चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

काठमाडौँ:    पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।       सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न मुलुकको प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसअघि काठमाडौँ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्नसक्नेछन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुको भनाइ छ ।  नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहनुभएका होटल एसोसिएसन नेपाल (हान)का पूर्व अध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु मुलुकको पर्यटन क्षेत्रका लागि सुखद् विषय भएको बताउनुभयो ।  “विमानस्थल पर्यटन पूर्वाधारमा अति आवश्यक मानिन्छ”, उहाँले भन्नुभयो, “हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकलाई संसारसँग जोड्ने सबैभन्दा उपयुक्त माध्यम यही हो ।”  उहाँले विमानस्थल निर्माण निकै राम्रो भए पनि विमानस्थलको प्रभावकारी सञ्चालनका लागि यात्रुको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।  पश्चिमाञ्चल होटल व्यवसायी सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका व्यवसायी विप्लव पौडेलले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखरा आउने स्वदेशी र विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  “मुलुकको अर्थतन्त्रका सूचकांक राम्रो नभएको अवस्थामा, विमानस्थल निर्माण हुनु निकै राम्रो हो”, उहाँले भन्नुभयो, “विमानस्थल निर्माणले पोखराका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।”  पौडेलले नयाँ विमानस्थल निर्माण भएपछि रात्रिकालीन हवाई उडान पनि हुने र यसले आन्तरिक पर्यटक पनि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले विमानस्थल निर्माण भएपछि पोखराको पर्यटन विकासमा ‘टर्निङ प्वाइन्ट’ बन्नसक्ने उहाँको भनाइ छ ।  हानका केन्द्रीय प्रथम उपाध्यक्ष विनायक शाहले पोखरामा नयाँ विमानस्थल सञ्चालनमा आएपछि पर्यटनको विकासमा नयाँ आयाम थपिने बताउनुभयो । “विमानस्थल सञ्चालनमा आएपछि पर्यटन विकासमा नयाँ आयाम थपिनेछ”, उहाँले भन्नुभयो, “विमानस्थल निर्माण भएपछि पोखरामा भारतीय पर्यटकहरु उल्लेख्य सङ्ख्यामा बढ्नेछन् ।” हाल काठमाडौँ ओर्लने ४० देखि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको तथ्याङ्क छ । यीमध्ये ४० देखि ४५ प्रतिशत पोखरा पुग्छन् । यसरी पोखरा नेपालको दोस्रो पर्यटन गन्तव्य रहीआएको छ ।       नेपाल पयर्टन बोर्डको तथ्याङ्क अनुसार पछिल्लो १० महिना अथाएत् जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जसमध्ये अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् ।       कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जनामा सीमित भएको थियो ।  त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो ।  पोखरा विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । उक्त विमानस्थल सञ्चालनमा आएको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।         नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।        पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङ ‘भूमिस्त’ सेवाका लागि बुद्धएयरले क्यानसमक्ष निवेदन दिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक साता लामो यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन ९एआइटी० मा प्रकाशन गरिनेछ ।  उक्त प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ ।  तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।  उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’  पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

पोखराः एसियन राष्ट्र जापानले कतारमा जारी विश्वकप फुटबलमा कोस्टारिकासँग हारेर पनि विश्वको ध्यानाकर्षित गरेको छ ।    लिग चरणको दोस्रो खेलमा कोस्टारिकासँग हारेर स्तब्ध बनेको जापानी समर्थकहरुले खेलपछि पनि स्टेडियम छाडेनन् । स्टेडियम रित्तिदै गएपछि उनीहरु सरसफाईमा केन्द्रित भए ।    कोस्टारिका समर्थिन फ्यानहरु स्टेडियम बाहिर निस्केपछि हारको पीडालाई बिर्सेर उनीहरुले पुरै प्यारापिटमा रहेका फोहोर संकलन गरी निर्धारित स्थानमा जम्मा गरिदिएका थिए ।    जापानी समर्थकको कार्यलाई विश्वभरबाट प्रशंसा गरिएको छ । यूरोस्पोर्टले उनीहरुको तस्बिर सार्वजनिक गरेपछि जापानी समर्थकलाई विश्वभरका फुटबलप्रेमीले प्रशंसाको शब्द खर्चेका छन् ।      उनीहरुको कार्यप्रति नतमस्तक भएका डिलन व्ह्टिटेकर लेख्छन्, ‘गज्जबको संस्कार, विश्वले जापानीहरुबाट सिक्नैपर्छ ।’ त्यस्तै, सिल्भिया फेमीले लेखेकी छिन्, ‘भलै जापान फुटबलमा हार्ला तर मानवीय गुण, संस्कार र आदरमा कहिल्यै हार्दैनन् ।    समूह ‘इ’ मा रहेको जापान कोस्टारिकासँग हारेपनि पहिलो खेलमा जर्मनीमाथि २–१ को जीत हात पारेको छ ।    अब जापानले समूह चरणमा स्पेनसँग शुक्रबार खेल्नेछ । 

नेकपा एमालेका स्याङ्जा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद मरासिनीले चुनाव हारेपछि जिल्लामा रहेको दुई खेमा सतहमा देखिएको छ ।    जसको असर शनिबार देखियो । जहाँ मरासिनी पक्षधरले पुतलीबजार १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीलाई घरमै गएर कुटपिट गरे । कुटपिटपछि सुवेदीले नामै किटेर मरासिनी समर्थित युवाहरु डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरी लगायतले आक्रमण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।    उजुरी परेपनि स्याङ्जा प्रहरीले पुष्टी गर्न मानिरहेको छैन भने सुवेदीले किटान गरेका युवाहरु पक्राउ पनि परेका छैनन् ।    यस विषयमा मरासिनी पक्षधर केही समर्थकले भने अन्तर्घात भएको जनाएका छन् । लामो समयदेखि मरासिनीलाई सघाउँदै आएका एक कार्यकर्ता भन्छन्, ‘घात–अन्तर्घात कतैकतै सामान्य भएपनि यहाँ २ सय प्रतिशत अन्तर्घात भएको छ ।’   उनका अनुसार मरासिनी हराउने अनुहारहरु तिनै हुन्, जो उनकै प्रचारमा हिँडेका थिए, तर बाह्यरुपमा खटेजस्तो गरेर ठूलै घात गरे ।    चुनावमा पराजय र शनिबार भएको तनावपछि सम्पर्कमा आउन नचाहेका मरासिनीले आज भने धारणा राखेका छन् । उनले भने, ‘चुनाव हारिसकियो, मैले केही बोल्न आवश्यक छैन, नो कमेन्ट प्लीज ।’   ‘तपाइमाथि अन्तर्घात भयो, समर्थकले कुटपिट गरे तपाइ किन बोल्न चाहनुहुन्न ?’ भन्ने प्रश्नमा मरासिनी भन्छन्, ‘नो कमेन्ट प्लीज, अन्तर्घात भयो÷भएन भन्ने विश्लेषण गर्ने तपाइ (मिडिया)हरुको काम हो ।’   यद्यपि, मरासिनी हारका विभिन्न प्राविधिक कारण भएपनि मुख्य कारण भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी भएको अर्का समर्थक बताउँछन् । ‘घन्टीलाई आएको ६ हजारमध्ये करिब ६० प्रतिशत भोट  एमालेको हो’ उनले भने ‘मरासिनीमाथि घात गर्ने समूह निस्कँदा घन्टी प्लस र मरासिनी माइनस हुन पुगे ।’   त्यस्तै, ‘प्राविधिक कारण’लाई धेरै कोणबाट बुझ्न उनले अनुरोध गरे ।    जिल्लाका एमाले कार्यकर्ताका अनुसार यस चुुनावमा पद्याकुमारी अर्याल र मरासिनीबीच आ–आफ्नो गुट बनाउँदाको परिणाम नेपाली कांग्रेसले बाजी मार्ने मौका पाएको छ ।    मरासिनी कांग्रेसका राजु थापासँग पराजित भएका हुन् । थापाले ३१ हजार ९९९ मत ल्याउँदा मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरे ।    ०७४ को निर्वाचनमा थापालाई मरासिनीले १० हजार ५६४ मतले हराएका थिए ।  

काठमाडौंः   निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।  आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४)बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो । विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ ।  विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्ने छ ।

काठमाडौँ:    अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका भाइरल तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ । अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो । अहिले आएर फ्रान्सेली अल्पाइन म्यागाजिनका विज्ञहरूले सो तस्बिर सम्पादित र विभिन्न तस्बिरहरूको मोन्टाज भएको भन्ने प्रमाण प्रस्तुत गरेपछि कित्तिया सामाजिक सञ्जालहरूबाट गायब भएकी छिन् । तर उनको वेबसाइटमा अझै पनि उनको यात्रा विवरण र तस्बिरहरू यथावत छन्, जहाँ उनले आफूले अमेरिकी दूतावाससँग काम गरेको दाबी पनि गरेकी छन् । हामी केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउँदैछौं,ु पोस्टमा भनिएको छ,‘उनले दाबी गरेजस्तो हाम्रो उनीसँग कुनै साझेदारी छैन ।’ तथ्यजाँच लेखको बारेमा आफूले थाहा पाएको र फोटोग्राफरले आफ्नो सामाजिक सञ्जालहरू बन्द गरेपनि वेबसाइट अझै सञ्चालनमा रहेको पनि दूतावासले आफ्नो पोस्टमार्फत जानकारी गराएको छ । सामाजिक सञ्जालमा सेयर भएका पोस्टहरू नहटाउने र हटाउनुपर्ने भएमा जानकारी दिएर हटाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ। यो सबै विवादका बीचमा फोटोग्राफर भनिएकी कित्तियाको तर्फबाट यो समाचार लेख्दासम्म केही औपचारिक प्रतिक्रिया आएको छैन । ती तस्बिरहरू वास्तविक नभएको बाहिर आएपछि सामाजिक सञ्जालमा अमेरिकी दूतावासलाई मेन्सन गरेर प्रश्न सोध्ने र हाँसिमजाक गर्ने क्रम भने जारी रहेको छ ।

एक सातादेखि स्याङ्जाको क्षेत्र नम्बर २ अन्तरगत चापाकोटमा मतगणना हुन सकेको छैन । चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ मा रोकिएको मतगणना १२ गतेपछि मात्रै थाहा हुनेछ ।    मतदान केन्द्रमा बलपूर्वक केही व्यक्तिले फर्जी मतदान गरेको र करिब ९८ प्रतिशत मत खसेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गरेपछि त्यहाँ मतगणना हुन सकेको छैन ।    एमालेले पुनः मतदानको माग गरेपनि नेपाली कांग्रेसले मतगणना गर्नुपर्ने एकोहोरो अडान राखेको छ । यसैबीच, चापाकोट मतदानस्थलमा खटिएका मतदान प्रतिनिधिले गत बिहीबार बुथ कब्जा भएको भन्दै पत्रकारले सम्मेलन नै गरे ।    यस केन्द्रको मतगणना गर्न निर्वाचन आयोग स्याङ्जाले हरसम्भव प्रयास गरेपनि असफल भएपछि आयोगको केन्द्रीय कार्यालयको टोलीले त्यहाँ पुगेर अनुसन्धान गरेको छ ।    अनुसन्धानपछि टोली राजधानी फर्किएको र १२ गते यस विषयमा निर्णय हुने जानकारी प्राप्त भएको छ । अब यस केन्द्रमा मतदान हुने वा मतगणना हुने भन्ने विषय आयोगको प्रतिवेदनमा निर्भर हुनेछ ।    चापाकोट नगरपालिका ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि दासिङ नरसेवा, वडा नम्बर ५ को जन सक्रिय आधारभूत विद्यालयमा र चिट्ठी पोखरी र दीन दयालु आधारभूत विद्यालय साठीमुरे ​मतदान केन्द्रमा समस्या देखिएकाे हाे ।    गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मृत्यु भएका र विदेश गएका मान्छेको नाममा बुध कब्जा गरी मतदान गरेको एमालेको आरोप छ ।    यहाँ एमालेबाट पद्या अर्यालय, कांग्रेसबाट धनराज गुरुङ् मुख्य प्रतिष्पर्धामा छन् । त्यस्तै, राप्रपाबाट लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङलगायतका प्रतिष्पर्धी रहेका छन् ।    स्याङ्जा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले जीत हासिल गरिसकेका छन् । 

काठमाडौं:   गत शुक्रबारदेखि  चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् ।   भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा निर्देशित ‘थ्री कन्ट्रीः वन मदर’ र लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन हुँदैछन् । अङ्ग्रेजी भाषामा रहेको ‘थ्री कन्ट्रीः वन मदर’ नाटकलाई नीमा बल, क्याटी बेक र बेञ्जामिन रेक्सरोडले संयुक्तरुपमा लेख्नुभएको हो । यो प्रयोगात्मक र एकल नाटक हो ।  यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी नागरिकको इतिहास र संस्कृतिबारे बताउन खोजेको छ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो । कोन्द्रातोएभा क्रिस्टिनाद्वारा लिखित नाटक ‘द म्याजिक स्वान–गिज’लाई सुखोरुकोभा तातियानाले निर्देशन गर्नुभएको हो । नाटकमा सामाजिक दृष्टिकोणबाट एउटी युवतीको कथा उल्लेख छ । आफ्ना मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी छोरीले आफ्नो स्वतन्त्रताको यात्रामा सानो भाइलाईसमेत बिर्सिएको प्रसङ्ग नाटकमा छ ।   यस्तै, नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ । नाटकसँगै महोत्सवस्थलमा ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ ।  शनिबार भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन÷इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेज क्राफ्ट’ मञ्चन भएको थियो । यही मङ्सिर १७ गतेसम्म चल्ने ‘निटफेस्ट २०२२’ मा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । 

बाजुरा:  मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।  निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ । कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ ।  आयोगको टोली बाजुरामा  मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुल्सी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो । आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।   निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले बुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानविनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभएको छ । टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताउनुभयो ।   निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा रहेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताउनुभयो । उहाँले आयोगबाट छानविन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने पौडेलले बताउनुभएको छ । 

पोखराः गत नोभेम्बर ७ मा नेपालस्थित अमेरिकी एम्बेसीले बिहान सवा ७ बजे अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमाल आसपास खिचेको फोटो सार्वजनिक गरेको थियो ।    एम्बेसीले ४ वटा फोटो सार्वजनिक गरेपछि नेपाली सञ्चारमाध्यमहरुले त्यसैलाई आधार मान्दै कित्तियाको साइटमा भएको जानकारी सहित समाचार प्रस्तुत गरे ।    तर त्यसको १८ दिनपछि उक्त तस्बिरहरु फोटोसपलगायतका प्रविधिमार्फत बनाइएको फ्रान्सको अल्पाइनम्याग डटकमले उल्लेख गरेको छ । अल्पाइनले फोटोहरु ‘फेक’ भएको जनाएपछि कित्तिया सामाजिक सञ्जालबाट गायब छिन् ।    यसरी फोटो वास्तविक नभएको रहस्य बाहिरिएपनि एम्बेसीले हालसम्म आफ्नो पेजबाट हटाएको छैन । न त फाेटाे गलत भएकाेमा खेद नै व्यक्त गरिएकाे छ ।   अल्पाइनले भने ३ वटा फोटोहरु गलत भएको विभिन्न आधार प्रस्तुत गर्दै समाचार सार्वजनिक गरेको छ ।    अल्पाइन लेख्छ, ‘तस्बिरमा कम्पोजिसन, प्रकाश र स्थानमा तालमेल मिल्दैन ।’