पोखराः समानुपातिक तर्फ गण्डकी प्रदेशमा नेकपा एमालेले पाएको समानुपातिक सांसद टुङ्गाएको छ । समानुपातिक तर्फ पहिलो दल बनेको नेकपा एमालेले कास्कीबाट चार जना सांसद छनोट गर्दै समानुपातिक सांसद टुङ्गाएको हो । कास्कीबाट नेकपा एमालेबाट समानुपातिक तर्फ छनोट हुनेमा देवका पहारी, राजकुमारी भुजेल, प्रकाश केसी, नन्दकला नेपाली छनोट भएका हुन् । यस्तै नेकपा एमालेबाट छनोट हुनेमा कृष्णप्रसाद पाठक, लिलाबहादुर थापा, गोविन्दबहादुर नेपाली, नन्दकला दमाई, निर्मला थापा, यशोदा रिमाल, प्रकाश के.शी सांसदमा छनोट भएका हुन् । कांग्रेसतर्फ सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद सांसदमा छनोट भएका हुन् । माओवादी केन्द्रबाट कुशुम बुढा, शुसिला सिंखडा, दमयन्ती रुचाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका हुन् । गण्डकी प्रदेशमा समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले १० जना, काँग्रेसले ९ जना, माओवादी केन्द्रले ३ जना र राप्रपाले २ सांसद पाएका थिए ।
पोखराः पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन करिब तीन साता बाँकी भएपनि ल्याण्डफिट साइटका कारण अझै ढुक्क हुन सकिएको छैैन । कारण हो, पोखराको ल्याण्डफिल साइट । हाल प्रयोग भइरहेको साइटमा अझैपनि फोहोर फाँलिदैछ । सोही कारण विमानस्थलको प्रमुख समस्या नै पोखरा महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट भएको छ । पोखरा महानगरपालिकाले विमानस्थल प्रशासनलाई कात्तिक १७ गते एक पत्र पठाई मंसिर १७ देखि हाल प्रयोगमा रहेको ल्याण्डफिल साइटमा फोहोर नफाल्ने जानकारी दिएको थियो । तर आफैले गरेको निर्णय पालना नगरी महानगरले सोही ल्याण्डफिलमा फोहोर फाल्दै आएको छ । पोखरा महानगरपालिकाका सूचना अधिकारी जीतेन्द्रजंग केसीले पोखरामा दैनिक उठ्ने फोहोर अहिले पोखरा १४ स्थितको ल्याण्डफिल साइटमा नै फाल्दै आएको बताएका छन् । ‘नयाँ ल्याण्डफिल साइट हेर्ने काम भइरहेको छ, पोखरा महानगरले उठाउँदै आएको फोहोर पोखरा १४ को ल्याण्डफिल साइटमा फाल्दै आएका छौं, केसीले भने, ‘पोखरा १४ मा ल्याण्डफिलमा फोहोर फाल्ने र रिठेपानी डाँडा कटानबाट आएको माटोले दैनिक फोहोर पुर्ने काम भइरहेको छ । फोहोर पुरिएपछि त्यहाँ फोहोर फाल्दैनौं । नयाँ वैकल्पिक व्यवस्थामा खोज्छौं ।’ अहिले पोखरामा दैनिक १ सय ८८ टन फोहोर संकलन हुन्छ । स्रोतका अनुसार ल्याण्डफिल साइट माटोले पुरेपछि नयाँ ल्याण्डफिल साइट कहाँ बनाउने भनेर अन्तिम चरणको छलफल भइरहेको छ । यसको निर्णय केहि दिनभित्रै हुने जानकारी प्राप्त भएको छ । महानगरका सूचना अधिकारी केसीका अनुसार पोखराको फोहोर उठाउने सम्झौता पुष मसान्तसम्म रहेको छ । विमानस्थल सञ्चालनको प्रमुख समस्या ल्याल्डफिल साइट पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट जनवरी १ तारिख (पुस १७) बाट सञ्चालनमा ल्याउने विमान स्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । विमानस्थल सञ्चालनको तयारी के छ ? भन्ने प्रश्नमा प्रमुख गौतमले सबै तयारी पुरा भएको र महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट प्रमुख समस्या भएको बताए । ‘एक साता यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ, त्यसको प्रतिवेदन आइसकेको छैन’ गौतमले भने, ‘आवश्यक पर्ने डाँडा कटानसँगै बाँकी काम भइरहेको छ ।’ पोखरा महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट अझै नसार्दा समस्या भएको र महानगरले चाँडै अर्काे व्यवस्था गर्नेमा गौतम आशावादी छन् । स्थानीय सरकारले प्रतिबद्धता जनाएकाले अब केही दिनमै ल्याण्डफिल साइट व्यवस्था होला भन्दै अन्यथा नयाँ वर्षमा उडान भर्न गाह्रो हुने उनले उल्लेख गरे । ‘विमास्थल सञ्चालन गर्न हालको ल्याण्डफिल साइट बन्द गर्ने प्रतिवद्धता स्थानीय सरकारले गरेको छ’ गौतमले भने । विमानस्थलमा देखिएको ढल व्यवस्थापनको समस्या समाधान भएको प्रमुख गौतमको भनाई छ । ‘विमानस्थल भित्र भएको ढल व्यवस्थापनको समस्या समाधान भइसकेको छ, उनले भने, सडक र सिचाई आयोजनासँग छलफल भइरहेको छ । गौतम भन्छन्, ‘बाहिर उहाँहरुले काम गर्नुभयो भने हामीलाई भित्र समस्या हुँदैन ।’ लागत कति ? चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा चिनियाँ निर्माण कम्पनी सिएएमसीले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार सरकारले वि.सं. २०३२ सालमा ३ हजार १ सय रोपनी र निर्माणाधीन अवस्थामा बाँकी गरी हालसम्म कूल ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
काठमाडौं: सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणधिन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन् । ‘काममा किन ढिलाइ भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाइ गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाइ भएको बताएका थिए । ‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे । ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’ ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्यो मलाई भन्नुस् ।’ मन्त्रीको जवाफ थियो । त्यस लगत्तै सहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा हानिए । त्यहाँ पनि सोचे अनुरूप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने । सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए ।
पोखरा: नेपालकै जेठो म्याराथन–‘पोखरा अन्तरराष्ट्रिय म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्वभरका दौडहरु ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता प्राप्ती संगै यसले अन्तरराष्ट्रिय मान्यता पाएको हो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तरराष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ भने आगामी फागुन ६ गते १७ औं सस्करणको तयारीमा जुटिसेको छ । हालै मात्रै पोखरा अन्तरराष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो भने लगतै एम्सको समेत सदस्य प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् । “यो हाम्रो लागि निकै गर्वको विषय हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो ।” अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँ सम्म ल्याइ पु¥याउन सहयोग गर्न देश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा वढि आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरु संगै सहयोगी मनहरु प्रति आभार व्यक्त गरेका छन् । उनले भने–“यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र आम पोखरेलीहरु संग यो खुसीलाई सामुहिक रुपमा हामी बाँड्न चाहन्छौं ।” सदस्यता प्राप्त गरे संगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तरराष्ट्रिय यात्रामा संग–संगै हिड्न पाउँदा खुसी लागेको बताएका छन् ।
काठमाडौंः काठमाडौंमा तेस्रो पटक मेलम्चीको पानी वितरण भएको छ । तर पनि उपत्यकावासीहरू हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आस उपत्यकावासीले गरेका थिए । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन् । लामो लाइन लागेर सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको सङ्ख्या आज पनि उल्लेख्य देखिन्छ । पानी वितरण सुरु भए पनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरूमा पानी थाप्न बिहानैदेखि मानिसहरूको भीड छ । पानीको समस्या मेलम्चीको पानी भइसक्दासमेत उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखा पर्ने निश्चित छ ।पानीको अभाव खड्की रहने काठमाडौँ उपत्यका यति बेला मेलम्चीको पानी वितरणसँगै राहत महसुस गर्नुपर्ने हो । शुक्रवार खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा उहाँले काठमाडौंवासीलाई अस्थायी रूपमै भए पनि १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको थियो । तर मेलम्चीको पानी काठमाडौं भइसक्दासमेत काठमाडौंवासीले सहजताको अनुभूति गर्न सकेका छैनन् । मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिकागली, मध्यपुरथिमी नयाँ पोखरीबाट ३० लाख, कटुन्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगन्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगन्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने बताइएको छ । तर पनि सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको लाइन कम देखिँदैन । हाल काठमाडौँ उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर भए पनि आपूर्ति करिब १२ करोड लिटर मात्रै रहेको थियो । तर शुक्रवारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने अनुमान गरिएको छ ।
पोखरा: लामो समय देखि खोज पत्रकारिता तथा अनुसन्धान मुलक पत्रकारीता गर्दै आएका पोखराका पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारीता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्। सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारालाई पत्रकार महासंघ गण्डकीका सचिव यवम सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष्य समेत रहेका बन्जाराले देशान्तर साप्ताहिकबाट पत्रकारीता शुरुवात गरेका थिए। शुसासनका लागि नागरिक समाज(सुनास) कास्कीले ई स्व लेख बहादुर गुरुङले स्थापना गरेका अक्षयकोषबाट सञ्चालन गरी हरेक वर्ष ९ डिसेम्बर का दिन प्रदान गरिँदै आयको छ। यस वर्ष ९ डिसेम्बर(मंसिर २३) का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सु ना स कास्की का अधक्ष्य रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्र र नगद राशी सहित पुरस्कार प्रदान गरेका थिए। सुनास कास्कीका पूर्व अध्यक्ष्य चद्र कृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अधक्ष्य विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले पत्रकार बन्जारालाई छनोट गरेका थिए उक्त पुरस्कारबाट दीपक परियार अर्जुन गिरी बासुदेव मिश्र यस अघि सम्मानित भइसकेका छन्।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी.तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । उपकुलपति बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएतापनि अहिलेसम्म पुनः निर्माणका कुनै पनि काम नभएकोमा नैराश्यता थपिएको बताए ।
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने क्रममा महिलाहरूमाथि हिंसा भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरूमाथि हिंसा र विभेद गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक पार्टीहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको आरोप लगाएका हुन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यवद्धता रहेको भन्दै त्यसको पालनाका लागि शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे । ‘लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यबद्धता छ । र, निर्वाचन व्यवस्थापनको कुनै पनि क्रियाकलापमा लैगिक हिंसामा आयोगको शून्य सहनशीलताको नीति छ । यसलाई प्रभावकारी बनाउनका निम्ति हाम्रो र हाम्रो सरोकारवालाहरु क–कसको भूमिका के हुनुपर्छ रु भन्ने कुरालाई स्थापित गर्नका निम्ति सहयोग गरिदिनुहोस्’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘उम्मेदवारीमा व्यापक रुपमा विभेद भयो भन्ने हामी देख्छौं राजनीतिक दलहरुबाट । स्थानीय तहमा साँच्चै भन्ने हो भने कोटा पुर्याउन मात्रै महिलाहरूलाई स्थानीय तहमा पनि उम्मेदवारी दिइयो ।’ उनले निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा दुईटैमा उम्मेदवारी दिए एउटा अनिवार्य भनेर कानुनमा व्यवस्था गरिएपनि त्यसको समेत वेवास्ता गर्दै अवज्ञा गरिएको बताए । ‘यदि एउटा दिइन्छ भने त्यो महिला नै हुनुपर्दछ भन्ने कुरालाई पनि अवज्ञा गरियो । त्यसकारण कोटा पुर्याउन पनि छलकपट नै गरेर उम्मेदवारी दिइयो । यसरी महिला हिंसा सृजना गरिएको छ । प्रतिनिधिसभामा १० प्रतिशत पनि महिलालाई उम्मेदवारी दिइएन’, प्रमुख थपलियाको गुनासो छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुन अन्य देशको तुलनामा लैंगिक तथा समावेशी रहेको स्मरण गराउँदै निर्वाचनमा महिला हिंसा भयो भनेर कुनै पनि उजुरी नपरेको बताए । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउन पहल गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले आफू महिला उम्मेदवार भएपनि कुनै पनि विभेद भोग्नु नपरेको अनुभव सुनाइन् । सांसद गौतमले भनिन्, ‘निर्वाचनमा जाँदा आफूले असमानता र विभेदको कुरा भोग्न परेन । महिलाहरूलाई नेतृत्वदायी भूमिकामा पुर्याउन भने प्रयास गर्नुपर्ने देखिन्छ ।’ महिलाहरूलाई मुलुकको नेतृत्वमा पुर्याउन हौसला दिनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
पोखराः मुटुमा देखिएको समस्या निदान गर्न मणिपाल अस्पतालमा उपचाररत छोरी भेट्न पुगेकी धनसरी घर्तीको ज्यान गएको छ । सराङकोट निवासी अन्दाजी ६५ वर्षीया घर्तीको अस्पतालकै तेस्रो तलाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । छोरीको थप उपचार गर्न काठमाण्डौं रेफर गरेपछि आफन्तजनले तयारी गरिरहेकाबेला उनी मृत भेटिएकी हुन् । ३ दिनदेखि उपचाररत छोरीको अवस्थमा सुधार नभएपछि अस्पतालले काठमाण्डौं लैजान भनेपछि आफन्तजनले सवारीसाधन व्यवस्था गरी जाने तयारी गर्दा घटना घटेको हो । सोही बेला आमा धनसरीलाई नदेखेपछि खोजी गर्ने क्रममा ३ तलामुनि उनी मृत भेटिएकी हुन् । अस्पताल कर्मचारीका अनुसार धनसरी खस्ने बित्तिकै कसैले पनि थाहा भएन । उनको ‘स्पट डेथ’ भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, अनुसन्धान सुरु गरेको जिप्रका कास्कीले जनाएको छ । घर्तीको मृत्युपछि अस्पताल प्रशासनको आकस्मिक बैठक बसेको छ । तर कुनैपनि निर्णय सार्वजनिक गरिएको छैन । अस्पतालमा कार्यरत एक कर्मचारीले भने यस घटनालाई ‘आकस्मिक दुर्घटना’ भनेका छन् ।