काठमाडौं: निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिएको छ। मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो। आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने निर्देशन दिएको छ। कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो स्थानमा साथमा लागि मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचीत गर्ने। आयोगको निर्देशनमा भनिएको छ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने।
पोखरा: विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय । विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन । ग्रामीण परिवेश थियो । त्यो सामाजिक परिवेशमा विद्यालय सकेपछि विन्दुकुमार थापा पनि कृषिमा नै जोडिन पुगे । गोठमा गाई भैँसी पालेका थिए । रोपनी जग्गामा कोदो रोप्थे, फसल उत्पादन गर्थे । त्यतिबेलाको समय स्मरण गर्दै विन्दुकुमार थापा भन्छन, “हामी पनि कृषक परिवारबाट आएका हौँ, खेतबारीमा काम गथ्र्यौँ, पसिना बहाउँथ्यौँ ।” बाल्यकालीन ती दिन अहिले विन्दुकुमार थापाको सम्झनामा मात्रै छन । आफ्नै दमले परिचय बदलेका विन्दु आफ्नो संघर्ष भन्न हिचकिचाउँदैनन । कृषि क्षेत्रमा गरेका दुख, बगाएका पसिना उनलाई ताजै छन । प्राथमिक तह, माध्यमिक तहको पढाई सकेपछि उनी आइएल पढ्न पृथ्वीनारायण क्याम्पस भर्ना भए । पछि कानूनमा स्नातक पनि गरे । कलेज पढ्दाताका नै उनी राष्ट्रबैंकको जागिरे जीवनमा प्रवेश गरे । तीन वर्ष अस्थायी जागिरपछि राष्ट्रबैंकमा उनले आफ्नो १८ वर्ष बिताए । १८ वर्ष सेवापश्चात उनी पेन्सन निस्के । पेन्सन निस्किँदा उनको हातमा थियो, १८ लाख रुपैयाँ । त्यही १८ वर्ष राष्ट्रबैंकमा बेचेको युवा उमेर, पसिनाको कमाई थियो, त्यो । हातमा पैसा भएपछि पनि त्यसलाई कहाँ प्रयोग गर्ने ? सोचमग्न भए उनी । त्यो १८ लाख र त्यसको सही लगानी, त्यसको प्रतिफल चाहिँ अहिलेका विन्दुकुमार थापा हुन । उनको नाम एउटा छ, परिचय चाहिँ अनेकौँ । धनाढ्य विन्दु, व्यवसायी विन्दु, समाजसेवी विन्दु, नेता विन्दु, गण्डकीका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु । यी अनेकौँ परिचय बनाउन उनले गरेका संघर्षका अनेकौँ परिचय छन । जागिरे जीवन होस वा व्यवसाय, चाहे राजनीति । उनी बद्नाम भएनन । त्यसकारण उनले अर्को नाम पाएका छन, ‘निष्कलंक विन्दु ।’ उनै निष्कलंक विन्दु व्यवसायपश्चात थालेको राजनीतिक यात्राको दोश्रो जीतको लागि जनतालाई भेटेका छन, मतदातासामु पुगेका छन । विन्दु नै यस्ता भाग्यमानी उमेदवार हुन, जसको निर्वाचन क्षेत्र कास्क २ (ख) पोखरा महानगरपालिकाको बजारक्षेभित्र पर्छ, अर्कातर्फ उनको पहिचानका कारण सबै मतदाताले राम्रोसँग चिनेका छन । सहजता, उनको अर्को विशेषता हो । मन्त्रालय होस वा घर, विन्दुकुमार थापाको घरमा आम मानिसलाई जान कुनै रोकतोक छैन । उनी मतदातालाई चुनावको समयमा मात्रै होइन, अघिपछि पनि सहजरुपमा सुन्छन र उनीहरुका समस्या समाधानको प्रयत्न गर्छन । राजनीति गरे, चुनाव जिते तर, आफूले पाउने सेवासुविधा सबै जनताको काममा खर्चिएका कारण समाजसेवीको छवि बनाएका विन्दुलाई त्यही कारण दोश्रोपटक पार्टीले विश्वास गरेर अघि सारेको छ । प्रतिकूलताका बिच ०७४ को प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा कास्की जिल्लाका अन्य सबै क्षेत्र नै वाम गठबन्धनले कब्जा गर्दा प्रदेश राजधानी पोखरामा कास्की २(ख) बाट चुनाव जितेर उनले पार्टीको साख जोगाइदिएका थिए । विगतको तुलनामा अहिले गठबन्धनको सहयोग उनलाई छ । पाँचदलीय गठबन्धनका साझा उमेदवार बन्दै गर्दा उनी दोश्रोपटक प्रदेशसभामा पुग्न प्रयासरत छन । राजनीतिमा आउनुअघि विन्दु व्यवसायमा व्यस्त थिए । देशकै पुरानो उद्योगी व्यवसायीको संस्था उद्योग वाणिज्य संघ पोखरालाई उनले २०७२ मा नेतृत्व गरे । थापा वि.सं. २०५० सालमा नेपाल राष्ट्र बैंक स्टाफ संघको सदस्य, नेपाल अटोमोबाइल डिलर्स एशोसियसन नाडा उपाध्यक्ष (२००८ देखि १०१० ), नेपाल रसिया च्याम्बर अफर कमर्स गण्डकीको अध्यक्ष (२०१२ देखि २०१६), सल्लाहकार पश्चिमाण्चल अटोमोबाइल डिलर्स एशोसियसन (२००५ देखि २०१६), सल्लाहकार गण्डकी ल्याण्ड एण्ड हाउजिङ एशोसियसन (२००२ देखि २०१६) संस्थामा आबद्ध भएका थिए । उद्योग वाणिज्य संघको कार्यकाल पश्चात नै विन्दु थापा राजनीतिमा सक्रिय भएका हुन । पहिलो कार्यकाल, पहिलो अभ्यास र पहिलो निर्वाचनबाट चुनाव जित्दै उनले आफ्नो पाँच वर्ष सफल तुल्याए नै यस अवधीमा उनी उदाहरणीय सांसद, मन्त्री नै बन्न पुगे । उदाहरणीय यस अर्थमा कि, पाँच वर्षमा उनले आफ्नो सेवासुविधाबाट पाउने रकममा व्यक्तिगत खर्च थपेरै ५८ लाख ३० हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरे । ‘राजनीतिलाई सेवा गर्ने माध्यम’ नीति लिएर उनले पाँचवर्षमा सांसद भएबापत ४० लाख ७१ हजार रुपैयाँ पारिश्रमिकमा १८ लाख ३० हजार व्यक्तिगत रुपमा थप गरि जनसेवामा खर्च गरेका थिए । पहिलो पाँच वर्षमा गण्डकीले ६१ वटा कानून बनाउँदा विन्दुकुमार थापा बहालवाला कानूनमन्त्री छन । प्रदेश नं. ४ लाई गण्डकी र अस्थायी राजधानी पोखरालाई स्थायी बनाउने प्रक्रियाको नेतृत्व मन्त्री हुनुपूर्व उनै थापाले गरे । प्रदेशका ११ वटै जिल्लामा पुगेर, जनतादेखि संस्थागत राय सुझाव लिएर थापा नेतृत्वको ‘प्रदेश नामांकन तथा स्थायी राजधानी’ को लागि गठित विशेष उपसमितिले बुझाएको प्रतिवेदनकै आधारमा गण्डकी प्रदेशसभाले नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोक्न सफल रह्यो । प्रदेशको नामाकरण र राजधानी जस्तो ऐतिहासिक अनि संवेदनशील कामको नेतृत्व गरि त्यसलाई टुंगोमा पु¥याउन उनले भूमिका खेले । राजनीतिको दोश्रो अध्यायमा थापा पाँच वर्ष कार्यकाल सकिँदै गर्दा आसन्न प्रदेशसभामा सोही क्षेत्रबाट उमेदवार बनेका छन थापा । चुनावपछि विगतको कार्यकाल झैँ आफूले पाउने सेवासुविधा व्यक्तिगत काममा खर्च नगरी समाजसेवामा नै निरन्तरता दिने उनले प्रतिबद्धता जनाइसकेका छन । लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार बनेका थापाका २६ प्रतिबद्धताहरु: १.प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सुशासन र पारदर्शिताको मूल मन्त्रलाई अंगीकार गर्दै भ्रष्टाचारमुक्त तथा जनमैत्री जनप्रतिनिधिको रुपमा अघिल्लो कार्यकालजस्तै तपाईंहरुसँग सधैं नजिक रहेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा मेरो मुख्य ध्यान रहनेछ । समग्र गण्डकी प्रदेशकै विकासका लागि गुरुयोजना तयार पार्न तथा कार्यान्वयन गर्न मेरो सिर्जनशील भूमिका रहनेछ । २.दलीय गठबन्धनबाट उम्मेदवार रहेको म गठबन्धनका अरु दलहरुसँगको सहकार्यलाई आत्मसात गर्दै नेपाली काँग्रेसको एक जिम्मेवार सदस्यका हिसाबले प्रदेश सभा निर्वाचन २०७९ का लागि नेपाली काँग्रेसले तयार पारेको संकल्पप्रति पूर्ण प्रतिबद्ध रही स्थानीय आवश्यकताका आधारमा एक जिम्मेवार जन–प्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रको समृद्धि र विकासका नीति निर्माण गर्न थप निम्न बुँदाहरुमा म प्रतिबद्ध छु । ३.अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु। सदाझै सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ । ४.समृद्ध प्रदेशको आधार, उर्जा, कृषि, उद्यमशीलता, पर्यटन र पूर्वाधार रणनीतिलाई आत्मसात गर्नेछु । ५.कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने मोटरबाटोलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबै बिचको व्यापारिक सेतुका रुपमा तथा दुबै देशका पर्यटकलाई भित्राउन सजिलो हुने र गण्डकी प्रदेशले फाइदा लिने गरी स्थलमार्ग निर्माण गर्न पहल गर्नेछु । ६.गण्डकी प्रदेशमा लगभग १२००० मेगावाट बिजुली उत्पादनको संभावना रहेपनि हालसम्म लगभग साढे ६ सय मेगावाट मात्रै उत्पादन भइरहेकोमा गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य उर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु । ७.समग्र प्रदेशको एकीकृत पर्यटन विकासका लागि बृहत्तर पोखरा (ग्रेटर पोखरा) को अवधारणा राख्दै त्रिवेणीधामदेखि मुक्तिनाथसम्म विभिन्न जिल्लामा पर्ने धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटनका लागि रुट निर्माण र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्नेछु । ८.केवल प्राकृतिक पर्यटनमा भर परिरहँदा गण्डकी प्रदेशको पर्यटन मौसमी मात्रै रहेकाले अब मानवनिर्मित पर्यटकीय आर्कषणका केन्द्र थप गरी तथा सांस्कृतिक पर्यटनलाई समेत प्रवद्र्धन गरी सबै मौसम पर्यटकीय मौसमका रुपमा विकास गर्न योजना अगाडि बढाउनेछु । ९.निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यहरूको प्रवद्र्धन गर्न योजना अगाडि सार्नेछु। पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एसियाली राष्ट्रहरूबाट पर्यटकहरू भित्राउन व्यापक बजारीकरण गरिनेछ । १०.सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मक रुपमा सौन्र्दयकरणका निम्ति जोड दिनेछु । ११.गण्डकी प्रदेशमा बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गरिनेछ । १२.गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणका लागि पहल गर्नेछु । १३.गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिन कार्यतर्फ अगाडि बढ्नेछु । १४.परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्नेहरुका लागि घरकर तथा अन्य सहुलियत दिएर प्रोत्साहन गर्न पहल कदमी लिनेछु । १५.कृषिको व्यवसायिकरण गर्न गण्डकी प्रदेशस्थित सहर वरिपरि कृषि पकेट क्षेत्रको पहिचान गरी आधुनिक कृषि प्रणाली अवलम्बनका निमित्त कार्ययोजना अगाडि बढाउनेछु । १६.कृषिलाई प्रत्यक्ष रुपमा रोजगारीसँग जोडेर यूवाहरुको क्षमताको उपभोग र उत्पादनशीलता बढाउन आर्कषक योजना ल्याइनेछ । १७.लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गर्नेछु । १८.दक्ष जनशक्तिलाई नेपालमै अवसर सिर्जना गर्न उद्यमशीलता कार्यक्रमलाई प्रश्रय दिँदै बिज लगानीको अवधारणा अगाडि सार्ने तथा बाह्य लगानी भित्राउने, आन्तरिक पुँजीको समुचित उपयोग र औद्योगीकरणको विकासमा मेरो ध्यान रहनेछ । १९.महिलाहरुको उद्यमशीलता बढाउन प्रत्येक प्रदेशमा महिला उद्यमशीलता केन्द्रको स्थापना गरी नगरपालिका र गाउँपालिकाहरुमा लघुउद्यम र व्यवसायिक तालिमलाई जोड दिइनेछ । २०.कतिपय भूमिहीन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको र बाँकी रहेको भूमिहीनहरुको व्यवस्थित बसोवासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु । २१.गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको रुपमा विकास गर्न सोहीअनुसार पूर्वाधारहरु निर्माणका लागि पहल गर्नेछु । हाई अल्टिच्युड खेलकुद मैदान र स्टेडियम निर्माणमा जोड दिनेछु । २२.गण्डकी प्रदेशका विविध जातजाति र धार्मिक आस्थाका धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र स्तरोन्नति गर्नका लागि योजना अगाडि बढाउनेछु । २३.विकराल समस्याका रुपमा रहेको वैदेशिक पलायनलाई रोक्नका लागि प्रत्येक जिल्लामा नमुना शिक्षण संस्थाको स्थापना गरी व्यवसायिक र प्राविधिक शिक्षालाई जोड दिनेछु । २४.यस कार्यकालमा निर्माणको अन्तिम चरणमा रहेको मिडिया विधेयक प्रेस स्वतन्त्रतामैत्री बनाई श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्थातर्फ पहलकदमी गर्नेछु । २५.गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकताका आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निर्माणको पहल गर्नेछु । २६.सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरि डिजिटल गण्डकी प्रदेशको निर्माणमा लाग्नेछु । प्रदेश सभा सदस्य र गण्डकी प्रदेश सरकारको मन्त्रीका रुपमा समेत मेरो अघिल्लो कार्यकाल पूर्ण विवादरहित र सफल रहेको आमजनमानसको मूल्यांकनले मलाई थप हौस्याएको छ। संसदीय व्यवस्था र प्रदेश तहमा नेतृत्व प्रमाणित गरिसकेकाले हालसम्म मैले आर्जन गरेको अनुभव र सफलताको उर्जालाई र संघीयताको जग सफलतापूर्वक राखिसकेर अबको कार्यकाल गण्डकी प्रदेशको समृद्धिमा लगाउने दृढ इच्छा भएको मलाई ५ दलीय गठबन्धनका तर्फबाट जनताको प्यारो पार्टी नेपाली कांग्रेसले मलाई पुनः उम्मेदवार बनाएको छ । राजनीतिलाई फोहोरी खेलको रुपमा बुझेका आमजनताको राजनीतिप्रतिको वितृष्णा कार तुल्याउनु आजको चुनौती हो र मेरो उम्मेदवारी त्यही जिम्मेवारी बोधका साथ आएको हो। आउनुहोस्, गण्डकी प्रदेश र कास्की २ (ख) को निर्माणमा हातेमालो गरौँ ।
पोखराः समय सँधै एकनासको कहाँ हुँदोरहेछ र ! झन् राजनीतिमा थुप्रै वक्ररेखा हुँदा रहेछन् । यस्तै भएको छ कास्कीको क्षेत्र नम्बर १ (क) मा । अघिल्लो पटक वाम गठबन्धनमार्फत नेकपा एमालेकै भोट पाएर जितेका नेकपा माओवादी केन्द्रका दिपक कोइराला यसपटक एमाले विरुद्ध चुनावी मोर्चामा छन् । अझ रोचक त ०७४ मा कोइरालाले हराएका नेपाली कांग्रेसका प्रतिष्पर्धी जीवन परियार यतिबेला कोइराला जिताउन चुनावी प्रचारमा अहोरात्र खटिएका छन् । त्यसबेला कोइरालालाई जिताउन हालका एमाले उम्मेदवार खगराज अधिकारीको चुनावी रणनीतिले काम गरेको थियो । तर उनै अधिकारी अहिले प्रदेशमा कोइरालासँग भिड्दैछन् । सतहमा हेर्दा एमालेका अधिकारी बलिया देखिएका छन् । केन्द्रमा पहुँच बनाएका नेता र २ पटक मन्त्री भइसकेको उनको छविले धेरै हदसम्म काम गरेको छ । सोही कारण स्थानीय मतदातालाई अधिकारीले जिते योजना र बजेट ल्याउँछन् भन्ने छ । त्यस्तै, एमालेका अध्यक्ष केपि ओलीले गण्डकीको मुख्यमन्त्रीकारुपमा अधिकारीलाई केन्द्रबाट प्रदेशमा झारेका हुन् भन्ने विश्वासले पनि काम गरेको छ । मिडिया र पत्रकारसँग बोल्दा केही ठाडो शैलीमा प्रस्तुत हुने अधिकारी आफ्नो क्षेत्रमा भने नरम शैलीले प्रस्तुत हुने गर्दछन् । यद्यपि, अधिकारीले जित्ने सम्भावनालाई उल्लेख गरिरहँदा सत्ता गठबन्धनबाट चुनौती दिइरहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपक कोइरालालाई कम आँक्न मिल्दैन । ‘कोइरालाजीले जित्नुहुन्छ, हामी जिताएर देखाइदिन्छौं’ चुनावी ¥यालीमा व्यस्त कांग्रेसका एक कार्यकर्ताले ठोकुवा गरे । कार्यकर्ताको ठोकुवासँगै कोइराला ‘युवा’ हुन् । राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ, भन्ने पछिल्लो सोंच अनुसार कोइरालालाई फाइदा पुग्न सक्छ । यसैगरी, प्रदेशसभामा सांसद रहेका कोइराला विवादरहित नेता हुन् । कास्कीमा माओवादीलाई भोट हाल्न कुनै कांग्रेसको हात काम्दैन भने त्यो उम्मेदवार हुन् कोइराला । चुनावी प्रचारका दौरान रेल र पानीजहाज हैन, खानेपानी र सिंचाइको विकास गर्छु भन्दै आएका कोइरालाकालागि साना मुद्दा उठाइरहँदा ग्रामीण परिवेशमा प्रभावकारी बन्न सक्छ । खेलकुद क्षेत्रमा काम गरेका कोइरालाले भण्डारढिक रंगशाला स्तरोन्नतीको एजेण्डाबाट पनि युवाहरुको मत तान्ने सम्भावना रहेको छ । पोखरा महानगरभित्र ६ वटा वडा रहेपनि प्रायः वडाहरु नगर भनिन लायकको नहुँदा यस क्षेत्रमा भौतिक पुर्वाधारकै मुद्दा बिकाउ मेटेरियल हुन् । कृषिमा व्यस्त जनसंख्या र बिस्तारै नगोन्मुख हुँदै गएको यस चुनावी क्षेत्रमा रुपा गाउँपालिकासमेत रहेको छ । जहाँ ‘विकासे एजेन्डा’लाई नै प्राथमिकता दिइन्छ । यही बुझेर एमालेका अधिकारी पनि सोही लाइनमा छन् । अधिकारीले विशेषतः स्वास्थ्य बीमा र स्थानीय विकासमा आवश्यक पूर्वाधारलाई ५ वर्षभित्र निर्माण गर्ने दोहो¥याइरहेका छन् । अधिकारी स्थानीय निर्वाचनको नतीजाबाट तर्सिए । उनीमात्रै तर्सिएनन् सिंगो जिल्ला कमिटी नै कोमामा गएजस्तै भयो । नेपाली कांग्रेसको पेवा झैं भएको घात–अन्तर्घात एमाले कास्कीमा थाहै नपाई छि¥यो । यसमा संगठन विभाग प्रमुखसमेत रहेका अधिकारी र प्रदेशका पूर्वमुख्यमन्त्री एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङबीच चलेको सिंगौरीले स्थानीय निर्वाचनमा सिंङ खुस्किएपछि अहिले एमाले ब्युँतिएको छ । अन्तर्घातले दिएको परिणामबाट चेत खुलेपछि एमाले गण्डकीलाई मिलाउन अध्यक्ष ओलीले नै हस्तक्षेप गर्नु¥यो । फलतः कास्कीको टिकट वितरणमा ‘नरम–करम’ मिलाएपछि अधिकारीलाई लमजुङ्बाट गुरुङले खेल्लान् भन्ने आशंका रहेन । र, यहीबाट हौसिएका छन् अधिकारी । यसअघि केही दिन पोखराको मेयर उम्मेदवार भएर बलीको बोका बनाइएका दीपक पौडेल पनि अन्तर्घात बिर्सेर सुरुवाति दिनदेखि पार्टीको चुनावी प्रचारमा निस्किएपछि प्रफुल्लित छन् अधिकारी । यसबीच, अधिकारीले नेकपा माओवादी केन्द्रका रुपा गाउँपालिका अध्यक्ष नवराज बराललाई एमालेमा भित्र्याए । त्यस्तै, रुपा २ का माओवादी अध्यक्ष पुष्प सुवेदी र तरुण दल, कास्की सदस्य मेख लामासहितका युवालाई एमालेमा प्रवेश गराएपछि अधिकारी गमक्क परेका छन् । यो क्षेत्र अधिकारीको ‘थातथलो’ हो । सामान्यतयः निर्वाचन जित्न मतदातालाई ‘लालच’ देखाउन पनि सक्नुपर्छ । र, लालच देखाउनै प¥यो भने कोइराला भन्दा अधिकारी बढी सक्षम हुन सक्छन् । मन्त्री भइसकेका र केन्द्रमा पहुँच भएका नेतासँग बाँड्ने सपना जति हुन्छन् प्रदेशका सभासद्सँग त्यति हुँदैनन् । यसर्थ, यस दृष्टिकोणबाट कोइराला कमजोर हुनसक्छन् । तरपनि अधिकारीले जे–जस्ता रणनीति वा तिकडम चलाएपनि कोइराला जित पक्का भइसकेको विश्वासमा छन् । स्थानीय निर्वाचनमा सहभागी मतदाताले ‘धर्म’ नछाडिदिए कोइरालाको जितलाई ब्रेक लगाउन एमालेलाई गाह्रो छ । स्वयं कोइराला पनि माओवादी नेताबीच आफ्नो छवि र गठबन्धनकै मतबाट जित्नेमा ढुक्क छन् । स्थानीय निर्वाचनमा रुपा गाउँपालिकाबाट जितेर नवराज ओझाले कार्यकाल दोहो¥याए । यहाँबाट एमालेले ५ हजार ७४९ मत प्राप्त गरेको थियो । कांग्रेसको खातामा ४ हजार १३७ मत रह्यो । यहाँबाट वडा नम्बर १ अध्यक्षमा कांग्रेसको बर्चश्व रह्यो । बाँकी ६ वडामा एमालेले जित्यो । त्यस्तै, पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडा यस क्षेत्रमा रहेका छन् । यहाँबाट वडा नम्बर २९ मा मात्रै एमालेले जित्न सफल रह्यो । अझ रोचक त स्वयं अधिकारीकै वडामा कांग्रेसले अध्यक्ष जितेर देखाइदियो । अधिकारीको जन्म गाउँ वडा नम्बर ३१ हो । यहाँ कांग्रेसले वडाध्यक्षसहित एक सदस्यमा जित हात पारेको छ । समग्रमा यहाँको मतान्तर न्यून रहेको छ । स्थानीय निर्वाचनमा गाउँपालिकातर्फ एमाले १ हजार ६१२ मतले अघि रह्यो भने नगर क्षेत्रमा कांग्रेसले १७ हजार ३६९ मत पाउँदा एमालेले १७ हजार ५० मत पाएको छ । यहाँ कांग्रेस ३ सय १९ मतले अघि रहेको छ । हाल वडा २६, २७ र ३२ मा गठबन्धनको स्थिति अत्यन्तै सुदृढ देखिन्छ । एमाले २९ र ३१ मा गठबन्धनमाथि हावी हुने देखिन्छ । ३० मा दुबै पक्षको जोडबल भएपनि गठबन्धनको मत केही बढी आउन सक्छ । यसर्थ, अधिकारीले जिते भने पोखराले हैन रुपाले जिताउन सक्छ । यस क्षेत्रबाट जनता समाजवादी पार्टी, जनमत पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिष्पर्धामा छन् भने २ जना स्वतन्त्र उम्मेदवारसमेत मैदानमा छन् ।
काठमाडौं: आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ । आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।
काठमाडौँ: ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा ९कट्टेल०लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउनमा आफू लाग्ने योजना उहाँको छ । “नेपालको शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ, रटेर अध्ययन गर्ने विधि परिवर्तन मेरो नेतृत्वमा गर्न मन छ”, दुईपटक स्मरणशक्तिको माध्यमबाट विश्व रेकर्ड राख्न सफल शर्माले आफ्नो भावी योजना सुनाउँदै भन्नुभयो, “शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ, मेरो सपना छ, म पूरा गरेरै छाड्छु ।” उहाँलाई हिजो पढेर आज बिर्सने शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ । आफूले लिएका कक्षाहरूमा पनि विद्यार्थीलाई प्रभावकारी तरिकाले पढाउन नसकिएको अनुभव भएपछि उहाँले पाँच सय विद्यार्थीबाट अहिले एकपटकमा एक सय जनामात्र विद्यार्थीलाई कक्षा लिन थाल्नुभएको छ । “मलाई पनि थाहा भएन, अहिले मैले एक सय जना मात्र राखेर पढाइरहेको छु”, उहाँले आफ्नो आगामी योजना सुनाउँदै भन्नुभयो, “मङ्सिर महिनादेखि एउटा कक्षामा ८० जना मात्र राखेर कक्षा सञ्चालन गर्ने तयारी गरेको छु, त्यो सिकाइ प्रभावकारी हुने रै’छ ।” उहाँको कक्षा लिन मासिक एक हजारदेखि एक हजार पाँच सयसम्मले नाम दर्ता गर्ने गर्दछन् । तर इच्छुक धेरै हुँँदा कक्षा लिनका लागि समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ । एकपटक कक्षा सञ्चालन गर्दा १० दिनको हुन्छ । “धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्”, उहाँले आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भन्नुभयोे, “उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन् ।” उहाँको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र आउन मिल्छ । कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उहाँले भन्नुभयो, “म सफल भएँ भनेर म्यासेज पठाउँछन्, मलाई असाध्यै खुसी लाग्छ, अझ राम्रो गर्न प्रोत्साहन मिल्छ ।” उहाँले आएका सन्देशलाई सुरक्षित राख्नुभएको छ । झापाको भद्रपुर–८ मा विसं २०४६ माघ २३ गते मोहनप्रसाद कट्टेल र आमा खीना शर्माको तेस्रो सन्तानका रूपमा जन्मिनुभएका शर्माले झापाकै एसएस निकेतनमा एसएलसी पास, एम्ब्रेल कलेजबाट व्यवस्थापनमा स्नातक गर्नुभएको छ । उहाँले पनि जीवनमा स्मरणशक्तिकै प्रयोग गरेर विश्व रेकर्ड राख्न सक्छु भन्ने कल्पना जीवनमा गर्नुभएको थिएन । सानैदेखि धार्मिक परिवारमा जन्मिएका शर्मालाई पूजापाठ गर्दा ध्यान गर्ने बानी परेको थियो । तर स्मरणशक्ति बढाउन ध्यानले मद्दत गर्छ भन्ने चाहिँ थाहा थिएन । “मैले दशजोड दुई पढ्दा एउटा दुई मिनेटको भिडियो हेरेको थिएँ, स्मरणशक्ति बढाउनेसम्बन्धी थियो”, उहाँले त्यो भिडियो स्मरण गर्दै सुनाउनुभयो, “दशवटा रटेर गर्ने र दशवटा टेक्निक लगाएर याद गर्ने थियो, मैले त्यो रटेर गर्ने तरिका र टेक्निक लगाएर गर्ने दुवै गरेँ, तर टेक्निक लगाएर याद गरेको धेरै लामो समयसम्म याद आइरहयो ।” उहाँले त्यसपछि १५, २०, ३० हुँदै याद गर्दै जानुभयो । उहाँले यस्तो सम्भव छ भनेर अध्ययन गर्दा १८औँ शताब्दीदेखि नै राजा–महाराजाका बौद्धिक सल्लाहकारले यस्तो टेक्निक प्रयोग गरेको अध्ययनमा पाउनुभयो । “धेरै वर्ष पहिला अहिलेजस्तो प्रविधिको जमाना थिएन”, उहाँले थप्नुभयो, “लेख्ने मात्र जमाना थियो, जसले प्रयोग गरे, त्यो व्यक्तिमा मात्र रह्यो ।” प्रत्येक व्यक्ति जन्मँदा स्मरणशक्ति ९९ प्रतिशतको उस्तै हुने तर एक प्रतिशतको मात्र जन्मजात नै स्मरणशक्ति लिएर जन्मने उहाँको अनुभव छ । स्मरणशक्तिबाट यसरी विश्व रेकर्ड साथीहरूसँग व्यवस्थापन विषयमा अध्ययन गर्दैगर्दा साथीहरूबीच स्मरणशक्तिको प्रतिस्पर्धा गर्ने कुरा चल्यो । पहिलोपटक ३०–३० वटा शब्द याद गर्ने सहमति भयो । “मैले सबैभन्दा छिटो याद गरेँ तर, साथीहरूलाई धेरै समय लाग्यो”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो तरिकाले विश्व रेकर्ड राख्न सकिन्छ भनेर साथीहरूले भने, हेर्दै जाँदा एक मिनेटमा २२ वटाको रेकर्ड थियो, मलाई अहिले नै सक्छु जस्तो भयो, अनि प्रक्रिया अगाडि बढाइयो ।” प्रक्रिया अगाडि बढाउँदा केही समय लाग्यो । शर्माले पहिलोपटक गिनिजबुक अफ वल्र्ड रेकर्डको सेप्टेम्बर २६, २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कामय गर्नुभएको थियो । दोस्रोपटक जुन ३, २०२२ मा एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कायम गर्नुभएको हो । झापाको भद्रपुर सानोगाउँमा जन्मिएका सामान्य परिवारमा हुर्किएका शर्मालाई जीवनमा यति राम्रा मोड आउँलान् भन्ने लागेको थिएन । विश्व कीर्तिमान र सम्मान अद्भुत स्मरणशक्ति भएका शर्माले गिनिजबुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान कायम गरेपछि नेपाली छोरोे विश्व चर्चित हुनुभयो । नेपालीले दिमागले यस्तो कीर्तिमान कायम गर्नु वास्तवमा नेपाल र नेपालीका लागि खुसीको विषय हो । यो समाचारपछि राष्ट्रिय–अन्तराष्ट्रियरूपमा शर्मा सम्मानित हुनुभयो । आफ्नो अद्भुत स्मरणशक्तिको प्रयोगकै कारण उहाँले धेरै पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा पुरस्कार–२०७२, नेपाल जेसिस वर्ष, २०७६ को उत्कृष्ट युवा पुरस्कार, स्वर्ण पदकद्वारा पुरस्कृत हुनुभएको थियो । त्यस्तै युवा प्रतिभा सम्मान, २०७८ प्राप्त गर्नुभएको थियो । हिमालय इन्टरनेशनल अवार्ड, २०७८, विश्व कीर्तिमानी युवा प्रतिभा तथा समाजसेवी सम्मान–२०७८, युवा प्रतिभा सम्मान–२०७८, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाद्वारा वर्ष उत्कृष्ट प्रतिभा–२०७४ प्राप्त गर्नुभएको छ । उहाँकोे जीवनी र सफलताको कथालाई अष्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयले साउथेन क्रस युनिभर्सिटीले सन् २०२० जुनमा आफ्नो ब्लगमा पनि सम्मानजनक स्थान दिएर लेखेको थियो ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएको थियो । सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा महानगर प्रमुख साहले भन्नुभयो, “बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारीरूपमा कार्य अघि बढाउने छौँ ।” बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो । पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । काठमाडौँ महानगरपालिकाको आर्थिक स्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण गर्ने सम्बन्धमा विगतमा सम्झौता भएको थियो । बैठकले नागार्जुन –६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै सडकपेटी र सार्वजनिकस्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ । यस्तै आश्रमको खानेपानीमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा अन्य समस्याका विषयमा समन्वययात्मक रूपमा बैठक बसेर समाधान गर्दै जाने विषयमा महानगर र आश्रमबीच समझदारीसमेत भएको जनाइएको छ । आश्रमले महानगरपालिकाका सडकबाट हालसम्म एक हजार सात सय बढीको उद्धार गरिसकेको छ । चार सय ५३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल आश्रममा दुई सय १३ जनाले सेवा पाइरहेका छन् ।
पोखरा: मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमबहादुर पराजुलीले चुनावका लागि आवश्यक सामग्री व्यवस्थापन र कर्मचारी व्यवस्थापनको काम पूरा भएको कात्तिक ३० गतेदेखि मतदान अधिकृतलाई सामग्री बुझाएपछि मङ्सिर १ गते साँझसम्ममा सम्पूर्ण मतदानस्थलमा सामग्री पुगिसक्ने बताउनुभयो । उहाँले निर्वाचनका लागि आवश्यक ७० थरिका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि प्याकिङ गरेर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । त्यसैगरी कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम सम्पन्न भएको छ । कास्कीमा कूल दुई लाख ९१ हजार पाँचसय ६८ मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले कास्कीमा करिब १० हजारको हाराहारीमा कर्मचारी र सुरक्षाकर्मी स्वयंसेवक परिचालन हुनेछ । एक मतदान केन्द्रमा २० देखि २५ जना जनशक्ति खटिने छन् । विगतको अवस्थालाई हेरेर मत बदर नहोस् भनी मतदाता शिक्षालाई विशेष जोड दिइएको न्यौपानेले बताउनुभयो । त्यसैगरी आचारसंहिता उल्लङ्घन, विभिन्न कर्मचारी, जनप्रतिनिधिका विरुद्ध परेका उजुरीका सन्दर्भमा पनि निर्वाचन कार्यालयले प्रक्रियागत रुपबाट कारबाही अगाडि बढाएको उहाँको भनाइ छ । यसैगरी चुनावलाई स्वच्छ निष्पक्ष र भयरहित तरिकाबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण गृहकार्य पूरा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदान केन्द्र र भौगोलिक र अन्य अवस्थाको विश्लेषण गरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरेका छौँ । यही आधारमा सुरक्षाकर्मीको परिचालन हुनेछ ।” उहाँले निर्वाचनलाई भयरहित र स्वतन्त्ररुपमा आफ्नो मताधिकारको प्रयोग गर्न आमनागरिकलाई आग्रहसमेत गर्नुभयो । उहाँका अनुसार नेपाल प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरेर तीन हजार सुरक्षाकर्मी मतदानस्थलमा खटिनेछन् । उहाँले मतदानपछि मतगणना र मतपरिणामसम्मको अवस्थालाई दृष्टिगत गरी सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।
पोखरा: गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक,लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने फुर्सद कम मिल्थ्यो । बिहान उठ्यो, घाँस पराल गर्यो । दिउसो टालेको जाँघे लगाएर महेश्वरी प्राविमा पुग्यो। जीवन अभावमै बित्यो ।शुक्रराज माविबाट एसएलसी दिँदा सम्म पनि उनको खुट्टामा चप्पल हुँदैनथे, जाँघेबाट पाइन्टमा सरेको त एसएलसीपछि नै हो । ‘कतिसम्मभने स्कूलको फिस तिर्न नसकेर मैले एकवर्ष जाँच नै दिन पाइन’,सम्झनाको अतिरेकमा हराएका रामजी फुस्फुसाए,‘माथ्लो गामबाट अँध्यारोमा कोदो बेसाएर ल्याएको,लुकाएरै ढिँडो र आँटो खाएको हिजो जस्तै लाग्छ ।’ अभावकै कारण २०२३ सालमा जन्मेका रामजीले २०४३ सालमा मात्रै एसएलसी भ्याए । अभावले विद्रोह जन्माउँछ । रामजीलाई अभाव र असमानताले नघोच्ने कुरै भएन । उनी युवा हुँदा देशमा पञ्चायत थियो । २०३३ सालको विद्यार्थी आन्दोलन र २०३६ सालको जनमत संग्रहको खुलापन उनको गाउँसम्म पनि आइपुगेको थियो । बहुदलको पक्षमा उभिएका नेता र विद्यार्थीहरुको अभियानले उनको मन छोयो । पञ्चायत नै समस्याको जड हो भन्ने बुझाइ गाढा बन्यो । १० कक्षा पढ्ने बोलाउनको स्कूलमा एक हुलयुवाहरु आइपुगे । ‘संसारमा महिला र पुरुष दुई जातमात्र हुन्छन् र गरीबको राज्य स्थापना गर्नुपर्छ’ भन्ने भनाइमा सहमति जनाउँदै उनी तत्कालीन मशालको विद्यार्थी संगठनमा आवद्ध भए । मशाल अर्थात् विद्रोह उनको विद्रोही चेत झन जागरुक भयो । हाल ‘जीवन’उपनामले चिनिने माओवादीका केन्द्रीय सदस्यको जीवनले अर्कै मोड लियो । २०४६ सालको आन्दोलनमा होमिए । खुला राजनीतिमा आएसँगै २०४७ सालमा हँसिया हथौडा अंकित झण्डा सहितको सदस्यता पाए । २०४८ सालमा मशालको खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाले उनलाई गाउँ इकाइको अध्यक्षको जिम्मेवारी दियो । २०४९ मा उनी जिल्ला सदस्यमा बढुवा भए । फलामे अनुशासन र अरु कम्यनिष्ट भन्दा फरक देखिने जनमोर्चामा रहँदा उनले अनुशासन र त्यागको पाठ सिके । जनताको मुक्ति बाहेकका सबै विषयहरुलाई मिथ्या ठहर गरे । ‘नीति र नेतृत्व तथा जनतालाई आदर गर्ने संस्कार मैले त्यही बेला सिकेँ’,रामजी भन्छन्,‘पुरानो संरचना नभत्काइ नयाँ बन्दैन भन्ने विचारप्रतिको प्रतिवद्धता पनि वृद्धि भयो ।’ २०५१ मा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णय ग¥यो । उनी जिल्ला कमिटीमै थिए । कमरेड तारा अधिकारीले उनको हातमा एउटा चिठी थमाइन् । तीनजनाको बीचमा चिठी खोल्नू भन्ने निर्देशन थियो । बरालले आफूसँगै अन्य २ जनाको बीचमा खाम खोले रे । खाममा जनयुद्ध सुरु भएका पोष्टर र अनुरोध थिए । ‘जनयुद्ध शुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सीमा भएन, पार्टीप्रतिको विश्वास बढेर आयो,दिमागमा मुक्तिको सपना नाच्न थाल्यो’,उनले अतित सम्झिए । मुक्ति मार्ग सजिलो थिएन । माक्र्स–लेनिन,गान्धी, नेपालकै बीपी कोइराला र पुष्पलालको जीवनी पढेर उनले बुझेको त्यही थियो । तर, क्रान्तिमा समर्पण चाहिन्छ भन्ने बुझेका रामजीले आफूलाई योद्धामा परिणत गर्न ढिलाइ गरेनन् । २०५३ सालमा तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बने । खुला जीवन भूमिगतमा परिणत भयो । त्यस पछिको कालखण्ड साँच्चिकै कठीन थियो । जतिबेला पनि मारिने डर, भूमिगत संगठन निर्माण, युद्धकालीन आक्रमणका योजनाहरु बनाउने जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरे । कास्कीका आफूभन्दा उच्च तहका र समकालीन नेताहरुले सहादत प्राप्त गर्दा पनि उनी सम्हालिए । निरन्तर मुक्तिको मार्गमा लागि रहे । २०५३ मा पूणर्कालिन बन्ने बित्तिकै उनको काँधमा तत्कालीन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्यको जिम्मेवारी आइलाग्यो । त्यही उपक्रममा थुप्रै फौजी र राजनीतिक योजना बनाएको स्मरण गर्दै उनले भने,‘पूर्णकालीन बनेपछि बाँचेर यहाँसम्म आइपुगिएला भन्ने त कल्पनै थिएन तर बाँचियो अनि जनताले पाएको एउटा उपलब्धीको साक्षी बन्ने अवसर मिल्यो ।’ २०५७ मा पार्टीले उनलाई पर्वत जिल्ला सेक्रेटरीको जिम्मेवारी दियो । २०५९ सालतिर पार्टी कमजोर देखिँदा पार्टीले उनको काँधमा कास्की सेक्रेटरी र इन्चार्जको जिम्मेवारी थमायो । उनी त्यो भूमिकामा अब्बल देखिए । पार्टी पोलिटब्यूरो सदस्यमा बढोत्तरी भए । २०६२÷०६३ को आन्दोलनले देशमा परिवर्तन सम्भव गरायो । माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । माओवादीले बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा स्थापित भयो । उनी २०६२÷०६३ को आन्दोलनलाई जनताको आन्दोलन भन्न रुचाउँछन् । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई, तत्कालीन एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सम्मको सुझबुझपूर्ण निर्णयबाटै यो उपलब्धी हात लागेको उनको ठहर छ । खुला राजनीतिमा आएसँगै पार्टीजस्तै उनको पनि भूमिका फेरिएको छ । उनी पार्टीको केन्द्रीय सदस्य छन् । संविधान सभा सदस्य भएर संविधान लेख्ने रहर पूरा नभएपनि उनी २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्य चुनिए । हाल गण्डकीका अर्थमन्त्री रहेका रामजीले संघीयता संस्थागत गर्न तथा समुन्नत कास्की बनाउन सक्दो योगदान गरेकै छन् । जनताको घरदैलोमा पुगिरहने नेताको रुपमा आफूलाई उभ्याएका छन् । उनै रामजीप्रसाद यो पटक प्रजातान्त्रिक वाम गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फका उम्मेदवार बनेका छन् । अब संघीय संसदमा पुगेर कस्केली जनताको आवाज मुखरित गर्ने उनको सपना छ । ‘एक चरणको क्रान्ति सम्पन्न भएको छ,संविधानमै लेखिएको समाजवादको यात्रा अझै बाँकी छ,अहिले पनि हामी युद्धमै छौँ र यो युद्ध अलि फरक प्रकृतिको छ, अहिले हिजोको उपलब्धीको रक्षा र प्रतिगमनलाई परास्त गर्नु छ ’,उनी अक्सर भन्ने गर्छन् । रामजी प्रसादले हिजो प्रजातन्त्रको लागि ज्यान गुमाएका कास्कीका शहीद हरिप्रसाद गुरुङको सपना पच्छ्याएका छन् । माओवादी जनयुद्धका शहीदहरु राज विक्रम भुर्तेल, सीता भुर्तेल,विजय ढकाल, बेपत्ता पाएिका पूर्ण तिमिल्सिना लगायत घाइते र शहीद परिवारको व्यथालाई नजिकबाट बुझेका छन् । ‘मेरो आफ्नो व्यक्तिगत आकांक्षा केही छैन, म अहिले पनि सामान्य जीवन बाँचेको जनताको सेवक हुँ, भोलि पनि म त्यस्तै रहने हो’,उनी भन्छन्,‘एक बारको जीवनमा फलानो मान्छे पनि थियो है भन्ने काम गर्ने धोको छ र यो धोको पूरा गराउन कास्की क्षेत्र नम्बर ३ का जनताले साथ दिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।’ यसो भनिरहँदा अभावले थिल्थिल्याएको र रोगले आक्रमण गरिसकेको शरीर प्रति भने बेपर्वाह देखिए । ‘अभाव र खटाइकै बीच आन्द्रामा समस्या देखियो,इन्टर्नल हर्नियाले पनि गाँज्यो,स्पाइनल कर्ड भन्छन् क्यारे, ढाडको शल्यक्रिया पनि ब्यहोरेँ, यो मेरो दोस्रो जुनी नै हो । यो जुनी जनताकै सेवामा लगाउने हो ।’ त्यही उपक्रममा उनले कास्की क्षेत्र नम्बर ३ को समृद्धिको लागि दर्जनौं योजना सुनाउन भ्याए । उनका योजनाहरु पर्यटन र कृषिको जगमा टेकेर बनाएका योजनाहरुमा स्वरोजगार सिर्जना, कास्की क्षेत्र नम्बर ३ मा उत्कृष्ट कलेज र अस्पतालको स्थापना, जडिबुटी प्रशोधन केन्द्र,ग्रामीण सडकको स्तरोन्नति,पर्यटकीय पदमार्गहरुको संरक्षणसम्म समेटिएका छन् ।
पाेखरा: ०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सदस्यमा लडेका राजकाजी गुरुङको हार्ने छाँटै थिएन । लालकिल्ला भनि चिनिएको यस क्षेत्रमा वाम गठबन्धनका युवानेता गुरुङका प्रतिष्पर्धी थिए नेपाली कांग्रेसका विन्दुकुमार थापा । त्यसबेला मतदान र नतीजा घोषणाको मितिमात्रै कुरेर बसेका थिए गुरुङ र उनको गठबन्धन । तर जसै निर्वाचन परिणाम आउँन सुरु भयो, नेकपा एमाले र नेकपा माओवादीका साझा उम्मेदवार गुरुङले व्यापारिक पृष्ठभूमिका थापालाई पच्छ्याउन सुरु गरे । अन्तिममा थापाले गुरुङलाई हराएर आफुलाई राजनीतिमा स्थापित गराए । अहिले थापा पुनः सोही क्षेत्रबाट चुनावी मैदानमा छन् । र, उनको विरासत ढाल्न एमालेले मिना गुरुङलाई उतारेको छ । पहिले कम्युनिष्ट गठबन्धनलाई पराजित गरेका थापासँग अहिले सोही मोर्चाको माओवादी र एमालेबाट चोइटिएको नेकपा (एकीकृत समाजवादी) जोडिन आइसकेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार थापा सर्सती हेर्दा बलिया उम्मेदवार देखिएका छन् । साथै, थापा पोखरेलीकालागि परिचित नाम हुन् । प्रायः व्यापारी वर्गले राजनीतिक शक्तिसँग धेरथोर साँठगाँठ गर्न चाहिरेका हुन्छन् । यस्तोमा पोखरा उद्योग वाणिज्य संघ हाँकिसकेका र प्रदेश मन्त्री भइसकेका थापालाई पुनः जिताउने चाहना व्यापारीहरुको रहेको छ । त्यस्तै, राजनीतिमा फड्को मार्न आवश्यक तुरुप खेलाउन सक्ने थापाको क्षमता रहेको छ । यता, एमाले उम्मेदवार गुरुङ पनि समानुपातिकबाट प्रदेशको सभासद रहिसकेकी छिन् । युवा जनमानसमा गतिलो छाप छाड्न नसकेको देखिए पनि राजनीतिमा मूल संरचना मानिने जनस्तरको कम्युनिष्ट राजनीतिक कौशलमा गुरुङ अब्बल मानिन्छिन् । सौन्दर्य व्यवसायमा नाम कमाएकी गुरुङ वास्तवमै कम्युनिष्ट नेता हुन् । झट्ट हेर्दा अपत्यारिलो लागे पनि गुरुङसँग संगठन निर्माणको कौशल भरिपूर्ण छ । एमालेको मजदुर फाँटमा उनी केन्द्रीयस्तरको नेता भएकाले गुरुङलाई यसपटक समानुपातिकबाट पाएको अवसरलाई प्रत्यक्षमा जितेर आफुुलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । गुरुङलाई जनस्तरको राजनीति गर्ने र सांगठनिक कुशलताले भरिपूर्ण भनिरहँदा स्थानीय निर्वाचको आंकडाले भने गिज्याउने गरेको छ । अर्थात् उनकै वडामा एमाले कांग्रेसभन्दा धेरै पछि रह्यो । वडा नम्बर ११ मा कांग्रेसबाट चुनिएका वडाध्यक्षले १ हजार ५७४ मत ल्याउँदा एमालेको मत ८ सय ५५ मात्र रहेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा गुरुङका प्रतिष्पर्धी थापाको चुनावी प्रचार व्यापक छ । भौतिक प्रचार त छ नै प्रविधिमार्फत थापा झनै आक्रामक देखिएका छन् । मन्त्री भइसकेका थापाले यस क्षेत्रमा पहिल्यैदेखि रणनीतिक चाल चलेका छन् । भोट कहाँ छ, र उनीहरुलाई कसरी आफ्नो पकडमा राख्न सकिन्छ भनेर उनले विनियोजन गरेको बजेट र आफुले पाउने सेवा, सुविधाको वितरणबाटै प्रष्ट हुन्छ । यद्यपि, यस्तो आधार र विश्लेषणले थापालाई जीत हात पार्न सजिलो भने छैन । मुख्यतः यसपटक थापा नेकपा एमालेका उम्मेदवारसँग भिड्दैछन् । जससँग पार्टीमात्र हैन, समुदाय पनि छ । कास्कीलाई कुनैबेला तमुवान राज्यको नाम दिइनुपर्छ भन्ने समुदाय अझैपनि गुरुङ उम्मेदवारप्रति उदार छन् । अहिले पोखरामा गुरुङ समुदायका अगुवाहरु पार्टीभन्दा माथि उठेर आफ्नो जात, थरलाई जसै भोट हाल्नुपर्छ भन्ने अभियानमा छन् । बाहिर हेर्दा मेसो पाउन सकिन्न तर समुदायका सदस्यहरु साना–साना समूहमा गुरुङको घर पहिल्याउँदै भोट माग्न व्यस्त छन् । समूहका हातमा थापाका प्रतिष्पर्धीसँगै अन्य क्षेत्रका गुरुङ उम्मेदवारका पर्चा, पम्प्लेट भेटिन्छन् । यससँगै गुरुङको पृष्ठभूमि ‘लाहुरे’ भएकाले उनलाई भूतपूर्व सैनिक परिवारको समेत साथ रहेको छ । एउटै घरबाट युवाहरुले थापालाई मत दिएपनि जेष्ठ सदस्यहरुले भने गुरुङलाई सहयोग गर्न सक्छन् । यस क्षेत्रमा महानगरका ६ वडा छन् । जसमध्ये स्थानीय निर्वाचमा ४ वडा कांग्रेसले जितेको छ भने २ मा एमालेको पकड रह्यो । यसमध्ये वडा नम्बर ४, ९, ११ कांग्रेसको राम्रै पकड भएको वडा हो । यहाँ गठबन्धनले १० हजार ७ सय ७५ मत पाएको छ । जसमध्ये कांग्रेसकोमात्रै ९ हजार ९९२ मत रहेको छ । सहयोगी दल माओवादीको ५ सय ४४ र एसको २ सय ४२ मत रहेको छ । एमालेले ९ हजार ६३१ मत पाएको थियो । उक्त आंकडालाई हेर्दा कांग्रेसको मत नै एमालेको भन्दा बढी देखिन्छ । तरपनि प्रतिष्पर्धीबीच फरक मतको संख्या भने ११ सयको हाराहारीमामात्रै छ । यस्तो स्थितिमा महिला, लाहुरे र गुरुङ समुदाय एमालेको जित्ने आधार हो भने गठबन्धनको इमानदारिता थापाको ।