पोखरा: पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्याण्डफिल्ड साइडमा आइतबारदेखि फोहोर फ्याँक्नमा रोक लगाएको छ । पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापनका गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ । महानगर कार्यपालिकोे गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाको लागि हेम्जा, विरौटाको लागि छोरेपाटन लगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी रहेका छन् । जनवरी १ बाट जसरी पनि अन्तराष्टिय विमानस्थल संचालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो । हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्याण्ड फिल्ड साइड छोप्न सुरु गरिएको छ । दिघएकालीन समयको लागि सम्भावित ठाउँमा वातावरण अध्ययनको लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ जसले दिर्घकालीन रुपमा ल्याण्ड फिल्ड साइडको खोजी गर्ने छ । सो समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पहरूमा अध्ययन गर्ने छ । विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यी मध्ये कुनै न कुनै विकल्पलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरिरहेको छ । महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भैसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूमा आवश्यक सहजीकरण सहित सहयोगका लागि आम नगरवासी सहित सम्बन्धित सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ ।
फुटबल विश्वकपको फाइनल आज कतारको लुसेलस्थित स्टेडियममा हुँदैछ । नेपाली समयानुसार खेल पौने ९ बजेदेखि सुरु हुनेछ । यस स्टेडियमको क्षमता करिब ९० हजार रहेको बताइएको छ । यही रंगशालामा २२ औं विश्वकपको उपाधि जित्न पूर्वविजेता फ्रान्स र अर्जेन्टिनाबीच खेल हुँदैछ । यसपटकको खेलमा दुबै देश इतिहास रच्न चाहन्छन् । फ्रान्स उपाधि दोहोर्याउन चाहन्छ भने अर्जेन्टिना र मेस्सी दुबै ‘नाम’ राख्न चाहन्छन् । त्यसो त फ्रान्सको तुलनामा अर्जेन्टिनाको विश्वव्यापी फ्यान धेरै छन् । विश्वमै लायोनेल मेस्सीका फ्यान छन् भने देशभित्र पुरै जनसंख्या छ । यही जनसंख्याबाट करिब ४० हजार अर्जेन्टिनी आजको फाइनल हेर्न र टीमलाई समर्थन गर्न लुसेलमा हुनेछन् । ३५ वर्षे मेस्सीसँगै ३६ वर्षपछि उपाधि जित्न अर्जेन्टिनीहरु कतारमा उर्लिदा त्यहाँको सडक उनीहरुको अधिनमा रहेको देखिएको छ । र, आज तिनै ४० हजार देशवासीसँगै मेस्सीले पनि गाउँनेछन् ‘मुचाचो, अहोरा नो भोल्भिमो आ इलुजिना ...’ जसको सार छ, हामी आशावादी छौं, तेस्रो पटक जित्छौं, हामी च्याम्पियन हुनेछौं । कतारको लुसेलमा जम्मा भएका अर्जेन्टिनीमध्ये ठूलो संख्या राजधानी ब्यूनस आयर्सबाट कतार पुगेका हुन् । टिम फाइनलमा पुगेपछि टिकटमा कालोबजारी भएको भन्दै उनीहरुले कतारस्थित दूतावासमा गुनासोसमेत गरेका छन् । अधिकाँश समर्थकहरु यस फाइनललाई अविस्मरणीय क्षण भन्दै सडकमा नाच्न, गाउँन व्यस्त छन् । जसमध्ये मट्टियाज भन्छन्, ‘मेरो देश अब कहिले फाइनलमा पुग्छ र म हेर्न पाउँछु वा पाउँदिन थाहा छैन, म खेलको अन्त्यसम्म खुशी मनाइरहनेछु ।’ ‘डोन्ट कल मी फेक फ्यान’ भन्ने उनको गीत पनि सामाजिक सञ्जालमा हेर्नेको संख्या ह्वात्तै बढेको छ । करिब १३ हजार किलोमिटर टाढाबाट उपाधि चुम्न आएका ४० हजार अर्जेन्टिनीको सपना आजको रात पुरा होला त ? – एजेन्सीको सहयोगमा ।
पाेखरा: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभर भाडा बढाएपछि त्यसको असर पुरै औद्योगिक क्षेत्रमा परेको छ । लिमिटेडले ४ सयदेखि ७ सय प्रतिशतसम्म भाडा दर बढाएपछि पोखरा औद्योगिक क्षेत्रमा लिमिटेडको कार्यालय मूलगेटमा कालो झण्डा र ब्यानरसहित उद्यमीहरु आन्दोलित भएका छन् । ०७५ सालमा तय गरिएको भाडादरमा आगामी ५ वर्षसम्म भाडा नबढाउने सम्झौता भएपनि सोही वर्षको साउनदेखि नै ७ सय प्रतिशत बढाइएको उद्यमीहरुले जनाएका छन् । कोभिडको अन्त्यसँगै बढाइएको भाडामा जरिवानासहित बुझाउन भन्दै अहिले पत्र काटिएपछि उनीहरु आन्दोलित भएका हुन् । त्यसपछि लिमिटेडले ताकेता गर्न थालेपछि उद्यमीहरु लिमिटडेको मुलद्वारमै ब्यानर र झण्डा टाँग्न बाध्य भएको पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार यहाँ ६ सय ८४ प्रतिशत भाडा बढाइएको छ । यस दर अनुसार पहिले प्रतिरोपनी ८ हजार रुपैयाँ वार्षिक बुझाइरहेका उद्यमीहरुले अहिले ५४ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै, उक्त क्षेत्रमा निर्माण भएको भवनमा पनि लिमिटेडले अतिरिक्त रकम लिने गरेको छ । यस विषयलाई सल्टाउन भोली लिमिटेड र उद्योग संघको छलफल तय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यद्यपि, समस्या सम्बोधन भइहाल्ने विश्वास नभएको श्रेष्ठ बताउँछन् । पञ्चकन्या मेटल इन्जिनियरिङ्का गणेशप्रसाद बाँस्तोलाले नवीकरण गर्ने बेला भएको सम्झौताविपरित भाडा बढाइएको गुनासो गरे । पछिल्लो समय ४० वर्ष समय थप गरेको र त्यसपछि भाडा बढाएर अन्याय गरेको उनको आरोप छ । कोभिडकाबीच मारमा परेकोबेला त्यसलगत्तै चर्काे भाडावृद्धि गरी उद्यमीलाई देशमा गरिखान नदिने वातावरण बनाउँदै लगेको उनले उल्लेख गरे । ‘हामीले गरेको लगानीबाट देशले आर्थिक विकासमा खर्च गर्न पाइरहेको छ’ बाँस्तोला भन्छन् ‘तर सरकार उद्यममैत्री हुनुकोसट्टा भाडा उठाएर खान पल्किएको छ ।’ देशमा भएका उद्योगधन्दालाई विस्तार गर्ने वातावरण नबन्दा धेरै उद्यमीले विदेशमा लगानी गर्न थालेको उनको भनाई छ । उनले भने, ‘सरकारले उत्पादनमूलक उद्योगलाई अहिले भन्सारदेखि बजारसम्म अप्ठेरो स्थिति सिर्जना गरिदिएको छ ।’ लिमिटेडका पोखरा क्षेत्रीय प्रबन्धक किशोरकुमार पाण्डेका अनुसार उद्यमी र लिमिटेडबीचको गाँठो फुकिहाल्ने अवस्था छैन । भोली (सोमबार) छलफल हुने भएपनि यस विषयलाई सम्बोधन गर्ने एजेन्सी लिमिटेड नभई उद्योग मन्त्रालय नै भएको उनले प्रष्ट्याए । ‘झट्ट हेर्दा लिमिटेडले भाडादर बढाएको देखिए पनि यसमा मन्त्रालयकै हात छ’ पाण्डे भन्छन् ‘यसको सम्बोधन गर्ने निकाय मन्त्रालय हो तर हालसम्म कुनै चासो लिएको देखिदैँन ।’ उद्यमीहरुले समायानुकूल भाडा बढाए कुनै आपत्ति नभएको जनाउ गरेपनि ७ प्रतिशतसम्म गरिएको वृद्धिदर अस्वभाविक भएको उनले घुमाउरो शैलीमा स्वीकार गरे । सरकारलाई विकासे गतिविधिलाई निरन्तरता दिन आर्थिक स्रोतको खाँचो भएको र भाडा खानकैलागि औद्योगिक क्षेत्र सन्चालन नगरेको बताउँदै देशको ढुकुटी भर्न राज्य लगानी गरेको उनको दाबी छ । लिमिटेडले तराईका क्षेत्रमा ४ सय प्रतिशतको हाराहारीमा भाडा बढाएको छ भने सबैभन्दा बढी बालाजु, पाटन र पोखरामा ७ सय प्रतिशतसम्म वृद्धि गरेको छ । संघले ‘असमान र अन्यायपूण तथा विभेदकारी भाडा वृद्धिदर खारेज गर्’, ‘सबै उद्योगमा एकल भाडादर कायम गर’ र वार्ता र सहमतिमा नयाँ भाडादर निर्धारण गर’ भन्ने मागसहित विरोधमा उत्रिएको छ ।
काठमाडौंँ: कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् । आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ । विश्वकप फुटबल अन्तर्गत आइतबार राति अर्जेन्टिना र फ्रान्सको बिचमा फाइनल खेल हुँदै छ । अपराध अनुसन्धान कार्यालयले यसअघि सट्टेबाजी धन्दामा संलग्न पाल्पाका रुद्र प्रसाद पोखरेल र भारतीय नागरिक पवन कुमार शर्मा सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
गलेश्वरः म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।। आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले लोप हुँदै गएका गौँथलीको सम्झना दिलाउँछ । मानववस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका विविध कारणले गर्दा गौँथली लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीका ग्रामीण भेगमा पक्की घर बनाउने लहर चल्दै जान थालेपछि अहिले गौँथली देख्नै मुस्किल हुने गरेको चरा विशेषज्ञ नारायण सापकोटा बताउनुहुन्छ । “गौँथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव नै हो । हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले पनि यसको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो । “गौँथली आजभोलि न दलिनमा देखिन्छन् न त कोठामा नै भेटिन्छन् । कता हराए ती गौँथली रु घरको दलिन, खड्प्वालमा माटोको आकर्षक गुँड बनाएर बस्ने गौँथली आजभोलि देख्न मुस्किल छ”, बेनी नगरपालिका–२ बगरफाँटका ९१ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो । गौँथली हराउनुका थुप्रै कारण भएको विज्ञको भनाइ छ । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले माटोका घर भत्किएपछि भूकम्पबाट प्रभावित जिल्लामा गौँथली देखिनै छोडेको छ । वासस्थानको अभावका कारण गौँथली लोप हुने अवस्थामा पुगेको छ । “केही वर्ष अगाडि घरैपिच्छे देखिने गौँथली अहिले देखिँदैनन्”, ज्यामरुककोटका ८९ वर्षीय खड्गबहादुर घिमिरेले भन्नुभयो । विभिन्न समयमा हुने प्राकृतिक विपत्तिका कारण गौँथली लोप हुँदै गएका हुन् । मानव बस्तीको विस्तार, पक्की घरको निर्माणले गर्दा चरन क्षेत्रको अभावलगायत विविध कारणले गर्दा गौँथली नासिदै गएका वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो । सहरमा निर्माण गरिएका आधुनिक भौतिक संरचना गौँथलीका लागि उपयुक्त नभएकाले गौँथली लोप भएको विश्वास गरिएको छ । यद्यपि वासस्थानको अभाव र प्रदूषणका कारणले गौँथली सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । दुई दशक अघिसम्म म्याग्दीका घरैपिच्छे बथानका बथान देखिने गौँथली अहिले देखिनै छोडिसकेका छन् । मानव वस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु¥याउँदा यिनीहरू लोप भइरहेका छन् । किसानले बाली संरक्षण गर्न विषादीको प्रयोग गर्दा यिनीहरूको खानामा असर परेको देखिन्छ । हिन्दू धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने जनविश्वास रहेका छ । तर पछिल्ला वर्षमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरी गौँथली मार्ने गरिएको भेटिन्छ । सामान्यतया आकाशमा धेरै बेरसम्म उडिरहन सक्ने यो चरा देख्नमा लगभग भँगेरा जत्रै हुन्छ । यसको जीउको रङ खैरो र कालो हुन्छ भने पेटतिरको भागको रङ सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराको भन्दा बेग्लै किसिमको हुने चराविद् सापकोटाले बताउनुभयो । “अरु चराले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदिको प्रयोग गरेर रुखको हाँगामाथि अथवा माटोको दुलोभित्र आफ्नो गुँड बनाउँछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड बनाउँछ । यसले घरको छत, घरको दलिन तथा ओढारको ढुङ्गामा झुण्डाएर गुँड बनाउने गर्छ । गौँथली प्रायः जोडी बनाएर बस्ने गर्छन्”, सापकोटाले भन्नुभयो । मानव बस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु¥याउदा यिनीहरूको संरक्षण हुन नसकेको उहाँको भनाइ छ । गौँथली चराको विशेषता र सुन्दरतालाई वर्णन गर्दै धेरै साहित्यकारले साहित्यको रचना गरेका छन् । सधँै जोडी बनेर बस्ने गौँथली घर वरिपरि नै बस्न रुचाउने गर्दछ ।
काठमाडौं: काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् । उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ । १३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ । त्यस्तै मतदाता नामावली खरिदमा ३ हजार, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको भन्द उनले कुल ३ लाख ७१ हजार खर्च भएको विवरण पेश गरेकी छन् । काठमाडौं–२ मा उनले नेकपा एमालेका मणिराम फुयाल र नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
आसन्न निर्वाचनको परिणाम आइसकेपछि अब देशको सर्वाेच्च पद मानिने राष्ट्रपतिको छनौट तयारीमा राजनीतिक दलहरु जुटेका छन् । मुलुकमा अल्पमतको गठजोडबाट आगामी सरकार निर्माण हुने पक्कापक्की भइसकेकाले कसको भागमा राष्ट्रपति पर्ने भन्ने चासो आम जनतालाई भन्दा राजनीतिक दलहरुलाई बढी छ । यसअघि अप्रत्यक्षरुपमा केही राजनीतिक नेताहरुले राष्ट्रपति बन्न इच्छा जाहेर गरिसकेका छन् । राजीतिक बाटोबाट पदमा पुग्न प्रत्यक्ष निर्वाचन र समानुपातिक प्रणालीबाट दाल नगलेपछि मनोनयको आशमा समेत नेताहरु बस्ने गरेका छन् । कहिँ कतैबाट केही उपाय नलागेपछि राष्ट्रपति, उपराष्ट्रपति पाउन चलखेल सुरु हुनु स्वभाविक भइसकेको छ । राजनीतिक दलहरु भागबण्डामा पद बाँडफाँडमा जुटिरहँदा आम नेपालीहरु भने गैर राजनीतिक व्यक्ति सर्वाेच्च पदमा पुगुन् भन्ने अपेक्षा राख्न थालेका छन् । दलमा वर्षाैसम्म पद र अवसर पाएका नेताहरु कुनै न कुनै कोणबाट आलोचित भएको पाइन्छ । प्रतिष्पर्धा र अवसरबाट वञ्चित हुँदै गएपनि पुनः राष्ट्रपतिमा चयन हुन गरिने लबिङ्ले देशको अन्तर्राष्ट्रि छविलाई उँचो बनाउँन कदापि सक्दैन । यथार्थमा भन्दा दलका कार्यकर्तालाई राष्ट्रपतिमा सुशोभित भएको सुहाउँदैन पनि । संसदभित्र चयन गरिने सभामुख, उपसभामुखलगायतका पदमा जस्तै राष्ट्रपति र उपराष्ट्रपतिमा पनि सोही भागबण्डामार्फत चयन गरिने परिपाटीलाई अब परिवर्तन गर्न आवश्यक छ । हालसम्म मुलुकले दुई जना राष्ट्रपति पाइसकेको छ । र, दुबै राष्ट्रपति नचाहेर पनि विवादित भएका छन् । दलका कार्यकर्ता राष्ट्रपति भएपछि लालमाेहर लगाउन पठाइने विधेयककारण विवादित हुनु सामान्य पनि हो । राष्ट्रपति जुन दलको सिफारिशमा चयन भएको छ, अर्काे दलले उक्त व्यक्ति र पदलाई विपक्षी ठान्ने चलन छ । जसले गर्दा विधेयककै कारण ‘विवाद’ सृजना हुने गरेको यसअिघका उदाहरणले प्रष्ट पारेको छ । यसर्थ, अब कुनै दल विशेषले पाएको भागको आधारमा उसको कार्यकर्तालाई राष्ट्रपति चयन नगरी गैरराजनीति व्यक्तिलाई छनौट गर्न सके व्यक्ति, पद र व्यवस्थाकै शोभा बढ्न सक्छ । छिमेकी मुलुकबाट बिहारी शैलीको राजनीतिलाई यहाँ पच्छ्याएर बदनामी कमाउनेमात्र हैन असल परम्पराकोरुपमा रहेको राष्ट्रपति छनौटको मापदण्डलाई समेत सिको गर्न सके आगामी दिनमा राष्ट्रपति विवादित हुने छैनन् ।
कास्की: पोखरा महानगरपालिका पार्किङको ठेक्का पाएको कम्पनिसँग झुक्दै अघिल्लो सरकारले गरेको सम्झौतालाई कायम गरेको छ । निवर्तमान मेयर मान बहादुर जिसी नेतृत्वको सरकारले मंसिर २७ मा सकिने ठेक्कालाई लकडाउनका कारण चैत २७ सम्म म्याद थपेको थियो । वर्तमान सरकारले सोही सम्झौतालाई कायम गरिने महानगरपालिकाको प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनका अनुसार पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच २ वर्षका लागि मंसिर २७ मा सकिने गरि सम्झौता भएको थियो । तर अब लकडाउनका कारण आगामी चैत २७ गतेसम्म ठेक्का सम्झौता कायम भएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले स्पष्ट पारे । उनका अनुसार महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो । सो सम्झौता अनुसार हिजो (मंसिर २७) गते सकिने थियो । तर प्रालिले लकडाउनका कारण सम्झौता अवधि बढाउन माग गरे अनुरुप पोखरा महानगरपालिकाको आर्थिक ऎन २०७८ तथा परामर्श समितिको सिफारिस र महानगरको निर्णय अनुसार आगामी चैत २७ गते सम्मका लागि म्याद कायम गरिएको तिमिल्सिनाले बताए । ‘चैतसम्म म्याद हो । मेयर साबले पार्किङको शुल्क नलिने चुनावको समयमा घोषणा गरेपनि अहिले सम्झौता अनुसार नै चैतसम्म कायम हुन्छ । त्यसपछिको लागि निर्णय भइसकेको छैन ।
पोखराः हालै अष्ट्रेलियामा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा अनलाइने बेटिङ् व्यापक भएको सूचना पाएपछि चनाखो बनेको नेपाली प्रहरी फुटबल विश्वकप आयोजना भएसँगै सफलता हात पार्ने क्रममा रहेको छ । सोहीक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फुटबलमा सट्टेबाजी र अनलाइन जुवा खेलाएको आरोपमा महोत्तरी गाउँपालिका–१ घर भई ललितपुरको सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाका अनुसार ठाकुरको साथबाट २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँसमेत बरामद भएको छ । यससँगै ठाकुरसँग रहेको नेपाल टेलिकम र एनसेलका ९४ थान सिमकार्डसमेत प्रहरीले जफत गरेको छ । ठाकुर रसियन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजीमा संलग्न नेपाली एजेन्ट हुन् । अनलाइन माध्यममार्फत ठाकुरले विश्वकपका विभिन्न खेलमा बाजी थाप्नेहरुको रकम संकलन र भुक्तानी गर्दै आएका थिए । ठाकुरले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे। उनले नबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । साथै, ठाकुरले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। कार्यालयले ठाकुरलाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ। ठाकुर पक्राउ पर्नु एक दिनअघि अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको थियाे । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् । हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ । यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मान्ने गरिन्छ ।

