चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे । बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले मतदातासामु भने, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’ आफूले चुनाव जितेपछि पनि चुनाव अगाडि मत माग्न आएजसरी नै घरघरमा आउने लामिछानेले बताए ।
स्याङ्जा: स्याङ्जाको चापाकोट नगरपालिका १ को भानु माविको मतदान केन्द्रमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको स्याङ्जा प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । अहिले त्यहाँ सर्वदलीय बैठक बसी मतदान सुचारु गर्न लागिएको छ ।
बागलुङ: बागलुङको जैमिनी नगरपालिका ४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ । उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
काठमाडौं: गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उहाँले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो । उहाँले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको पाएको बताउनुभयो । गृहसचिवले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको जानकारी दिनुभयो । गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताउनुभयो । उहाँले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक हानि पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’’ सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरुले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको बताउनुभयो ।
दार्चुला: दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् । लेकम गाउँपालिका १ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बाजुरा: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।
इलाम: यसपटकको निर्वाचनमा इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका छन् । फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गरेको हो । राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मेको उहाँको नागरिकतामा उल्लेख छ ।
काठमाडौं: आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ । फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समयअनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बने) देखि सुरु हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बजे (नेपाली समयअनुसार राती पौने १० बजे)देखि सुरु हुनेछ । पहिलोपल्ट एसियाको मध्यपूर्णमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्ने एकजना सुपरस्टार निश्चित भइसकेको छ । उनी हुन्, विश्वविख्यात ब्राण्ड बीटीएसका गायक जंगकुक । दक्षिण कोरियाको केपप ब्याई ब्राण्ड बीटीएस विश्वभर सर्बाधिक फ्यान फलोइङ भएको ब्याण्ड हो । जंगकुक ब्याण्डका सबैभन्दा लोकप्रिय सदस्य हुन् । ‘गर्वका साथ घोषणा गर्दैछौं कि जंगकुक फिफा विश्वकप कतार २०२२ को सदस्य बन्दैन् । उनले उद्घाटन समारोहमा प्रस्तुति दिनेछन्,’ बीटीएसको आधिकारिक ट्वीटर एकाउण्टबाट १२ नोभेम्बरमा पोष्ट भएको थियो । उद्घाटन समारोहमा ३० मिनेटको विशेष कार्यक्रममा थुप्रै ‘सरप्राइज्ड’ हुनेछ । जंगकुकले कतारी गायक फहद अल कुबैसीसँग मिलेर फिफाको आधिकारिक गीत ‘ड्रिमर्स’को प्रस्तुति दिनेछन् । कतारले यो विश्वकपको उद्घाटन कार्यक्रमको विषय सम्पूर्ण मानव जगतको मिलनः मानवता, सम्मान र समावेशीतामार्फत भिन्नता न्यूनीकरण हो । ‘कार्यक्रमको सात–कार्यको नेतृत्व विश्वस्तरका प्रतिभाले गर्नेछन् । विश्वव्यापी संस्कृतिका साथ कतारी परम्परा जोडेर सहभागी ३२ देशलाई सम्मान गरिनेछ,’ फिफाले भनेको छ । फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनफे प्रत्यक्ष प्रशारण गर्नेछ । विश्वकपको उद्घाटन हेर्न दर्शकले शुल्क तिर्नु पर्दैन । सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ । करिव एक महिनासम्म चल्ने विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम एचडी टेलिभिजनले गर्नेछ ।
चरिकोट: दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

