जोडेर कुराकानी गर्ने गर्दछन् । यो कुरा सर्वपक्षीय छलफलका क्रममा बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार लागुऔषध नियन्त्रण गर्न सर्वपक्षीय छलफल आयोजना गरेको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उद्योग सङ्घ गुल्मी, होटल व्यवसायी मञ्च, सरकारी विद्यालय, निजी विद्यालय, नागरिक समाज, पत्रकारलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको छलफलमा सहभागिता रहेको थियो । उद्योग वाणिज्य सङ्घ गुल्मीका तर्फबाट छलफलमा आफ्नो सहभागिता जनाएका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले गाँजा खानेको म्यासेन्जर ग्रुपसमेत भएको जानकारी गराए । “लागुऔषधको समस्या गम्भीररूपमा विकराल बन्दै गएको छ,” उनले भने, “गाँजा ग्रुपको बारेमा केही जानकारी पाएपछि त्यो बुझ्दा साँच्चिकै रहेछ ।” भुसाललाई गाँजा खानेको म्यासेन्जर ग्रुपबारे थाहा भयो । त्यसपछि जोडिएर सबै जानकारी लिन खोजे । फेसबुकमा त्यही किसिमको नक्कली चित्र देखाएपछि सदस्य बने । त्यसबारे सबै बुझेपछि उनी त्यसबाट हटे । भुसालको यो परीक्षणले गुल्मीमा लागुऔषधको समस्या भयावह बनिरहेको सजिलै आकलन गर्न सकिन्छ । उपल्लो तम्घास माध्यमिक विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बालबालिकामा लागुऔषधको लत छुट्नै नसक्ने गरी परिसकेको बताइन् । बालबालिकालाई यसबाट छुटाउन परामर्शले मात्र नपुग्ने भन्दै यसलाई गम्भीररूपमा लिएर अगाडि बढ्न आग्रह गरिन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जसमा समस्या छ त्यसैलाई समाधानका लागि प्रयोग गर्नुपर्ने बताए । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाएमा र होटल व्यवसायी संयमित बनेमा केही हदसम्म लागुऔषधको प्रयोग घट्ने बताए । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जङ्गबहादुर थापाले आफूहरूले बिक्री गर्न नमिल्ने कुराहरूमा सचेत हुने बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले विधिको शासन प्रयोग गर्दै नियमन, नियन्त्रण र सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुऔषधको प्रयोग गर्न बनाइएका माध्यमलाई नियमन गर्ने बताए । गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले लागुऔषधको प्रयोगका लागि अवसर दिने र चाहना राख्ने दुवैलाई शून्यतर्फ झार्न लाग्ने जानकारी दिए । विद्यालयबाट लागुऔषध नियन्त्रणका कार्यक्रम चलाउन आग्रह गरिने पौडेलले बताए । “सबैले आ–आफ्नो तर्फबाट भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्दछ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “अब जिल्ला तहबाट पालिकासम्म लागुऔषध नियन्त्रण गर्न अभियान चलाउँछौँ ।” रासस
काठमाडौंः वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानवता सेवा गरेका आधारमा बहराइनको उच्च अवार्ड प्रदान गरिने भएको हो । बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ । पुरस्कारका लागि यस वर्ष मनोनीतहरूमध्ये डब्ल्यूएचओ फाउन्डेसन पनि रहेकोमा निर्णायकहरूले डा. रुइतलाई छनोट गरेका थिए । मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा. रुइतलाई पुरस्कार प्रदान गरिएको गल्फ न्युजले जनाएको छ । उक्त घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले यस वर्ष अवार्डका लागि १३९ मनोनयनमा परेको जानकारी दिनुभयो । “नेपाली नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई उहाँको समुदायको सेवा र उपलब्धिका लागि सम्मान गरिएको छ,” उहाँले भन्नुभयो । मानवताको सेवाका लागि इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले डा. रुइतलाई मोतीबिन्दुको उपचारमा अभिनव दृष्टिकोण राखेर उक्त पुरस्कार प्रदान गरिएको बताउनुभयो । यसैबीच गोरखापत्रसँग कुरा गर्दै डा. रुइतले ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले आफूलाई उक्त अवार्ड प्रदान गर्न लागेको जानकारी दिनुभयो । उहाँले आफूले आँखा स्वास्थ्यमा काम गरेबापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु आफ्नो व्यक्तिगत रूपमा नभई समग्र राष्ट्रको गौरवको विषय भएको बताउनुभयो । डा. रुइतका अनुसार बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । कोभिडको समयमा भने अवार्ड रोकिएको थियो ।
पोखराः पोखरामा विमान दुर्घटना हुँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ । थप एकजनाको शव भेटिएसँगै विमान दुर्घटनामा मृत्युु हुनेको संख्या ७१ पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘आइतबार पोखरामा विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि शव परिवारलाई बुझाउन थालिएको छ, ढकालले भने, ‘दुर्घटना स्थलमा बेपत्ता भएकाहरुलाई खोजी कार्य जारी छ, अहिले थप एकजनाको शव भेटिएको छ, बेपत्ता भएका एकजनाको खोजी कार्य जारी छ ।’ आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना भएको थियो । आइतबार विमान दुर्घटना हुँदा ४ चालक दलसहित ६८ जना सवार थिए । आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् । नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् ।
पोखराः पोखराको गैह्रापाटन निवासी बलराम गौतम सोमबार दिउँसोदेखि परिवार र आफन्तसँग सम्पर्कविहीन छन् । पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गौतम परिवार गैह्रापाटन बस्दै आएका छन् । ५६ वर्षीय गौतम सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन नसकेको उनका भतिज विकास आचार्यले जानकारी दिएका छन् । ‘सामान्य दिन झैं काका दिउँसो घरबाट निस्कनु भएछ’ भतिज आचार्यले भने ‘बेलुकासम्म पनि नआउँदा काकाले मोबाइल र गाडीको चाबी घरमै छाडेको पाइयो ।’ त्यसबेला मोबाइल स्वीचअफ भइसकेको पाइएको आचार्यले बताए । गौतम मंगलबार दिउँसोसम्म सम्पर्कविहीन भएपछि परिवार र आफन्तको सल्लाहमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निवेदन दिइएको छ । निवेदन पाएपपिछ कास्की प्रहरी खोजीकार्यमा जुटेको छ । त्यस्तै, आफन्तहरु पनि पोखराको नारायणस्थान, सराङकोटलगायतको स्थानमा खोजी गरिरहेको आचार्यले जनाए । गौतम विभिन्न उद्यम र व्यवसायमा संलग्न छन् ।
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे.. सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा।..’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप हुनुभएको छ । बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो । पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो । गत वर्ष उहाँ आफैंले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइनेछ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ । बागलुङको बडिगाड गाउँपालिका-३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ । लोकगायक विष्णु खत्रीले नेपाली सङ्गीत जगतले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । “प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्यो, गायक खत्रीले सम्झिनुभयो । गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गतवर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । “बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो”, खत्रीले सुनाउनुभयो । उहाँहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो । खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै हुनुहुन्थ्यो । स्थानीय प्रगतिशील युवा क्लबले उहाँहरूलाई आमन्त्रण गरेको थियो । गायिका निराको निधनले मर्माहत बन्नुभएका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो लिनुभएको छ । “बैनीको दुःखद घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँ”, गायक खत्रीले भन्नुभयो, “मैले नै सिफारिस गरेर निरा बैनी भीमपोखरा आउने योजना बनेको थियो ।” आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो । त्यहीँबाट बागलुङको भीमपोखरा जाने कार्यक्रम थियो । “बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, श्राेतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो”, गायक खत्रीले भन्नुभयो, “त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।” प्रत्यक्ष दोहोरीको प्रवर्द्धन गरिरहेको ‘सारङ्गी संसार’ युट्युब च्यानलका सञ्चालक ताराकान्त विकले गायिका निरालाई ऊर्जाशील कलाकारका रूपमा स्मरण गर्नुभयो । “एउटा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो, हँसिलो, चञ्चल, ऊर्जा पनि उस्तै”, विकले भन्नुभयो, “मञ्चीय कार्यक्रममा दर्शक र श्राेतालाई अडाइरहन सक्ने क्षमता उहाँमा थियो ।” ‘सारङ्गी संसार’का छवटा भागमा गायिका निरा मुख्य भूमिकामा प्रस्तुत हुनुभएको थियो । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उहाँको आफ्नै युट्युब च्यानल पनि छ । चर्चित गायकहरूसँगको उहाँको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ । तीज गीत, पञ्चेबाजालगायत गीत सार्वजनिक गर्नुभएकी निरा प्रत्यक्ष दोहोरीबाट अझ बढी चिनिएको विकले बताउनुभयो । “प्रत्यक्ष दोहोरीमा गज्जबले जम्न सक्नुहुन्थ्यो, मौलिक शब्द र बागलुङे लवज उहाँको गायनमा झल्कन्थ्यो”, विकले भन्नुभयो, “अब त्यो सम्झनामा मात्र रहने भयो, एल्बम र युट्युबमा मात्र उहाँका गीत बाँकी रहे ।” बडिगाड–८ का टीका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई–तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।” सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटुनाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । पोखरा उड्नुअघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देश हेर्न नपाउँदै छन्त्याल सेतीखोँचमा अस्ताउनुभएको हो । बडिगाड–८ का वडाध्यक्ष खडक पुनले गायिका निराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध बनेको बताउनुभयो । “सङ्गीत क्षेत्रमा सङ्घर्षशील, आफ्नै प्रतिभा र क्षमताले स्थापित गाउँकी चेलीलाई गुमाउनुपर्दा गहिरो पीडाबोध भएको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा पढ्दादेखि नै नाच्ने गाउनेमा उहाँको बढी रुचि थियो, गाउँमा हुने वैशाखे पूर्णिमालगायत मेला, कार्यक्रममा सानैदेखि गीत गाउनुहुन्थ्यो ।” छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गर्नुभएको थियो । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ । उहाँको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन् । -रासस
पोखराः फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेमगरको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उहाँले भन्नुभयो, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।” यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उहाँ पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लाग्नुभयो । “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उहाँले सुनाउनुभयो, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।” केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उहाँलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । “बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।” खुट्टा र पिठ्यँुमा लागेको चोट देखाउँदै आलेले भन्नुभयो, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्यँुमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।” आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्नुहुन्छ । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ।” अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान धन्यवाद दिँदै बस्नुभएको छ । “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उहाँले भन्नुभयो । पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ । घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ । सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ । RSS
पोखराः मनाङको थोरङला पास पदमार्गमा एक महिला पदयात्री मृतावस्थामा भेटिएकी छिन् । उक्त पदमार्गमा रहेका पदयात्रीले महिला मृत अवस्थामा भेटेपछि हुम्दे प्रहरीलाई खबर गरेका थिए । पोखरामा रहेको नर्थ नेपाल ट्रेक्स एण्ड एक्सपिडिसनका सञ्चालक माेहन भण्डारीले पाेखराबाट गएका पथप्रदर्शकहरुले बिहान ८ बजे देखेकाे र उक्त जानकारी प्रहरीलाई दिएकाे सुनगाभा न्यूजलाइ बताए । पथप्रदर्शकहरुले उनको हाइ अल्टिट्युडकाकारण मृत्यु भएको अनुमान गरेका छन् । जानकारी पाएपछि घटनास्थल पुगेको मनाङ प्रहरीले उनी मृत अवस्ठामा रहेकाे पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले उक्त महिला कोरियन नागरिक रहेको र अन्दाजी ४५ वर्षीया रहेको जनाएका छन् । उनको शव करिब ५४ सय उचाईमा रहेको थोङफेदीमा भेटिएको हो । उनी पथप्रदर्शबिना पदयाात्रामा निस्किएको हुनसक्ने जनाइएको छ । हाल उनको शव मनाङमा रहेको र काठमाण्डौं पठाउन समन्वय भइरहेको श्रेष्ठले जानकारी दिए । त्यस्तै, सोही पदमार्गमा विदेशीका अन्य २ शवसमेत भेटिएको र एकमुष्ट पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । (नोटः यसअघि प्रयोग भएको मृतकको तस्बिर कोरियन दूतावासको अनुरोधमा हटाइएको छ । –सम्पादकं)