ढोरपाटन : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई निर्वाचन हुँदैछ भन्ने थाहा हुने जनाइएको छ । अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरू भोट माग्न पुगेका छैनन् । न्यूनतम पनि विकासको पूर्वाधारले नजोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । पहिले–पहिले सिजनअनुसार बसाइँसराइ गर्ने यहाँका स्थानीय अहिले स्थायीरूपमा बसोबास गर्दै आएका छन् । यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन् । वर्षात्को समयमा भने चार सय बढी घरका सयौँ स्थानीय यहाँ बस्ने गर्छन् । वर्षात्को समयमा निसीखोला–५ निसीगाउँबाट सयौँ घरपरिवार पशुचौपाया लिएर निसेलढोरमा जाने गर्छन् । चिसो बढेपछि अधिकांश असोज पहिलो साता नै बेसी (निसीगाउँ)मा झरिसके । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो । उनीहरूले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेकबेँसी गर्नुपरेको हो । अहिले ६० घरपरिवारका एक–डेढ सय जनसङ्ख्यामात्रै निसेलढोरमा रहेको हुँदा नेताहरू भोटमा माग्न नपुगेको स्थानीय गोरख घर्तीमगरले जानकारी दिनुभयो । हिउँदमा जाडो हुने हुँदा पहुचौपाया लिएर धेरै स्थानीय निसीमा झरेको हुँदा नेताहरू त्यतै भोट माग्न हिँडेको उहाँ बताउनुहुन्छ । भोट माग्न गए पनि अलि ढिला जाने गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिले जाडो बढ्यो, धेरै जसो मान्छे बेँसी झरिसके, यहाँ थोरै मात्रै छन्, पहिले–पहिले चुनाव आउनेबित्तिकै नेताहरु उतै बास बस्ने गरी भोट माग्न जान्थे, अनेक आश देखाउँथे, तर अहिले खासै गएका छैनन्, अलि अस्तितिर दुई–तीन जना घुम्न गएकाहरूले भोटका कुरा गर्थे, तर नेताहरू देखिएनन्, अब चुनाव नजिकै आयो भन्छन्, अब जालान् ।” आफूहरूले भोट दिएर जिताएको मान्छे पटक–पटक सांसद भएको तर निसेलढोरको विकास भने गर्न नसकेको गुनासो पोख्नुभयो । उहाँले अहिलेसम्म यस ठाउँमा विद्युत् नपुगेको भन्दै यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो । घर्तीले मोटरबाटो पुगे पनि गाडी गुड्ने खालको नभएको भन्दै स्वच्छ पिउने पानीको समेत अभाव रहेको उहाँको भनाइ छ । यो ठाउँ विगतदेखि नै ओझेलमा पर्दै आएको र अहिलेसम्म मुहार फेरिन नसकेको घर्तीमगरले बताउनुभयो । “हाम्रो क्षेत्रबाट धेरै नेताहरू सांसद हुनुभयो, केही त मन्त्रीसमेत हुनुभयो, तर निसेलढोरको विकास गर्नतर्फ ध्यान भने दिनुभएन, अहिलेसम्म यहाँका नागरिक अन्धकारमा बस्न बाध्य छन्, खानेपानीको राम्रो व्यवस्था छैन, सडक भए पनि गाडी चल्दैनन्”, घर्तीमगरले भन्नुभयो, “चुनाव त आयो भोट माग्न त यो ठाउँमा जसरी पनि आउँछन्, यसपालि जसले बिजुली ल्याइदिने प्रतिबद्धता जनाउँछ उसैलाई भोट दिने हो, अब पार्टी भन्ने हुँदैन, काम गर्नेलाई रोज्नुपर्ने भयो ।” निसेलढोरमा कुँडे, मस, झुललगायतका गाउँ पर्छन् । यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन । स्थानीय प्रेमकुमारी विकले चुनावका बेला गाउँमा स्वास्थ्य संस्था बनाउने आश देखाउने नेताहरू अहिले देखिन छाडेको भन्दै स्वास्थ्योपचारका लागि बुर्तिबाङ आउनुपर्ने बाध्यता रहेको बताउनुभयो । यहाँबाट बुर्तिबाङ पुग्न झण्डै १२ घण्टा लाग्छ । नेताहरूले अघिल्ला निर्वाचनमा बाटोघाटो, विद्युत्, खानेपानी, स्वास्थ्य संस्थाको निर्माण गर्ने बाचा गरे पनि अहिलेसम्म कुनै काम नगरेको विकले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “हामीहरू त चुनाव आउँदामात्रै चाहिँदा रैछौँ, अघिपछि हाम्रो कुनै वास्ता छैन, पहिला भएका चुनावमा भोट माग्न आउने नेताहरूले मोटरबाटो, बिजुली र घर–घरमा धारा बनाइने बाचा गरे तर जितेर गएपछि हाम्लाई फर्किएर हेरेनन्, यो ठाउँमा पाइलो पारेनन्, अहिले पनि चुनाव आयो रे, अब फेरि भोट माग्न आउँछन्, उनीहरूलाई यसपालि भोट नदिने विचार गरेँ, उनी ठूलो मान्छे बन्ने हामी गरिब दुःखीलाई झुक्याउने मात्रै गरे ।” निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले आफू निर्वाचित भएर आएपछि निसेलढोरको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरेको बताउनुभयो । अध्यक्ष घर्तीमगरले स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले रु १५ लाख विनियोजनसमेत गरिरहेको बताउनुभयो । उहाँले विगतदेखि नै यो ठाउँ राज्यको नजरमा नपरेको भन्दै गाउँपालिकाको स्रोत र साधानले भ्याएसम्मको विकास गर्ने बताउनुभयो । ढोरपाटन नगरपालिका–९ बाट विद्युत् जडान गरी लैजानका लागि आवश्यक छलफल भइरहेको भन्दै केही समयमा यहाँका नागरिक उज्यालोमा बस्न पाउने बताउनुभयो । यहाँको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने उहाँका भनाइ छ । “यो ठाउँ भौगोलिक हिसाबले विकटमा त छँदैछ, त्यसमाथि ठूला नेताहरूको नजरमा कहिल्यै पर्न सकेन, हामीहरू त भर्खर निर्वाचित भएर आएका छौँ, यहाँका समस्या सबै बुझेका छौँ, गाउँपालिकाको स्रोत साधनले भ्यायसम्म विकास गर्ने प्रयत्न गर्नेछौँ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्नेछौँ, यहाँ स्वास्थ्य, शिक्षा, विद्युतलगायतका न्यूनतम विकास पनि हुनसकेको छैन, पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो ।” यहाँका मतदाता भोट हाल्न पनि झण्डै एक दिन लगाएर निसीखोला –५ निसीमा आउनुपर्छ । कम जनसङ्ख्या भएको हुँदा निसेलढोरमै मतदान गर्न पाउने सुविधा छैन । स्थानीयले यस विषयमा पटक–पटक मागसमेत राखेका थिए ।
काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ । उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ । दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो । दूतराज अहिले सामान्य अवस्थामा छन् । अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन् । दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि निकै रुचाइएको छ ।
पोखरिया । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज्याउने काम मात्र नेताहरुले गरेको उनीहरुको भनाइ छ । नेताहरुले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् । वर्षौदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, सडकलगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउनेजस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उक्त आश्वासन नारामा सीमित हुने गरेको उनीहरुकोे गुनासो छ । पहिलेको भन्दा केही फरक भए पनि, केही परिवर्तन आए पनि अझ धेरै सकारात्मक परिवर्तनको खाँचो रहेको मतदाता बताउँछन् । दलका उम्मेदवार फेरि पनि आश्वासनको पोको लिएर घरदैलोमा पुग्न थालेका छन् । आफू जिते, गाउँगाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिँचाइ, विद्यालयलगायत सबैमा आश्वासन फेरी दोहो¥याइरहेका छन् । निर्वाचन नजिकिएपछि गाडीमा आ–आफ्ना दलका झण्डा फहराउँदै उम्मेदवार गाउँ पस्न थालेका छन् । पर्सा पकाहा मैनपुरकी सरस्वतीदेवी, नेताहरुले जितेको भोलिपल्टदेखि नै विकासको लहर चलाउने भनिए पनि त्यो अनुसारको कार्य कमै मात्रामा गरेको देखेका छौँ । नाला, सडक, विद्मालयलगायतमा अझ सुधार हुन बाँकी छ । फेिर विभिन्न आश्वासन लिएर नेताहरु घरदैलोमा आइरहेका छन् । विश्वास गर्नुको विकल्प छैन तर यसपालि सोचेर मात्रै विकास गर्ने, गरिबलाई हेर्ने व्यतिmलाई भोट दिने निर्णयमा छु ।पर्साकी परवानीपुरकी सोनमती देवी भन्छिन्, ‘‘गाउँमा भोट माग्न आउँदा वर्षौवर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने गरेको भएपनि जितेपछि गुहार माग्न जाँदा चिन्दिन भन्छन् । घर बनाइदिने, एक घर एक रोजगारीको व्यवस्था गर्ने भनेर गए तर केही गरेनन् ।’’ गाउँभरिमा विद्यालय एउटा मात्रै छ त्यसमा पनि गुणस्तरीय पढाइ नहुने गरेकाले बालबालिकाको भविष्य अन्धकारमय भइरहेको छ । यतिबेला गाउँदेखि सहरसम्म उम्मेदवार भोट माग्ने चटारोमा छन् । चुनाव जित्नका लागि मधेश प्रदेशमा राजनीतिक दलहरुले चुनावी गठबन्धन गरेर अगाडि बढेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मधेश प्रदेशका राजनीतिक दलका उम्मेद्वारहरु आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेका छन् । लाउड स्पिकर, कार्यकर्तासहित भोट माग्दै जनताका घरदैलोमा उम्मेदवार पुग्न थालेका छन् । ग्रामीण भेगका किसानलाई भने चुनावले नछोएको पर्सा विन्दसिनीका ७० वर्षिय हरिशङ्कर प्रसाद बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेताहरु आफ्नो जरुरी परेको बेलामा मात्र आउँछन् अनि त्यसपछि कोही आउँदैनन् । हेर्नुस् न केही विकास भएको छैन हाम्रो गाउँमा । खेती किसानीका लागि खाद, सिँचाइ सबै महँगो भइसक्यो । हाम्रो समस्या बुझिदिने कोही भएनन् ।” स्थानीय अर्का वासिन्दा राजेश कुर्मी भन्नुहुन्छ, “युवाका लागि रोजगारीको अवसर नहुँदा गाउँका अधिकांश युवाहरु यत्तिकै भौंतारिनु परेको वा बाध्यताले विदेसिनु बाहेकको विकल्प छैन । गरिबका बालबालिकाको लागि त न गुणस्तरीय विद्यालय छ न त औषधि उपचारका लागि गुणस्तरीय स्वास्थ्य चौकी नै ।’’ पछिल्लो समय चुनावमा पढे लेखेका राम्रा व्यक्ति पनि उम्मेद्वारको रुपमा देखा पर्दा केही आशा पलाएको उहाँको भनाइ छ । पहिले निर्वाचनका बेला गरेका कुलहरु कुनै पूरा नभएपछि यसपटक पनि विकासको नारा फलाक्दै हिडेका नेता तथा उम्मेद्वारहरुका कुरामा धेरैले खासै चासो देखाएको पाइँदैन । सडक विस्तार, शिक्षामा सुधार, स्वास्थ्य तथा रोजगारीमा पहुँच, खानेपानी, फोहोर व्यवस्थापनलगायतका विकासका कुनै काम नभएको महिला मतदाताहरुको गुनासो रहेको छ । गाउँगाउँमा मतदाता शिक्षाको पनि अभाव रहेको देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई के कसरी कस्तो मतपत्रमा मतदान गर्ने हो भन्ने तरिका पनि सिकाउन अझै उम्मेदवार र तिनका प्रतिनिधिहरु नआएको उनीहरु बताउँछन् । पर्सामा पुरुष एक लाख ९४ हजार नौ सय चार, महिला एक लाख ५१ हजार आठ र अन्य १६ गरी कुल तीन लाख ४५ हजार नौ सय २८ मतदाता रहेका छन् ।
कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसँग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसँग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेका छन् । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ’ लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँले नै हो’उनीहरुको भने । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उनीहरुले उम्मेदवार समक्ष माग राखे । घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गरे । चुनावी भेटघाट कार्यक्रमको संयोजन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष विवेक देवकोटाले गरेका थिए । घरदैलो कार्यक्रममा समानुपातिक उम्मदेवार क्याप्टेन लालकाजी गुरुङ्ग, प्रदेश समानुपातिक उम्मेदवार देवका पहारी, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, गण्डकी प्रदेश समिति सदस्य गौरी सुवेदी, निर्वाचन परिचालन संयोजक कर्ण गुरुङ्ग लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ । आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गर्नुभयो । “अहिलेको सरकार गठबन्धनको सरकार हो”, उहाँले भन्नुुभयो, “गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।” वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उहाँको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । “संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले”, देउवाले भन्नुभयो, “संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।” डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफूू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने जानकारी दिनुभयो । “पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “त्यहाँ सम्भाव्यता अध्ययन गर्छौैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।” उहाँले माओवादी नेता भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रममा प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले मुलुुकका हरेक काममा महिलाको प्रतिनिधित्व बढिरहेको बताउनुभयो । “संविधान रक्षाका लागि हामी अहिले चुनावी मैदानमा छौँ”, उहाँले भन्नुभयो, “संविधान बने पनि धेरै काम गर्न बाँकी छ, यो गठबन्धनले जित्न आवश्यक छ ।” कार्यक्रममा गठबन्धनका डडेल्धुरा प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी नेता खगराज भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य निरा जैरु लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
काठमाडौँ: श्रीलंकन क्रिकेटर दनुश्का गुनतिलकलाई अष्ट्रेलियाको पूर्वी क्षेत्रस्थित यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीया युवतीले यसै साता यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले उनलाई आइतबार बिहानै एक होटलबाट पक्राउ गरेको हो । अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित प्रहरीका अनुसार ती युवतीले ब्याट्सम्यान गुनतिलकलाई केही दिनअघि अनलाइन डेटिङ एप्समार्फत् सम्पर्क गरी भेट गरेकी थिइन् । त्यसपछि नोभेम्बर २ बुधबार साँझ ती युवतीले आफूलाई गुनतिलकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार प्रहरीले क्रिकेटर टोली रहेको स्थान रोज बे मा पुगेर घटनास्थलको अनुसन्धान गरेको थियो । ३१ वर्षीय गुनतिलकलाई प्रहरीले आइतबार बिहान १ बजे नै सिड्नीको एक होटलबाट पक्राउ गरेको बताइएको छ । पक्राउ गरी उनलाई सिड्नी सिटी प्रहरी स्टेसनमा लगिएको छ । प्रहरीकहाँ युवतीले सहमतिबिना नै जबर्जस्ती यौनसम्बन्ध राखेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोपमा दनुश्का पक्राउ परेको खबर श्रीलंका क्रिकेट टोलीले पनि पुष्टि गरेको छ । साथै उनी नोभेम्बर ७ मा अदालतमा उपस्थित हुने बताइएको छ । गुनाथिलक चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिए पनि अष्ट्रेलियाको खेलका लागि उनी टोलीमा समावेश छन् । उनले २०१५ को नोभेम्बरदेखि श्रीलंकाका लागि ८ वटा टेस्ट गेम, ४७ वटा वान डे र ४६ वटा टी.२० खेलिसकेका छन् । आइतबार समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भएपछि श्रीलंका यसपटकको विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (सोमबार) पोखरा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्ने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् । अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पोखरा सभागृहमा बिहान १० बजेदेखि सुरु हुने नेकपा (एमाले) कास्की जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख दर्शन लामाले जानकारी दिए । लामाका अनुसार अध्यक्ष ओलीसंगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मन बहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) को सहभागिता रहनेछ । यसैगरि १ ‘क’ का खगराज अधिकारी १ ‘ख’ का बेद बहादुर गुरुङ, क्षेत्र नम्बर २ ‘क’ का भिम कार्की, २ ‘ख’ की मिना गुरुङ, क्षेत्र नम्बर ३ ‘क’ का गणेशमान गुरुङ तथा ३ ‘ख’ का राजीव पहारी लगायतका समानुपातिक उम्मेदवारहरुको सहभागिता रहने लामाले बताए । सो कार्यक्रममा कास्की जिल्लाभरका संगठित कार्यकर्तालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा रहेर अध्यक्ष ओली लगायतले सम्बोधन गर्नेछन् ।
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो । तर शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बुवाआमालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउने प्रतिबद्धता गरेका थियौँ, कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो, केही ढिला भए पनि अहिले बुवाआमाको दुःख अन्त्य भएको छ ।” गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरणको थालिएको फक्ताङलुङ पञ्जिकरण शाखाले जनाएको छ । फक्ताङलुङ –२ खेजेनिमका ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता भुपेन्द्र चौलागाईँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान हुने छ ।
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो । रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।

