पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

इलाम:  यसपटकको निर्वाचनमा इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका छन् ।   फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गरेको हो ।   राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मेको उहाँको नागरिकतामा उल्लेख छ । 

काठमाडौं:  आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ । फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समयअनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बने) देखि सुरु हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बजे (नेपाली समयअनुसार राती पौने १० बजे)देखि सुरु हुनेछ । पहिलोपल्ट एसियाको मध्यपूर्णमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्ने एकजना सुपरस्टार निश्चित भइसकेको छ । उनी हुन्, विश्वविख्यात ब्राण्ड बीटीएसका गायक जंगकुक । दक्षिण कोरियाको केपप ब्याई ब्राण्ड बीटीएस विश्वभर सर्बाधिक फ्यान फलोइङ भएको ब्याण्ड हो । जंगकुक ब्याण्डका सबैभन्दा लोकप्रिय सदस्य हुन् । ‘गर्वका साथ घोषणा गर्दैछौं कि जंगकुक फिफा विश्वकप कतार २०२२ को सदस्य बन्दैन् । उनले उद्घाटन समारोहमा प्रस्तुति दिनेछन्,’ बीटीएसको आधिकारिक ट्वीटर एकाउण्टबाट १२ नोभेम्बरमा पोष्ट भएको थियो । उद्घाटन समारोहमा ३० मिनेटको विशेष कार्यक्रममा थुप्रै ‘सरप्राइज्ड’ हुनेछ । जंगकुकले कतारी गायक फहद अल कुबैसीसँग मिलेर फिफाको आधिकारिक गीत ‘ड्रिमर्स’को प्रस्तुति दिनेछन् । कतारले यो विश्वकपको उद्घाटन कार्यक्रमको विषय सम्पूर्ण मानव जगतको मिलनः मानवता, सम्मान र समावेशीतामार्फत भिन्नता न्यूनीकरण हो । ‘कार्यक्रमको सात–कार्यको नेतृत्व विश्वस्तरका प्रतिभाले गर्नेछन् । विश्वव्यापी संस्कृतिका साथ कतारी परम्परा जोडेर सहभागी ३२ देशलाई सम्मान गरिनेछ,’ फिफाले भनेको छ । फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनफे प्रत्यक्ष प्रशारण गर्नेछ । विश्वकपको उद्घाटन हेर्न दर्शकले शुल्क तिर्नु पर्दैन । सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ । करिव एक महिनासम्म चल्ने विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम एचडी टेलिभिजनले गर्नेछ ।

चरिकोट:  दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

   पोखरा:  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन  भईरहेको छ ।    निर्वाचन भइरहँदा पोखरा १४ स्थित नमुना बस्तीमा नेकपा विप्लव नेतृत्वको टोलीले चुनाव बहिष्कार गरेको छ ।    यार्लीमा निक्लिएका विप्लव टोलीले कालो झण्डामा ‘नो भोट’,‘नो एमसिसि’ लेखि निर्वाचन विरुद्व  प्रदर्शन गरेको हो ।      

काठमाडौं:   प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अनुमती नलिई आज चलाइएका एक हजार ३४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।  ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार,  एक हजार ३४९ वटा मोटरसाइकल र ८७ वटा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ

काठमाडौं:   निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए । यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०र११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।

काठमाडौं:    निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ । तर आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको छ । आयोगले फेसबुकमा लेखेको छ, ‘‘साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।’

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए ।  उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।  

तनहुँ:    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गर्नुभएको छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा एक लाख १९ हजार ६५० जना पुरुष र एक लाख २८ हजार ८४५ जना महिला गरी कुल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् ।  तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि निर्वाचनमा गठबन्धन र एमालेसहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ छ । जिल्लामा मतदानस्थल १४२ वटा छन् ।