काठमाडौँ: पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् । निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने बताउनुभयो । “स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा विदेशमा भने प्रदर्शन गर्न अधिकार दिएबापत प्राप्त हुने रकमले हामीलाई सजिलो बनाएकोछ”, उहाँले भन्नुभयो, “मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।” शत्रु गते, जात्रै जात्रापश्चात् अहिले ‘महापुरूष’ विदेशमा प्रदर्शन भइरहेका छन् । महापुरुष चलचित्रले अमेरिकामा तीन सयभन्दा बढी शो गरिसकेको छ भने अष्ट्रेलिया र युरोपका विभिन्न सहर, जापान, मध्यपूर्वी खाडीमुलुकमा समेत राम्रो व्यापार गरिरहेको छ । उल्लेखित देशमा अन्य विदेशी चलचित्र हेरिए झैँ हलमै पुगेर ‘महापुरूष’ पनि हेर्न सकिन्छ । संयुक्तराज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताउनुभयो । “समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी चलचित्रझैँ नेपाली चलचित्र पनि हलमा प्रदर्शन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँ स–परिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् । अहिले प्रदर्शन भइरहेको महापुरूषले नयाँ रेकर्ड बनाउँदैछ ।” वितरक सुवेदीले नै कबड्डी ४, प्रेम गीत ३ जस्ता चलचित्रसमेत अमेरिकामा प्रदर्शन अधिकार लिएर वितरण गर्नुभएको थियो । नेपाली चलचित्रका लागि अष्ट्रेलिया, जापान, दक्षिण कोरिया पनि राम्रो मानिन्छ । अष्टेलियामा नेपाली चलचित्र प्रदर्शन गरिरहनु भएका रोशन भट्टराईले बजार बढेको बताउनुभयो । “कोरोना भाइरसको महामारीपश्चात् नेपाली चलचित्रको बजार अष्ट्रेलियामा बढेको पाएको छु तर यो विश्वास जितिसकेका चलचित्र र निर्माताको हकमा मात्र लागू हुन्छ । विशेषत यहाँ जात्रा सिरिज, छक्का पञ्जा सिरिज र कबड्डी सिरिजको माग धेरै हुन्छ”, वितरक भट्टराईले बताउनुभयो । एक समय विदेशमा प्रदर्शन अधिकार बिक्री गरेवापत पाइने रकमकै सेरोफेरोमा चलचित्र नबनेका होइनन् तर पछिल्लो समय यसमा नियन्त्रण हुन थालेको छ । अहिले बढिरहेको बजारलाई दीर्घकालीनरूपमा व्यवस्थित बनाउनुपर्ने निर्देशक दीपेन्द्र लामाले बताउनुभयो । “विदेशमा रहेका चलचित्र प्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ चलचित्रकर्मीलाई नै हुनेछ”, उहाँले भन्नुभयो ।
काठमाडौँ: मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र नं २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बाजुराको बुढीनन्दा ५ मा मतदानको दिन झडप भएर मतदान स्थगित भएको थियो भने दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहित निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएको छ । आयोगमा सूचना अधिकारी अर्यालका अनुसार बाजुरामा स्थगन भएको मतदान –भोलि शनिवारलाई तोकिएको छ । मतगणना गणना रोकिएका दुई वटा क्षेत्रको भने अहिले अनुसन्धान भइरहेको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मतदान स्थगन भएको बाजुरामा भोलि शनिवार मतदानका लागि प्रक्रिया अघि बढेको छ भने मतगणना हुन बाँकी दुई निर्वाचन क्षेत्रको अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात् यसको कारबाही थालिनेछ ।’ दोलखा र स्याङ्जा क्षेत्र नं २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खसालेको भन्दै प्रतिस्पर्धी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
काठमाडौं: चितवन क्षेत्र नंं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ढकाल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केहिवेरमा मत परिणाम सार्वजनिक गर्ने तयारी छ । ढकालले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल र एमाले नेता सुरेन्द्र पाण्डेलाई हराएका हुन् । चितवन क्षेत्र नं. २ बाट पनि हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।
काठमाडौं: चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् । चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् । लामिछानेले अहिले कुनै विजय र्याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् । उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् । ‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्राय: विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’ उनले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गरेका छन् ।
काठमाडौं: ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी छिन् । ‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उनले मतदाता र समर्थकमाझ भनेकी छिन् । उनले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताइन् । ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,’ उनले भनिन् । जनताको आशा, विश्वास र भरोसालाई ५ वर्ष सदनमा पेश गर्ने उनको प्रतिवद्धता छ । ‘जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,’ उनले भनिन्, ‘मलाई निरन्तर खबरदारी गरिदिनुहोला ।’ संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ ।’ उनले भनिन् ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन २ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।
गोरखा: गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ । बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पछाडि पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कुल १२ हजार ६३७ मत प्राप्त गर्नुभएको छ । दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहनुभएको छ । उहाँले सात हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । गोरखा क्षेत्र नम्बर २ मा कुल ५३ हजार ९७८ मत खसेको थियो ।
पाटन प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गर्नुभएको छ । उहाँले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय हुनुभएको हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्) पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ । घण्टी चिह्नमा चुनाव लड्नुभएका उहाँ पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुनुहुन्छ । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गर्नुभएको थियो । मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गर्नुभएको हो । काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उहाँले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गर्नुभएकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय हुनुहुन्छ । निर्वाचनमा विजयी भएपछि उहाँले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।”
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।