काठमाण्डौ: भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए ।
काठमाडौं: राष्ट्रपति कार्यालयले नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर यथास्थितिमा राखेको दावी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि परेको रिटमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्दै राष्ट्रपतिको कार्यालयले भारतको उदाहरण दिँदै संवैधानिक राष्ट्रपतिले मुलुकको हितका लागि विशेषाधिकार (भिटो) प्रयोग गर्नु असंवैधानिक नहुने जिकिर गरेको छ । राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालय मार्फत पेश गरेको लिखित जवाफमा नागरिकता विधेयक राष्ट्र हित विपरीत रहेकाले त्यसलाई स्थगनमा राखेको जवाफ दिएको छ । राष्ट्रपतिको निर्देशनमा जवाफ तयार पारिने हुनाले यो लिखित जवाफलाई उनको आधिकारिक धारणा समेत मानिन्छ । राष्ट्रपति कार्यालयले अमेरिका लगायत कार्यकारी राष्ट्रपति भएको मुलुकको उदाहरण दिदै त्यस्ता मुलुकमा विधेयक प्रमाणीकरणका क्रममा राष्ट्रपतिले विशेषाधिकार प्रयोग गरी अस्वीकार गर्नसक्ने उल्लेख छ । साथै भारत लगायतका संवैधानिक राष्ट्रपति भएका मुलुकमा समेत विशेषाधिकारकै शैलीमा विधेयकलाई यथास्थितिमा राख्ने अभ्यास रहेको राष्ट्रपति कार्यालयले उदाहरण पेश गरेको छ । नेपालको संविधानमा भने यसवारेमा स्पष्ट कानूनी व्यवस्था नभएकाले मुलुकको हितका लागि राष्ट्रपतिले विधेयक स्थगनमा राखेको लिखित जवाफमा उल्लेख छ । पहिलोपटक विधेयक पेश भएपछि सन्देशसहित संघीय संसदमा फिर्ता पठाएको, तर उक्त विधेयक कुनै छलफल र परिमार्जनविना यथास्थितिमा फेरि प्रमाणीकरणका लागि आएको भन्दै राष्ट्रपति कार्यालयले त्यसलाई ‘सन्देशको अनदेखा गरिएको’ निष्कर्ष निकालेको छ । राष्ट्रपति कार्यालयले विधेयकलाई अस्वीकृत गरेको भनेको छैन, बरु यथास्थितिमा रहेको भनी जवाफ लेखेको छ । नागरिकताजस्तो संवेदनशील विषय अल्पमत वा बहुमतका आधारमा निर्णय गर्ने विषय नभएको भन्दै लिखित जवाफमा नयाँ संसदले यो विधेयकलाई अघि बढाउन सक्ने उल्लेख छ । मुलुकको राष्ट्रिय एकता र संविधानको रक्षा गर्नु राष्ट्रपतिको अधिकार भएको भन्दै लिखित जवाफमा सरकारले नागरिकता विधेयकलाई संसदमा पेश गर्ने क्रममा राष्ट्रपतिलाई किन जानकारी नदिएको भनी प्रश्न उठाएको छ । लिखित जवाफमा भनिएको छ, ‘प्रमाणीकरणका लागि मात्रै पठाउनुले यो संस्थाको गरिमा कायम रहेन ।’
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मंसिर ४ गते हुने निर्वाचन खारेजीको माग गरेको छ । निर्वाचन बहिष्कार गर्ने निर्णयपछि पोखराको पृथ्वीचोकमा विरोध सभा आयोजना गर्दै चुनावमा भाग लिने दलहरुलाई दलालको संज्ञा दिएको छ । ‘संसदीय दलालहरु होशियार’लगायतका नारा लगाउँदै पार्टीका प्रवक्ता खड्गबहादुुर विश्वकर्मा (प्रकाण्ड)ले चुनावले अपराधीको जत्था जन्माउने बताएका छन् । सभापूर्व माओवादीको जुलुसले विभिन्न नारासहित नगर परिक्रमा गरेको थियो । अहिले विरोध सभा जारी छ ।
पोखराः काठमाण्डौं क्षेत्र नम्बर ५ मा श्री गुरुङको उम्मेदवारी चर्चामा छ । यतिबेला प्रचारप्रसारमा जुटिरहेका श्री जित्ने आत्मविश्वासकासाथ घरदैलोमा छन् । उनको क्षेत्रमा नेकपा एमालेबाट इश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेलको उम्मेदवारी रहेको छ । ठूला मानिएका दलको जति तडकभडकपूर्ण प्रचार छ त्यसको तुलनामा श्रीको शालीन र अर्थपूर्ण । पत्रकारितामा मास्टर्स डिग्री सकेर हाल पीएचडीमा लागेको श्री ‘इन्फ्लुअन्स अफ ब्लग इन पोलिटिक्स’ विषयमा अनुसन्धानरत छन् । देशमा रहेका सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ् गरी मुलुकलाई धनी बनाउन सकिने आधार प्रस्तुत गर्दै उनी मतदाताको विश्वास जितिरहेका छन् । ठूला दलले बाँडिरहेका ठूलै सपनालाई मतदाताले नपत्याएकाबेला श्री को एजेण्डा प्रभावकारी बनेको छ । पर्यटनलाई आर्थिक उपार्जनको बलियो माध्यम बनाउन सकिने प्रचार गरी युवा पुस्ताबाट देशले काँचुली फेर्नसक्ने उनको ‘लजिक’ छ । पर्यटन व्यवसायमा व्यस्त श्री सम्भावनाका बावजुद पनि मुलुकले फड्को मार्न नसकेपछि राजनीतिमा आएको बताउँछन् । ‘म पत्रकारिताको पनि विद्यार्थी हुँ, मैले देश, भूगोल र सम्भावना बुझेको छु’ उनले भने ‘देश बनाउँछु भनेर राजनीति गर्नेहरुले बुझ्न नसक्दा म राजनीतिमा आए ।’ यतिमात्र हैन युवाशक्ति विदेशिने लर्काे लागेपछि देश कमजोर बनेको उनको बुझाई छ । उनी भन्छन्, ‘विदेशिनेको तथ्यांक भयावह छ, २००८ देखि यता श्रम स्वीकृति लिएर ४० लाख नेपाली परदेशिए ।’ ‘देश रेमिट्यान्सले चलाउन खोज्ने दल र नेता देखेर म कसरी चुप लागेर बस्न सक्छु’ श्री भन्छन् ‘त्यसपछि मलाई लाग्यो, हामी जहाँ छौं त्यहीबाट हस्तक्षेप गर्नुपर्छ ।’ पूर्वको संखुवासभामा जन्मिएर राजधानीमा कर्मथलो बनाएका ३९ वर्षीय श्री अब राष्ट्रिय राजनीतिमा लागेर देशलाई आत्मनिर्भर बनाउन कस्सिएको बताउँछन् । उनको चुनावी भेला कुनै बौद्धिक सेमिनारजस्तै लाग्छ । भेलामा सहभागी युवाहरु विश्वविद्यालयको प्रोजेक्ट वर्कमा केही नयाँ योजना बनाउन खटिए झैं लाग्छन् । श्री का कुरा सुनेपछि टोलटोलका युवाहरु भेला भई उनलाई जिताउँन रणनीति बनाउँन थालेका छन् । दिनानुदिन श्री को आकर्षण बढिरहेकाबेला ठूला दललाई तनाव छ । त्यो तनाव श्री ले जित्लान् भन्दा पनि कसको भोट काट्छन् भन्ने हो । यद्यपि, श्री कसैको भोट काट्न नभई स्वयं जित्न मैदानमा आएको बताउँछन् । ‘नेपाल र दक्षिण एसियाभन्दा माथि उठेर हेर्नुहोस्, तपाइलाई आफ्नो शक्ति थाहा हुन्छ’ उनले भने ‘अमेरिका, बेलायत, नेदरल्याण्ड, क्यानडामा युवाले देश हाँकेका छन् । ‘ठूला पार्टी र ठूला उम्मेदवारसँग भिड्दै हुनुहुन्छ, जितिन्छ ?’ भन्ने प्रश्नमा श्री भन्छन्, ‘म जित्न उठेको हैन, काठमाण्डौं र देशलाई जिताउन उठेको उम्मेदवार हुँ ।’ यहाँ नेताहरु मलाई जिताउनुहोस् भन्दै भोट मागिरहेका छन् तर जनताले ‘म जित्छु’ भनेर मतदान गर्नुपर्ने उनको भनाई छ । अन्त्यमा उनले थपे, ‘हामीले देशलाई चिनेर काम गर्न सकेनौं । सगरमाथा र बुद्धको ब्राण्डिङ् गर्न सकेनौं ।’ यस क्षेत्रबाटमात्रै १४ स्वतन्त्र उम्मेदवार छन् ।
काठमाडौं: कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ । कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको आयोजका संस्थाका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले बताउनुभयो । प्राप्त भएकामध्ये २० विचारलाई १५ दिनको मार्गनिर्देश गरिएको थियो । छनोट भएका २० विचारलाई मार्गनिर्देशपछि १० उत्कृष्टलाई अन्तिम प्रक्रियाका लागि छनोट गरिएको थियो । अन्तिममा उत्कृष्ट चार विजेता छनोेट गरिएको उहाँले बताउनुभयो । छनोट गरिएका चार उत्कृष्ट उद्यम विचारमा बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस् र मेहेनती डट कम छन् । कलेज आइडिया हन्टका चारै विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ । कलेज आइडिया हन्टका सबै विजेता आइडिया स्टुडियो सिजन–७ मा स्वतः सहभागी हुन पाउने आइडिया स्टुडियोले जनाएको छ । आइडिया स्टुडियो सिजन–७ मा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यही कात्तिक २९ देखि आगामी पुस १७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । आवेदकले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो निर्देशनका लागि https://ideastudio.org.np मा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्ने जनाइएको छ । आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन–७’ का लागि आवेदन खुला गरेको हो । आइडिया स्टुडियो नेपाल सिजन–६ सम्म चार सय ५० भन्दा बढी नवीन विचारको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये तीन सय ५० भन्दा बढी व्यवसाय सुरु भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट सुरु भएका व्यवसायमध्ये ६५ भन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको बताइएको छ । आइडिया स्टुडियो नेपालले हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान गर्ने, प्रविधिसम्बद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने व्यावसायिक विचारलाई विशेष प्राथमिकता दिँदै ती विचारलाई उत्कृष्ट बनाउन सरसल्लाह, व्यावसायिक सञ्जाल, मार्गनिर्देश, रियालिटी टिभी सो साथसाथै वित्तीय पहुँचका लागि सहजीकरण गराउन मद्दत गर्दै आएको छ । हालसम्म आइडिया स्टुडियोले विभिन्न कार्यक्रमबाट मुलुकका सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाउँदै आएको छ ।
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ । सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न रहेको विषयमा उजुरी परेपछि आयोगले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधिएको छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिएको छ। मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो। आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने निर्देशन दिएको छ। कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो स्थानमा साथमा लागि मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचीत गर्ने। आयोगको निर्देशनमा भनिएको छ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने।
पोखरा: विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय । विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन । ग्रामीण परिवेश थियो । त्यो सामाजिक परिवेशमा विद्यालय सकेपछि विन्दुकुमार थापा पनि कृषिमा नै जोडिन पुगे । गोठमा गाई भैँसी पालेका थिए । रोपनी जग्गामा कोदो रोप्थे, फसल उत्पादन गर्थे । त्यतिबेलाको समय स्मरण गर्दै विन्दुकुमार थापा भन्छन, “हामी पनि कृषक परिवारबाट आएका हौँ, खेतबारीमा काम गथ्र्यौँ, पसिना बहाउँथ्यौँ ।” बाल्यकालीन ती दिन अहिले विन्दुकुमार थापाको सम्झनामा मात्रै छन । आफ्नै दमले परिचय बदलेका विन्दु आफ्नो संघर्ष भन्न हिचकिचाउँदैनन । कृषि क्षेत्रमा गरेका दुख, बगाएका पसिना उनलाई ताजै छन । प्राथमिक तह, माध्यमिक तहको पढाई सकेपछि उनी आइएल पढ्न पृथ्वीनारायण क्याम्पस भर्ना भए । पछि कानूनमा स्नातक पनि गरे । कलेज पढ्दाताका नै उनी राष्ट्रबैंकको जागिरे जीवनमा प्रवेश गरे । तीन वर्ष अस्थायी जागिरपछि राष्ट्रबैंकमा उनले आफ्नो १८ वर्ष बिताए । १८ वर्ष सेवापश्चात उनी पेन्सन निस्के । पेन्सन निस्किँदा उनको हातमा थियो, १८ लाख रुपैयाँ । त्यही १८ वर्ष राष्ट्रबैंकमा बेचेको युवा उमेर, पसिनाको कमाई थियो, त्यो । हातमा पैसा भएपछि पनि त्यसलाई कहाँ प्रयोग गर्ने ? सोचमग्न भए उनी । त्यो १८ लाख र त्यसको सही लगानी, त्यसको प्रतिफल चाहिँ अहिलेका विन्दुकुमार थापा हुन । उनको नाम एउटा छ, परिचय चाहिँ अनेकौँ । धनाढ्य विन्दु, व्यवसायी विन्दु, समाजसेवी विन्दु, नेता विन्दु, गण्डकीका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु । यी अनेकौँ परिचय बनाउन उनले गरेका संघर्षका अनेकौँ परिचय छन । जागिरे जीवन होस वा व्यवसाय, चाहे राजनीति । उनी बद्नाम भएनन । त्यसकारण उनले अर्को नाम पाएका छन, ‘निष्कलंक विन्दु ।’ उनै निष्कलंक विन्दु व्यवसायपश्चात थालेको राजनीतिक यात्राको दोश्रो जीतको लागि जनतालाई भेटेका छन, मतदातासामु पुगेका छन । विन्दु नै यस्ता भाग्यमानी उमेदवार हुन, जसको निर्वाचन क्षेत्र कास्क २ (ख) पोखरा महानगरपालिकाको बजारक्षेभित्र पर्छ, अर्कातर्फ उनको पहिचानका कारण सबै मतदाताले राम्रोसँग चिनेका छन । सहजता, उनको अर्को विशेषता हो । मन्त्रालय होस वा घर, विन्दुकुमार थापाको घरमा आम मानिसलाई जान कुनै रोकतोक छैन । उनी मतदातालाई चुनावको समयमा मात्रै होइन, अघिपछि पनि सहजरुपमा सुन्छन र उनीहरुका समस्या समाधानको प्रयत्न गर्छन । राजनीति गरे, चुनाव जिते तर, आफूले पाउने सेवासुविधा सबै जनताको काममा खर्चिएका कारण समाजसेवीको छवि बनाएका विन्दुलाई त्यही कारण दोश्रोपटक पार्टीले विश्वास गरेर अघि सारेको छ । प्रतिकूलताका बिच ०७४ को प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा कास्की जिल्लाका अन्य सबै क्षेत्र नै वाम गठबन्धनले कब्जा गर्दा प्रदेश राजधानी पोखरामा कास्की २(ख) बाट चुनाव जितेर उनले पार्टीको साख जोगाइदिएका थिए । विगतको तुलनामा अहिले गठबन्धनको सहयोग उनलाई छ । पाँचदलीय गठबन्धनका साझा उमेदवार बन्दै गर्दा उनी दोश्रोपटक प्रदेशसभामा पुग्न प्रयासरत छन । राजनीतिमा आउनुअघि विन्दु व्यवसायमा व्यस्त थिए । देशकै पुरानो उद्योगी व्यवसायीको संस्था उद्योग वाणिज्य संघ पोखरालाई उनले २०७२ मा नेतृत्व गरे । थापा वि.सं. २०५० सालमा नेपाल राष्ट्र बैंक स्टाफ संघको सदस्य, नेपाल अटोमोबाइल डिलर्स एशोसियसन नाडा उपाध्यक्ष (२००८ देखि १०१० ), नेपाल रसिया च्याम्बर अफर कमर्स गण्डकीको अध्यक्ष (२०१२ देखि २०१६), सल्लाहकार पश्चिमाण्चल अटोमोबाइल डिलर्स एशोसियसन (२००५ देखि २०१६), सल्लाहकार गण्डकी ल्याण्ड एण्ड हाउजिङ एशोसियसन (२००२ देखि २०१६) संस्थामा आबद्ध भएका थिए । उद्योग वाणिज्य संघको कार्यकाल पश्चात नै विन्दु थापा राजनीतिमा सक्रिय भएका हुन । पहिलो कार्यकाल, पहिलो अभ्यास र पहिलो निर्वाचनबाट चुनाव जित्दै उनले आफ्नो पाँच वर्ष सफल तुल्याए नै यस अवधीमा उनी उदाहरणीय सांसद, मन्त्री नै बन्न पुगे । उदाहरणीय यस अर्थमा कि, पाँच वर्षमा उनले आफ्नो सेवासुविधाबाट पाउने रकममा व्यक्तिगत खर्च थपेरै ५८ लाख ३० हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरे । ‘राजनीतिलाई सेवा गर्ने माध्यम’ नीति लिएर उनले पाँचवर्षमा सांसद भएबापत ४० लाख ७१ हजार रुपैयाँ पारिश्रमिकमा १८ लाख ३० हजार व्यक्तिगत रुपमा थप गरि जनसेवामा खर्च गरेका थिए । पहिलो पाँच वर्षमा गण्डकीले ६१ वटा कानून बनाउँदा विन्दुकुमार थापा बहालवाला कानूनमन्त्री छन । प्रदेश नं. ४ लाई गण्डकी र अस्थायी राजधानी पोखरालाई स्थायी बनाउने प्रक्रियाको नेतृत्व मन्त्री हुनुपूर्व उनै थापाले गरे । प्रदेशका ११ वटै जिल्लामा पुगेर, जनतादेखि संस्थागत राय सुझाव लिएर थापा नेतृत्वको ‘प्रदेश नामांकन तथा स्थायी राजधानी’ को लागि गठित विशेष उपसमितिले बुझाएको प्रतिवेदनकै आधारमा गण्डकी प्रदेशसभाले नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोक्न सफल रह्यो । प्रदेशको नामाकरण र राजधानी जस्तो ऐतिहासिक अनि संवेदनशील कामको नेतृत्व गरि त्यसलाई टुंगोमा पु¥याउन उनले भूमिका खेले । राजनीतिको दोश्रो अध्यायमा थापा पाँच वर्ष कार्यकाल सकिँदै गर्दा आसन्न प्रदेशसभामा सोही क्षेत्रबाट उमेदवार बनेका छन थापा । चुनावपछि विगतको कार्यकाल झैँ आफूले पाउने सेवासुविधा व्यक्तिगत काममा खर्च नगरी समाजसेवामा नै निरन्तरता दिने उनले प्रतिबद्धता जनाइसकेका छन । लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार बनेका थापाका २६ प्रतिबद्धताहरु: १.प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सुशासन र पारदर्शिताको मूल मन्त्रलाई अंगीकार गर्दै भ्रष्टाचारमुक्त तथा जनमैत्री जनप्रतिनिधिको रुपमा अघिल्लो कार्यकालजस्तै तपाईंहरुसँग सधैं नजिक रहेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा मेरो मुख्य ध्यान रहनेछ । समग्र गण्डकी प्रदेशकै विकासका लागि गुरुयोजना तयार पार्न तथा कार्यान्वयन गर्न मेरो सिर्जनशील भूमिका रहनेछ । २.दलीय गठबन्धनबाट उम्मेदवार रहेको म गठबन्धनका अरु दलहरुसँगको सहकार्यलाई आत्मसात गर्दै नेपाली काँग्रेसको एक जिम्मेवार सदस्यका हिसाबले प्रदेश सभा निर्वाचन २०७९ का लागि नेपाली काँग्रेसले तयार पारेको संकल्पप्रति पूर्ण प्रतिबद्ध रही स्थानीय आवश्यकताका आधारमा एक जिम्मेवार जन–प्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रको समृद्धि र विकासका नीति निर्माण गर्न थप निम्न बुँदाहरुमा म प्रतिबद्ध छु । ३.अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु। सदाझै सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता प्रमुख मन्त्र रहनेछ । ४.समृद्ध प्रदेशको आधार, उर्जा, कृषि, उद्यमशीलता, पर्यटन र पूर्वाधार रणनीतिलाई आत्मसात गर्नेछु । ५.कोरला नाकादेखि गण्डकी प्रदेशको नवलपुरबाट भारतको सीमासम्म जोडिने मोटरबाटोलाई उच्च प्राथमिकतामा राखी चीन र भारत दुबै बिचको व्यापारिक सेतुका रुपमा तथा दुबै देशका पर्यटकलाई भित्राउन सजिलो हुने र गण्डकी प्रदेशले फाइदा लिने गरी स्थलमार्ग निर्माण गर्न पहल गर्नेछु । ६.गण्डकी प्रदेशमा लगभग १२००० मेगावाट बिजुली उत्पादनको संभावना रहेपनि हालसम्म लगभग साढे ६ सय मेगावाट मात्रै उत्पादन भइरहेकोमा गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्य उर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्नेछु । ७.समग्र प्रदेशको एकीकृत पर्यटन विकासका लागि बृहत्तर पोखरा (ग्रेटर पोखरा) को अवधारणा राख्दै त्रिवेणीधामदेखि मुक्तिनाथसम्म विभिन्न जिल्लामा पर्ने धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटनका लागि रुट निर्माण र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्नेछु । ८.केवल प्राकृतिक पर्यटनमा भर परिरहँदा गण्डकी प्रदेशको पर्यटन मौसमी मात्रै रहेकाले अब मानवनिर्मित पर्यटकीय आर्कषणका केन्द्र थप गरी तथा सांस्कृतिक पर्यटनलाई समेत प्रवद्र्धन गरी सबै मौसम पर्यटकीय मौसमका रुपमा विकास गर्न योजना अगाडि बढाउनेछु । ९.निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यहरूको प्रवद्र्धन गर्न योजना अगाडि सार्नेछु। पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एसियाली राष्ट्रहरूबाट पर्यटकहरू भित्राउन व्यापक बजारीकरण गरिनेछ । १०.सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मक रुपमा सौन्र्दयकरणका निम्ति जोड दिनेछु । ११.गण्डकी प्रदेशमा बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गरिनेछ । १२.गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणका लागि पहल गर्नेछु । १३.गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिन कार्यतर्फ अगाडि बढ्नेछु । १४.परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्नेहरुका लागि घरकर तथा अन्य सहुलियत दिएर प्रोत्साहन गर्न पहल कदमी लिनेछु । १५.कृषिको व्यवसायिकरण गर्न गण्डकी प्रदेशस्थित सहर वरिपरि कृषि पकेट क्षेत्रको पहिचान गरी आधुनिक कृषि प्रणाली अवलम्बनका निमित्त कार्ययोजना अगाडि बढाउनेछु । १६.कृषिलाई प्रत्यक्ष रुपमा रोजगारीसँग जोडेर यूवाहरुको क्षमताको उपभोग र उत्पादनशीलता बढाउन आर्कषक योजना ल्याइनेछ । १७.लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गर्नेछु । १८.दक्ष जनशक्तिलाई नेपालमै अवसर सिर्जना गर्न उद्यमशीलता कार्यक्रमलाई प्रश्रय दिँदै बिज लगानीको अवधारणा अगाडि सार्ने तथा बाह्य लगानी भित्राउने, आन्तरिक पुँजीको समुचित उपयोग र औद्योगीकरणको विकासमा मेरो ध्यान रहनेछ । १९.महिलाहरुको उद्यमशीलता बढाउन प्रत्येक प्रदेशमा महिला उद्यमशीलता केन्द्रको स्थापना गरी नगरपालिका र गाउँपालिकाहरुमा लघुउद्यम र व्यवसायिक तालिमलाई जोड दिइनेछ । २०.कतिपय भूमिहीन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको र बाँकी रहेको भूमिहीनहरुको व्यवस्थित बसोवासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु । २१.गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको रुपमा विकास गर्न सोहीअनुसार पूर्वाधारहरु निर्माणका लागि पहल गर्नेछु । हाई अल्टिच्युड खेलकुद मैदान र स्टेडियम निर्माणमा जोड दिनेछु । २२.गण्डकी प्रदेशका विविध जातजाति र धार्मिक आस्थाका धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र स्तरोन्नति गर्नका लागि योजना अगाडि बढाउनेछु । २३.विकराल समस्याका रुपमा रहेको वैदेशिक पलायनलाई रोक्नका लागि प्रत्येक जिल्लामा नमुना शिक्षण संस्थाको स्थापना गरी व्यवसायिक र प्राविधिक शिक्षालाई जोड दिनेछु । २४.यस कार्यकालमा निर्माणको अन्तिम चरणमा रहेको मिडिया विधेयक प्रेस स्वतन्त्रतामैत्री बनाई श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्थातर्फ पहलकदमी गर्नेछु । २५.गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकताका आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निर्माणको पहल गर्नेछु । २६.सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरि डिजिटल गण्डकी प्रदेशको निर्माणमा लाग्नेछु । प्रदेश सभा सदस्य र गण्डकी प्रदेश सरकारको मन्त्रीका रुपमा समेत मेरो अघिल्लो कार्यकाल पूर्ण विवादरहित र सफल रहेको आमजनमानसको मूल्यांकनले मलाई थप हौस्याएको छ। संसदीय व्यवस्था र प्रदेश तहमा नेतृत्व प्रमाणित गरिसकेकाले हालसम्म मैले आर्जन गरेको अनुभव र सफलताको उर्जालाई र संघीयताको जग सफलतापूर्वक राखिसकेर अबको कार्यकाल गण्डकी प्रदेशको समृद्धिमा लगाउने दृढ इच्छा भएको मलाई ५ दलीय गठबन्धनका तर्फबाट जनताको प्यारो पार्टी नेपाली कांग्रेसले मलाई पुनः उम्मेदवार बनाएको छ । राजनीतिलाई फोहोरी खेलको रुपमा बुझेका आमजनताको राजनीतिप्रतिको वितृष्णा कार तुल्याउनु आजको चुनौती हो र मेरो उम्मेदवारी त्यही जिम्मेवारी बोधका साथ आएको हो। आउनुहोस्, गण्डकी प्रदेश र कास्की २ (ख) को निर्माणमा हातेमालो गरौँ ।
पोखराः समय सँधै एकनासको कहाँ हुँदोरहेछ र ! झन् राजनीतिमा थुप्रै वक्ररेखा हुँदा रहेछन् । यस्तै भएको छ कास्कीको क्षेत्र नम्बर १ (क) मा । अघिल्लो पटक वाम गठबन्धनमार्फत नेकपा एमालेकै भोट पाएर जितेका नेकपा माओवादी केन्द्रका दिपक कोइराला यसपटक एमाले विरुद्ध चुनावी मोर्चामा छन् । अझ रोचक त ०७४ मा कोइरालाले हराएका नेपाली कांग्रेसका प्रतिष्पर्धी जीवन परियार यतिबेला कोइराला जिताउन चुनावी प्रचारमा अहोरात्र खटिएका छन् । त्यसबेला कोइरालालाई जिताउन हालका एमाले उम्मेदवार खगराज अधिकारीको चुनावी रणनीतिले काम गरेको थियो । तर उनै अधिकारी अहिले प्रदेशमा कोइरालासँग भिड्दैछन् । सतहमा हेर्दा एमालेका अधिकारी बलिया देखिएका छन् । केन्द्रमा पहुँच बनाएका नेता र २ पटक मन्त्री भइसकेको उनको छविले धेरै हदसम्म काम गरेको छ । सोही कारण स्थानीय मतदातालाई अधिकारीले जिते योजना र बजेट ल्याउँछन् भन्ने छ । त्यस्तै, एमालेका अध्यक्ष केपि ओलीले गण्डकीको मुख्यमन्त्रीकारुपमा अधिकारीलाई केन्द्रबाट प्रदेशमा झारेका हुन् भन्ने विश्वासले पनि काम गरेको छ । मिडिया र पत्रकारसँग बोल्दा केही ठाडो शैलीमा प्रस्तुत हुने अधिकारी आफ्नो क्षेत्रमा भने नरम शैलीले प्रस्तुत हुने गर्दछन् । यद्यपि, अधिकारीले जित्ने सम्भावनालाई उल्लेख गरिरहँदा सत्ता गठबन्धनबाट चुनौती दिइरहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार दिपक कोइरालालाई कम आँक्न मिल्दैन । ‘कोइरालाजीले जित्नुहुन्छ, हामी जिताएर देखाइदिन्छौं’ चुनावी ¥यालीमा व्यस्त कांग्रेसका एक कार्यकर्ताले ठोकुवा गरे । कार्यकर्ताको ठोकुवासँगै कोइराला ‘युवा’ हुन् । राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ, भन्ने पछिल्लो सोंच अनुसार कोइरालालाई फाइदा पुग्न सक्छ । यसैगरी, प्रदेशसभामा सांसद रहेका कोइराला विवादरहित नेता हुन् । कास्कीमा माओवादीलाई भोट हाल्न कुनै कांग्रेसको हात काम्दैन भने त्यो उम्मेदवार हुन् कोइराला । चुनावी प्रचारका दौरान रेल र पानीजहाज हैन, खानेपानी र सिंचाइको विकास गर्छु भन्दै आएका कोइरालाकालागि साना मुद्दा उठाइरहँदा ग्रामीण परिवेशमा प्रभावकारी बन्न सक्छ । खेलकुद क्षेत्रमा काम गरेका कोइरालाले भण्डारढिक रंगशाला स्तरोन्नतीको एजेण्डाबाट पनि युवाहरुको मत तान्ने सम्भावना रहेको छ । पोखरा महानगरभित्र ६ वटा वडा रहेपनि प्रायः वडाहरु नगर भनिन लायकको नहुँदा यस क्षेत्रमा भौतिक पुर्वाधारकै मुद्दा बिकाउ मेटेरियल हुन् । कृषिमा व्यस्त जनसंख्या र बिस्तारै नगोन्मुख हुँदै गएको यस चुनावी क्षेत्रमा रुपा गाउँपालिकासमेत रहेको छ । जहाँ ‘विकासे एजेन्डा’लाई नै प्राथमिकता दिइन्छ । यही बुझेर एमालेका अधिकारी पनि सोही लाइनमा छन् । अधिकारीले विशेषतः स्वास्थ्य बीमा र स्थानीय विकासमा आवश्यक पूर्वाधारलाई ५ वर्षभित्र निर्माण गर्ने दोहो¥याइरहेका छन् । अधिकारी स्थानीय निर्वाचनको नतीजाबाट तर्सिए । उनीमात्रै तर्सिएनन् सिंगो जिल्ला कमिटी नै कोमामा गएजस्तै भयो । नेपाली कांग्रेसको पेवा झैं भएको घात–अन्तर्घात एमाले कास्कीमा थाहै नपाई छि¥यो । यसमा संगठन विभाग प्रमुखसमेत रहेका अधिकारी र प्रदेशका पूर्वमुख्यमन्त्री एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङबीच चलेको सिंगौरीले स्थानीय निर्वाचनमा सिंङ खुस्किएपछि अहिले एमाले ब्युँतिएको छ । अन्तर्घातले दिएको परिणामबाट चेत खुलेपछि एमाले गण्डकीलाई मिलाउन अध्यक्ष ओलीले नै हस्तक्षेप गर्नु¥यो । फलतः कास्कीको टिकट वितरणमा ‘नरम–करम’ मिलाएपछि अधिकारीलाई लमजुङ्बाट गुरुङले खेल्लान् भन्ने आशंका रहेन । र, यहीबाट हौसिएका छन् अधिकारी । यसअघि केही दिन पोखराको मेयर उम्मेदवार भएर बलीको बोका बनाइएका दीपक पौडेल पनि अन्तर्घात बिर्सेर सुरुवाति दिनदेखि पार्टीको चुनावी प्रचारमा निस्किएपछि प्रफुल्लित छन् अधिकारी । यसबीच, अधिकारीले नेकपा माओवादी केन्द्रका रुपा गाउँपालिका अध्यक्ष नवराज बराललाई एमालेमा भित्र्याए । त्यस्तै, रुपा २ का माओवादी अध्यक्ष पुष्प सुवेदी र तरुण दल, कास्की सदस्य मेख लामासहितका युवालाई एमालेमा प्रवेश गराएपछि अधिकारी गमक्क परेका छन् । यो क्षेत्र अधिकारीको ‘थातथलो’ हो । सामान्यतयः निर्वाचन जित्न मतदातालाई ‘लालच’ देखाउन पनि सक्नुपर्छ । र, लालच देखाउनै प¥यो भने कोइराला भन्दा अधिकारी बढी सक्षम हुन सक्छन् । मन्त्री भइसकेका र केन्द्रमा पहुँच भएका नेतासँग बाँड्ने सपना जति हुन्छन् प्रदेशका सभासद्सँग त्यति हुँदैनन् । यसर्थ, यस दृष्टिकोणबाट कोइराला कमजोर हुनसक्छन् । तरपनि अधिकारीले जे–जस्ता रणनीति वा तिकडम चलाएपनि कोइराला जित पक्का भइसकेको विश्वासमा छन् । स्थानीय निर्वाचनमा सहभागी मतदाताले ‘धर्म’ नछाडिदिए कोइरालाको जितलाई ब्रेक लगाउन एमालेलाई गाह्रो छ । स्वयं कोइराला पनि माओवादी नेताबीच आफ्नो छवि र गठबन्धनकै मतबाट जित्नेमा ढुक्क छन् । स्थानीय निर्वाचनमा रुपा गाउँपालिकाबाट जितेर नवराज ओझाले कार्यकाल दोहो¥याए । यहाँबाट एमालेले ५ हजार ७४९ मत प्राप्त गरेको थियो । कांग्रेसको खातामा ४ हजार १३७ मत रह्यो । यहाँबाट वडा नम्बर १ अध्यक्षमा कांग्रेसको बर्चश्व रह्यो । बाँकी ६ वडामा एमालेले जित्यो । त्यस्तै, पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडा यस क्षेत्रमा रहेका छन् । यहाँबाट वडा नम्बर २९ मा मात्रै एमालेले जित्न सफल रह्यो । अझ रोचक त स्वयं अधिकारीकै वडामा कांग्रेसले अध्यक्ष जितेर देखाइदियो । अधिकारीको जन्म गाउँ वडा नम्बर ३१ हो । यहाँ कांग्रेसले वडाध्यक्षसहित एक सदस्यमा जित हात पारेको छ । समग्रमा यहाँको मतान्तर न्यून रहेको छ । स्थानीय निर्वाचनमा गाउँपालिकातर्फ एमाले १ हजार ६१२ मतले अघि रह्यो भने नगर क्षेत्रमा कांग्रेसले १७ हजार ३६९ मत पाउँदा एमालेले १७ हजार ५० मत पाएको छ । यहाँ कांग्रेस ३ सय १९ मतले अघि रहेको छ । हाल वडा २६, २७ र ३२ मा गठबन्धनको स्थिति अत्यन्तै सुदृढ देखिन्छ । एमाले २९ र ३१ मा गठबन्धनमाथि हावी हुने देखिन्छ । ३० मा दुबै पक्षको जोडबल भएपनि गठबन्धनको मत केही बढी आउन सक्छ । यसर्थ, अधिकारीले जिते भने पोखराले हैन रुपाले जिताउन सक्छ । यस क्षेत्रबाट जनता समाजवादी पार्टी, जनमत पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिष्पर्धामा छन् भने २ जना स्वतन्त्र उम्मेदवारसमेत मैदानमा छन् ।

