पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

आसन्न निर्वाचनको परिणाम आइसकेपछि अब देशको सर्वाेच्च पद मानिने राष्ट्रपतिको छनौट तयारीमा राजनीतिक दलहरु जुटेका छन् ।   मुलुकमा अल्पमतको गठजोडबाट आगामी सरकार निर्माण हुने पक्कापक्की भइसकेकाले कसको भागमा राष्ट्रपति पर्ने भन्ने चासो आम जनतालाई भन्दा राजनीतिक दलहरुलाई बढी छ । यसअघि अप्रत्यक्षरुपमा केही राजनीतिक नेताहरुले राष्ट्रपति बन्न इच्छा जाहेर गरिसकेका छन् । राजीतिक बाटोबाट पदमा पुग्न प्रत्यक्ष निर्वाचन र समानुपातिक प्रणालीबाट दाल नगलेपछि मनोनयको आशमा समेत नेताहरु बस्ने गरेका छन् ।​ कहिँ कतैबाट केही उपाय नलागेपछि राष्ट्रपति, उपराष्ट्रपति पाउन चलखेल सुरु हुनु स्वभाविक भइसकेको छ ।    राजनीतिक दलहरु भागबण्डामा पद बाँडफाँडमा जुटिरहँदा आम नेपालीहरु भने गैर राजनीतिक व्यक्ति सर्वाेच्च पदमा पुगुन् भन्ने अपेक्षा राख्न थालेका छन् । दलमा वर्षाैसम्म पद र अवसर पाएका नेताहरु कुनै न कुनै कोणबाट आलोचित भएको पाइन्छ ।   प्रतिष्पर्धा र अवसरबाट वञ्चित हुँदै गएपनि पुनः राष्ट्रपतिमा चयन हुन गरिने लबिङ्ले देशको अन्तर्राष्ट्रि छविलाई उँचो बनाउँन कदापि सक्दैन । यथार्थमा भन्दा दलका कार्यकर्तालाई राष्ट्रपतिमा सुशोभित भएको सुहाउँदैन पनि । संसदभित्र चयन गरिने सभामुख, उपसभामुखलगायतका पदमा जस्तै राष्ट्रपति र उपराष्ट्रपतिमा पनि सोही भागबण्डामार्फत चयन गरिने परिपाटीलाई अब परिवर्तन गर्न आवश्यक छ ।    हालसम्म मुलुकले दुई जना राष्ट्रपति पाइसकेको छ । र, दुबै राष्ट्रपति नचाहेर पनि विवादित भएका छन् । दलका कार्यकर्ता राष्ट्रपति भएपछि  लालमाेहर लगाउन पठाइने विधेयककारण विवादित हुनु सामान्य पनि हो ।   राष्ट्रपति जुन दलको सिफारिशमा चयन भएको छ, अर्काे दलले उक्त व्यक्ति र पदलाई विपक्षी ठान्ने चलन छ । जसले गर्दा विधेयककै कारण ‘विवाद’ सृजना हुने गरेको यसअिघका उदाहरणले प्रष्ट पारेको छ । यसर्थ, अब कुनै दल विशेषले पाएको भागको आधारमा उसको कार्यकर्तालाई राष्ट्रपति चयन नगरी गैरराजनीति व्यक्तिलाई छनौट गर्न सके व्यक्ति, पद र व्यवस्थाकै शोभा बढ्न सक्छ ।   छिमेकी मुलुकबाट बिहारी शैलीको राजनीतिलाई यहाँ पच्छ्याएर बदनामी कमाउनेमात्र हैन  असल परम्पराकोरुपमा रहेको राष्ट्रपति छनौटको मापदण्डलाई समेत सिको गर्न सके आगामी दिनमा राष्ट्रपति विवादित हुने छैनन् । 

कास्की:  पोखरा महानगरपालिका पार्किङको ठेक्का पाएको कम्पनिसँग झुक्दै अघिल्लो सरकारले गरेको सम्झौतालाई कायम गरेको छ ।  निवर्तमान मेयर मान बहादुर जिसी नेतृत्वको सरकारले मंसिर २७ मा सकिने ठेक्कालाई लकडाउनका कारण चैत २७ सम्म म्याद थपेको थियो ।  वर्तमान सरकारले सोही सम्झौतालाई कायम गरिने महानगरपालिकाको प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनका अनुसार पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच २ वर्षका लागि मंसिर २७ मा सकिने गरि सम्झौता भएको थियो । तर अब लकडाउनका कारण आगामी चैत २७ गतेसम्म ठेक्का सम्झौता कायम भएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले स्पष्ट पारे ।   उनका अनुसार महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो । सो सम्झौता अनुसार हिजो (मंसिर २७) गते सकिने थियो । तर प्रालिले लकडाउनका कारण सम्झौता अवधि बढाउन माग गरे अनुरुप पोखरा महानगरपालिकाको आर्थिक ऎन २०७८ तथा परामर्श समितिको सिफारिस र महानगरको निर्णय अनुसार आगामी चैत २७ गते सम्मका लागि म्याद कायम गरिएको तिमिल्सिनाले बताए । ‘चैतसम्म म्याद हो । मेयर साबले पार्किङको शुल्क नलिने चुनावको समयमा घोषणा गरेपनि अहिले सम्झौता अनुसार नै चैतसम्म कायम हुन्छ । त्यसपछिको लागि निर्णय भइसकेको छैन ।

पोखराः हालै अष्ट्रेलियामा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा अनलाइने बेटिङ् व्यापक भएको सूचना पाएपछि चनाखो बनेको नेपाली प्रहरी फुटबल विश्वकप आयोजना भएसँगै सफलता हात पार्ने क्रममा रहेको छ ।   सोहीक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फुटबलमा सट्टेबाजी र अनलाइन जुवा खेलाएको आरोपमा महोत्तरी गाउँपालिका–१ घर भई ललितपुरको सानेपा बस्‍ने २० वर्षीय आदर्श ठाकुरलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाका अनुसार ठाकुरको साथबाट २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँसमेत बरामद भएको छ ।    यससँगै ठाकुरसँग रहेको नेपाल टेलिकम र एनसेलका ९४ थान सिमकार्डसमेत प्रहरीले जफत गरेको छ ।    ठाकुर रसियन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजीमा संलग्न नेपाली एजेन्ट हुन् । अनलाइन माध्यममार्फत ठाकुरले विश्वकपका विभिन्न खेलमा बाजी थाप्नेहरुको रकम संकलन र भुक्तानी गर्दै आएका थिए ।  ठाकुरले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे।     उनले नबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४  हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।    साथै, ठाकुरले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। कार्यालयले ठाकुरलाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।   ठाकुर पक्राउ पर्नु एक दिनअघि अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको थियाे ।   पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।     हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ ।    यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मान्ने गरिन्छ । 

पोखरा:  नयाँ प्रदेश सांसदहरु अब छिटै गण्डकी प्रदेश सभा प्रवेश गर्दैछन् । सपथ ग्रहणका लागि । त्यसैले प्रदेश सभा भवनसहित परिसर चिटिक्क पार्न सचिवालयको टोली कस्सिएको छ ।    प्रवेशद्वारलाई रङ्ग्याउन सुरु गरेका कर्मचारीहरु यतिबेला गार्डेनिङ गर्नसम्म भ्याइसकेका छन्  । त्यतिमात्र होइन, फर्निचर तथा सवारी साधनको मर्मत संभारसमेत सकिएको छ । र नयाँ लाइब्रेरीकोसमेत निर्माण गरिएको छ । त्यसैले प्रदेश सभा परिसरको मुहार फेरिएको छ ।    ६० सदस्यीय प्रदेश सभामा यसपटक ४ जना सांसद दोहोरिएका छन् । नेपाली कांग्रेसका विन्दु कुमार थापा, नेकपा एमालेका रोशन गाहामगर, माओवादी केन्द्रका हरिबहादुर चुमान र एकीकृत समाजवादीका प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ्गे) दोहोरिएका हुन् ।   यद्यपी ५६ जना भने  नयाँ सांसदका हैसियतमा पहिलोपटक प्रवेश गर्दैछन् । ‘हामी नयाँ माननीयहरुको स्वागतका लागि तयारीमै छौ, प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले सुनगाभा न्यूजसँग भने, ‘माननीयहरुको उर्जाका लागि हामीले प्रदेश सभा सञ्चालन हल मर्मत संभार र बत्ती जडान तथा रङरोगनसहित आकर्षक बनाएका छौं ।’   उनका अनुसार प्रदेश सभा हल, सचिवालयको कार्यकक्ष, को मर्मत संभार र बत्ती जडान तथा प्रवेशद्वारदेखिनै रङरोगन, बगैंचाको गोडमेल, फूलविरुवा सार्ने कामसहित सौन्दर्यीकरण, सभामुख तथा उपसभामुखको फर्निचरहरुको व्यवस्थापन, पदाधिकारीहरुको गाडीको सर्भिसिङ भइसकेको छ ।    सचिव पोखरेलले पहिलो पटक प्रदेश सभा परिसरमा लाइब्रेरी निर्माण गरेको बताए । ‘अहिलेसम्म लाइब्रेरी थिएन, उनले भने, ‘म आइसकेपछि चमेना गृह भएको पुरानो भवनलाई लाइब्रेरी बनाएका छौं । यसले प्रदेश सभाको गरिमा बढाएको छ ।’    उनले सांसदहरुलाई सपथ ग्रहण कार्यक्रमकै अवसरमा लोगो वितरण गर्ने योजना रहेको सुनाए । ‘अहिलेसम्म बनेका कानून, प्रदेश सभा सञ्चालन नियमावली, एउटा संविधानको किताब र प्रदेश सभाको लोगो सुरुकै दिनमा सचिवालयको स्रोत र औकात अनुसार एउटा ब्यागमा राखेर दिने योजना बनाएको छु ।’ सचिव पोखरेलले भने ।   सिटमा कम, सरकार निर्माणमा दम    ६० सदस्यीय गण्डकी प्रदेश सभामा कुनैपनि दलको स्पष्ट बहुमत छैन । यद्यपी नेपाली कांग्रेस गण्डकीको पहिलो दल हो ।   कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दलको हैसियत बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो ।    त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो हैसियतमा छ ।  सिटमा कमजोर देखिएपनि सरकार निर्माणमा माओवादी बलियो देखिएको छ ।   त्यसैले गण्डकीको अंकगणितमा ८ सिटमा समेटिएको माओवादी केन्द्र सरकार निर्माणमा निर्णायक भूमिकामा देखिएको छ । निर्वाचनमा पहिलो र दोस्रो भएका कांग्रेस—एमालेले सरकार निर्माण गर्न चाहे माओवादीको साथ अपरिहार्य देखिन्छ ।    माओवादीले ठुला दुवै दलमध्ये जुनलाई समर्थन गर्छ सोही पार्टीको सरकार बन्न स्पष्ट छ ।    यसैगरि २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ । 

काठमाडौं:  २८ औं महानगर दिवस २०७९ को अवसरमा काठमाडौं महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।   ‘२८ औं महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएका छन् ।   सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको सो प्रतियोगितामा महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुबीच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बालेन शाह पनि भिडेका थिए । 

पोखराः कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले पत्रकारलाई बन्धक बनाई समाचार प्रयोजनार्थ खिचिएको भिडियो डिलिट गर्न लगाएकी छिन् ।    पछिल्लो समय सवारीसाधन खरिदमा आलोचित भएकी मेयरले आइतबार न्यूज २४ टेलिभिजन रिपोर्टर खेम ढुंगानालाई बन्धक बनाएकी हुन् । नगरपालिकाको सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको दृश्य ढुंगानाले कैद गरेपछि मेयर शाहीले उनलाई नजिकैको होटलमा २ घण्टा बन्धक बनाएकी बनाएकी हुन् ।    बन्धक बनाएपछि भिडियो फुटेज डिलिट गर्न लगाएको पत्रकार ढुंगानाले बताएका छन् । घटनाबारे जानकारी पाएर पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहकै उपस्थिति जबर्जस्ती भिडियो डिलिट गराइएको हो ।    भिडियो लिइरहेकाबेला शाहीले ‘अझैपनि भिडियो खिचिराख्छस्, अझै रेकर्ड गरिराख्छस्’ भन्दै मोबाइल फोन खोस्ने प्रयास गरेकी थिइन् ।    यस घटनापछि मेयर शाहीले मोबाइल फोन स्वीच अफ गरेकी छिन् भने कार्यालयको नम्बर पनि सम्पर्क हुन नसक्ने बनाइएको छ । त्यस्तै, अन्य नम्बरमा सम्पर्क गरी जानकारी लिने क्रममा साढे ११ बजेसम्म पनि शाही कार्यालयमा अनुपस्थित छिन् ।    आइतबार भएको घटनाबारे उपमेयरले भर्खरै जानकारी पाएको भन्दै आफु सुगरका बिरामी भएकाले केहि छिनपछि कार्यालय गएर बुझ्ने प्रतिक्रिया दिएकी छिन् ।      घटनापश्चात् प्रेस चौतारी नेपाल, कैलालीले विज्ञप्तीमार्फत मेयर शाहीकोे रवैयाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।      रिपोर्टिङ् गर्न गएका बेला बन्धक बनाएर सञ्चार सामाग्रीहरु समेत नियन्त्रणमा लिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव जनक विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनलाई   हातपात गर्दै नियन्त्रणमा लिइ नजिकैको होटलमा दुई घण्टासम्म बन्धक बनाएर गुन्डागर्दी शैलीमा सबै भिडियो डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।’   मेयर शाही नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।   

काठमाडौं:   राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ ।  पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ ।  पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ ।  त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई को ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।  कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह र विषय कोड अनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था मिलाइएको छ । सिटिइभिटीले पनि रजिस्ट्रेशन फारम भर्न आह्वान गरेको छ ।

तनहुँः    तनहुँको शुक्लागण्डकीमा वडा सदस्यले आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला लगाइ दिएका छन् । वडा नं. ९ का सदस्य दिपक महतले आइतवार विहान कार्यालय खुल्ने वित्तिकै वडा अध्यक्ष बाबुराम पुलामी मगरको कार्यकक्षतामा लगाएका हुन् ।  ढोरबाराही मन्दिरको समिति निर्माण र अन्य निर्णहरुमा वडा अध्यक्षले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाउदै तालबन्दी गरेको महतले बताएका छन् । यता वडा अध्यक्ष पुलामीले भने ढोरबाराही मन्दिरको समिति मेयर र उपमेयरको रोहबरमा बनाइएको बताएका छन् । अन्य वडाका निर्णहरुमा पनि सबै सदस्यहरुको सामुहिक निर्णय अनुसार आफू बढेको उनको भनाई छ ।   सो वडामा वडा अध्यक्षसहित ५ जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । यसअघि पनि वडा सदस्य महतले असन्तुष्ट व्यक्त गर्दै कार्यालयमा अनुपस्थित हुने गरेका थिए । पार्टीले छलफल गरेर सहमति गरेपछि उनी वडामा जान थालेका थिए । यसैबीच उपमेयर खुम बहादुर विकको रोहबरमा विहानै वडा अध्यक्षको कार्यकक्षमा लगाईको ताला फोडिएको छ ।  उपमेयर विकसहित, वडा नं. ७ का अध्यक्ष खड्कसिंह थापा, वडा नं. ८ का अध्यक्ष नारायण सिंह थापा, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालसहितको उपस्थितिमा ताला फोडिएको हो ।   उपमेयर विकले विमती भए छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । साथीहरुबीच समस्या हुन सक्छन, यो कुनै ठूलो कुरा होइन, उनले भने, तर कार्यकक्षमै ताला लगाएर मात्र समाधान भने हुदैन ।

काठमाडौं:  सेतो सर्ट र निलो कोट पाइन्ट, काँधमा आन्तरिक राजश्व कार्यालयको परिचयपत्र । युवा उमेरका केही व्यक्तिहरू जोसका साथ व्यापारिक फर्महरूमा पुग्छन् र कारोबारको विवरण हेर्छन् । कारोबार राम्रै देखिएको र लगत राखिएको स्थानमा पनि कुनै न कुनै कैफियत देखाउँछन् र नगद मै जरिवाना गर्छन् ।  अनुगमनका क्रममा कैफियत देखिएपछि नगद जरिवाना गर्दै अर्को पटक आउँदा दुरुस्त राख्न पनि भन्छन् र नगद जरिवाना गरिसकेपछि आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको रसिद पनि दिन्छन् ।  व्यापार व्यवसाय भइरहेको स्थानमा अनुगमनका लागि पुगेपछि व्यवसायीले आफ्नो प्रमाणपत्र र करको विवरण दिने नै भए । कतिपय व्यापारीले व्यापारको लगत नराखेको तथा कतिपयले कारोबार गर्दा कर छली गर्ने उद्देश्यले कारोबार नै लुकाउने गरेको प्रमाण फेला पारेपछि आन्तरिक राजश्व कार्यालयले जरिवाना समेत गर्ने नै भयो । यद्यपि राजश्व कार्यालयले जरिवाना गराउँदा चिठी दिएर यति रकम राजश्वको खातामा जम्मा गर्नु भने पनि नगद नै जरिवाना लिएर रसिद भने दिँदैन ।  तर यी ‘स्मार्ट कर्मचारी’हरूले भने अनुगमनपछि नगद मै जरिवाना मात्रै गराएनन्, त्यसको रसिद पनि व्यवसायीलाई दिए । अर्को पटक आउँदा सुधार गर्न चेतावनीसमेत दिएपछि उनीहरूलाई पनि जोसिला सरकारी कर्मचारीले राम्रै गरे भन्ने लाग्ने नै भयो ।  तर एक जिम्मेवार नागरिकले यसको सुइँको पाए । कर कार्यालयले नगद जरिवाना गराउन सक्ने भए पनि कारोबार स्थलबाटै जरिवाना लिएर नगदी रसिद दिने व्यवस्था नभएको बारे उनलाई जानकारी थियो । ती नागरिकलाई शङ्का लागेपछि उनले प्रहरीलाई यसबारे जानकारी गराए ।  सूचना पाउने बित्तिकै प्रहरी नयाँ बसपार्क क्षेत्रमा उनीहरूको रेकी गर्न थाल्यो । रेकी कै क्रममा ती स्मार्ट राजश्वका कर्मचारीहरू सेतो सर्ट, निलो कोट र पाइन्टमा नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनका लागि पुगे । जब प्रहरीले उनीहरूको परिचय पत्र हेरी उनीहरूको विषयमा आन्तरिक राजश्व कार्यालयबाट भेरिफाइ गरे, त्यसपछि पत्ता लाग्यो सेतो सर्ट र निलो कोट पाइन्ट लगाउने ती स्मार्ट व्यक्तिहरू सरकारी कर्मचारी थिएनन् । उनीहरूले काँधमा भिरेको आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटको परिचय पत्र पनि नक्कली थियो । उनीहरू सरकारी कर्मचारी नभएर ठग थिए ।  राजश्वको नक्कली कर्मचारी बनेर ठगी गरिरहेको भन्ने सूचना आउने बित्तिकै प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार अपराह्न ४ बजे नयाँ बसपार्कबाट ८ जनालाई नियन्त्रणमा लिएपछि यो ठगी र किर्ते धन्दाको पर्दाफास भएको हो । सो सम्बन्धमा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  प्रहरीका अनुसार ठगी र किर्तेमा संलग्न हुप्सेकोट गाउँपालिका ३ पूर्वी नवलपरासी घर भई हाल बालाजु बस्ने  २९ वर्षीया बिन बहादुर बिक, पाँचथरको फिदिम नगरपालिका–१ का २२ वर्षीय सिर्जना भट्टराई, अछामको बान्नीगढी गाउँपालिका ६ घर भएका १९ वर्षीय सागर जंग लुहार, सिन्धुपाल्चोकको साँगागढीचोक नगरपालिका ३ की २३ वर्षीया प्रमिशा तामाङ, अछाम बान्गढी जयगढ गाउँपालिका ६ की २३ की दुधकला बिक, नुवाकोटको बेलकोटगढी नगरपालिका १ की २१ वर्षीया अञ्जना तामाङ, कञ्चनपुरको बेतकोट नगरपालिका ९ का २४ वर्षीय राजीव विष्ट र कञ्चनपुरकै बेतकोट १० का २५ वर्षीय डेबिड धामी पक्राउ परेका छन् । पक्राउ परेकाहरूमध्ये राजीव विष्टको साथबाट आन्तरिक राजश्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरू, राजश्व सम्बन्धी किताबहरू, आन्तरिक राजश्व कार्यालयको परिचयपत्र ७ थान र नगद ८४ हजार ७३० रुपैयाँ बरामद गरिएको छ ।  त्यसैगरी पक्राउ परेका डेबिड धामीको डेरा कोठाबाट आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको ४९ ठेली रसिद,  रोजगारी आवेदन फारमहरू, इम्प्लोइमेण्ट एग्रिमेण्ट फारमहरू, आन्तरिक राजश्व कार्यालय लेखिएको लेटर प्याड, आन्तरिक राजश्व कार्यालय लेखिएको परिचय–पत्र तथा परिचय–पत्र झुण्ड्याउने डोरी, एकथान कम्प्युटर, डि आर एकाउण्ट एण्ड ट्याक्स सोलुसल लेखिएको स्ट्याम्प लगायतका सामाग्रीहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले जानकारी दिएका छन् ।  पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसुर तथा परिच्छेद–२५ को २७६ को किर्ते गर्न नहुने कसुर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठगी र किर्तेमा संलग्न यो गिरोहले ४ दिन अघिदेखि नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल, लज, रेस्टुरेन्ट तथा फुटपाथ पसलहरूबाट समेत राजश्वको नाममा रकम असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । बरामद भएको नगदी रसिदको प्रतिलिपि तथा मोबाइल पे हरूको अनुसन्धान गर्दा तत्कालका लागि ५ लाख ८ हजार ६४० रुपैयाँ सङ्कलन गरेको पाइएको प्रहरीले जनाएको छ । यो रकम अझै बढ्न सक्ने र पीडितहरूबाट जाहेरी लिने काम काम भइरहेको प्रहरीले जनाएको छ । ठगीको यो गिरोहबाट पीडित बनेका मध्य ४ जनाले जाहेरी दिइसकेको र अन्य व्यक्तिहरूबाट पनि जाहेरी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।