पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

सप्तरी:   सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो । सप्तरी क्षेत्र नं १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् । गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाएका छन्, जबकि उपेन्द्रको मत १५ हजार ५८६ छ । यो समाचार तयार पार्दासम्म यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् । नेपाली कांग्रेसका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ । अब गन्न बाँकी मत करिब ६ हजार छ । त्यो सबै मत प्रतिस्पर्धीले पाए पनि सीके राउतको जित निश्चित छ ।

डोल्पा:   मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कने साधन नहुदा रोकिएका छन् । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धका २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेकाले डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो ।    “गएको आइतबार सम्पन्न निर्वाचनका लागि डोल्पामा पाँच सय ११ कर्मचारी खटिएका थिए,” उहाँले भन्नुभयो, “२२ केन्द्रमा खटिएकामध्ये तल्लो क्षेत्रका केही कर्मचारी फर्किए पनि १२ मतदान केन्द्रमा खटिएका एक सय ३५ कर्मचारी थुनिएका छन् ।” आज बिहान हेलिकप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो । उक्त क्षेत्रमा हिउँ परेकोले चिसो पनि बढ्दै जादा केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरुको छिटो उद्धार गर्नुपर्ने उहाँको भनाइ छ । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उहाँले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताउनुभयो ।  उहाँका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा समेत जनशक्तिको अभाव हुनेछ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका– १ कोवासस्थित शहीद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको राससलाई जानकारी दिनुभयो ।  कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्याका भएको छ,” उहाँले भन्नुभयो, “समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा बढेको छ ।” उनीहरुलाई टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहोराले जनाउनुभयो ।   उहाँका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चिसोका कारण रोकिएका छन् ।  डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आज बिहान डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकप्टरबाट ल्याइएपछि बाँकी कर्मचारी ल्याउने तयारी भएका तर, हुम्ला प्रदेश सभा २ मा एक सय ३६ मतपेटिका ढुवानीका लागि गएकोले अलपत्र कर्मचारीको उद्धार हुन नसकेको बताउनुभयो । त्यसको लागि पहल भइरहेको पनि उहाँले बताउनुभयो । 

काठमाडौँ:  अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने अनुमान निर्वाचनपूर्व नै धेरैले गरेका थिए । यही अपेक्षालाई आधार मानेर केही नयाँ पार्टीहरु पनि जन्मिए भने स्वतन्त्र रुपमा पनि थुप्रै उम्मेदवारहरुले प्रतिस्पर्धा गरे । परिणामले मतदानपूर्व गरिएको अनुमानलाई केही हदसम्म सत्य साबित गरिदिएको छ । निर्वाचनलाई वैधानिक ढङ्गबाट परिवर्तन गर्ने एउटा माध्यमका रुपमा पनि लिइन्छ । परिवर्तनको अपेक्षा गर्नु मानवीय गुण नै हो । हरेक निर्वाचन होस् वा क्रान्तिहरुले सधैँ परिवर्तनको अपेक्षा गरेका हुन्छन् र त्यस्तो अपेक्षा गर्न नागरिकलाई प्रेरित पनि गरिरहेका हुन्छन् । सधैँ परिवर्तनको अपेक्षा गरिरहेका नागरिकले निर्वाचनका समयमा यस्तो अपेक्षा गर्नुलाई स्वाभाविक रुपमा ग्रहण गर्नु पनि पर्दछ । परिवर्तनका लागि हिंसा वा हडतालको बाटो पकड्नुभन्दा मतपेटिकाको उपयोग गर्ने चेतनाको विकास हुनु आफैँमा सकारात्मक कुरा हो ।  नेपाली समाज अब मतपेटिकामार्फत नै क्रान्ति हुन्छ भनेर विश्वास गर्ने तहमा पुगेको छ भनेर विश्लेषण गर्ने आधार पनि यो चुनावले दिएको छ । युवाहरु टायर बाल्ने र सडक बन्द गर्ने अभ्यासलाई अस्वीकार गर्दै लोकतान्त्रिक विधिबाट परिवर्तनको पक्षमा उभिनुपर्छ भन्ने मान्यता राख्दछन् भन्ने सन्देश यो चुनावमार्फत प्रकट र स्थापितसमेत भएको छ ।  यो चुनावले दिएका यी कुराहरु अत्यन्तै सकारात्मक पक्ष हुन् । लोकतन्त्रको सबलताका लागि पनि यी पक्षहरुले योगदान दिनेछन् । त्यति मात्रै हैन, निरन्तर लोकतान्त्रिक अभ्यास हुँदै गर्दा कैयौँ यस्ता नागरिक भावनाहरुलाई सम्बोधन गर्न सक्छ भन्ने कुरा पनि स्थापित भएको छ । निरन्तरको निर्वाचनलाई अपेक्षाअनुसारको परिवर्तनका रुपमा उपयोग गर्न सकिन्छ नै ।  यति मात्रै होइन, यो चुनावले अन्य महत्वपूर्ण सन्देशहरु पनि दिएको छ । परम्परागत शक्तिलाई आफ्नो कार्यशैली परिवर्तन गर्न चेतावनी नै दिएको छ । उम्मेदवार छनोटको निश्चित विधि बनाउन बाध्य हुन सिकाएको छ । राजनीतिमा दलाल वर्गको उपस्थितिलाई निरुत्साहित गर्न चुनौती दिएको छ । पैसा र बलको राजनीतिक अभ्यासलाई अस्वीकार गर्न अपिल गरेको छ । इतिहासको मात्र होइन, सम्भावना र योग्यताको कदर गर्ने कुरालाई प्राथमिकतामा राख्न भनेको छ । समग्रमा सुशासनको छाताभित्र बसेर राजनीतिक कर्म गर भन्ने आक्रामक अभिव्यक्ति पनि दिएको छ ।  यो चुनावमार्फत मतपत्रहरुमा व्यक्त भाव भनेकै सुशासनतर्फ प्रतिबद्ध बन भन्ने नै हो । सुशासनको अवस्थामा सुधार आउन नसकेकै कारण राजनीतिप्रति नागरिकको नैराश्यता र उदासीनता चुलिँदै गएको हो । खासगरी सहरी क्षेत्रहरुमा मतदाताले त्यो भावना अभिव्यक्त पनि गरेका छन् । चुनावमा मत प्रतिशत कम हुनु, मतदानका क्रममा उत्साह पनि खासै नदेखिनु पनि नैराश्यता प्रदर्शनकै एउटा तरिका थियो । दललाई मत हाल्ने समानुपातिक निर्वाचनको मतपत्रमा समेत फरक चुनाव चिन्न खोज्नेको सङ्ख्या ठूलो देखियो । यो पनि परम्परागत शक्तिहरुसँगको एउटा विद्रोह हो ।  राजनीतिमा नागरिकहरु अझ त्यसमा पनि युवाको चासो बढेन, अग्रसरता देखिएन र आवश्यक परेमा हस्तक्षेपकारी भूमिकामा उभिन सकेनन् भने त्यो राजनीति एउटा निश्चित वर्गमा सीमित हुन्छ र वैयक्तिक वा समूहगत स्वार्थ पूर्तिको माध्यम मात्र बन्छ । यो अवस्थामा लोकतान्त्रिक शक्तिहरु पनि क्रमशः कुलीनतन्त्रको अभ्यासमा अभ्यस्त हुँदै जान्छन् । नेपाली राजनीतिमा देखिएको एउटा खतरा यो पनि थियो । युवाको हुँकारसहितको चासो र उपस्थितिले त्यस्तो अभ्यास गर्नबाट रोक्न सक्छ । यो चुनावमा युवाहरुको हुँकार पनि सही सुनिएको छ । अब संसद्मा र नीति निर्माणका अन्य संरचनाहरुमा पनि ठूलो स्वरमा त्यो हुँकार सुनाउन सक्ने ‘ग्राउन्ड’ यो निर्वाचनले तय गरिदिएको छ ।  नाता, परिवारमा सीमित, सम्पत्तिलाई नै लक्ष्य ठान्ने, विलासी शैली अपनाउने, शक्तिको दुरुपयोग गर्ने जस्ता विसङ्गतिको भीडबाट एक छिन पर उभिएर राजनीतिक रणनीति बनाउनका लागि प्रेरणाका रुपमा पनि चुनावलाई ग्रहण गर्न सक्नुपर्दछ । मतपत्रमा परेको स्वस्तिक छापको गन्ध बुझेर नयाँ पदचाप तय गर्ने दिशामा नेपाली राजनीतिलाई लैजाने क्षमता जसले देखाउँछ, उसँग मात्र नागरिकको अपेक्षा रहने निश्चित छ । शक्तिको दुरुपयोग गर्दै निश्चित वर्गको स्वार्थका लागि राजनीतिलाई बन्धक बनाउनेहरुको हातमा अब राजनीति रहन सक्दैन ।  निर्वाचनले संसद् त बनाउँछ नै । त्यो संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देश पनि दिन्छ । यसपालिको निर्वाचनले संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देशसमेत दिएको छ । त्यो आवाज संसद्का सबै सदस्यले सुन्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने दोस्रो कुरा हो, तर त्यसलाई नबुझ्न् वा नजरअन्दाज गर्नेहरु राजनीतिक खेलमा क्रमशः अस्वीकृत हुँदै जाने चाहिँ निश्चित छ । पाँच महिनाअघि जन्मेको पार्टीको जबर्जस्त उपस्थितिलाई व्यक्तिको उपस्थिति र उपस्थित व्यक्तिको सङ्ख्याका रुपमा मात्र व्याख्या गरिनु हुँदैन ।  निर्वाचनपछिको नेतृत्वले नागरिकमा उत्साह भर्ने र हाम्रै पालामा परिवर्तन सम्भव छ भन्ने सन्देश दिने ढङ्गले काम गर्नुपर्ने चुनौती बहन गर्नुपर्ने छ । यो चुनौतीको सम्बोधन गर्ने क्षमताको अपेक्षा अब आम नागरिकको पहिलो पर्खाइ हो । राजनीतिशास्त्रीहरुले राजनीतिलाई ‘कला पनि हो र विज्ञान पनि हो’ भनेर परिभाषित गरेका छन् । विज्ञानले परिणाम दिन्छ र कलाले परिणाम दिनका लागि काम गर्दछ । राजनीतिलाई कला पनि र विज्ञान पनि मान्ने हो भने राजनीतिमा सही कर्म गर्दै त्यस कर्मबाट सिङ्गो समाजलाई लाभान्वित गर्ने गरी राजनीतिकर्मीले काम गर्नुपर्ने हुन्छ । यसरी काम हुन नसक्दा नै नागरिक तहमा नैराश्यता थपिएको हो । एउटा प्रक्रियाको निरन्तरताका रुपमा मात्र राजनीतिक गतिविधिहरुलाई सीमित गर्दा राजनीतिसँग नागरिकको चासो छुट्दै गएको अवस्था हो ।  सिर्जनात्मक रुपमा आफ्नो ‘कला पक्ष’लाई सबल बनाउँदै परिणाम दिनका लागि आफूलाई प्रतिबद्ध बनाउने हो भने मात्र त्यस्तो राजनीतिक अभ्याससँग नागरिकको चासो बढ्दै जान्छ । शक्तिको प्रयोग, शक्ति सन्तुलन र बाध्यकारी निर्णयहरुमा राजनीतिक कर्मलाई सीमित गर्दा नागरिकका दैनन्य आकाङ्क्षाको पूर्ति र समस्याहरुको सम्बोधन सही ढङ्गले हुन सक्दैनन् । नागरिकका समस्या र चाहनालाई कसरी राजनीतिकर्मीहरुले लिन्छन् र सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।  नेपालको लोकतान्त्रिक अभ्यासका क्रममा राजनीतिशास्त्रीले भनेको झैँ कला पक्ष र विज्ञान पक्षलाई सन्तुलित गर्न नसक्दा यस्ता तमाम समस्याहरु उब्जिएको मान्न सकिन्छ । स्थापित र परम्परागत शक्तिहरुका कतिपय व्यवहारले गर्दा नागरिकहरुमा हुर्किएको तीतो यथार्थ हाम्रासामु छ । पुस्ता हस्तान्तरणमा उदासीन, समकालीन समस्याहरुको पहिचानमा असक्षमता प्रदर्शन, आधुनिक विश्वसँग नेपाली समाजलाई जोड्ने प्रस्ट दृष्टिकोणको अभाव, बेरोजगारी समस्या सम्बोधनलाई प्राथमिकतामा नराखिनु, विचौलियाको बोलबाला बढ्दै जानु, अपारदर्शी सम्पत्ति कमाउने प्रवृत्तिको विकास, भ्रष्टाचार बिना कामै नहुने परिस्थिति बलियो बन्दै जानु, राज्यका संरचनाहरुप्रति नागरिकको विश्वास उड्दै जानु अहिलेका मुख्य प्रवृत्ति र चुनौती हुन् । यी प्रवृत्तिहरुबाट समाजले मुक्ति खोजिरहेको छ ।  ‘नो नट अगेन’ जस्ता अभियानहरु, पुस्ता हस्तान्तरणका लागि दिइएका दबाबहरु उल्लिखित प्रवृत्तिबाट मुक्तिका लागि नै चलेका हुन् । उनै पात्र, उनै सोचले नागरिकमा पुनर्ताजगी हुन सक्दैन । समानुपातिकतर्फका अधिकांश उम्मेदवारहरुको अनुहार हेरेर पनि नागरिकहरुले समानुपातिकतर्फको मतपत्रमा समेत फरक चिह्न खोजेकोसमेत पाइयो । यसले पात्र र प्रवृत्तिमा समेत परिवर्तन खोजिएको देखाएको छ । यी सबै पक्षहरुलाई केलाएर हेर्दा यो चुनावले संसद् मात्र बनाएन, थुप्रै नयाँ सन्देशहरु पनि दिएको छ । सन्देशको मुख्य भाव प्रस्ट छ– अहिलेकै तरिकाले राज्य सञ्चालन हुन सक्दैन, अब कामको शैली परिवर्तन गर्नै पर्दछ । सबै निर्वाचित सांसदहरुले यो सन्देश बुझ्न सकून् । लोकतन्त्रको भविष्यमा यसैमा निर्भर छ । 

इलाम:   इलाममा क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो । कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना रोकिएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताइएको छ । यो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले खनाललाई पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।

कास्की:  पोखरा सभागृहमा जारी मतगणनामा गणक बनेर मत गणना स्थलमा छिरेका पोखरा ११ का निवर्तमान वडाध्यक्ष्यसमेत रहेका कांग्रेसका नेता मोहन बास्तोलालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियन्त्रणमा लिएको छ ।  नक्कली मत गणक बनेर कास्की क्षेत्र नम्बर २ को मतगणना स्थलमा मतगणना स्थलमा प्रवेश गरेका बास्तोलालाई मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले स्पष्टिकरण सोधेको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।  ‘निर्वाचनको सवालमा हाम्रो नियन्त्रणमा हुनुहुन्न । मुख्य निर्वाचन अधिकृतबाट नै नियन्त्रणमा लिएर स्पष्टिकरण सोधको जानकारीमा आएको छ ।’ डिएसपी तिवारीले भने । उनले अन्य नेताको कार्ड प्रयोग गरेर मतगणना स्थलमा प्रवेश गरेको बताइएको छ । उनलाई मतगणना स्थलमा देखेपछि नेकपा एमालेका गणकहरुले विरोध जनाएका थिए ।  पोखरा सभागृहमा अहिले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र २ (क) र २ (ख) को मतगणना जारी छ । 

हुम्ला: हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो ।  दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो ।       जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपुर्याएको छ । तर त्यहाँबाट हेलिकप्टरमा ढुवानी गर्नका लागि निर्वाचन आयोगसँग कुरा भइरहेका कारण मतपेटिका रोकिएका हुन् । सर्केगार्डबाट सदरमुकाम सिमकोट पुग्न डेढ दिन पैदल हिँड्नुपर्छ ।  सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकप्टरमा ढुवानीका लागि कुरा भइरहेको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताउनुभयो । उहाँ अनुसार आज दिउँसोसम्म मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिनेछ ।      सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन् ।  यस्तै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा निर्वाचनमा खटिएका कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी गरेर ४९ जना बाटोमै रोकिएका छन् । न्यालु लेकमा हिउँ जमेकाले पैदल हिँडेर आउन समस्या हुने देखिएपछि उनीहरु पनि हेलिकप्टरको पर्खाइमा छन् ।

काठमाडौँ:  काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले सात हजार एक सय ४३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई एक सय २५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा चौथोपटक विजयी बन्नुभएको छ । निर्वाचित भएपछि काठमाडौँ निर्वाचन क्षेत्र १ का मतदातालाई हार्दिक धन्यवाद दिँदै उहाँले यस जितले लोकतन्त्रवादीको शिर माथि उठेको बताउनुभयो । लोकतन्त्रमा जनता सर्वोच्च र निर्णायक हुने र उनीहरुको मतले नै राज्य सञ्चालन हुने हुँदा यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउँछ भन्नुभयो । आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्रका लागि गरेको समर्पण र स्च्छ छविकै कारण यस क्षेत्रका जनताले पटकपटक विजयी गराएका उहाँको भनाइ छ ।       उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व ग¥यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पन्नता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो । अहिलेको अर्थतन्त्रको सङ्कट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहेको बताउँदै उहाँले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।  उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो । पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।” निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार बताउनुभयो । नेता सिंहले निर्वाचन घरदैलोका क्रममा मतदाताले राखेका विकास निर्माण, जनजीविकाका सवाल र राजनीतिक स्थिरताका लागि आफूले विगतमा जस्तै एक जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै नेता सिंहले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताउनुभयो । विसं २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंह र नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका छोरा उहाँ सानो उमेरदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएको थियो । २०१२ सालमा जन्मनुभएका उहाँ २०३४ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभयो भने २०३६ सालमा अध्यक्ष बन्नुभयो । २०४७ देखि निरन्तर १० वर्षसम्म नेपाली कांग्रेसको काठमाडौँको सभापति रहनुभयो भने नेपाली कांग्रेसको विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उपसभापति बन्नुभयो । २०६४ मा पार्टी एकीकरणपछि २०६७ मा भएको १२औँ महाधिवेशनबाट उहाँ महामन्त्रीमा निर्वाचित हुनुभयो । उहाँले २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर छ वर्षको कार्यकाल पूरा गर्नुभयो ।  २०६४ सालमा भएको पहिलो संविधानसभा र त्यसपछिका तीनवटै आम निर्वाचनमा उहाँले काठमाडौँ–१ मा क्षेत्रबाट विजय हासिल गर्दै आउनुभएको छ । उहाँ सुशील कोइरालाको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो । पार्टी र सरकारमा रहँदा सधैँ इमान्दार र निष्ठा राख्नुहुने उहाँ विकासप्रेमी नेताका रुपमा चिनिनु हुन्छ ।

हुम्ला: हुम्ला जिल्लाका ३४ मतदान केन्द्रबाट मतपेटिका संकलन नहुँदा मतगणना सुरू हुन सकेको छैन । प्रदेश सभा २ का २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट पुगे पनि  प्रदेश सभा १ का ३४ मतदान केन्द्रका मतपेटिका नपुगेपछि मतगणना सुरु नभएको हो । नाम्खा गाउँपालिका ६ स्थित लिमीका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको थियो । २२ मतदान केन्द्रका मतपेटिका गाडी र पैदलमार्गबाट सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । प्रदेश २ का ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमा ल्याउने पहल भइरहेको निमित्त निर्वाचन अधिकारी रानाले बताए । दिउँसो दुई बजेबाट मतपेटिका ओसार्न भनिए पनि अहिलेसम्म केही टुंगो देखिएको छैन । ३४ वटा मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्क्याइएको छ ।

 काठमाडौं:  काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो । नेता श्रेष्ठका स्वकीय सचिव विवेक महर्जनका अनुसार श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्हका पोखरेलले १० हजार ९६१ मत ल्याउनुभयो । यसैगरी गठबन्धन उम्मेदवार माओवादी केन्द्रका नेत्री कल्पना धमलाले ६ हजार ४०२ मत ल्याउनुभयो ।  नेता श्रेष्ठ यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा श्रेष्ठ शिक्षा तथा शहरी विकासमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।  नेता श्रेष्ठ निर्वाचित हुनुभएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । सोहीअनुसार एमालेका नेता कार्यकर्ताहरु श्रेष्ठको विजयीसँगै विजयी र्याली प्रदर्शन गर्नुभएको छ । नेता श्रेष्ठ निर्वाचित भएको विजयोत्सव भए पनि आयोगले आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको स्वकीय सचिव महर्जनले बताउनुभयो ।