गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ ।   एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्...

काठमाडौँ:  दोलखाका समानुपातिक सांसद ईश्वरबहादुर रिजालले कालिञ्चोक गाउँपालिका वडा नं. ९ कटुवाचौर बजारमा भएको भीषण आगलागीबाट पीडितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न माग गरेका छन् । सांसद रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा मानवीय क्षति नभएपनि ९ घर जलेर नष्ट भएको तथा घरमा र डेरामा व्यापार गर्ने १५ परिवारको पसल एवं पशुधनसमेत जलेको बताएका छन् ।    ‘क्षतिको एकिन विवरण आइनसके तापनि करिब १६,१७ करोडको नोक्सान भएको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय चरिकोटबाट प्रहरीहरू गई आगलागी नियन्त्रणमा लिने कार्य भएको छ’, रिजालले विज्ञप्तिमा भनेका छन्, ‘तत्काल राहत तथा उद्धारका लागि नेपाल संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत सरोकारवाला सबै संघ सस्थाको ध्यानाकर्षण गर्दछु ।’  

काठमाडौं:  राष्ट्रिय सूचना आयोगले सार्वजनिक पद धारण गर्दा गोपनीयताको शपथ खाने व्यवस्था हटाउन सरकारलाई सुझाव दिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको वार्षिक प्रतिवेदन २०७८/७९ मा आयोगले उक्त सुझाव दिएको हो ।   आयोगको प्रतिवेदनमा लेखिएको छ, ‘शासन पद्धतिमा भइरहेको विकास र सुशासनको आवश्यकतालाई ध्यानमा राखी गोपनीयताको शपथ गराउन सान्दर्भिक हुन सक्दैन । तसर्थ सार्वजनिक पद ग्रहण गर्नेका लागि शपथमा रहेको गोपनीयता शब्द पूर्णरुपमा हटाउनुपर्छ ।’   आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले एकातिर खुला, पारदर्शिता र सुशासनको कुरा गर्ने र अर्कोतिर गोपनीयताको कसम खाने कुरा आपसमा बाझिएको बताए । ‘त्यसैले सार्वजनिक पद धारण गरेका व्यक्तिले शपथ ग्रहण गर्दा प्रयोग गर्ने गोपनीयता कायम गर्ने भन्ने सन्दर्भ हटाउन सुझाव दिएका हौं,’ मैनालीले भने ।   पुराना कानुन संशोधन गर्नुपर्ने र अब बन्ने नयाँ कानुनमा पनि गोपनीयताको शपथ खाने व्यवस्था हटाउनुपर्ने उनको भनाइ छ ।   कुनै पनि नियुक्ति वा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले कार्यभार सम्हाल्नुअघि गोपनीयता कायम गर्ने व्यवहोराको शपथ लिने गर्दछन् । जबकि कानुनमै कुन सूचना गोप्य राख्ने र कुन सार्वजनिक गर्ने भन्ने छुट्टै व्यवस्था छ ।   आयुक्त मैनालीले गोपनीयता कायम गर्ने भनेर शपथ खाने प्रचलनले सूचनाको हकलाई कुण्ठित गर्ने बताए । सार्वजनिक निकायबाट हुने निर्णय पारदर्शी हुँदा र त्यसको जानकारी सेवाग्राहीले सहज ढंगले पाउँदा लोकतन्त्र पनि बलियो बन्ने आयोगको ठहर छ ।   आयोगले सार्वजनिक निकायहरुले गरेका अध्ययन, अनुसन्धान र छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न, सार्वजनिक खरिदलाई पारदर्शी बनाउन तथा कम्पनी, प्रतिष्ठान, संगठन, समिति, संस्था आदिमा भएका लगानी र आबद्ध व्यक्तिहरुको विवरण पारदर्शी बनाउन पनि सुझाव दिएको छ ।

बुटवल: बुटवलमा देशभरका ११ वटा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।    बुटवलमा बुधवार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।   पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरका बिचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो ।   माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहनेछ ।    उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँले बताउनुभयो ।    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले उपमहानगरहरूका बिचमा आपसी समन्वय र सहकार्यको उद्देश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताउनुभयो । उहाँले स्थानीय सरकारहरू साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताउनुभयो ।   कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको बताउनुभयो । 

ढोरपाटन: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो ।    हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ ।   प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको सङ्गमस्थल हो । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जो कोही पनि मोहित हुने गर्छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रामा पुग्न सकिन्छ । प्रत्येक याममा यहाँको सुन्दरता फरक–फरक देख्न सकिन्छ । गाडीमा भन्दा बढी पैदल यात्रा गर्दा घुमफिर रोमाञ्चक बन्छ ।   वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौँ हिमशृङ्खलाले मनै लोभ्याउँछ । बागलुङ नगरपालिका–८ सिगाना, बौँडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घनाजङ्गल पर्दछ । अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ । दह वरपरका परम्परागत घर अहिले पनि देख्न सकिन्छ । गाजा दह क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणमा चासो नदिँदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताए ।   दहसँगै यहाँ बराह थान पनि रहेको छ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने थापाले बताए । खास गरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटक आउने गरेको उनको भनाइ छ । थापाले यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको बताए ।    “अहिले जति पनि पर्यटक आउँछन्, उनीहरु पुरानै प्रचारका कारणले आएका हुन्, पछिल्लो समय गाजाको दहको प्रचारप्रसारमा कमी छ, यति महत्वपूर्ण र रमणीय ठाउँ छन्, पर्यटक बढाउन सकिएको छैन”, छन्त्यालले भने, “प्रचार कम छ, यहाँ नयाँ संरचना पनि खासै बनेका छैनन्, प्रचारप्रसारलाई व्यापक बनाउने र यहाँ पूर्वाधार निर्माण गर्न सक्ने हो भने वर्षमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ ।”   पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उनको भनाइ छ । विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि पनि समय–समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उनले बताए । पछिल्लो समय खाना र बस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउनेको सङ्ख्या बढेको छन्त्यालले बताए ।   सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ । जोखिमपूर्ण यात्रा गर्न धेरैले रुचाउँदैनन् । गुल्मीको शान्तिपुरबाट घुम्न आएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताए । ठाउँ निकै रमणीय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने उनले बताए ।   क्षेत्रीले भने, “फोटो र भिडियोमा निकै सुन्दर देखिन्छ गाजाको दह, म पनि भिडियोमा देखेर घुम्न आएको हुँ, ठाउँ त धेरै रमाइलो रहेछ, तर बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यले त्यो दुःख र समस्या भुलाइदिँदो रैछ, तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो ।”   जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण योजना बनाएर लागेको बताए  । उनले यो ठाउँ ऐतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गर्दै आएको बताए । यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाँले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ ।   उपप्रमुख शर्माले भने, “यो ठाउँ धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ, हरेक वर्ष टाढा–टाढाबाट यहाँ भक्तजन पूजाआजा गर्न आउँछन्, यस्तो महत्वपूर्ण क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ, अहिलेसम्म केही आधार तयार भएको छ, यसको थप विकासका लागि गुरुयोजना बनाएर पूर्वाधार निर्माण गर्ने चरणमा छौँ ।”   अहिलेसम्म यहाँ खानेपानी, मन्दिर व्यवस्थापन, शौचालय तथा सडक निर्माणको काम गरिसकेको र अन्य संरचना निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उपप्रमुख शर्माले बताए । यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको शर्माले जानकारी दिए । यस क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि निजी कम्पनीसँग सहकार्य गर्ने उनको भनाइ छ । 

आगामी २३ गतेदेखि पोखरा महानगरपालिकाले नगर क्षेत्रमा पाकिङ् गर्न नपाइने सूचना जारी गरिसकेको छ ।    सूचना जारी भएपछि नगरवासीले मिश्रित प्रतिक्रिया जनाएका छन् । महानगरले पार्किङ् व्यवस्थापन गर्न वडा १६ का अध्यक्ष अमृत तिमिल्सिनाको संयोजकत्वमा पोखरा महाागर यातायात व्यवस्थापन समिति गठन गरेको छ ।    उनै संयोजक तिमिल्सिनाका अनुसार यतिबेला महानगर नयाँबजारस्थित प्रदर्शनी केन्द्र, न्यूरोडको पोखरा सभागृह, शहरी स्वास्थ्य केन्द्रमा पार्किङ् व्यवस्थापनको तयारी हुँदैछ ।    यस्तै, निजीतर्फ सेल्वेज टावर, मोबाइल टावर र व्यावसायिक भवनको अन्डरग्राउण्ड पार्किङलाई प्रयोगमा ल्याउने तिमिल्सिना बताउँछन् । तर महानगरले पार्किङ् व्यवस्थापन समिति गठन गरेपनि यसको जिम्मा नलिएको इन्जिनियर सुरेन्द्र पौडेल बताउँछन् ।    महानगरले पायक पर्ने नुरकुमार श्रेष्ठ (खोप्लाङे)को १० रोपनी जमिनमा पार्किङ् व्यवस्थापन गर्न सम्याएर राखेको छ । यद्यपि त्यहाँ पार्किङ व्यवस्थापनको जिम्मा भने देवेन्द्र केसीको हुने बताइन्छ ।    सुरुमा महानगरले व्यवस्थापन गर्ने भनिएपनि अहिले त्यो सत्य नभएको इन्जिनियर पौडेल बताउँछन् । ‘हामीले कहिँकतै व्यवस्था गर्दैनौ’ पौडेल भन्छन् ‘खोप्लाङे्को जग्गा सम्याइयो तर त्यहाँ पार्किङ् हुन्छ हुँदैन देवेन्द्र केसीलाई सोध्नुहोस् ।’   पौडेलको अनुसार सरकारी जग्गामा पार्र्किङको व्यवस्थापन महानगरले गर्नेछ तर धेरैको पायक पर्ने खोप्लाङेको जमिनमा भने पाकिङ् हुने वा नहुनेमा कुरा बाँझिएको छ ।   खोप्लाङेको ७ रोपनी जग्गा भाडामा लिएका केसीले भने पार्किङ व्यवस्थापन गर्ने विषयमा महानगरसँग कुनैपनि औपचारिक छलफल नभएको बताए । ‘मेयरसा’बले भेट हुँदा कुरा निकाल्नु भएको हो, महानगरले जमिन सम्याउनु भएको छ’ केसीले भने ‘तर व्यावसायिक प्रयोजनार्थ लिएको जमिनमा पार्किङ् उठाएर बस्न गाह्रो हुन्छ ।’   ‘हामीले व्यवस्थापन गर्दैनौ, निजी क्षेत्रलाई दिने हो’ पौडेलले स्पष्ट पारे ।    पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी भएकाले व्यावसायिक हित पहिलो प्राथमिकता भएको भन्दै उनले नगरलाई सुन्दर र व्यवस्थित गर्ने दायित्व भने रहेको उनको धारणा छ ।    कुटी रिसोर्टका सञ्चालकसमेत रहेका केसीले यस विषयमा संघसँग छलफल गरेर अघि बढ्ने बताएपनि पाकिङ् व्यवस्थापनको जिम्मा आफ्नो नभई महानगरपालिकाको भएको स्पष्ट पारे ।    त्यस्तै, लामो समय स्वामित्व विवादमा मुद्धा लडेर हारेका राजेन्द्रनिधि कोइरालाको न्यूरोडस्थित जग्गामा पनि महानगरले पार्किङ गर्न छुट्याएको छ । यता, पृथ्वीचोकस्थित साल्ट ट्रेडिङको क्षेत्र पनि प्रयोग गरिने महानगरले जनाएको छ ।    महानगरले प्रतिघण्टा दुईपाङ्ग्रे सवारी साधनलाई १०, साना ४ पाङ्ग्रेलाई ५०, मझौलालाई ७० र ठूला गाडीलाई १ सय रुपैयाँ तोकेको छ ।   

स्याङ्जा:  देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका–१, सिरुबारीमा एकै रात १३ ठाउँमा चोरी भएको छ। वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा चोरी भएको हो।    राजास्वारादेखि सिरुबारीसम्मको दुई किमि दूरीभित्र चोरी भएको प्रहरी निरीक्षक पदमराज थापाले बताउनुभयो। चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यान दिएको देखिएको छ। बौद्ध गुम्बाको दान पेटिका लग्दा भित्र रहेका वर्षौंदेखिका पुराना बुद्धका मूर्तिमा भने केही नगरेको थापाले बताउनुभयो।    चोरी गर्नेले तीन लाख ३६ हजार रुपियाँ नगदसहित, साढे १० तोल सुन चोरी गरेका छन्। सबैभन्दा धेरै सम्पत्ति पूर्णबहादुर गुरुङको घरबाट चोरी भएको छ।    गुरुङ परिवार पोखरा  गएको मौका छोपी मङ्गलसूत्र, चन्द्रमा, नौगेडी, चुरा, बेरुवा औँठी गरी साढे १० तोला सुन र नगद दुई लाख पाँच हजार लगेको थापाले बताउनुभयो। यस्तै वडा कार्यालयबाट ३० हजार रुपियाँ,  पूर्णबहादुर बगालेकोबाट सीसीटीभी, मोनिटर र सीपीयू लगेका छन्।    चोरले गङ्गाधर ढकालको किराना पसलबाट सात हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार नगद, लक्ष्मी शर्माको फेन्सी पसलबाट सात हजार नगद, कृष्णप्रसाद पौडेलको पसलबाट सात हजार, मित्रलाल अधिकारी र दिगो बहुउद्देश्यीय सहकारीबाट एक/एक हजार नगद, ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरी गरेका छन्।     मान्छे नभएका घर र पसलबाट चोरी भएकाको कारण चोरी गर्ने नजिकैका वा चिने जानेकै मान्छे हुन सक्ने सक्ने वडा अध्यक्ष पवनकाजी अधिकारीले अनुमान गर्नुभयो।  उहाँले आफ्नो वडा कार्यालयबाट देखिएको राजस्वको खाममा रहेको ८८ हजार नलगेको र अफिसका ल्यापटप, कम्प्युटर केही नगरेको बताउनुभयो। 

पोखरा:  लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष विच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई अनुरोध गर्नुभयो ।  कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता सुनारले यस कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा लिङ्ग र लैङ्गिकताको विाष्मा अधिवक्ता गिता कुमारी लामिछाने, महिलाको अवस्था र कानुनी व्यवस्थाको बारेमा अधिवक्ता लक्ष्मण शर्मा र लैंगिक हिंसाको परिचय, कारण र न्यूनीकरणमा महिला तथा पुरुषको भूमिकाको विषयमा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्नुभएको थियो ।  कार्यक्रममा वडा नम्वर ७ भित्रका विभिन्न टोल विकास, आमा समुह, युवा क्लव र महिला क्लवबाट करिव ४० जनाको सहभागिता रहेको थियो ।   

काठमाडौं:  पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटना परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उहाँले परिवारको नमुना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिनुभयो । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।

बिर्तामोड:  झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा  बिर्तामोडका  २१ वर्षीय राजीव बस्नेत  प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् ।  सुनको कारोबार गर्दै आएका झापा बिर्तामोड नगरपालिका ३ भगवान् चौकका कमल बस्नेतका छोरा  राजीवलाई माघ ५ गते  श्रीअन्तु घुम्न जान्छु भनी घरबाट निस्किएसँगै अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेत अपहरणमा परेका हुन् । प्रदेश नं। १–०१–०१५प ८०९६ नम्बरको स्कुटरमा घरबाट निस्किएका बस्नेतको केही क्षणमा नै फोन स्वीच अफ भएपछि उहाँको खोजी सुरु भएको थियो । साथीसँग घुम्न जाने भनेका कारण उनको खोजतलासमा केही ढिलाइ भए पनि प्रहरीको सक्रियताले उनलाई सकुशल मुक्त गर्न सकिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो । उहाँको अपहरण गरेर छोराको रिहाइका लागि ४ करोड रुपियाँ  फिरौती मागेपछि प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको थियो ।  अपहरणकारीले राजीवलाई युवतीको प्रभावमा पार्दै अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणमा सहयोग गर्ने युवतीलाई पक्राउ गर्न सफल बनेसँगै राजीवको नजिक प्रहरी पुगेको थियो । अपहरणकारीको पहिचान खुले पनि अपहरणकारीले युवकको हत्यासम्म गर्न सक्ने भयले प्रहरी बढी सतर्क भएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । अपहरण गरेर  भारतको मणिपुर लगिएको पाइएपछि भारत मणिपुर राज्यका प्रहरीसँगको समन्वयमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । सोही क्रममा अपहरणको मुख्य योजनाकारका रूपमा रहेका मणिपुरका राजु भण्डारीले पक्राउ पर्ने डरले किशोरलाई बिना सर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जङ्गलछेउमा छाडेको  प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो  । व्यावसायिक साझेदार झापा बिर्तामोडका कमल बस्नेतबाट फिरौती असुलका लागि भारत मणिपुरका राजु भण्डारीले भाडाका मानिसहरू प्रयोग गरेर आफ्ना व्यावसायिक साझेदार बिर्तामोडका कमल बस्नेतका छोरा राजीवको अपहरण गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  मणिपुरका  भण्डारीले बिर्तामोडका कमल बस्नेतसँगको  लेनदेन मिलाउन उनका छोराको प्रयोग गरेर रकम असुल गर्ने योजना बनाएको पाइएको छ  । भण्डारीकै योजना अनुसार उनले नेपालमा प्रतीक्षा योङ्हाङसँगको सल्लाहमा आफ्नो योजनालाई अगाडि बढाएको प्रहरीको भनाइ छ  । सोही क्रममा प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका दीपिका लिम्बू र कौशिका लिम्बूलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरूले योजना सफल भएमा जनही २५÷२५ लाख रुपियाँ दिएर विदेश पठाइदिने आशा देखाएको पाइएको छ  । विगत छ महिनादेखि योजना बनाएर कमलका छोरालाई युवतीको प्रेम जालमा पारेर अपहरण गर्न सफल बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणकारीले  कमलका छोरा २१  वर्षीय राजीवलाई घुम्न जाने योजना बनाएर अपहरण गर्न सफल बनेको हुन् । यसै क्रममा माघ ४ गते पर्यटकीय क्षेत्र सालबारी झिल घुमेर ५ गने अर्को पर्यटकीय स्थल इलामको कन्याम घुन जाने भनी लगी एकाएक अपहरणकारीको फन्दामा राजीव परेको प्रहरीले जनाएको छ । युवतीको फन्दामा परि अपहरणमा परेका राजीवको परिवारसँग  नेपालकै कुनै एक भूभागमा लगेर बन्धक बनाएर मणिपुर र नेपाली भाषामा फिरौती रकम माग्न सुरु गरेसँगै प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको थियो ।  अपहरणको मुख्य योजनाकारको पहिचान भएसँगै प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्ने योजना थाह पाएपछि मुख्य योजनाकार राजु भण्डारी बस्नेतलाई निःशर्त छोड्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरी अपहरणमा संलग्नमध्ये प्रतीक्षा योङ्हाङलाई बिर्तामोडबाट पक्राउ गर्न सफल भएको थियो भने उनी पक्राउ परेसँगै अपहरणका योजनाका बारेमा धेरै कुरा खुलेको प्रहरीको भनाइ छ  । अपहरणमा भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम तथा चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीव्र बनाएको जनाइएको छ । प्रहरीका अनुसार आपराधिक समूह निकै ठूलो रहेकाले उक्त समूहको खोजी गरेर पक्राउ गर्नका लागि सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।